काठमाडौंलाई विश्वको सुन्दर बगैंचा बनाउँछु : विद्यासुन्दर शाक्य


५ भाद्र २०७४, सोमबार
Bidya sundar sakya cover design

स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी चासोको साथ हेरिएको छ काठमाडौं महानगरको निर्वाचनलाई । निकै लामो छलफलपछि काठमाडौंमा महानगरपालिकामा नेकपा (एमाले)ले विद्यासुन्दर शाक्यलाई मेयरको लागि चुनावी मैदानमा उतारेको छ । शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका शाक्य विद्यालय तहदेखि नै राजनीतिमा सुरु गरेका हुन् । २०२० जेठ ९ गते काठमाडौंमा जन्मिएका शाक्यले ०४९ र ०५४ को स्थानीय निर्वाचनमा कामपा– २१ बाट वडाध्यक्ष जितेका थिए । २०४६ सालको जनआन्दोलनमा सक्रिय रुपमा सहभागी शाक्यले युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उतिबेला उनले काठमाडौँका युवाहरुलाई संगठित गरेर संगठनलाई कुशल ढंगले क्रियाशिल बनाएका थिए । शाक्यले हाल नेकपा (एमाले)को जिल्ला कमिटीको सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । के छन् त उनको महानगर सपना ? नयाँपेजले गरेको कुराकानी :-

Bidya sundar sakya cover design

देशको सबैभन्दा ठुलो महानगर काठमाडौंमा मेयरको उम्मेदवार बन्न कसरी सफल हुनुभयो ? कस्तो छ चुनावी अंकगणित ?
–पार्टी, देश र जनताप्रति निरन्तर निष्ठाको साथ लागिरहेको छु । यही मेरो निरन्तर निष्ठा, पार्टी नेतृत्व, नेता तथा कार्यकर्ताहरुको म प्रतिको विश्वास, सहयोद्धा साथीहरुको सहयोग र जनताहरुको सुभेच्छा कारण नै म उम्मेदवार बन्न सफल भए भन्ने लाग्छ ।

काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो । अन्य दलको एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने आधार छैन । काठमाडौं महानगरपालिका भनेको पहिलादेखि नै नेकपा (एमाले)ले नेतृत्व गर्दै आएको महानगरपालिका पनि हो । ०५४ सालको निर्वाचनमा पनि काठमाडौँमा एमालेले मेयर, उपमेयरसहित दुईतिहाई बढी सीट जित्न सफल भएको थियो । काठमाडौँमा अहिले पहिला भन्दा एमाले अझ बढी शक्तिशाली बनेको छ । देशभरी पनि एमालेले लिएको नीति, विचार र सिद्धान्तका कारण एमालेको प्रभाव निकै बलियो छ । एमालेको संगठन पनि महानगरपालिकामा निकै बलियो छ । यी सबै कारणले पनि एमालेले यो पटक पनि काठमाडौँमा सूर्य अंकित झण्डा फहराउन सफल हुन्छ भन्नेमा म मात्र होइन आम एमाले पक्ति ढुक्क छ ।

काठमाडौं एमालेमा लामो समयदेखी पार्टीको आन्तरिक जीवनमा समस्या छ, त्यसको प्रत्यक्ष असर चुनावमा पनि पर्छ भनेर चर्चा गरिन्छ, त्यस्तै हो ?

–नेकपा (एमाले) हिजो–अस्ति भर्खर केही सांसद् खाइहालौँ । मौका मिल्यो भने एक जना मन्त्री पनि पड्काई हालौँ भनेर बनेको पार्टी होइन । निकै लामो संघर्ष र बलिदानीबाट स्थापना भएको पार्टी हो । यो पार्टीमा निकै लामो राजनीतिक संघर्ष गर्नुभएका, निकै ठूलो योगदान गर्नुभएका नेताहरु हुनुहुन्छ । हाम्रो पार्टी एमालेभित्र तीन–तीन जना त पूर्वप्रधानमन्त्री हुनुहुन्छ । नेपालमा रहेका कुनै पनि राजनीतिक दलसँग अहिले तीन–तीन जना पूर्वप्रधानमन्त्री छैनन् । यो एमालेको ठूलो सम्पत्ति हो । देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने ‘भिजन’ भएका नेताहरुको ठूलो पङ्क्ति एमाले भित्र छ । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर निकै कुसलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएका नेताहरुको पनि ठूलो पङ्क्ति छ । त्यसैले एमालेले कच्चा खेल खेल्छ, घात–अन्र्तरघात गर्छ भन्ने हल्ला विरोधीहरुले गर्ने हल्ला मात्र हुनेछ ।

ठूलो पार्टीभित्र सामान्य विवाद हुने, केही कुरामा मनमुटाव हुने सामान्य कुरा हो । तर, जब चुनावी प्रतिष्पर्धामा पार्टी होमिन्छ । एमाले एकताबद्ध भएर अघि बढ्छ । उम्मेदवार चयन हुनुअघिसम्म पार्टीले मलाई पठाए हुन्थ्यो भनेर अपेक्षा गर्नु र अन्तिमसम्म संघर्ष गर्नु अनुचित कुरा होइन । तर, पार्टीले निकै सोच–विचार गरेर कुनै एक व्यक्तिलाई पार्टीले आधिकारिक रुपमा अघि बढाएपछि अर्जुन दृष्टि नै निर्वाचनमा लगाएर एमाले अघि बढ्छ । हामी आम मतदातालाई ढुक्क भएर एमालेका पक्षमा मतदान गर्न आग्रह गर्छौ । हाम्रो पार्टी एमालेभित्र त्यस्तो घात–अन्र्तरघात कतै पनि हुने छैन । अहिले वडा–वडामा हामी ‘सात सूर्य सात छाप’को नारा लिएर अघि बढेका छौँ । अहिले घरघर–टोलटोलमा हामी चुनावी अभियान लिएर पुगेका छौँ । यो प्रक्रिया निर्वाचनसम्म नै निरन्तर रहन्छ ।

मेयरका रुपमा चर्चामा आएका व्यक्तिहरुलाई कसरी समेटेर लैजानु हुन्छ ?
– निश्चय पनि, मैले अघि पनि भने । मेयरका लागि धेरै जना योग्यतम् प्रतिस्पर्धी हुनहुन्थ्यो । पार्टीमा लामो समय गोगदान गर्नु भएका जीवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित, उपमेयर विदुर मैनाली, एमाले युवा नेता वसन्त मानन्धरलगायत धेरै हुनुहुन्थो । उहाँहरुको अनुभव, उहाँहरुको सहयोग पनि एमालेलाई विजयी गराउनका लागि धेरै महत्वपूर्ण हुनेछ । म उहाँहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने छु । व्यक्ति आफैँ पार्टी होइन । पार्टीले नै व्यक्तिलाई नेता बनाएको हुन्छ । त्यसैले हामी व्यक्ति भन्दा पनि पार्टीलाई केन्द्रमा राखेर पार्टीका नीति, विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने छौँ ।

उम्मेदवार चयन गर्नु अघि देखिएको विवाद अब निर्वाचनका बेला देखिदैंन त ?
– यो भनिरहन नै जरुरी छैन । तपाईँहरु सबैले चुनावीसभा र कार्यक्रममा त्यो प्रत्यक्ष देख्न सक्नुहुन्छ । मैले अघि पनि भने, हाम्रो अर्जुनदृष्टि नै निर्वाचन र एमालेको विजयप्रति हुनेछ । मेयर, उपमेयरका सबै दावेदारहरु चुनावी प्रचारमा जुट्नु हुनेछ ।

 

Bidya sundar

काठमाडौंका जनताले तपाईलाई किन भोट दिने, के छन् तपाईका चुनावी एजेन्डा ?
– मैले एक पटक काठमाडौँको मेयर बनिहालौँ न त कस्तो हुँदोरहेछ भनेर मयेर पदको दाबी गरेको होइन । काठमाडौँवासीका समस्या र सपनाहरु छन् । ती सपनासँग मैले नजिकबाट साक्षत्कार गरेको छु । परिचित छु । सबै समस्याहरु भोगेको पनि छु । महानगरवासीका सपनालाई मैले नजिकबाट स्पर्श गरेको छु । सुन्दर, शान्त महानगर यहाँका जनताको मात्र होइन मेरो पनि सपना हो । यो सपना गफ गरेर मात्र पूरा हुँदैन । काम गर्नुपर्छ । काम गर्न पनि ‘भिजन’ चाहिन्छ । त्यो भिजन मसँग छ । नेपाल विश्वमा नै प्राकृतिक हिसाबले सुन्दर देश हो । नेपालको सबैभन्दा ठुलो शहर काठमाडौं हो । काठमाडौंलाई विश्वको सुन्दर बगैचाको रुपमा बिकसित गर्न सकिन्छ भन्ने मेरो पुरा विश्वास छ, योजना छ ।

अहिले महानगरभित्र रहेको अस्तव्यस्त यातायात सबैको टाउको दुखाई बनेको छ । यसलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नु मेरो पहिलो काम हुनेछ । नयाँ प्रविधियुक्त यातायात पद्धति स्थापनाका लागि मैले जोड दिनेछु । महानगरमा केवलकार, तथा अत्याधुनिक बससेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडीहरु संचालनमा ल्याइनेछ । त्यसैगरी स्मार्ट काठमाडौँका रुपमा विकास गरिनेछ । ‘स्मार्ट सिटी’को पूर्वाधार तयार गर्नका लागि महानगरीय ‘ब्रोडव्याण्ड नेटवर्क’ स्थापना गरिनेछ । महानगरको नागरिक हुनुमा गौरवान्वित महसुस हुने गरी र जनतालाई सुलभ तथा द्रुत सेवा प्रदान गर्नका लागि ‘महानगर ई–सिटिजन कार्ड’को व्यवस्था गरिनेछ ।

महानगरको झल्को दिने गरी सिटीबस सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । त्यसैगरी महानगरभित्रका सबै टोल–टोलमा पुग्न कुनै पनि स्थानबाट १० मिनेट भन्दा बढी हिँड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को व्यवस्था गरिनेछ । त्यसैगरी साइकल लेनको निर्माण गरिनेछ । साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराइनेछ । ठाउँ–ठाउँमा साइकल पार्किङ स्टेशन निर्माण गरिनेछ । काठमाडौँ महानगरभित्र स्मार्ट पार्किड सिष्टमको व्यवस्था गरिनेछ । विभिन्न ठाउँमा स्वचालित भर्टिकल कार पार्किङ र अण्डरग्राउण्ड पार्किङ सिष्टमको व्यवस्था गरिनेछ । धेरै योजनाहरु मेरो घोषणापत्रमा पनि आउनेछन् ।

 

bidya sundar sakya

घोषणापत्रमा समेटिएका अन्य भन्नै पर्ने तपाईका सपना र योजना ?
– काठमाडौं महानगरलाई २४ सै घण्टा खुल्ला जीवन्त शहरका रुपमा विकसित गरिनेछ । ‘उज्यालो काठमाडौं’ कार्यक्रमको प्रारम्भ गरी निरन्तर रुपमा कार्यान्वयन गर्न विशेष योजना ल्याइनेछ । काठमाडौं महानगरलाई २४ सै निश्चित स्थानमा सडक बजार निश्चित समयका लागि संचालन गर्न दिइनेछ । विभिन्न स्थानमा ‘नाइट मार्केट’को प्रवद्र्धन गरिनेछ । नेपाल प्रहरीसँग समन्वय गरी काठमाडौं महानगरभित्र सडक, चोक, गल्लीलगायत सम्पूर्ण सार्वजनिक स्थलहरुमा सीसीटीभी जडान गरिनेछ । आगलागी भए तत्कालै आगो नियन्त्रण गर्नका लागि प्रत्येक वडामा ठाउँ ठाउँमा दमकलको व्यवस्था गरिनेछ । सुन्दर, समृद्ध, भ्रष्टचारमुक्त, स्वस्थ र पर्यावरणमैत्री सांस्कृतिक जीवन्त शहरका रुपमा महानगरको विकास गरिनेछ ।

त्यसैगरी ‘क्लिन द सिटी‘ अभियानको थालनी गरिनेछ । काठमाडौंलाई पहिलो पटक ‘ई–गभर्नेन्स’ प्रणालीमा आवद्ध गरी पारदर्शी प्रशासन प्रणाली लागु गरिनेछ । एक घर एक रोजगारीको ग्यारेन्टी गरिनेछ । अर्वान एग्रीकल्चरका लागि प्रोत्साहन गरिनेछ र सोकालागि चाहिने उपकरणहरु प्रत्येक घर–घरमा निःशुल्क वितरण गरिनेछ । महानगरमा निस्कने फोहरबाट वायोग्याँस उत्पादन गरी महानगरको व्राण्डमा त्यस वायोग्याँसलाई सहुलियत दरमा बिक्रीवितरण गरिनेछ ।

काठमाडौंलाई ‘अरवन युटिलिटि’को उचित व्यवस्थापन गर्न स्मार्ट प्रविधिहरु प्रयोग गरिनेछ । काठमाडाैं महानगरभित्र ठूला –ठूलाइभेन्टहरु गर्न ‘मेघा हलहरु’निर्माण गरिनेछ । काठमाडौं महानगरलाई झिलिमिली शहरका रुपमा विकास गर्न चाहिने सबै खाले ऊर्जा स्रोतको व्यवस्था मिलाइनेछ । घरेलु हस्तकलाका उत्पादनहरुलाई नेपाल ब्राण्डिङ्ग गरी अन्तर्राष्ट्रिय बजारमा स्थापित गरिनेछ । काठमाडौं महानगरबासीको जीवनस्तर माथि उठाउन ‘महानगर विकास वण्डहरु’ निस्काशन गरिनेछ । ज्येष्ठ नागरिकले पाउँदै आएको बृद्धभत्तामा हाललाई थप रु.१०००(एक हजार रुपियाँ) महानगरले प्रदानगर्ने व्यवस्था मिलाइनेछ ।

‘योगी, ध्यानी र ज्ञानी’को विकसित शहर बनाउछु भन्नु भएको रहेछ, त्यो भनेको के हो ?
– हो, काठमाडौँ सुनिने होइन देखिने र भोगिने शरका रुपमा विकास गर्ने मेरो योजना छ । महानगरलाई साँच्चैकै ‘कान्तिपुरी नगरी’ बनाउने पनि मेरो योजना छ । महानगर पाँच वर्षमा जीवन्त सांस्कृतिक शहर बन्ने छ । त्यति मात्र होइन, हाइटेट प्रविधियुक्त, योगी, ध्यानी र ज्ञानीको विकसित शहर मेरो कार्यकालमा बन्नेछ । पुराना भित्री शहरलाई हेरिटेज शहरका रुपमा विकास गरिने छ । प्रत्येक वडामा योग गर्न ‘योग पार्क’ बनाइनेछ । योग गर्न निशुल्क प्रशिक्षण दिइनेछ । टोल–टोलमा हुने भजनमण्डल कार्यक्रमलाई संरक्षण तथा प्रवद्र्धन गरिनेछ । विश्वका विकसित शहरहरुमा निर्माण गरिए जस्तै काठमाडौं शहरको दृश्यावलोकन गर्न एउटा ‘काठमाडौं फ्लायर’ निर्माण गरिनेछ ।

काठमाडौंभित्र रहेका विभिन्न समुदायहरुले मनाइने जात्रा, पर्व तथाअन्य सांस्कृतिक क्रियाकलापको संरक्षण,सम्बद्र्धन तथा प्रवद्र्धन गर्न आवश्यक व्यवस्था मिलाइनेछ । काठमाडाँै महानगरमा रहेका विभिन्न बहिल तथा विहारहरुलाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्य ककदम चालिनेछ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका बालबालिकाहरु (पाँचबर्ष मुनिका), पिछडिएका तथा न्यून आय भएका व्यक्तिहरुलाई महानगरबाट संचालित यातायातमा निःशुल्क यातायातको व्यवस्था गरिनेछ । सकेसम्म बढी स्वरोजगारीका अवसर सिर्जना गर्न युवालाई लक्षित गरी विभिन्न किसिमको तालिमहरु संचालन गर्ने व्यवस्था मिलाइनेछ । ‘वल्ड एजहोम’, हस्पिटल निर्माण गरी महानगरबासीलाई सेवा प्रदानगरिनेछ । प्रत्येक वडाको विभिन्न क्षेत्रमाफ्री—वाईफाई जोनहरु स्थापना गरिनेछ । सार्वजनिक जग्गाहरुमा ठाउँ ठाउँमा ‘स्मार्ट युथपार्क’हरु तथा फेमिलीपार्कहरु निर्माण गरिनेछ । अपाङ्गमैत्री शहरको रुपमा विकास गरिनेछ

विश्वका अधिकांश देशबाट आएका पर्यटकलाई फेरि पटक–पटक नेपाल घुम्न जानुपर्छ भन्ने बनाउनका लागि पर्यटक आकर्षित गर्ने योजनाहरु ल्याइने छ । त्यसका लागि गुरुयोजना नै बनाएर अघि बढिने छ । उपभोत्ता आएपछि मात्र उनीहरुका माग अघि बढाउने परम्पराको अन्त्य गरी उनीहरु आउनु अघि नै उनीहरुका माग पूरा हुने व्यवस्था गरिने छ ।

महानगरपालिकोको सबै भन्दा ठूलो चुनौति भनेको व्यवस्थापन हो । म यसलाई पहिलो प्राथमिकतामा राख्ने छु । अव्यवस्थापनका कारण गर्नेले पनि जस पाएका छैनन् र कर तिर्नेले पनि जस पाएका छैनन् । मेरो कार्यकालमा यी सबैको व्यवस्थापन हुनेछ । यहाँ बोल्नेहरु धेरै भए । सपना देखाउनेहरु पनि धेरै भए । अब ती सपना पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । म मेयर निर्वाचित भएपछि ती सबै पूरा गर्छु ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७