इन्द्रबहादुर राईको निबन्ध : स्वातंत्रयतिर


२६ फाल्गुन २०७४, शनिबार
Indra Bahadur Rai
  • इन्द्रबहादुर राई

हिगेल (1770–1831) भन्छन् :
चिम्चे माटोमा कोदालो हान्यो, केही मात्र गाडियो । त्यति नै तान्यो । माटोको डल्लाडल्ली खुट्टातिर आएको याद पनि गरेन । अरुहरू पनि छन् खन्न लाइएकाहरू । कसैलाई कसैसँग तर कुरा गर्न दिँदैनन् । एकछिन उभिँदा गाली र बेत आइपुग्छ । काम गरेका ठूला सास फेराइहरू, बल गर्दाका आवाजहरू मात्र सुनिन्छन् । मालिकराजाको वासस्थानदेखि केही परको यस फाँटिलो चउरमा ।
‘एइ तँ !’ कडा बेतले करङमा घोचिइँदै रहेछ, ‘सुनेनस् ?’

Indra Bahadur Rai
माथि डिलमा उभिएका दुइतीनमध्ये एक जनाले फेरि करायो : ‘जा, पर भित्तामा…’
एक्कासि भनिएको कुरा राम्ररी बुझेन ।
बेतवालाले फेरि करङमा घोचेर भन्यो, ‘भित्तामा जा, उभी ।’
बेतले भित्तामा ठाउँ देखायो ।
कोदालो त्यही“ छाडेर खनिएको भित्तातिर जान्छ ।
‘उभी भित्तामा ।’
पसिनाले लतपत तातो ढाँढ चिसो लेसाइलो माटोमा टँसाएर ठाडो उभिन्छ ऊ, अग्लो बलियो शरीर ।
‘भएछ दुइ नाप, अब एक खन्दा पानी निस्किनुथाल्छ ।’ बताइन्छ त्यहाँ माथि । मान्छेलाई नाप भनेको ।
‘अब बलौटे भेटिन्छ ।’ भन्यो एउटाले ।
कुरा गर्दै अरुतिर गए माथिकाहरू । उसले उभिरहनपर्छ त्यहीँ ।
‘जा खन,’ अहराइन्छ उ बेतवालाले । ‘मासी भएकोजस्तो खन् ।’
मर्नदेखि डराएर दास भएका शरीरहरूका सन्तानहरू ।
खन्दैछन् अझ गहिरो, अझ चौडा खाडल । बोक्दैछन्, माटो थाप्लोमा, भ¥याङ चढ्दै । मरिसके लडेर दुइतीनजना । खट्नु केही खान पाउनलाई, केही लाउन पाउनलाई । आज पनि, भोलि पनि, सधै“ । बिहान उजेलो आउँदादेखि साँझमा उजेलो जाँदासम्म । शरीर बाँच्नलाई ।

कोदालो उठायो उसले । उचाल्योे दुइ हातले । माटोमा कोदालो केही मात्र गाडियो । त्यति नै तान्यो । केही माटो झ¥यो खुट्टातिर । फेरि कोदालो उठायो…..हकारेर अहराइएको काम, गर्नै परेर गरिएको काम, गरिरहेको छ ।

कुन एक रिसले हो, उसले कोदालो उचालेर बलले हान्छ माटोमा । कसिलो माटो कोदालोभरि भरिनै काटिन्छ । बलले तान्दा चाक्लो बाक्लो खाँदिएको एक चौपाटमाटो उपकन्छ कोदालोमा । छक्क पर्छ उ आफै । फेरि पनि कोदालो उचाल्छ शिरमाथि दुइ पाखुराले । बलले हान्छ माटोमा । गहिरो भासियो कोदालो, तान्नै सारो परेको, तर तानिइन्छ ठूलै भाग थुप्रै आलो माटो । आफूभित्र कता घमण्डजस्तो लागेर आउँछ उसलाई र त्यस अहं भावसँगै आफूप्रति अथाह आत्मसम्मानसमेत ।

तेस्रो खेप, कोदालो उसरी हान्छ माटोमा । पाताजम्मै भासियो, बेँड पनि भास्सियो ।
कोको के के कराउँदै थिए, कोदालोको गाडिएको पाता पैंठ लाएर झिक्छ । र आफूले भरखर खनेकोलाई हेर्छ । अघि त्यहा“ कस्तो थियो ऐले अर्कै भएछ । कति भिन्न भएछ । उसको श्रमले भिन्नता ल्याएको । उसले भिन्नता ल्याएको । ल्याउन सकिँदो रहेछ भिन्नता । आत्मविश्वास आउँछ ।
अर्को कोदालो टिप्न ऊ फराकिलो गोल खनिएको माझतिर जान्छ । हेर्छः घाँसे समथर फाँट पोखरीमा परिवर्तन हुँदैछ दासहरूको समूहबाटै, उनीहरूको श्रमबाटै । ल्याउन सकिँदोरहेछ भिन्नता ।
हिगेल अझ बताउँछन्,
‘निनू !’ राजेन्द्र बाबूले भाले बासेको नक्कल कराए, ‘मलाई चिया दिनू !’
‘उठ्नु भयो कि भएन, भन्दै थिएँ चिया दिनुलाई ।’ एकाबिहानै मूल ढोका अघिको सिमेन्टको सिँडी पानी ल्याउँदै झाडुले सफा गर्दै थिई निनू । फेरि बासे सिँडीको शिरानमा उभेको राजेन्द्र, ‘मलाई रङ खालि दिनू !’
पानीको बाल्टी, जग झाडु त्यहीँ छोडेर त्यो घरभित्र पसी । सिकटी, अग्ली, गोरी लाम्चो मुहुडाकी ।
राजेन्द्र कोठामा पुग्दा पत्नी राधिका पनि आएर ओछ्यान छेउको चौकीमा बसिन् ।
‘यति बिहानै सिँडी धुनु के जङ चलेछ त्यसलाई !’ भने तिनले, अलि हाँसेका थिए ।
‘त्यसलाई !’ भनेका थिए मायासित । आनीबानी सबै जानिसकिएकी निनूको काम गराईमा प्रश्न, उत्तर गर्न पनि अब अनावश्यक भइसकेको थियो यस घरमा ।
‘काम सब जान्दछ, छिटो गर्छ, राम्रोे गर्छ । तीन वर्ष हुँदैछ बसेको ।’ भनिन् राधिकाले ।
‘छाडेर गई भने मेरो बेहाल हुन्छ । निनू हुँदा ढुक्कले घर छाडेर जानपाउँछौ“ ’ पनि भनिन् ।
राधिकालाई अस्पतालमा कसैलाई हेर्न जाँदा, बजार जाँदा, टिभी हेर्दासम्म निनू हुनुपर्छ सँगै ।
निनूले सानो ट्रेमा ढकनी भएको नीलो बुट्टे मगमा राजेन्द्रको फिका रङ ल्याइ पुर्‍याइहाली । छेउमा पिरिचमा उसको दुइवटा बिस्किट पनि । हात धोएर चिया बनाएकी, औंलाहरू अझ भिजेकै देखिन्थे ।
‘धन्यवाद !’ सुनाए राजेन्द्रले ।
राधिका बोल्नुभन्दा अधिक हाँसेर भनिन्, ‘आज शत्रुलाई…आफै चिया मागिखान..जानपर्‍यो हो कि !!’ सुनेर खुशी भएकी निनू गइहाली ।

राजेन्द्र कहिलेकाँही निनूलाई जिस्क्याएर ‘शत्रु’ भनिदिन्थे । ‘अलिकति मरिच हाल्दिएकी छु आज चियामा शत्रुलाई’ कैले उसले पनि भन्थी । चिया विशेष मीठो बनेको हुन्थ्यो ।
फेरि सिँडी लामो–लामो बढारिएको सुनिन्छ, पानी सोहोरेको होला ।
‘फोनमा घरसँग बात गर्न लगाउनू बेलाबेला, आफ्नो घर छोडेर आएर बसेकी छ,’ भने तिनले चियाको मग उठाउँदै ।

‘आउँछ फोन,’ बताइन् राधिकाले । ‘खान लाउन बस्नमा छुट्याउँदैनौ“, पैसा राम्रो दिन्छौ“ ।’
‘मान्छेलाईजस्तो व्यवहार गर्नुपर्छ सबसँग ।’ सधैँ सुनेको कुरा फेरि पनि सुनिन् ।
‘ए, फुल्ने गमलाहरू राख्नुपर्छ त्यहाँ,’ सम्झेर उठेर तिनी बाहिर गइहालिन् ।
खाइसकेपछि राजेन्द्र पनि बाहिर गए । आँगनमा घाम आइसकेको रहेछ । काठको तीन तले स्ट्यान्डदेखि राधिकाले फुलिसकेको फूलका गमलाहरू आठदसवटा निकालेर अलिक पर भुइँमा राखेकी रहिछन् । फुलेका, फुल्न लागेका बिगुनियाहरू ल्याएर मिलाएर राखिएका देखे । कलात्मकतासँगभन्दा व्यावहारिक रखाइ गरिएको लाग्यो । चुपै लागेर, भुइँमा राखिछाडेका गमलाहरू उठाउँदै घरपछाडि पुर्‍याउन थाले । फुलिसकेका गमलाहरू र नयाँ कति पनि त्यहाँ थन्काइन्थे ।

राजेन्द्र दिउँसो बजारतिर गएका थिए । फर्कंदा आ“गनमा राधिकाले सुनाइन् : ‘निनूले तमास काम झिकेकी छ । मैले अस्ती भर्खर फेरेको पलङ, चादर, सिरानी खोलहरू, सिरकको खोल, टेबलक्लोथ सब फेरि फेरिछ । हाम्रो कोठाको, नानीहरूको कोठाको, उसको कोठाको सब । सोधेको भए हुन्थ्यो नी । सब बाथरुममा पुर्‍याइछ धुन ।’
‘केही नभन,’ तिनले खासखुस स्वरमा भने । ‘धोओस । राम्रो भयो भनिदेऊ । खुसीले काम गरोस् ।’
‘एकपल्ट सोध्नपर्छ नी मलाई ।’ भने तिनले : ‘हामीले अहराएर गराएकोभन्दा उसको आफ्नो खुसीले गरेको कति राम्रो गर्छ ।’ लिची ल्याइदिएको झोला देब्रे हातमा झुन्डाएरै दाहिने हातले राधिकालाई समाएर दुवै घरभित्र गए ।

यस साधरण घटनाभित्र ठूलो कुरा छ, राजेन्द्रलाई लागिरहन्छ । साँझपछि मात्र श्रीमतीलाई बताउन सके, आश्वास्त बने, ‘बिहानै फुलिसकेका गमलाहरू निकालेर, फुल्न लागेको गमलाहरू ल्याएर स्ट्यान्डमा फेर्‍यौ तिमीले । तिमी आफैँले, कसैले नभनी, आफ्नो खुसीले गर्‍यौ त्यो काम । र त्यो तिम्रोे आफ्नो काम भयो । स्वतन्त्र काम, मुक्त काम भयो । गृहणीहरूले आफ्नो घरमा आफ्नो खुसीले आफ्नो काम गर्छन् र उनीहरू दासी हुँदैनन् ।
निनूले आफ्नो खुसीले काम गर्दा यहाँ घरमा बराबरीकी हुन्छिन्, र स्वतन्त्र हुन्छिन् । त्यो राम्रो होइन ? व्यक्तिमा हुने अहं भाव र आत्माभिमानले उचित कदर पाउनु । नबिर्सौं, इक्वालिटिले मात्र हामी मानिसलाई पुग्दैन, लिबर्टी पनि उत्तिकै वा अझ धेर चाहिन्छ ।’
अनि भने, ‘काम गर्नेमै सधैँ नरहला उसको अहम् ।’

छानेको नयाँ कोदालो काँधमा बोकेर उ फेरि पुग्यो चिम्टे माटोको कसिलो चिल्लो भित्तामा । छातीजति अग्लो, काट्दै लैजानुपर्ने माटोको हिस्सालाई हेर्‍यो । कुनै खुसीले अब काट्न लागेको छ उसले माटो ।

दुइ बलिष्ट पाखुराले उजाउँछ नयाँ कोदालो, हान्छ बलले माटोमा, तान्छ एक चाक्लो जमिन । आफ्नो खुसीको श्रम । आफ्नो श्रम । मुक्त श्रम । मुक्त श्रमसँगै मुक्त बनेको छ ऐले माटोमा परिवर्तन ल्याइरहेको मान्छे ।

बेतवालाले हेरिरहेको छ उसको अथक जोड काम । खन्दैछ कसैको थाहा नराखी । कहाँबाट आएको त्यो कुन बल र कुन अठोट ? झट्ट चिन्छ उसका मान्छेका प्रवृत्ति । मान्छेको प्रवत्तिको त्यहाँ अर्को मान्छे । त्यसले उसलाई अब नहेर्न खोज्छ ।
उ अझ जोडले भित्ता भत्काउँदैछ ।

(दीपक सापकोटा सम्पादित पाण्डुलिपि मासिक पत्रिकाबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७