राष्ट्रबैंकको संचालक रिक्त, दौडमा को को छन् ?


७ फाल्गुन २०७४, सोमबार
nrb

काठमाडौं, ७ फागुन । नेपाल राष्ट्रबैंकमा एक संचालक पद रिक्त भएको छ । राष्ट्रबैकका संचालक बालकृष्णमान सिंहको पाँच बर्षे पदावधि बिहीबारदेखि समाप्त भएको छ ।

nrb

संचालक सिंह निलम्बनमा परेकाले लामा समयसम्म काम गर्न पाएनन् । निर्वाचनमा वामगठबन्धनले बहुमत ल्याएर पनि राजीनामा नदिएका शेरबहादुर देउवाले आफू प्रधानमन्त्री छँदै राष्ट्रबैंकको संचालक बनाउन खोजेका थिए । तर निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन परिणाम पेश गर्नासाथ राष्ट्रपति विद्या भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेपछि उनले राष्ट्रबैंकमा संचालक बनाउन सकेनन् । अन्त खाली भएका ठाउँ सबैमा उनले नियुक्ति गरे । कतिपय निकायमा हटाएर नयाँ नियुक्ति गरे ।
राष्ट्रबैंकको संचालक सिंहको पदावधि बाँकी भएकाले उनले नियुक्त गर्न सकेनन् । डा. बाबुराम भट्टराईको सरकारले राष्ट्रबैंकको संचालक बनाएका सिंहको ठाउँमा देउवाले त्रिलोचन पंँगेनीलाई नियुक्ति गर्न खोजेका थिए । पँगेनी राष्ट्रबैकका पूर्वकार्यकारी निर्देशक हुन् । उनले गतबर्ष अवकाश पाएका हुन् । उनलाई कांग्रेस समर्थक र सिनियर हुँदाहुँदै पनि डेपुटी गभर्नर नबनाएपछि गभर्नर चिरन्जीवी नेपालसँग उनको दूरी बढेको थियो ।
राष्ट्रबैंकको संचालकका लागि पूर्व उद्योग सचिव कृष्ण ज्ञवाली, राष्ट्रबैकबाटै सेवानिवृत्त कार्यकारी निर्देशकहरु भाष्करमणि ज्ञवाली र शिवनाथ पाण्डे पनि दौडमा थिए । यी तीनैजना कांग्रेसको कोटामा संचालक हुन दौडधूपमा लागेका थिए ।
तर देउवा सरकारको बहिर्गमनपछि वाम गठबन्धन सरकार बनेपछि स्थितिले कोल्टे फेरेको छ । अब संचालकका लागि तुल्सी उप्रेती, डा. गोविन्दबहादुर थापा, लोकबहादुर थापा, केशव आचार्यको नाम लिन थालिएको छ । उप्रेती प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका हुन् । गोविन्दबहादुर थापा राष्ट्रबैंककै पूर्व कार्यकारी निर्देशक हुँदै एसियाली विकास बैंकको बैकल्पिक निर्देशकका रुपमा काम गरिसकेका हुन् । उनी यसअघि पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भइसकेका हुन् । केशव आचार्य पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेका आर्थिक सल्लाहकार भएका थिए । लोकबहादुर खड्का पनि राष्ट्रबैंककै पूर्व कर्मचारी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७