ओली–प्रचण्डलाई बाबुरामको व्यङग्य : भेंडा भेंडासँग र बाख्रा बाख्रासँगै भएको राम्रो
काठमाण्डौं, ८ फागुन : नयाँशक्तिका बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकतालाई सामाजिक सञ्जालमार्फत व्यङ्ग्य प्रहार गरेका छन् । उनले यी दुई पार्टीको एकतालाई ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ भएको ठहर गरेका छन् । पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट पूर्व माओवादी समेत रहेका भट्टराईले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत ओली–प्रचण्डमाथि व्यङ्ग्य प्रहार गरेका हुन् ।
मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना दिंदै संयोजक भट्टराईले राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो भएको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत् भट्टराईले शुभकामना दिँदै लेखेका छन्, ’एमाले–माके एकताप्रक्रिया औपचारिक रूपले अघि बढेकोमा हार्दिक वधाइ तथा शुभकामना। राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो कुरा हो। यसबाट अब नेपाली जनतालाई विचार, नीति, कार्यक्रम रकार्यशैली एउटै भएका, तर ब्राण्ड नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुनेछ ।’
उनले भनेका छन्, ‘अब देशमा दोश्रो विश्वदुद्ध पछिको शितयुद्धकालीन दुइध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर कांग्रेस र स्टालिनवादी राज्य–समाजवाद पक्षधर कम्युनिष्ट ध्रुवको विकल्पमा एक्काइसौं शताब्दी र चौथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनि क्यापिटालिज्म (आसेपासे पुँजीवाद) को दुष्चक्रमा फस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसी–समानुपातिक–सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्नेछ ।’
१७ असोजमा एमाले–माओवादी केन्द्रबीच वामगठबन्धन निर्माणसहित पार्टी एकताको निर्णय गर्दा भट्टराई पनि गठबन्धनमा सामेल थिए । तर, चुनावी तालमेल र सिट बाँडफाँटमा कुरा नमिलेपछि उनी गठबन्धनबाट बाहिरिएका थिए । एमाले–माओवादी केन्द्रबीचको एकताबाट आफूले निर्माण गर्न खोजेको समावेसी–समानुपातिक–सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्ने दावी पनि भट्टराईले गरेका छन् ।