अभिनेता भुवन केसी विरुद्ध प्रहरीमा उजुरी


२३ फाल्गुन २०७४, बुधबार
Bhuwan KC

काठमाडौं, २३ फागुन :

एउटा पुरानो गीत सम्झनुस् त,
‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि
यो केटा के भा’को
नदेखेसम्म को हो–को हो, देखेपछि माया मोह
सम्झाइदेऊ यो मन’

हो, अहिले यही गीत लफडामा परेर प्रहरीकहाँ मुद्धा चलिरहेको छ । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए । त्यही गीत अहिले नयाँ फिल्म ‘कृ’ मा हालिएको छ, जसमा भुवनका छोरा अनमोल र नायिका अदिती बुढाथोकीहरु छन् । लफडाचाहिँ प्रतिलिपी अधिकारको हो । सोसम्बन्धी ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) बमोजिमको कसुर गरेका छन्, भुवन केसी र सुवाष गिरीले । अर्थात्, श्रष्टा र स्वामित्ववालको अनुमतिबिना कुनै पनि सिर्जना वा उत्पादन प्रयोग गर्नुलाई नेपालको कानुनले फौजदारी अभियोगसरह सजायँको व्यवस्था गरेको छ ।

Bhuwan KC

सरोकारवालालाई हर्जाना नबुझाए अहिले पनि उत्तिकै जल्दोबल्दो हिरोका रुपमा चिनिने भुवन केसी कानुनको यही फन्दामा जाकिँदैछन् । यद्यपि, गल्ती भुवनको भन्दा बढी उक्त फिल्मका मूलनिर्माता सुवाष गिरीको बताइन्छ । मुद्धाको फाइल टेकुस्थित प्रहरी परिसरका डिएसपी मोहन थापाको टेबुलमा छ । उनी भुवन केसीजत्तिको हिरोलाई यस्ता लफडामा हिरासतको ‘पाहुना’ बनाउन नपरोस् भनेर मिलाउने प्रयासमा छन् । तर, सुवाष गिरी मिल्न राजी छैनन् । उजुरकर्ता उनै चलचित्र निर्देशक शम्भु प्रधान हुन् । फिल्मका निर्मातामध्ये भुवन पनि एक हुन् भन्ने दावी छ, शम्भुको । तर, भुवन आफू नभएर सुवाष निर्माता भएको बताउँछन् ।

देश–विदेशमा फिल्म चलाएर करोडौँ व्यापार गरिसकेको फिल्म ‘कृ’ ले आफ्नो स्वामीत्वमा रहेको उक्त गीत प्रयोग गरेबापत शम्भु प्रधानले कूल आम्दानीको ५० प्रतिशत रकम क्षतिपूर्तिस्वरुप दावी गरेका छन् । दावीबमोजिम क्षतिपूर्ति दिँदा पनि एक करोडभन्दा बढी तिर्नुपर्छ । तर, केही दिनअघि ‘कृ’ पक्षका कानुन व्यवसायी र प्रहरीले शम्भुलाई ‘दुई–तीन लाख रुपैयाँ लिनुस्, चूप लागेर बस्नुस्’ भनेका छन् । शम्भुले सँग भने, ‘मेरो सम्पत्ति जथाभावी प्रयोग गरेर उनीहरु पैसा कमाउने, म न्याय माग्न जाँदा भिख मागेजस्तो व्यवहार गर्ने ? त्यस्तो त हुँदै हुँदैन ।’

अर्कै फिल्ममा आफ्नो गीत सुनेपछि शम्भुले पहिला भुवनलाई फोन गरेर सोधे, ‘किन यस्तो गर्यौ भाइ’ भनेर । भुवनले ‘म भेट्न आउँछु दाइ’ भने । तर, गएनन् । धेरै दिन बाटो हेर्दा पनि नगएपछि शम्भु कानुन व्यवसायीमार्फत प्रहरीकहाँ गए, प्रतिलिपी अधिकार संरक्षण ऐनबमोजिमको जाहेरी लिएर । डिएसपी थापाले भुवन र सुवाषलाई फोन गरेर बोलाए । उनीहरु पुगे पनि । प्रहरीको प्रश्न थियो, ‘मुद्धा चलाउने कि कुरा मिलाउने ?’ भुवनले शम्भुसँग भने, ‘भुलचुक भइहाल्यो दाइ, मिलाइदिनु न ⁄’ पहिलो दिनको छलफलका क्रममा भुवनहरुले दुई दिनको समय मागे । दोस्रो दिनको साँझ ४ बजे सुवाषले शम्भुलाई फोन गरेर ‘भेट्न आउँछु दाइ’ भने, तर गएनन् । शम्भुले सोधे, ‘भेट्ने भन्दा पनि तिमीहरुको अफर के छ ? क्षतिपूर्ति के गर्ने भयौ ?’ सुवाषले ‘भेटेरै भन्छु’ भने । तर, भेटेनन् । त्यसपछि शम्भु फेरि प्रहरी कार्यालय पुगे । डिएसपीले फोन गरेर सुवाष र भुवनलाई बोलाए । उनीहरु पुगे, वकिलसहित । उनीहरुको वकिल र प्रहरीले शम्भुलाई दुई–तीन लाख दिने कुरा निकालेपछि शम्भु झन् आक्रोशित भए । फिल्मले गरेको कूल व्यापारको ५० प्रतिशत हर्जाना नबुझी मुद्धा फिर्ता नलिने शम्भु प्रधानको अडान कायमै छ । शम्भु ‘सम्झना’

फिल्मको सिक्वेल निर्माणको तयारीमा थिए । त्यही ‘उकालीमा पछि–पछि’ बोलको गीतलाई अझ राम्रो बनाएर फिल्म चलाउने सोचाई थियो । ‘मेरो त त्यही गीत पनि चोरी भयो भाइ’, शम्भुले भने ।  यस्तो कुरा सुनेपछि सोमबार दिल्लीबाट काठमाडौं आइपुगेका उक्त गीतका गीतकार तथा संगीतकार रञ्जित गजमेरले एयरपोर्टबाटै शम्भुलाई फोन गरेर गाली गरे, ‘तिमीले त्यो गीत किन बेच्यौ भाइ ?’ शम्भुले भने, ‘मैले बेचेको होइन दाइ, भुवनले नसोधी आफ्नो फिल्ममा हालिदियो ।’ रञ्जितले भने, ‘त्यसो भए यसको नालिस लाग्ने ठाउँ कहाँ छ ? म पनि जान्छु ।’ शम्भुले प्रहरीमा मुद्धा चलिरहेको बताए । एउटा कार्यक्रमका लागि रञ्जित पोखराबाट आजभोलिमा फर्किंदै छन् । शम्भुको जाहेरीकै बान्कीमा अर्को जाहेरी हाल्ने भएको जनआस्था साप्ताहिकमा उल्लेख छ ।

-जनआस्था साप्ताहिक

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७