गोदावरी नगरपालिकाको उत्कृष्ट पाँच कर्मचारी पुरस्कृत
ललितपुर, २७ फागुन । गोदावरी नगरपालिकाले उत्कृष्ट काम गर्ने पाँच कर्मचारीलाई सम्मान गरेको छ । प्रथम स्थापना दिवसको अवसरमा नगरपालिकाले गरेको कार्यक्रममा वातावरण शाखा प्रमुख श्रीराम आचार्य, इन्जिनियर सिताराम कार्की, वडा सचिव हरिकृष्ण विष्ट, ज्ञानबहादुर महर्जन र शान्ता थापालाई सम्मान गरेको हो ।
यसै गरी कार्यक्रममा गोदावरी नगरपालिका भित्र योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरु र एसइइ परीक्षामा उत्कृष्ट हुने ६ विद्यालय पुरस्कृत भएकाे छ । पुरस्कृत हुनेमा सामुदायिकतर्फ वाणीविलास माध्यमिक विद्यालय पहिलो, विशंखुनारायण मावि दोस्रो, जनविकास मावि झरुवारासी तेस्रो रहेका छन् । यस्तै निजी विद्यालयतर्फ सेन्ट जेभियर्स पहिलो, हिलटप सेकेण्डरी स्कुल दोस्रो र लालीगुराँस मावि तेस्रो भएका थिए । कार्यक्रममा अन्तर्रा्ष्ट्रिय ३ राष्ट्रिय ३ गरी ६ खेलाडी समेत सम्मानित भएका थिए ।
कार्यक्रमा स्थापना दिवसको कार्यक्रम उद्घाटन गर्दे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय सरकार बलियो नभईकन विकास र समृद्धि असम्भव बताए । उनले प्रदेशमा कानुनहरू निर्माण गरेर बलियो बाटो बनाउँदै गरेकाले आफू निर्वा्चित भएको एक महिनामा बाहिर देखिने काम अपेक्षित मात्रामा हुन नसकेको समेत बताए ।
यस्तै गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिका विकासका विभिन्न सूचकहरू पूरा गर्दै उत्कृष्ट नगरपालिका बन्ने बाटोमा रहेको बताए । उनले प्रदेश तथा सङ्घीय सरकारले अधिकार र स्रोतमा हस्तक्षेप नगरिदिन समेत आग्रह गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले गोदावरी नगरपालिका सहस्राव्दी विकास लक्ष्यले तय गरेका लक्ष्य तथा उद्धेश्य प्राप्ति गर्ने बाटोमा अग्रसर भएकाले सबै पक्षको सहयोग हुनुपर्नेमा जोड दिए ।