कान्छी काठमाडौंको महलमा, जेठी कष्टकर जीवनयापनमा

प्रधानन्यायाधीश पराजुलीको बहुविवाह प्रकरण


७ फाल्गुन २०७४, सोमबार
Basanta Parajuli

काठमाडौं, ७ फागुन । नेपालको गणतान्त्रिक संविधान २०७२ को धारा १८ मा समानताको हकले सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् भनेको छ । तर न्यायालयकै प्रमुख प्रधानन्याधीश गोपाल पराजुलीकी जेठी श्रीमतीले नै न्याय पाउन सकेकी छैनन् । यो अवस्थामा आम जनताले कस्तो न्यायको अपेक्षा गर्लान् ? साथै जेठी श्रीमतीलाई उनले खान बस्नका लागि उचित सम्पत्ति पनि दिएका छैनन् न त अंशवण्डा वा पारपाचुके नै । मुलुकी ऐनमा छोराछोरी नभए पनि १० बर्षसम्म दोस्रो विवाह गर्न पाइँदैन । तर, प्रधानन्यायाधीश पराजुलीले भने पहिली श्रीमती हुँदाहुँदै दोस्रो श्रीमती विवाह गरेका हुन् । यसैले आम जनताले भन्ने गरेका छन् “ठूलालाई चैन र सानालाई मात्रै ऐन” ।

Basanta Parajuli 1 copy
गोपाल पराजुली कान्छी श्रीमती बसन्तासँग ।

नुवाकोटमा खरिदार सरहको गाविस सचिव पदमा कार्यरत तनहुँका महेश पौडेलले बहुविवाहका कारण स्थायी जागिरबाट हात धुनुप¥यो । उनी जेल पनि परे । तर तनहुँमै जन्मेका प्रधानन्यायाधीश गोपाल पराजुलीले बहुविवाह गरेको प्रमाणित भए पनि न त कानुनले छोयो न त नैतिकताले नै । पराजुलीले श्रीमती गौरीलाई न त माना चामल भरेका छन्, न त अंशवण्डा नै । उनले सामान्य पत्रम् पुष्पम् गरेर जेठी श्रीमती गौरी पराजुलीलाई घर न घाटको बनाएको अवस्था छ । देशको चौथो मर्यादाक्रममा रहेका व्यक्तिले संसदीय सुनुवाइमा समेत उल्टै झुठ बोलेर जनतालाई भ्रममा पारेका छन् । यो अवस्थामा उनीबाट कस्तो न्यायको अपेक्षा गर्ने ?
२०१६ साल जेठ ७ गते तनहुँमा बाबु तोयनाथ ढकाल र आमा कृष्णकुमारीका जेठी छोरीका रुपमा जन्मिएकी गौरी विवाह पश्चात लामो समयसम्म प्रधानन्यायाधीश पराजुलीसँग नवलपरासीमा बसेकी थिइन् । यसरी उनीसँग सम्बन्ध बिच्छेद नहुँदै प्रधानन्यायाधीश पराजुलीले बिनासँग दोस्रो विवाह गरे । बिनाको मृत्युपश्चात बिन्दुसँग तेस्रो विवाह गरेका थिए । बिन्दुसँगै छोराको गाडी दुर्घटनामा मृत्यु भएपछि उनले चौथो श्रीमतीका रुपमा दाङकी बसन्तासँग विवाह गरेका थिए । जेठी श्रीमती गौरीलाई हालै वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त बालचन्द्र शर्माको जोडले अलग गराउन बाध्य पारिएको उनका आफन्तहरुको दाबी छ ।

Gauri Parajuli copy
गोपाल पराजुली नै पति उल्लेख भएको गौरीको मतदाता परिचयपत्र ।

 

संसदीय सुनुवाइमा समेत झुट बोलेका प्रधानन्यायाधीश पराजुलीको फरक फरक जन्ममितिका चार किसिमका नागरिकताको प्रतिलिपि र एसएलसीको प्रमाणपत्र पछि बहुविवाहको काण्ड आएको छ । प्रधानन्यायाधीश पराजुलीकी कान्छी श्रीमती बसन्ता पराजुलीले दुई दिदीहरुको मृत्युपछि आफूले प्रधानन्यायाधीश पराजुलीसँग विवाह गरेको र त्यो भन्दा अन्य कोही भएको भए आफूले ससम्मान साथ राख्ने भन्दै एक संचारमाध्यममा अन्तर्वार्ता दिएकी थिइन् । तर, सामान्य घरमा कष्टकर जीवन बिताएकी गौरी पराजुलीलाई जीवनयापनका लागि केही नदिई अपमानजनक तरिकाले प्रधानन्यायाधीश पराजुलीले राखेका छन् । राष्ट्रिय महिला आयोग, मानव अधिकार आयोग लगायत कुनै पनि निकायले गौरीको पीडालाई हालसम्म सम्वोधन नगरिएको स्थानीय बताउँछन् । अझ रमाइलो कुरा त के छ भने उनै बसन्ता जेठी सौताका भाइ विनोदकान्त ढकालको फेसबुकमा समेत साथी छन् । तर पनि उनले कसरी सौता छैनन् भन्न सकिरहेकी छिन् ? किन उनले ढाँटिरहेकी छन् ? उनले एक अनलाइनलाई अन्तर्वार्ता दिँदा किन झुट बोलेकी हुन् ? यो विषय न्यायपालिकाभित्रै तिब्र खोजको विषय बनेको छ ।
तनहुँ जिल्लाको साविक मिर्लुङ गाविसकी गौरी ढकाल पराजुलीसँग प्रधानन्यायाधीश पराजुलीको पहिलो विवाह भएको थियो । अहिले गौरी प्रधानन्यायाधीश पराजुलीले बेवास्ता गरेपछि भानु नगरपालिका वडा नम्बर १२ को रतनपुरमा भाइको घरमा एक्लै बसेकी छन् । तनहुँ जिल्लाको डुम्रेबाट १९ किमी उत्तर पूर्वमा रहेको रतनपुरमा अहिले भानु नगरपालिकामा पर्दछ ।

Gauri Basne Bhaiko Ghar
भाइको यही घरमा शरण लिएर बसेकी छन् गौरी पराजुली ।

उनका कान्छा भाइ श्रीभद्र ढकाल अमेरिकामा छन् । गौरीले आफूले भरणपोषण हुने हैसियतमा कुनै सम्पत्ति प्राप्त नगरेको र सम्बन्ध बिच्छेद पनि नगरेको डायरी एक्सप्रेस साप्ताहिकसँगको टेलिफोनमा बताइन् । उनीसँग गरेको वार्ताको अडियो डायरी एक्सप्रेस साप्ताहिकसँग सुरक्षित रहेको छ । गौरी ढकालको मतदाता परिचयपत्रमा पनि पतिको नाम गोपाल पराजुली नै उल्लेख छ ।  मतदाता परिचयपत्रमा गोपाल पराजुलीकै श्रीमतीका रुपमा गौरी पराजुली नै लेखेकी छिन् ।
के गर्दा प्रधानन्यायाधीश पद रिक्त हुन्छ ?
नेपालको संविधान २०७२ को भाग ११, धारा १३१ मा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा पद रिक्त हुने भनिएको छ । त्यसैले प्रधानन्यायाधीश पराजुलीले आफूले बहुविवाह नगरेको भन्ने जिकिरलाई गौरी पराजुलीको भनाइले खण्डन मात्रै गरेको छैन राज्यलाई प्रधानन्यायाधीश जस्तो व्यक्तिले संसदीय सुनुवाइमा समेत झुट बोलेको ठहरिएको छ ।

पराजुलीले संसदीय सुनुवाईमा व्यक्त गरेका कुराहरु आपत्तिजनक, गलत र झुटा छन्
बिनोदकान्त ढकाल, गोपाल पराजुलीका साला (जेठी श्रीमतीका भाइ)
मेरी दिदी हालका प्रधानन्यायाधीश गोपाल पराजुलीको पहिलो श्रीमती हुनुहुन्छ । हामी दुई दाजुभाइ र दुई जना दिदीबहिनी छौं । दिदी गौरी कान्छो भाइको घर तनहँुको भानु नगरपालिका वडा नम्बर १२ रतनपुरमा बस्नुहुन्छ ।

Binod Kanta Dhakal Ratanpur
गौरी पराजुलीका भाइ विनोदकान्त ढकाल ।

कुन बाबु आमा होला छोरीले घर नखाओस् भन्ने ? विवाह गरेरदिएकी छोरीलाई कसले माइतमा राख्न खोज्छ ? यस अर्थमा गोपाल पराजुलीले सामान्य पनि धर्म निर्वाह गरेका छैनन् । उनले नवलपरासीमा वकालत गर्दा नै सामान्य पत्रम् पुष्पम् मात्रै गरेका छन् । उनले आफ्नो नाममा केही छैन दाइको भागबाट दिएको भन्दै एउटा घडेरी मात्रै दिएका छन् । पारपाचुके पनि गरिएको छैन । दिदीको यस्तो बेहाल गराउने काममा उनका भान्जा बालचन्द्र आचार्यको भूमिका छ । उनी वकिल भएका कारण कानुनी रुपमा माथि पारेका होलान् तथापि गोपाल पराजुलीले संसदीय सुनुवाईमा व्यक्त गरेका कुराहरु आपत्तिजनक, गलत झुट छन् । बसन्तालाई पनि उनीहरुले थाहा नै दिएका रहेनछन् । मिडियामा एक्सपोज हुँदै गर्दा थाह पाउँदैछिन् । (अडियो सुरक्षित छ)
गौरा पराजुली, गोपाल पराजुलीकी जेठी श्रीमती
मेरो विवाह भएको ठ्याक्कै मिति पनि बिर्सिएँ । तर मेरो कुनै पारपाचुके भएको छैन । मेरो जन्म २०१६ सालमा भएको हो ।

पराजुलीले तीन भागको एक भाग उनको सम्पत्ति जेठी श्रीमतीलाई अंशको रुपमा दिनुपर्दछ
प्रा.डा.रामचन्द्र गौतम, अध्यक्ष, पञ्चाङ निर्णायक समिति तथा धर्मशास्त्रमा विद्यावारिधि  ।

Prof. Dr.Ram Chandra Gautam
प्रा.डा.रामचन्द्र गौतम

धर्मशास्त्रमा पत्नीहरुका प्रकारका बारेमा ब्याख्या गरिएको छ । एकथरी पत्नी हुन्छन् भने अर्काथरी भोग्य हुन्छन् ।
पत्नीः हाम्रो वैदिक विधि अनुसार ब्रम्हा विवाह भनिन्छ जसमा ब्राम्हण, क्षेत्री, वैश्यको वैद्धिक विधि अनुसार यो विवाह हुन्छ । वैदिक विधि अनुसार तिम्रो हाड र मेरो हाड एउटै होस्, तिम्रो मासु र मेरो मासु एउटै होस्, तिम्रो रगत र मेरो रगत एउटै होस् भनेर पत्नि बितेमा पति बिदुर र पति बितेमा पत्नी बिधवा हुन्छ । त्यसैले वैदिक विधि अनुसार पत्नित्व प्राप्त गर्नुपर्दछ पतिले र पतित्व प्राप्त गर्नुपर्दछ । त्यो प्रधानन्याधीश पराजुलीले गरेका छन् कि छैनन् ।
भोग्य पत्नीः प्रधानमन्त्री केपी ओलीले विवाह गरेकी राधिका शाक्य चाँहि भोग्य पत्नी हुन् । उनको पनि काजकिरिया गर्नुपर्दछ । तर जुठो पनि १० दिनमात्रै लाग्दछ । तर, अन्तर्जातीय विवाहको व्यवस्था शास्त्रमा कतै उल्लेख गरिएको छैन । तर, राज्यले पुरुस्कारको व्यवस्था पनि गरेको छ ।
अलग बस्दैमा आफ्नै अर्को विवाह नगरी बसेकी श्रीमतीको भोलि काजकिरिया लगायतका सबै काम गर्नुपर्दछ । प्रधानन्यायाधीश पराजुलीका जीवित दुई पत्नी भएका कारण तीन भागको एक भाग उनको सम्पत्ति जेठी श्रीमतीलाई पनि अंशको रुपमा दिनुपर्दछ । भगवतीप्रसाद सिंह प्रधानन्यायाधीश हुँदा यग्यवल स्मृतिका श्लोकहरु जस्मा अंशवण्डा लगायतका विषयहरुमा कस्ले कति पाउने ? छोरालाई कति अंश दिने ? भन्ने विषयमा प्रष्टसँग लेखिएको हुन्थ्यो सर्वोच्च अदालतको सूचना पाटीमा ती श्लोकहरु टाँसिएका हुन्थे । हिजो ऐन र कानुन नबन्दै धर्मशास्त्रका आधारमा राज्य संचालन हुने गर्दथ्यो । मुलुकी ऐन लागू भएपछि मात्रै अंशवण्डाको कुरा आएको हो । पहिलो श्रीमती अर्को विवाह नगरी बसेको खण्डमा अलग बसेपनि हाम्रो धार्मिक शास्त्रअनुसार श्रीमान् मरेको खण्डमा श्रीमतीले र श्रीमती मरेको खण्डमा श्रीमान्ले काजकिरिया गर्नुपर्दछ । यसरी धर्मशास्त्रमा तीनवटा कुराहरु उल्लेख गरिएको छ । अचार, ब्यबहार र प्रायश्चितता ।
अचारः आचारमा कस्को के धर्म हो कस्को के कर्म हो के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषय लेखिएको छ । वर्ण धर्म, वर्णाश्रम धर्म, गुणा धर्म, निमित्त धर्म लगायतका धर्मकर्म र कर्तब्यका बारेमा प्रष्ट पारिएको छ ।
ब्यबहारः ब्यबहार पक्षमा राज्य सञ्चालन सम्बन्धी विषयहरु पर्दछन् ।
प्रायश्चितताः यस्मा दण्ड सजायका विषयहरु पर्दछन् । कुन ब्यक्तिले कस्तो काम गर्दा कस्तो दण्ड दिने भन्ने विषय धर्मशास्त्रमा लेखिएको छ ।
नारायण शर्मा, डायरी एक्सप्रेस साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७