ओली–प्रचण्ड पार्टी एकीकरणमा सहमत, आज साँझ सहमति–पत्रमा हस्ताक्षर


७ फाल्गुन २०७४, सोमबार
Kp Oli and Prachand

काठमाण्डौं, ७ फागुन : लामो समयदेखि चलेको नेकपा एमाले र नेकपा माओवादीबीचको पार्टी एकता अन्ततः सुखद बनेको छ । विभिन्न विचार, सिद्धान्त र मान्यताहरुमा मन्थन र माथापच्ची गर्दै आएका दुई दल आखिर जनताको म्याण्डेट अनुसार एक हुने ठाउँमा आइपुगेका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सोमबारको गोप्य वार्ता निर्णयक तहमा पुगेको छ ।Kp Oli and Prachand

भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा २ नेताबीच सोमबार गोप्य वार्ता भएको हो । पार्टी एकता र सरकारमा सहभागितालगायतका विषयमा छलफल भएको र त्यसलाई पार्टी एकता संयोजन समितिको बैठकबाट पूर्णता दिइने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । दुई शीर्ष नेताहरुबीचको वार्ताको परिणामलाई नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्न बनेको पार्टी एकता संयोजन समितिको सोमबार बेलुकी बस्ने बैठकले मूर्त रूप दिने भएको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले दुई नेताबीच पार्टी एकताको सहमति जुटेको पुष्टि गरेका छन् । गौतमले भने, ‘पार्टी एकताका लागि दुई अध्यक्षबीच सहमति भयो । त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्छ ।’ पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा आलोपालो गर्ने गरी सहमति जुटेको हो भन्ने प्रश्नमा गौतमले भने, ‘अहिले धेरै भन्यो भने बिग्रिन्छ । हालका लागि एकता संयोजन समितिले केपी ओलीलाई सरकारमा पठायो । पार्टी एकतापछि यसबारे शीर्ष तहमा भएको सहमति अनुसार निर्णय हुनसक्छ ।’ oli and parchanda 768x366

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार भएको एकल वार्ताबाट एकता प्रक्रिया र सरकारमा सहभागिताका विषयमा कुरा मिलेकाले सोमबार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बोलाइएको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रको सरकारमा सहभागिता, पार्टी एकतापछि अवलम्बन गर्ने सिद्दान्तलगायतका विषयमा आइतबार भक्तपुरमा ओली–प्रचण्डबीच भएको ५ घण्टा लामो वार्तामा सहमति भएको बताइएको थियो । आज उक्त सहमतिमा दुबै नेताले हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाइएको छ । पार्टी एकताका लागि यसअघि पार्टी एकता संयोजन समितिमा एकीकृत पार्टीको मुल सिद्धान्त, सांगठनिक संरचना र नेतृत्वका विषयमा विवाद भएपछि दुवै पार्टीका अध्यक्ष लगातार एकल वार्तामा थिए ।

दुई नेताबीच पार्टी एकता, पद बाँडफाँड र सरकारमा सहभागितालगायतका विषयमा भइरहेको छलफल मिल्नेतर्फ अगाडि बढेको एमाले नेता सुवास नेम्वाङले बताएका छन् । माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनिसके पनि दुई पार्टीबीच एक भएपछि कुन नेतालाई कुन पद दिने र कुन सिद्धान्त अवलम्बन गर्ने तथा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदमा कुरा नमिलेपछि माओवादी सरकारमा सहभागी भएको थिएन । पार्टी एकताका विषयमा दुई पार्टीका अध्यक्षबीच छलफल चलिरहँदा माओवादी केन्द्रले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरिसकेको छ । नेताहरूको व्यवस्थापन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षलगायत मुख्य पदको भागबण्डा टुङ्गिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७