आजबाट ओली र मलाई अध्यक्ष मान्दा भयो : प्रचण्ड


८ फाल्गुन २०७४, मंगलवार
prachanda dahal

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताएका छन् । भरतपुरमा मंलबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गरे ।

prachanda dahal
फाइल तस्बिर

‘महाधिवेशन नभएसम्म दुवैैजना अध्यक्ष प्रणालीमा गएका छौँ, आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो,’ उनले भने । व्यवहारिक र सैद्धान्तिक रुपमा ओली र आफू नयाँ पार्टीको अध्यक्ष भएको भन्दै दाहालले बैठकको अध्यक्षता समेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिए । महाधिवेशनसम्म यसैगरी अघि बढ्ने उनको भनाइ थियो ।

अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागितामा कार्यदल बनाएको र अर्को कार्यदल अन्तरिम विधान र संगठनको सेटका लागि सुझाव दिन रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायतको सहभागितामा दुईवटा कार्यदल बनाएको उनले बताए ।

हप्ता दिनभित्रमा कार्यदलको सुझावको आधारमा र त्यही विधानको आधारमा बैठक बसेर पुरानो समिति भंग गर्ने तथा नयाँ केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा दर्ता गर्ने अध्यक्ष दाहालले बताए ।

दुई वर्षभित्रमा महाधिवेशन गर्ने र सो समयसम्म ओली नै प्रधानमन्त्री हुने दाहालको भनाइ थियो । ‘महाधिवेशनपछि त महाधिवेशनले के गर्छ भन्ने हो, तर अहिले पाँचै वर्षका लागि ओली नै प्रधानमन्त्री, अव महाविधेशनले यही गर्छ भनेर मैले अहिले नै भन्न सक्दिन नी,’ पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भने ।

उनले सरकारमा आजै मन्त्री सिफारिस गर्ने जानकारी दिए । ‘नेपाल राष्ट्रका निम्ति निकै दुरगामी परिणाम यो एकता हो,’ उनले भने । जनताको चाहना पूरा भएको भन्दै अध्यक्ष दाहालले खुशी व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७