ठगी गर्ने ब्यापारीको पक्षमा मात्रिका यादव ?
बिरामी लुट्ने अस्पताल, उपभोक्ता लुट्ने गाडी बिक्रेता, अभिभावक ठग्ने स्कुलमाथि कारबाही रोक्न निर्देशन
काठमाडौं, २६ फागुन । काठमाडौं उपत्यकाका ठूला अस्पतालहरुमाथि अनुगमन गर्ने क्रममा बिरामीसँग गैरकानुनी शुल्क असुली गरेको प्रमाण फेलापरेपछि ठगीमा मुद्दा चलाउन आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले प्रहरी परिसर काठमाडौं र ललितपुरमा पठाएको लामो समयसम्म पनि मुद्दा दर्ता हुन सकेको छैन ।
अस्पताल संचालकहरुले सुरुमा आपूर्ति विभागमै दबाब दिए, तर गैरकानुनी रुपमा बिरामीसँग शुल्क असुली गरेको पाइएपछि ठगीमा मुद्दा चलाउन आपूर्तिले प्रहरी परिसरमा पठाएपछि अस्पताल संचालकहरुले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई नै दबाब दिएर अनुगमन रोक्न सफल भएका छन् ।
मन्त्री यादवले आपूर्ति विभागलाई तत्काल अनुगमन रोक्न दबाब दिएपछि केपी ओली सरकारको सुशासनको कदममा ठेस लाग्न पुगेको छ । चौधरी ग्रुपको नर्भिक इन्टरनेशन अस्पतालले गैरकानुनी रुपमा बेड चार्ज भनेर लिइसकेपछि बेड सर्भिस चार्ज भनेर छुट्टै १३ प्रतिशत लिने गरेको पाइएपछि यस्तो हददर्जाको ठगीलाई टुलुटुलु हेरेर बस्नुनहुने ठहर गरी विभागले प्रहरीलाई मुद्दा चलाउन सबै प्रमाणसहित फाइल पठाएको थियो । तर नर्भिक अस्पतालका संचालक वसन्त चौधरीले माओवादी केन्द्रदेखि एमालेका नेताहरुलाई भनसुन गरी ठगीमा मुद्दा दर्ता हुनबाट रोकेका छन् । नर्भिक, बीएण्डबी, न्यूरो जस्ता अस्पतालले बिरामीसँग मनपरी शुल्क लिएको पाइएपछि विभागले ठगीमा मुद्दा चलाउन प्रहरीमा पठाएको छ ।
आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले गाडी बिक्रेतादेखि स्कुल संचालकहरुको गैरकानुनी रुपमा भर्ना शुल्कदेखि अनेक शीर्षकमा ठगी गरेको पाइएपछि मुद्दा चलाउन प्रहरीकोमा पठाएका थिए । ठूला बोर्डिङ स्कुल, अस्पताल र गाडी बिक्रेताको ठगीका बारेमा आपूर्ति विभागले अनुगमन गरेपछि ब्यापारीहरु मन्त्रीदेखि नेताकोमा गए । अर्थमन्त्रालयमा दबाब दिए । अर्थमन्त्रालयका उच्च अधिकारीले ठूला करदाताहरुमाथि अनुगमन गरेर करदाताहरुलाई नचिढ्याउन महानिर्देशक दाहाललाई दबाब दिए । तर दाहालले ठगी गर्नेहरुमाथि अनुगमनको क्रम रोकेनन् ।
दाहालले १ करोडमा बिक्री गर्नुपर्ने गाडी ६२ लाखमा बिक्री गर्ने टोयटा कम्पनी लगायतका अरु गाडी कम्पनीहरु सुजुकी, अग्नि,
इको स्पोर्ट कारहरुको ठगीका बारेमा अनुगमन गरी ठगीमा कारबाहीका लागि प्रहरीकोमा पठाएका थिए । तर कसैमाथि पनि प्रहरीले ठगीमा मुद्दा दर्ता गरेको छैन । महानिर्देशक दाहाललाई उनका आफन्तहरुले समेत ठूला ब्यापारीले गरेको ब्रम्हलुटमा हात हालेर ज्यानै जोखिममा नपार्न अनुरोध गरे पनि उनी आफ्नो कर्तब्यबाट च्यूत भएनन् । उनलाई आफन्तले मर्निङवाक समेत नगर्न सुझाव दिएपछि उनी आजभोलि हिंड्न छाडेका छन् । उनले अनुगमन गरी ठगी गरेका एक एक प्रमाण जुटाएर प्रहरीमा मुद्दा चलाउन फाइलहरु पठाएका छन् । तर प्रहरीले प्रमाण जुटाउनुपर्ने भन्दै ठगीमा मुद्दा चलाएको छैन । प्रहरीले प्रमाण नपुगेर भन्दा पनि प्रभावमा परेर मुद्दा दर्ता नगरेको आरोप छ ।
‘विनाप्रमाणका कसुरमा प्रमाण जुटाउन सक्ने प्रहरीले भएका प्रमाण अनुसार मुद्दा दायर गर्न सक्छ, के प्रमाण पुगेन हामी फेरि दिन सक्छौं’ दाहाल भन्छन् ।