बुवा-ममीले स्वीकृति दिइसक्नुभयो,अब छवि जीसँग विवाह गर्छु : शिल्पा


४ फाल्गुन २०७४, शुक्रबार

मेरो जन्म विराटनगरमा भएको हो । १५ वर्षसम्म त्यहाँ बसेँ । एसएलसी उत्तीर्ण भएपछि ब्युटिसियनको तालिम लिएर ब्युटिसियन बन्ने उद्देश्यले काठमाडौं आएँ । मेरी ममीलाई एकजनाले बहिनी बनाउनुभएको थियो । उहाँलाई मामा भन्थेँ । उहाँ चलचित्र क्षेत्रको हुनुहुन्थ्यो । उहाँले मलाई ‘घरबेटी बा’ चलचित्रमा अभिनय गछ्र्यौ भन्नुभयो । तर, त्यतिवला मलाई कोरियोग्राफर बन्ने इच्छा थियो । ब्युटिसियनका साथै राम्रोसँग नृत्य सिक्छु, त्यसपछि कोरियोग्राफर बन्छु भन्ने सोचेकी थिएँ । तर, कहाँ जाने, यो क्षेत्रमा कसरी प्रवेश गर्ने भन्ने माध्यम नै थाहा थिएन । यही वेलामा ‘घरबेटी बा’को कुरा आयो । मेरो पहिलो खुड्किलो यही नै हुन्छ होला भन्ने सोचेँ र फिल्म खेल्ने निधो गरेँ । त्यसैवेला मलाई पूर्ण राईको हल्काहल्का भन्ने गीतमा मुजुरा नृत्य गर्नुपर्ने थियो । म नृत्यमा निकै रुचि राख्ने मान्छे । त्यसैले नृत्यका लागि सहमति जनाएँ । त्यहाँबाट मैले म्युजिक भिडियोमा अभिनय सुरु गरेको, हालसम्म एक सय ५० म्युजिक भिडियोमा अभिनय गरिसकेँछु । यसरी अभिनयमा लागेपछि यसको भूत चढ्यो । ब्युटिसियन र कोरियोग्राफर बन्ने सपना तुहियो ।Actress Shilpa Pokharel Photo Orange Saree 71

चलचित्र निर्माता छविराज ओझाको वैवाहिक जीवन सुखद छैन । १९ वर्षको उमेरमा पहिलो बिहे गरे, तर १० वर्षमै पत्नीसँग छुट्टिए । अभिनेत्री गीताञ्जलीसँग दोस्रो बिहे गरे, उनी आत्महत्या गरेर संसारबाट बिदा भइन् । नायिका रेखा थापासँग गरेको तेस्रो विवाह पनि १५ वर्षमै विच्छेद भयो । अब आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पा पोखरेलसँग चौथो बिहे गर्ने तयारीमा छन् छवि ।

कक्षा १२ अझै पास गरेकी छैन
एसएलसी दिनेबित्तिकै काठमाडौं आएकी हुनाले कलेज अध्ययन गर्नुपर्ने बाध्यता पनि थियो । तर, म विराटनगरमा नै कक्षा ११ मा भर्ना भएँ । काठमाडौंमा प्राइभेट पढेँ । धेरैजसो अभिनयमा नै व्यस्त रहनुपरेकाले पढाइमा त्यति ध्यान दिन सकिएन । जसले गर्दा कक्षा १२ पास गर्न अझै पनि सकेकी छैन । यसरी कक्षा १२ मा फेल भएपछि मेरो ध्यान अभिनयतिर नै जान थाल्यो ।

पहिलोपटक छविजीलाई भेट्न ममी लिएर गएँ
मैले मिलन अमात्यको ‘हतियार बनायौ’ भन्ने गीतको भिडियोमा अभिनय गरेकी थिएँ जुन भिडियोको प्रोमो बिहान–बिहान टेलिभिजनमा बज्थ्यो । त्यो भिडियो छविजीले पनि हेर्नुभएको रहेछ । उहाँले पनि मलाई ‘वाच’ गरिरहनुभएको रहेछ । त्यस्तै, शंकर बिसी दाइसँग मैले अञ्जु पन्तको ‘म हारेँ’ भन्ने गीतको भिडियोमा अभिनय गर्ने मौका पाएँ । म प्रायः गीतहरूमा आफैँ भावनामा डुबेर आँसु निकाल्ने प्रयास गर्छु । त्यो देखेर शंकर बिसीले छविजीलाई एकदमै राम्रो अभिनय गर्ने केटी छ, तपाईंलाई नायिका चाहिएको रहेछ भन्नुभएछ । छविजीलाई चाहिँ ‘लोफर’ चलचित्रका लागि नायिका चाहिएको रहेछ । त्यसपछि छविजीले मलाई बोलाउनुभयो । म ममीलाई लिएर भेट्न गएँ ।

मलाई शंकरदाइले छविजीले चलचित्र बनाउन लाग्नुभएको छ, जान्छ्यौ त भन्दा मैले छवि भनेको को हो भनेर सोधेकी थिएँ । किनभने त्यहाँभन्दा पहिला मैले उहाँको नाम सुनेकी पनि थिइनँ । मैले त्यसो भनेको सुनेपछि शंकरदाइ छक्क परेर त्यत्रो चलचित्र बनाउने मान्छे थाहा छैन भनेर गाली गर्नुभएको थियो । अनि मैले अझै पनि नचिनेपछि उहाँले रिसाएर रेखा थापाको बुढो भनेर चिनाउनुभएको थियो । त्यसपछि चाहिँ चिनेँ ।shilpa and chhabi

पहिलोपटक भेट्दा गफाडीजस्तो लाग्यो
पेनड्राइभमा मैले अभिनय गरेका म्युजिक भिडियो र फोटोहरू लिएर गएकी थिएँ, त्यो छविजीलाई देखाएँ । उहाँले सबै हेर्नुभयो अनि ‘लोफर’मा सानो भूमिका छ, हामीले ‘लज्जा’ भन्ने मुभी बनाउँदै छौँ, ४ महिनापछि बोलाउँछौँ भन्नुभयो । मलाई विश्वास लागेन । फेरि मैले फिल्म इन्डस्ट्रीका मानिस गफाडी हुन्छन् भन्ने पनि सुनेकी थिएँ । जसले गर्दा छविजी पनि गफाडी हुनुहुँदो रहेछ भन्ने सोचेँ ।

भेट्न बोलाएपछि बिरामी भएको बहाना बनाएँ
त्यसवेला म म्युजिक भिडियोमा एकदमै व्यस्त थिएँ । जसले गर्दा मलाई त्यो चलचित्रको कुनै चाहना नै भएन । तर, चार महिनापछि छविजीको फोन आयो । उहाँले ‘लज्जा’ चलचित्रको निर्देशक आउनुभएको छ एकपटक भेट्नुहुन्छ कि भन्नुभयो । तर, मैले बिरामी भएको बहाना बनाएँ । किनभने मलाई चलचित्रमा अभिनय गर्नु थिएन । पहिला नै चार महिनापछि भनेर पठाइसकेको मान्छे फेरि पनि चार महिनापछि बोलाउने होला, गफ मात्रै बढी हो कि भन्ने लाग्यो । उहाँले मलाई भोलिपल्टका लागि बोलाउनुभयो । मैले बहाना बनाएको भन्ने बुझ्नुभएछ क्यारे ममीबुवालाई लिएर आउँदा हुन्छ भन्नुभयो । त्यसपछि मान्छे ठिकै रहेछ भन्ने लाग्यो । पर्सिपल्ट भेट्न गएँ । त्यही दिन उहाँहरूले मलाई एउटा डायलग बोल्न दिनुभयो । त्यसपछि निर्देशकले डायलग राम्रो लाग्यो फाइनल गरिदिनुस् भनेर निर्देशक नवलदाइले छविजीलाई भन्नुभयो । त्यसपछि लज्जामा अभिनय गर्ने निधो गरेँ जुन मेरो डेब्यु चलचित्र थियो ।

छविजीले तिमी मनपर्छ भन्दा मैले मजाक बनाएँ
चलचित्रमा अभिनय गर्दै जाँदा छविजीसँगको सम्बन्ध पनि बाक्लिँदै गयो । मेरो सबैसँग जिस्किने बानी थियो । यसरी छविजीसँगै काम गर्दै जाने क्रममा ‘लज्जा’ चलचित्र रिलिज हुनुभन्दा अलिकति अगाडि छविजीले मलाई तिमी एकदमै मनपर्छ भन्नुभएको थियो । अनि मैले पनि हो र ‘थ्यांक यू’ भन्दिएकी थिएँ । मैले त्यसलाई मजाकको रूपमा लिएँ । तर, उहाँले चाहिँ सिरियस्ली लिनुभएको रहेछ ।

छविजी र रेखाजीलाई पुनर्मिलन गराउन निकै कोसिस गरेँ, तर सकिनँ
यसरी उहाँले मलाई मन पराउँछु भनेपछि मैले पनि धेरै कुरा सोच्न थालेँ । किनभने उहाँकै ब्यानरमा १२ वर्ष अभिनय गरेकी रेखा थापा र उहाँ छट्टाछुट्टै बस्नुहुन्छ भन्ने थाहा थियो । कतिपय मानिसले उहाँलाई भेट्न आउँदा रेखाको नराम्रो बानी बताउँथे । अनि रेखासँग गएर छविजीको नराम्रो कुरा सुनाउँथे । जुन कुरा मैले थाहा पाएँ । अनि मैले छविजीलाई धेरै सम्झाएँ । उहाँलाई रेखासँग १२ वर्षको सम्बन्ध भनेको कुनै जोक होइन, तपाईंहरू दुईजनाको एक–अर्कालाई भित्री कुरा सबै थाहा भइसकेको छ ।

त्यसैले उहाँसँगै जीवन बिताउँदा राम्रो हुन्छ भनेर धेरै सल्लाह पनि दिएकी थिएँ । यसरी छविजी र रेखाजीको पुनर्मिलन गराउन निकै कोसिस गरेँ । तर, उहाँले मान्नुभएन । यहीक्रममा उहाँले मलाई रेखाजीको सबै बानी भन्नुभयोे । मैले पनि उहाँको बानी बिस्तारै बुझ्दै गएँ । त्यसपछि मलाई पनि मान्छे त छविजी राम्रै हुनुहुन्छ, तर किन रेखाजीले छाडेर गएको होला भन्ने लाग्न थाल्यो ।

अब रेखासँग पुनर्मिलन हुँदैन
हाम्रो बिहेको कुरा चल्नुभन्दा पहिला उहाँको रेखाजीसँग पुनर्मिलन होस् भन्ने धेरै चाहना थियो । तर, अबचाहिँ त्यस्तो चाहना राख्दिनँ । किनकि अब उहाँ रेखासँग नजिकिनुभयो भने मलाई गाह्रो पर्छ । किनकि हाम्रो विवाहको बारेमा बुवाममीसँग पनि कुरा पुगिसक्यो । फेरि मैले धेरै सोचेर बुवाममीसामु छविसँगको विवाहको कुरा पु¥याएकी हुँ । छविजीलाई अझै पनि रेखाजीको माया छ र मलाई नखुलाएको हो भने मसँग विवाह नगर्दा हुन्छ । तर, अब छविजीको रेखासँग पुनर्मिलन हुँदैन भन्नेमा पनि ढुक्क छु ।

रेखा र छविजीको फोनमा कुरा हुन्छ
यति हुँदाहुँदै पनि छवि र रेखाजीको अहिले पनि कुनैकुनै वेला फोनमा कुराकानी हुन्छ । उहाँले रेखाजीलाई अहिले पनि व्यावसायिक रूपमा निकै सहयोग गर्नुहुन्छ । पर्सनलभन्दा पनि व्यावसायिक कुरा नै हुने गरेको सुन्छु । यसरी प्रोफेसनल ढंगले कुराकानी हुँदा मेरो कुनै पनि गुनासो छैन । उहाँले रेखासँग कुरा गर्दा म सँगै हुन्छु । रेखालाई त मैले केटाकेटीजस्तो हुर्काएर यहाँसम्म ल्याएको हुँ । त्यसैले म उसलाई व्यावसायिक रूपमा साथ दिन्छु, तर व्यक्तिगत जीवनबाट भने म उसबाट टाढा भइसकेँ भन्नुहुन्छ ।

मलाई छविजीको हरेक पक्ष मन पर्दैै गयो
चलचित्रमा काम गर्दै जाँदा ‘हवल्दार सुन्तली’को अभिनय गर्ने वेलासम्म पुग्दा उहाँले मलाई माया गर्नुहुन्छ भन्ने लाग्न थाल्यो । त्यसवेलासम्म मैले पनि उहाँलाई राम्रोसँग बुझ्ने मौका पाएँ । यसरी मलाई छविजीको हरेक पक्ष राम्रो लाग्न थाल्यो । मान्छे राम्रो लागेपछि मन पनि मिलिहाल्दोरहेछ । अनि हामी दुई एक–अर्कालाई माया गर्न थाल्यौँ ।Actress Shilpa Pokharel Photo Orange Saree 7

जब विवाहको प्रस्ताव राख्नुभयो‘
यसरी दुवैजना मायामा डुब्दै गएपछि गत वर्ष किस्मत–२ चलचित्रको समयमा छविजीले विवाहको प्रस्ताव राख्नुभयो । गम्भीर भएर ‘म तिमीलाई साँच्चिकै माया गर्छु, मसँग विवाह गछ्र्यौ’ भन्नुभयो । मैले सोच्नुपर्छ भनेँ ।

ममीले ३० वर्ष जेठो भनेपछि झसंग भएँ
यसरी छविजीले मलाई विवाहको प्रस्ताव राखेपछि मैले घरमा गएर ममीसँग कुरा गरेँ । ममी छक्क पर्नुभयो । ममीले तँभन्दा छवि कति वर्ष जेठो छ थाहा छ तँलाई भन्नुभयो । ममीले विवाह गर्ने भनेको कुनै जोक होइन, छविजी तँभन्दा ३० वर्ष जेठो हुनुहुन्छ भन्नुभयो । एकछिन त म झसंग भएँ ।

छविलाई भेटेपछि बुवाममीको आँखाभरि आँसु
ममीले छविजीको उमेरबारे बताउनुभयो । त्यसपछि भोलिपल्ट फेरि अफिस गएँ । छविजीले के सोच्नुभयो त भन्नुभयो । मैले ममीबुवासँग सल्लाह गरेको छैन भनेर झुट बोलेँ । एक हप्तासम्म यसरी नै टारेँ । उहाँले एक हप्तापछि फेरि सोध्नुभयो । यसका साथै फेरि उहाँले ‘म त तपाईंसँग विवाह गर्ने कुरामा गम्भीर छु, विवाह गर्ने भए गरौँ’ भन्नुभयो । मैले ‘हुन्छ फेरि म एकपटक राम्रोसँग कुरा गर्छु’ भनेँ । फेरि घरमा गएर ममीसँग ‘म त छविसँग बिहे गर्छु, उमेरले केही फरक पर्दैन, मान्छे राम्रै छ, ठिकै छ मलाई त राम्रै लाग्छ’ भनेँ । ममीले ‘तेरो जिन्दगी हो, तँ आफैँ सोच’ भन्नुभयो ।

मैले ‘सोचिसकेँ, तपाईंहरूको निर्णय मात्र कुरेकी हुँ’ भनेँ । त्यसपछि बुवाममीले नै ‘ठिकै छ नि त उसो भए छविजीलाई बोला न त, हामी पनि कुरा गर्छौँ’ भन्नुभयो । अनि मैले छविजीलाई खाना खाने गरी बोलाएँ । छविजी मेरो घरमा आउनुभयो । मचाहिँ केही कामले २–३ घन्टा बाहिर निस्किएँ । घर आउँदा छविजी निस्किसक्नुभएको रहेछ । ‘छविजीसँग के कुरा भयो त’ भनेर ममीलाई सोधेँ । उहाँले ‘मान्छे त ठिकै हो, तर उमेरले त गाह्रो बनाउँछ, एकपटक अझै पनि सोच’ भन्नुभयो । त्यसवेला बुवाममीको आँखाभरि आँसु भरिएको थियो । त्यसपछि मलाई पनि गाह्रो भयो ।

बुवाममीले स्वीकृति दिइसक्नुभयो, अब विवाह गर्छौँ
त्यसपछि मैले बुवाममीलाई सम्झाउँदै ‘मलाई यही क्षेत्रमा जिन्दगी बिताउनु छ, मलाई चलचित्रको नराम्रोसँग लत लागिसकेको छ, अब म यो क्षेत्र छाडेर कहीँ पनि जान सक्दिनँ, म यही इन्डस्ट्रीमा केही गर्न चाहन्छु’ भनेँ । ‘चलचित्र क्षेत्रमा कस्ताकस्ता नराम्रा मानिस छन्, तर हात थाम्ने एकजना मान्छे त चाहिन्छ नि, त्यसैले मलाई सहारा दिने मान्छे छ भने म उसैसँग बिहे गर्छु’ भनेँ । त्यसपछि बुवाममीले ‘तँलाई जे उचित लाग्छ त्यही गर’ भनेर स्वीकृति दिनुभयो । त्यसैले अब विवाह गर्छौँ ।

गत वर्ष ज्योतिषीका कारण विवाह भएन
हाम्रो एकजना गुरु हुनुहुन्छ । उहाँलाई घरमा बोलाएर ज्योतिष हेरायौँ । उहाँले ‘अहिले विवाह गर्न राम्रो छैन, राम्रो समय आएपछि आफैँ भन्छु’ भनेर भन्नुभयो । यसरी ज्योतिषीकै कारण गत वर्ष हाम्रो विवाह नभएको हो । तर, बुवाममी मेरो विवाहका लागि तयार भइसक्नुभएको छ ।

लज्जा प्रमोसनको वेला विवाहको हल्ला चलाएकै हो
जतिवेला चलचित्र रिलिज डेट नजिकिँदै जान्छ, तब हाम्रो विवाहको हल्ला पनि चल्दै जान्छ । कतिपयले त ‘दर्शकको ध्यान आफ्नो चलचित्रतर्फ खिच्नका लागि विवाहको चर्चा बाहिर ल्याएका हुन्’ पनि भने । तर, त्यस्तो होइन । हामीले ‘लज्जा’ चलचित्रको प्रमोसनका लागि चाहिँ छवि र मेरोबीचको विवाहको हल्ला जानीजानी चलाएका थियौँ । तर, त्यसवेलामा मैले निर्माता र नायिकाको सम्बन्धको रूपमा मात्र लिएकी थिएँ । उहाँले चाहिँ ‘म मन प¥यो’ भन्नुभएको थियो । उहाँ सिरियस हुनुभएको रहेछ । मैलेचाहिँ हावामा उडाइदिएकी थिएँ ।

छविले गल्ती सुधार्नुभयो भने हाम्रो सम्बन्धविच्छेद हुँदैन
छविजीले अहिलेसम्म तीनवटी श्रीमतीसँग जीवन बिताइसक्नुभएको छ । रेखाजीसँग सम्बन्धविच्छेद भएको कुरा त अझै पनि ताजै छ । तर, अब छविजीको जीवनमा म जाँदै छु । त्यसैले कतिपयले मेरो र छविको सम्बन्ध दिगो होला र भन्ने शंका पनि गर्छन् । त्यो स्वाभाविक नै हो । तर, म छविको श्रीमती भएर गइसकेपछि मेरोतर्फबाट मैले निभाउनुपर्ने भूमिका राम्रोसँग पूरा गर्छु । उहाँले पनि विगतमा के कारणले श्रीमतीसँग छुट्टिएर बस्नुप¥यो, के कारणले मनमुटाव भयो, आफूले के गल्ती गरेँ, के कारणले श्रीमतीहरू टाढा भए भन्ने कुरा राम्रोसँग सोच्नुपर्छ । यसरी उहाँले नकारात्मक पक्षलाई सोचेर सुधार्नुभयो भने उहाँको र मेरो सम्बन्ध दिगो रहन्छ जस्तो लाग्छ । त्यसैले मैले अहिले पनि उहाँलाई राम्रोसँग सोच्नुस् भनिरहेकी छु ।

उहाँको मन मेरो जस्तै तन्नेरी
छविजी र मेरो विवाहको कुरा चल्न थालेपछि बुवाममीले ‘३० वर्षको उमेर फरक छ’ भन्दा मेरो मनमा चिसो पसेको थियो । तर, मैले छविजीलाई भित्रैबाट बुझेकी छु । उमेरमा जति नै फरक भए पनि सबैसँग घुलमिल हुन सक्ने उहाँको बानी छ । त्यसैले अहिले त मभन्दा ३० वर्ष जेठो हुनुहुन्छ भन्ने अनुभव नै हुँदैन । कतिपयले छविजी बुढो हुनुभयो भन्छन् । तर, मलाईचाहिँ बुढो हुनुभयो जस्तो लाग्दैन । साँच्चै भन्दा उहाँको उमेर धेरै भयो होला, मन मेरै उमेरको जस्तो तन्नेरी लाग्छ । हाम्रो विवाहको हल्ला गत साल पनि चलेको थियो । अहिले मंगलम् चलचित्रको रिलिज डेट नजिकिएसँगै हाम्रो विवाहको चर्चा चुलिँदै गएको छ । हाम्रो विवाहको कुरा चलचित्र प्रमोसनका लागि होइन । अब हामीले विवाह गर्ने पक्का भइसकेको छ । मिति तय गर्न मात्र बाँकी हो ।

लिभिङ टुगेदर हल्ला मात्र
हाम्रो सम्बन्धको चर्चा चल्दै गएपछि हामी लिभिङ टुगेदरमा छौँ भन्ने कुरा पनि बाहिर आए, तर त्यो आफैँमा हल्ला मात्र थियो । त्यस्तै, चलचित्र ‘लज्जा’कै समयमा पनि ‘शिल्पा त ६ महिना छवि ओझासँग बसेको रे’ भन्ने हल्ला चल्यो । विवाह नगरी म किन छविसँग गएर बस्ने र रु यी सबै हल्ला हुन् ।shilpa pokharel and chhabi raj ojha

छविको केटाकेटी पारामा सम्झाउने बानी मनपर्छ
छविजी बुढो मानिससँग बुढै अथवा पाकै व्यवहार गर्नुहुन्छ । त्यस्तै, केटाकेटीसँग पनि त्यस्तै शैलीमा व्यवहार गर्नुहुन्छ । उहाँको केटाकेटीजस्तो पाराले सम्झाउने बानी एकदमै मनपर्छ । उहाँको सबैसँग घुलमिल गर्न सक्ने क्षमता छ । त्यस्तै, चलचित्रको सुटिङमा पनि सबैलाई समान व्यवहार गर्नुहुन्छ । उहाँले चलचित्रबारे गहिरो अध्ययन गर्नुभएको छ । तर, कुनै चलचित्र निर्माण गर्दा हामीसँग पनि सल्लाह गर्नुहुन्छ । मलाई उहाँको त्यो बानी असाध्यै मनपर्छ ।

अरूको अघि कराउने बानी मन पर्दैन
कहिलेकाहीँ कुनै काम बिग्रियो भने सबैको अघि कराउनुुहुन्छ । उहाँको त्यो बानीचाहिँ मन पर्दैन । तर, पछिचाहिँ त्यही नै सही लाग्छ । किनभने उहाँले कराएको त हाम्रै लागि रहेछ भन्ने महसुस हुन्छ । कहिलेकाहीँ हामीले भनेको कुरा सुन्न चाहनुहुन्न, तिमीहरूले मलाई सिकाउने भन्ने ठान्नुहुन्छ ।

इन्गेजमेन्ट र विवाह एकैदिन गर्छौँ
हाम्रो परम्पराअनुसार कतिपयले विवाह र इन्गेजमेन्ट छुट्टाछुट्टै गर्ने चलन छ । तर, मचाहिँ इन्गेजमेन्ट नगर्ने सोचमा छु । विवाह र इन्गेजमेन्ट एकैदिन गर्ने हो ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७