शरद भेषावकर हङकङविरुद्ध नखेल्ने
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध नखेल्ने सम्भावना बढेको छ ।
उनलाई एक्कासि ज्वरो आएको कारण हङकङ विरुद्ध शुक्रवार र आइतबार हुने हत्वपुर्ण खेल नखेल्ने सम्भावना बढेको हो । तर, नेपाली क्रिकेट टोलीले सो कुराको आधिकारिक पुष्टि भने गरेको छैन। स्रोतका अनुसार अहिले उनलाई अत्याधिक ज्वरो आएको छ । उनलाई बुधवार रातीदेखि नै ज्वरो आउन थालेको थियो ।
अहिले उनलाई १०१ डिग्री ज्वरो आएको स्रोतले बताएको छ । उनले ज्वरो आएपछि टिन क्वोङ रोड रिक्रिएसन मैदानमा बिहीबारको जारी अभ्यास सत्रमा अनुपस्थित थिए। उनी होटेल रेगलमा नै आराम गरेर बसिरहेका छन् । त्यसो त उनी नेपालबाट हङहङ उड्ने बेलामा पनि अस्वस्थ थिए ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपालले शुक्रवार र आइतबार हङकङविरुद्ध उसैको मैदानमा खेल्दैछ। च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक बढी रन बनाउने खेलाडीको सुचीमा शरद दोस्रो स्थानमा छन् । दश खेलबाट तीन सय २१ रन बनाएका छन् । भने उनी कप्तान पारस खड्का (३५२ रन) भन्दा पछि छन्।
ब्याटिङ औषतमा भने उनी ४५.५ को औषतमा शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका पारसको औषत ४४ रहेको छ। पारसले शरदको भन्दा दुई खेल कम खेलेका छन्।
च्याम्पियनसिपको पछिल्लो खेलमा केन्याविरुद्धको महत्त्वपूर्ण दोस्रो खेलमा शरदले २४ बनाउँदै ४ विकेट लिएपछि नेपालले जित हात पारेको थियो।
उनले नखेल्ने भएपछि नेपाली टिमले विकल्पमा नेपालबाट अर्को खेलाडी ल्याउने तयारी समेत गरिहरेको जनाएको छ । नेपालले चारजना वैकल्पिक खेलाडी तयारी अवस्थामा राखेको छ ।