अबको मेरो मूलबाटो अध्ययन र लेखन हो : प्रदीप नेपाल

स्वभाव, शैली, रुची र सपना बारे प्रदीप नेपाललाई ६२ प्रश्न

 

अन्तरवार्ता सुरु गर्न अघि :
एकताका अचम्मको क्रान्तिकारी थियौँ हामी । हाम्रो दिल दिमागमा यस्तो क्रान्तिकारी भूत सवार थियो कि, पुस्तक समेत प्रगतिशीलबाहेक अरु पढ्नै हुँदैन । अहिले सम्झेर ल्याउँदा त्यो ‘स्कुललिङ’ पनि एक समयका लागि भने काइदाकै थियो तर पछिसम्मका लागि फाइदाको अवश्य थिएन । उतिबेला हाम्रो समूहले धेरै पढेको नाम मध्येका एक थिए, सञ्जय थापा । सञ्जय थापाले लेखेका उपन्यासहरु ‘देउमाइको किनारा’ ‘पूर्वतिर’ हाम्रा प्रिय पुस्तक । राल्फाली समूह रामेश, मञ्जुलहरुको गीत जस्तै प्रिय ।  म जब पूर्वबाट पत्रकारिता र पढाइका लागि काठमाडौँ आएँ । तिनै सञ्जय थापासँग भेट्ने अवसर मिल्यो । नयाँ पत्रिका दैनिकको लागि उनको भूमीगत जीवनको बारे कुराकानी गर्न उनकै घर पुगेँ । प्रिय सञ्जय थापालाई घरै पुगेर भेट्दा यतिधेरै खुसी लाग्यो कि, भनीसाध्य छैन । त्यो बेलासम्म उनी प्रदीप नेपाल भइसकेका थिए । तर, प्रदीप नेपालका ‘आकाश गङ्गाको तीरैतिर’ पनि मेरा लागि उत्तिकै प्रिय थिए । साहित्यको सञ्जय थापा राजनीतिमा प्रदीप नेपाल भएर प्रभावी भए ।  पछि फेरि अर्को दैनिकमा काम गर्दा साहित्य बारेमा अन्तरवार्ता लिएँ । त्यो वार्तामा उनले भनेका थिए, ‘अब म पार्टी लेखनबाट मूक्त भएँ ।’ हिजोका सक्रिय नेता प्रदीप नेपाल हिजोआज सक्रिय लेखक भएका छन् । उनी हिजोआज पार्टीका सभाहरुमा भन्दा बढी साहित्यिक गोष्ठीहरुमा भेटिन्छन् । मलाई यस्तो लाग्छ, फेरि सञ्जय थापा जाग्दैछ । यो लामो कुराकानीमा उनलाई नजिकबाट बुझ्ने प्रयास गरिएको छ ।

  • राजेश राई

 

१. तपाई कहाँ जन्मिनुुभयो ?
– म २०१० साल पुष २८ गते भोजपुर जिल्लाको गोगने गाउँमा जन्मिएको हुँ । गोगने मेरो मावली गाउँ हो । आजभोलि चर्चित ट्याम्के डाँडाबाट दक्षिणपूर्व झरेको पाखोमा यो गाउँ पर्दछ ।

२. कस्तो परिवारमा ?
– हाम्रो परिवारलाई निम्नमध्यम वर्गीय परिवार भन्दा हुन्छ । जेनतेन हामीलाई वर्षदिन खान पुग्थ्यो । हामीले भोकै सुत्नु परेन ।

३. बाल्यकाल कसरी बित्यो ?
– हाम्रो घर भोजपुर बजारकै एउटा टोल भन्न मिल्छ । अहिले भोजपुर नगरपालिका भएको छ । त्यसैले पोखरेका केटाहरु फुर्तिफार्ति भएका हुनुपथ्र्यो । तर म त्यस्तो थिइन रे । सानो छँदा आमा पिरिनु हुन्थ्यो रे ‘मेरो यो छोरो कसैसँग बोल्दा पनि बोल्दैन । छरछिमेकमा जाँदा पनि जाँदैन । आमा, भोक लाग्यो पनि भन्दैन । म बीचैमा मरेँ भने यो कसरी बाँच्ला’ भनेर दिदीहरुसँग गुनासो गर्नु हुन्थ्यो रे । म त्यस्तै थिएँ हुँला र भनेर सोच्दा मलाई आफैँँप्रति आश्चर्य लाग्छ । किनभने यतिबेला म मनमा कुरो राख्नै सक्दिनँ ।

४. राजनीतिमा कसरी आउनुभयो ?
– यसलाई मैले दुर्घटना भन्ने गरेको छु । त्रिचन्द्र कलेजमा २०२६ सालको श्रावण महिनामा घटेको आन्दोलनजस्तो एउटा सानो घटनाले मेरो जीवनको बाटो फेरिदियो । म आइए पढ्न काठमाडौँ आएको थिएँ । २०२६ सालको बैशाख महिनामा । पढाइ सकेपछि जिल्ला फर्किएर हाइस्कूलको शिक्षक हुने मेरो सपना थियो । ०२६ सालको साउन महिनामा त्रिचन्द्र कलेजमा तेस्रो वर्षमा पढ्ने विद्यार्थीले आन्दोलन गरेछन् । आन्दोलन गर्नेहरु सटकिइहाले ।

हामी पहिलो वर्षका लाटाहरु पक्राउ परेछौँ । त्यतिबेला भृकुटी मण्डपको प्रहरी कार्यालयलाई महेन्द्र पुलिस क्लब भनिन्थ्यो । लगेर गोदे । गाली गरे । सुझ न बुझ म राजनीतिक कार्यकर्ता भएछु प्रशासनको आँखामा । जाडोको छुट्टिमा घर गएको बेला जिल्ला प्रहरी कार्यालयमा बोलाएर इन्स्पेक्टरले ‘कान्छा, तिमी राजनीतिमा लागेको रिपोर्ट आएको छ । मलाई पत्यार छैन । तर तिमी यहीँ बस्यौ भने मैले तिमीलाई थुन्नु पर्छ । त्यसैले काठमाडाैं तिरै जाउ ।’ भनेर सल्लाह दिएपछि अब लागियो राजनीतिमा भन्ने टुङ्गो गरेँ ।

५. अनि लेखनतिर चाहिँ कसरी आकर्षित हुनुुभयो ?
– लेखन मेरो परिवारको देन हो । मेरो हजुरबा साहित्यकार हुनुहुन्थ्यो । अनुसन्धानकर्मी ज्ञानमणि नेपालले मेरा हजुरबा बृद्धिलाल नेपाललाई ‘प्रत्युत्पन्न मतिका साहित्यकार’ भनी परिचय दिनु भएको छ । पिताजी पनि बेला बेलामा हजुरबाले रच्नु भएको गीतहरु गाउनु हुन्थ्यो । मेरा दुबै दाजुहरु कविता लेख्नु हुन्थ्यो । मैले पनि सानै उमेरदेखि लेख्न थालेको हुँ । नौ वर्षको उमेरमा सुन्दर हिमाल शीर्षकको कविता लेखेर मैले सरस्वती मिडिल स्कुलको शुक्रबारे गोष्ठीमा पढेको थिएँ र आठ पाने कापी पुरस्कार पाएको थिएँ ।

६. नेता र लेखक बाहेक अरु केही बन्ने सपना थियो कि ?
– नेता बन्ने त सोच नै थिएन । त्यसैले त्यसलाई मैले दुर्घटना भनेको हुँ । आजभोलि मैले त्यसलाई सुखद दुर्घटना भन्न थालेको छु । राजनीतिमा नलागेको भए म अहिलेको जस्तो साहित्यकार बन्ने थिइन होला जस्तो लाग्छ । आख्यान अथवा नियात्रा लेखनका लागि प्रकृति, परिवेश र समाजको ज्ञान हुनु जरुरी हुन्छ । यो फराकिलो ज्ञान मैले राजनीतिमा लागेरै पाएँ । ताप्लेजुङको सिक्किमसँग जोडिएको सुरुङखिम गाउँ विकास समितिदेखि बर्दियाको गुलरियासम्मको भूभागसँग मितेरी गाँस्न पाएँ मैले । लेखन त मेरो रगतमै थियो । त्यसैले मैले मुलुकको विविधतालाई आफैँले अनुभव गर्न पाएँ र त्यो अनुभूतिलाई लेखनीमा उतार्न पाएँ । तर उतिबेलाको मेरो सपना थियो हाईस्कूलको ‘हेड सर’ हुने । भरसक आफू पढेको विद्योदय हाईस्कुलको नभए जिल्लाको कुनै हाई स्कुलको ।

७. राजनीतिमा कसैले ल्याएको हो या आफैँ आउनुुभयो ?
– राजनीतिमा मलाई ल्याउने श्रेय म तत्कालीन श्री ५ को सरकारलाई नै दिन्छु । माथि मैले उल्लेख गरेका सहृदयी इन्स्पेक्टर भन्दा पहिले साउनको त्यो अन्जान आन्दोलनमा मैले खाएको गाली र कुटाइले मलाई प्रतिशोधी बनाएको थियो । कुटाइले शारीरिक दुःख मात्र दियो । तर ‘साले, राँडीको छोरो’ र ‘साले, माउसेतुङ हुन्छस ?’ भनेर गरिएको गालीले मेरो मन र मष्तिष्कलाई साह्रै नराम्ररी दुखायो । त्यसभन्दा अघि ‘राँडीको छोरो’ भनेर मलाई कसैले भनेको थिएन । म जस्तो सांस्कृतिक परिवेशमा हुर्किएको थिएँ, त्यहाँ यति फोहोर गाली सुनिदैन थियो । माउसेतुङको नाम त मैले सुनेको पनि थिइन । माउसेतुङ भन्ने मान्छे को हो, कताको हो भन्ने पनि मलाई थाहा थिएन । मान्छेलाई पत्यार नलाग्न सक्छ । तर भोजपुर जस्तो जिल्लाबाट, पञ्चायती कालरात्रीको समयमा, पढेर हाईस्कुलको हेड सर हुने सपना देखेको मजस्तो केटाका लागि माउसेतुङ भन्ने शब्द नौलो हुनु स्वभाविक थियो ।

८. सजिलै स्थापित हुनुभयो या संघर्षबाट
म आफूलाई ‘स्वनिर्मित नेता’ भन्छु । भोजपुरबाट फर्किएपछि मैले माउसेतुङलाई चिन्न समेत सङ्घर्ष गर्नु परेको थियो । माउसेतुङलाई खोज्दा नै कम्युनिस्ट पार्टीले मलाई भेटेको थियो । तर तीन महिना नबित्तै पार्टीको सम्पर्क मबाट टुट्यो । मलाई पार्टी सम्पर्क दिने, मुट्ठी उठाएर शपथग्रहण गराउने साथी कतै हरायो । त्यसपछि प्रदीप नेपाल र पार्टी, दुबै म एक्लै भएँ । त्यसबीचमा मजस्तै रनभुल्ल परेका साथीहरुसँग मित्रता हुने र टुट्ने क्रम जीवितै रह्यो । त्यही टुटने जुटने क्रममा हाम्रो एउटा समूह बन्यो । म, गोपाल शाक्य र माधव पौडेल केन्द्र बन्यौँ । कम्युनिस्ट भएपछि मजदुर किसानसँग मिल्नु पर्छ ।

आन्दोलनमा मजदुर वर्गको नेतृत्व हुन्छ । किसानको सहयोग अनिवार्य हुन्छ जस्ता कुराहरु सुनेको हुनाले हामीले पनि मजदुर क्षेत्रमा काम थाल्यौँ । हामी तीनै जना विद्यार्थी थियौँ । विद्यार्थीको सानो सर्कल पनि बनायौँ । त्यही गतिविधिमा चौथो महाधिवेसनसँग पनि मेरो सम्पर्क भयो । तर म त्यता लागिन । किनभने त्यतिबेला हामी झापा सङ्घर्ष पो ठीक हो कि भन्ने सोचमा पुगेका थियौँ । झापाली समूहसँग सम्पर्क हुँदा पनि हामी विवादमै थियौँ । झापाली समूहका चारु मजुमदार लाइन, वर्गशत्रुको रगतले नरङ्गिएको हात कम्युनिस्टको हात हुँदैन, तीन एकको एक्सन जस्ता कुरामा हामी सहमत हुन सकेनौँ । तर विवादसहित कोअर्डिनेशन समूहमा हामी सामेल भयौँ । झापाली साथीहरुको भनाइमा, सशर्त कोअर्डिनेशनमा सामेल हुने हाम्रो समूह पहिलो थियो ।

कोअर्डिनेशन सङ्गठनमा सामले भएपछि म केन्द्रमा रहिरहेँ । मैले लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकामा काम गरेँ । कामको क्रममा म दुई पटक स्थायी समितिको सदस्य पनि भएँ । पैँतालिस वर्षको यो लामो यात्रामा, आफ्नो स्थान बनाउन मैले कठिन संघर्ष गरेको छु । स्वर्गीय गोविन्द भट्टले मलाई सैद्धान्तिक ज्ञान दिनु भयो । बाँकिको राजनीतिक जीवन यात्रा मैले आफ्नै परिश्रमले सम्पन्न गरेको हुँ । त्यसैले म आफूलाई ‘स्वनिर्मित नेता’ भन्छु ।

९. आफ्नै नजरमा प्रदीप नेपाल के हो र कोहो ?
– प्रदीप नेपाल एउटा नेपाली नागरिक हो । अध्ययनशील र कृयाशील मान्छे हो । नागरिक दायित्व पूरा गर्ने क्रममा त्यो नेता भयो, मन्त्री भयो, सांसद भयो । तर अन्तिम निष्कर्षमा त्यो आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्ने एउटा नागरिक हो ।

१०. यसबेला तपाईलाई बढी माया प्रदीप नेपालको लाग्छ कि, सञ्जय थापाको ?
– साहित्यिक सन्दर्भमा सोध्नु भएको हो भने मेरा लागि दुबै एकै हुन् । सञ्जय थापा अघिको प्रदीप नेपाल पनि कथा, कविता, नियात्रा लेख्थ्यो, गीत लेख्थ्यो र गाउँथ्यो पनि । पछिको प्रदीप नेपाल पनि यही काम गरिरहेको छ । सञ्जय थापा शीर्षकको नामलाई पनि तपाईंले एउटा दुर्घटना मानिदिनु भए हुन्छ । म सङ्गठित रहेको कोअर्डिनेसन सङ्गठनमा साहित्य सिर्जना गर्नुलाई ‘आफू प्रकाशमा आउन खोज्ने निम्न पूँजीवादी महत्वाकाङ्क्षा’ भनेर आलोचना गरिन्थ्यो । लेख्नु एक प्रकारले प्रतिबन्धित काम थियो । तर म परेँ नलेखी बस्नै नसक्ने । त्यसैले मैले सत्ता र पार्टी दुबैतिरबाट जोगिएर लेख्न, कसैले पनि अनुमान गर्न नसक्ने नाम राखेको थिएँ – सञ्जय थापा मगर । तर पत्रिकामा छापिँदा मगर काटिएछ र १० वर्षसम्मको लेखनमा म सञ्जय थापा भइरहेँ । तर यो मेरो उपनाम होइन । भूमिगत नाम भन्दा उपयुक्त होला बरु ।

११. तपाईको आत्ममूल्याङ्कनमा परिवर्तनको आन्दोलनमा प्रदीप नेपाल बढी प्रभावी बन्यो कि सञ्जय थापा ?
– राजनीतिक आन्दोलनमा स्वभाविक रुपमा प्रदीप नेपाल नै प्रभावी बन्यो । तर पीडा र सुस्केराका स्थानमा सञ्जय थापाले प्रदीप नेपाललाई मज्जैले खाइ दिएको छ । जस्तो देउमाईको किनारमा (उपन्यास) लेख्ता मसित संवेदना बाहेक केही थिएन । नओइलाउने फुल (उपन्यास) लेख्ता पनि मैले सङ्गठक प्रदीप नेपाललाई बिर्सिएको थिएँ । तर पूर्वतिर (उपन्यास) मा म फेरि प्रदीप नेपाल नै भएको थिएँ । एउटा जिम्मेवार सङ्गठक ।

१२. मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
– म साहित्यकार भएर बाँच्न र मर्न चाहन्छु । मलाई अरु कुनै पगरीको मोह छैन ।

१३. आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
– सिर्जनशील छु राजनीति र साहित्य दुबै क्षेत्रमा । निरन्तर केही न केही गरिरहन्छु । यो सिर्जनशीलता र निरन्तरता नै मेरा बलिया पक्ष हुन् ।
१४. अनि कमजोर पक्ष चाहिँ नि ?
– प्रतिकृयात्मक स्वभाव मेरो कमजोर पक्ष हो । मन नपरेको कुरो काटिहाल्ने बानीले मलाई निकै दुःख दिएको छ ।

१५. कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
– व्यक्तिको काम र जनपक्षधरता मेरो धारणाको आधार हो । गफाडीहरु मलाई मन पर्दैनन् । बेइमानलाई म घृणा गर्छु ।

१६. तपाईको आफ्नो स्वभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
– मेरी आमाको दया र स्नेह, मेरा हजुरबा र बाको इमान्दारिता ।

१७. तपाईलाई कति खेर रिस उठ्छ ?
– मान्छेले छलछाम र ढाँट कुरो गरको सुनेपछि मेरो कन्सिरी तात्छ ।

१८. अनि कतिखेर भावुक हुनहुन्छ ?
– बाटामा गरीब दुःखी देख्ता मेरो मन दुख्छ । सन् २००१ को सेप्टेम्बर अन्तिम हप्तामा अमेरिकी सरकारको निम्तोमा अमेरिका घुम्न गएको बेला मैले जमिनमुनिबाट वाफ आइरहेको ठाउँमा जिङ्रिङ्ग परेका बूढाबूढीहरु गुजमुज्ज परेर बसेको देख्ता पहिले म छक्क परेको थिएँ । पछि हाम्रो ‘ल्याङ्वेज अफिसर’ ले ‘तिनीहरु घरबार बिहिन गरीब हुन्’ भन्दा म स्तव्ध भएको थिएँ । माओवादी अतिचारका फोटाहरु फेसबुकमा देख्ने बित्तिकै म मेटिहाल्थेँ । यदु गौतमको रक्तरञ्जित लास देख्नु नपरेको भए ‘आकाश गङ्गाको तीरैतीर (उपन्यास) जन्मिदैनथ्यो ।
१९. तपाईलाई कस्तो स्थितिले उत्तेजित तुल्याउँछ ?
– जब म षडयन्त्रको शिकार भएँ भन्ने मलाई थाहा हुन्छ ।

५४. आफैँप्रति तपाईलाई केही गुनासो छ कि ?
– अहिलेसम्म आवेगमा हात उठाएको छैन । फोहोरी गाली गरेको छैन । रिसमा मुर्मुरिएर रन्थनिएको छु धेरै पटक ।

२१. अनि कतिखेर खुुसी हुनुहुन्छ ?
– खुसी भनेको क्षणिक पल हो । त्यो सम्झनामा रहिरहँदैन ।

२२. तपाईका दुःखहरु के हुन् ?
– प्रियजनका मृत्यु मेरा दुःखका क्षण हुन् । आमाको निधन भएको अहिले ४८ वर्ष भयो । तर अहिलेसम्म मैले त्यतिबेलाको दुखाइ भुल्न सकेको छैन । रत्नकुमार वान्तवा र हरि नेपालका मृत्यु क्षणहरु पनि मेरो मानसमा टाँस्सिइरहेका छन् ।

२३. अनि तपाईको सुख चाहि नी ?
– मेरो वैवाहिक जीवनको निरन्तरता । मेरो सुखको आधार जीवन संगिनी झुमा देवान हुन् ।

२४. तपाईको जीवनको सबैभन्दा दुखद क्षण ?
– माथि नै भनेको छु मैले – पृयजनको मृत्यु ।

२५. अनि खुसीको क्षण चाहिँ नि ?
– यसको उत्तर पनि माथि नै गैसकेको छ ।

२६. तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
– २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर सरकार बनाउने पार्टी स्थायी समितिको निर्णय थाहा पाएको क्षण । धेरै दिनसम्म म पार्टीमा रहिरहनुको अर्थ खोजेर पीडित भएको थिएँ । आफू आन्दोलनमा समाहित हुँदाका आदर्श अब समाप्त भयो भनेर म निराशाको पल्लो छेउसम्मै पुगेको थिएँ ।

२७. त्यसलाई के को बलमा पार गर्नुभयो ?
– मैले एउटा उपन्यास लेखेँ । स्वप्निल शहर । मेरो पीडा समन गर्ने औषधि त्यही भयो । मेरो द्वीविधा र निराशालाई तपाईँले त्यहाँ पढ्न सक्नु हुन्छ ।

२८. अहिलेसम्म तपाईँले गर्नुभएको सबैभन्दा सही निर्णय ?
– सरकारी क्षेत्रमा कालिगण्डकी जलविद्युत परियोजनाको थालनी । मोबाइल फोन सेवाको आरम्भ । मुलुकको अग्रगतिमा यी दुई निर्णयले दूरगामी प्रभाव छाडेका छन् । साहित्यमाः ‘मुक्त आकासको खोजी’ को लेखन र प्रकाशन । यसले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता झण्डै झण्डै असम्भव जस्तो लाग्ने जीवन बाँचेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाएका थिए भन्ने जानकारी पस्किएको छु । कसैले त्यसलाई उपन्यास भन्नु भएको छ कसैले नियात्रा । नाम जे दिए पनि राजनीतिक परिवर्तनमा ठूलाठूला नाम होइनन्, कसैले नसुनेका, कुनै पुरस्कार नपाएका, अहिलेसम्म पनि गुमनाम पात्रहरुको चिनारी पस्किएको छु । मलाई अहिले पनि विश्वास छ ती पात्रहरु हुँदैनथे भने नेपालको प्रजातान्त्रिक आन्दोलन अहिले पनि सुकेनासको रोगी भएर छटपटाइरहेको हुन्थ्यो ।

२९. अनि गलत चहि नी ?
– शिक्षामन्त्री हुँदा सहकूलपतिको हैसियतमा विश्वविद्यालयका पदाधिकारीको सिफारिस दलगत आधारमा गर्नु ।

३०. सबैभन्दा पछुुतो लागेको क्षण ?
– त्यस्तो केही छैन ।

१. अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
– हरि नेपालको हत्याको आकस्मिक समाचार । त्यतिबेला मैले आपूmलाई हप्ता दिनसम्म सम्हाल्न सकिन ।

३२. अन्तिम पटक कहिले रुनुु भयो किन ?
– प्रायः म पढ्दा पढ्दै रुन्छु । अन्तिम पटकको अर्थै हुँदैन ।

३३. तपाईलाई कस्तो मान्छे मन पर्छ ?
– आफू प्रति इमानदार । किनभने आफूप्रति इमान्दार हुने मानिस नै अरुप्रति पनि इमान्दार हुन्छन् ।

३४. अनि कस्तो मन पर्दैन ?
– ढाँट, छली, षडयन्त्रकारी ।

३५. तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
– जसमा इमान हुँदैन ।

३६. फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
– लेख पढ नै मेरो व्यसन हो । धुनहरु सुन्न मलाई मन पर्छ । पुराना नेपाली गीतहरु पनि मेरो सङ्ग्रहमा छन् ।

३७. लेखन र राजनीतिबाहेक तपाईको रुचीको क्षेत्र ?
– गीत, संगीत श्रवण । मेरो घरमा मधुर धुन बजिरहे हुन्थ्यो जस्तो लाग्छ ।

३८. तपाईँलाई असाध्यै मन पर्ने पुुस्तक ?
– नेपालीमा माधवी । किनभने म त्यस्तो कहिल्यै लेख्न सक्दिन । अङ्ग्रेजीमा स्पार्टाकश र दा भिन्सी कोड ।

३९. अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
– अहिले म पूर्वीय दर्शनका पुस्तकहरु पढ्दैछु । ऋग्वेद, प्राकृतिक भौतिकवाद, खस जातिको इतिहास जस्ता ।

४०. दोहोर्‍याएर पढ्नुु भएको पुुस्तक ?
– माधवी ।

४१. कस्ता फिल्म हेर्नुुहुन्छ ?
– शेक्सपियरका नाटकहरुको फिल्मीकरण खुब हेरिन्थ्यो । आजभोलि त फुर्सद पनि हुँदैन । नेपालीमा, मनको बाँध, बासुदेव र लाहुरे हेरेर रमाएको छु ।
४२. तपाईलाई मनपर्ने फिल्म ?
– खै छैन पो ।

४३. दोहोर्‍याएर हेर्नुभएको फिल्म ?
–अहँ हेरिएन ।

४४. तपाईलाई मर्ने हिरो हिरोइन ?
– सिने जगतमा साथीभाई छन् । सिनेमा कम हेरेको हुनाले मन पर्ने र नपर्ने भनेर छुट्याउन मिल्दैन ।

४५. तपाईलाई रुवाएको फिल्म ?
– रुवाउने खालको फिल्म छ भनेपछि म हेर्दिनँ । झोला फिल्मको पहिलो प्रदर्शनीमा कृष्ण धरावासी भाइले निम्तो दिनु भएको थियो । कथा पढ्दै रोएको मान्छे, म सिनेमा हेर्न सक्दिनँ भाइ भनेर विदा मागेँ ।

४६. मनपर्ने गायक–गायिका ?
– गोपाल योन्जन र तारादेवी । यी प्रमुख नाम हुन् । राल्फा समूह, संकल्प समूह, नारायणगोपाल, अरुणा लामा, अरुण थापा, भानु सुब्बा आदि इत्यादि ।

४७. मनपर्ने ठाउँ ?
– जाने आधार टुट्दै गए पनि उही भोजपुर ।

४८. मनपर्ने खाना ?
– तामा र आलुको झोलसँग चामलको भात

४९. मनपर्ने पोशाक ?
– दौरा, सुरुवाल ।

५०. तपाईलाई मनपर्ने नेपालका नेता ?
– पुष्पलाल, वीपी कोइराला र मदन भण्डारी ।

५१. अनि विदेशका मनपर्ने नेता चाहिँ नी ?
– रोजा लक्जमवर्ग र नेल्सन मण्डेला

५४. आफैँप्रति तपाईलाई केही गुनासो छ कि ?
– खै, सोच्नु पर्छ । खोज्नु पर्छ ।

५३. तपाईको आदर्श को हो, किन ?
– म आफैँ आफ्नो आदर्श हुँ । यस्तो हुँदैनथ्यो भने म अहिले जसरी बाँचिरहन सक्दैनथेँ ।

५४. आफैँप्रति तपाईलाई केही गुनासो छ कि ?
– छैन । किनभने आफैँप्रति गुनासो गर्ने मानिस जिन्दगीमा कहिल्यै सफल हुन सक्दैन भन्ने मलाई थाहा छ ।

५५. अनि यो समाजप्रति चाहिँ नि ?
– समाज आफ्नो नियम अनुसार चलिरहेको छ । अबुझहरुका लागि मात्रै समाज असन्तोषको पोको हुन्छ । अल्छि मानिसहरु जहिले पनि वर्तमानसँग असन्तुष्ट हुन्छन् । कामकाजीहरु आफ्नो कर्ममार्फत समाजलाई केही न केही दिइरहेका हुन्छन् ।

५६. तपाईको पार्टी एमाले र उसका नेताप्रति केही गुनासो छ ?
– छ भन्न मिल्दैन, छैन भन्दा असत्य बोलेको प्रमाणित हुन्छ । यति भनेपछि सबैले बुझिहाल्नु हुन्छ ।

५७. यदि अहिलेसम्म बाच्नुु भएको जीवनको कुनै अध्याय हटाउने मौका मिल्यो भने कुुनलाई हटाउन चाहनुहुन्छ ?
– म कुनैलाई पनि हटाउन मान्दिनँ । म आफ्नो विगतप्रति सन्तुष्ट छु ।

५८. फर्केर हेर्दा के लाग्छ, जीवन के रहेछ ?
– जीवन, जन्म र मरणको दोसाँध हो । बाँचुञ्जेल केही न केही गर्नु नै जीवन रहेछ ।

५९. बाँकी योजना र सपना कस्ता छन् ?
– लेख्नु पर्ने केही उपन्यास छन् । केही बालकथा छन् । एउटा निबन्ध सङ्ग्रह छ ।

६०. अब हिजो जस्तै सक्रिय राजनीतिमा फर्किने सम्भावना कति छ ?
– मैले राजनीतिलाई नागरिक दायित्व भनेको छु । अझै आठ वर्ष म त्यो मान्यतामा रहन्छु । तर मेरो मूलबाटो भनेको अध्ययन र लेखन नै हो ।

६१. अबको तपाईको अधिकतम सपना के हो ?
– सपना अधिकतम र न्युनतम हुँदैन । म असम्भव सपना पनि देख्तिनँ ।

६२. तपाईलाई कसरी सम्झना गरुन् भन्ने लाग्छ ?
– प्रदीप नेपाल भन्ने एउटा जीवनवादी साहित्यकार थियो भनिदिए मलाई ठूलो पुरस्कार हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्