शिवम् सिमेन्टको प्रलोभनमा प्रहरीका हाकिम, प्रदूषण नियन्त्रणको माग गर्नेमाथि दमन
हेटौंडा, २९ फागुन । अवैध रुपमा वन फँडानी गरेको आरोपमा जिल्ला वन कार्यालय मकवानुरले पक्राउ गर्न निर्देशन दिएका शिवम् सिमेन्ट उद्योगका संचालक रघुनन्दन मारुलाई होटलमा अतिथिका रुपमा राखेर सम्मान गरेको मकवानपुर प्रहरीले सो सिमेन्ट उद्योगको प्रदूषण नियन्त्रणका लागि आवाज उठाउने स्थानीय बासिन्दाहरुलाई दमन गरेको छ । र, आन्दोलनका अगुवा अखिलका दुई नेतालाई पक्राउ गरी थुनामै यातना दिएको समाचार छ ।
मापदण्डअनुसार प्रदूषण नियन्त्रणका लागि अपनाउनुपर्ने प्रक्रिया नअपनाएपछि आक्रोसित स्थानीयबासीहरु मध्ये वातावरणको क्षेत्रका क्रियाशील दिगो वातावरण तथा संस्कृति संरक्षण मञ्चका अध्यक्ष माधव गौतमलाई सिमेन्ट उद्योगले प्रहरी प्रशासन मार्फत् झुटा मुद्दा लगाएर गैरकानुनी रुपमा हिरासतमा राखेको छ ।
अखिलका जिल्ला नेताहरु विशाल पौडेल र प्रमोद फुयाँललाई पनि प्रहरी प्रशासनले पक्राउ गरी चर्को यातना दिएको छ ।
सिमेन्ट उद्योगले पटक पटक प्रदुषण न्यूनीकरण गर्ने प्रतिबद्धता ब्यक्त गरे पनि पूरा नगरेपछि आन्दोलित भएका स्थानीय वासिन्दालाई सिमेन्ट उद्योगले स्थानीय गुण्डा परिचालन गरेर पनि नसकेपछि प्रहरी प्रशासनको दुरुपयोग गरेको छ ।मकवानपुरका प्रहरी प्रमुख एसपी विकास खनाललाई घुस दिएर प्रदूषण नियन्त्रणका लागि शान्तिपूर्ण आन्दोलन गर्नेहरुलाई दमन गर्न लगाएको छ भने अखिलका नेता र वातावरणका क्षेत्रमा क्रियाशील गौतमलाई पक्राउ गराएको छ ।
शिवम् सिमेन्टमा पूर्वगृहराज्यमन्त्री तथा मकवानपुरबाट प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको समेत लगानी छ । उनले नै एसपी खनाललाई घुस दिएर आन्दोलन दबाउन र अखिलका कार्यकर्तालाई पक्राउ गर्न लगाएका छन् । प्रहरी प्रशासन सेटिङ गरी बानियाँले प्रदूषण नियन्त्रणको माग गर्नेमाथि दमन गरेको गुनासो स्थानीयको छ ।
सिमेन्ट उद्योगका अध्यक्ष सुरेन्द्र गोयल, प्रबन्ध निर्देशक मारु र प्रदेशसांसद बानियाँसहितको टोलीले प्रहरी प्रशासन लगाएर स्थानीयको आवाज दबाउन खोजेका छन् । स्थानीयसँग गरेको प्रतिबद्धता अनुरुप प्रदूषण नियन्त्रण गर्नुपर्ने दायित्वबाट विमुख भएर प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारी स्थानीयको आवाज दबाउने काम सिमेन्ट उद्योगले गरेको छ ।
हेटौंडाको हटियामा शिवम् सिमेन्टको कारखाना छ । जहाँ क्लीङ्कर तयार गर्ने तथा पिध्ने काम हुन्छ । रातिको समयमा सिमेन्टको क्लीङकर पिँध्ने काम हुँदा वरपरका बासिन्दा सुत्न नसकेको, धुलोका कारण प्राणघातक क्यान्सर जस्ता रोगहरुको सिकार हुन पुगेका छन् । पीडित स्थानीयबासीलाई सिमेन्ट उद्योगले प्रदुषण न्यूनिकरण गर्ने प्रतिबद्धता पटक पटक गर्दै आए पनि नगरेपछि स्थानीय आन्दोलित भएका हुन् । स्थानीयको माग अनुसार प्रदूषण नियन्त्रण गर्ने काम नगरी गुण्डा र प्रहरी प्रशासनको बलमा आन्दोलन दबाउन खोजेपछि शिवम् सिमेन्ट विवादमा परेको छ ।
सिमेन्ट उद्योगबाट दैनिक उत्सर्जन भइरहेको प्रदुषणका कारण स्थानीयबासीले सागसब्जीमा धुलो बसेर खानै नहुने समस्या भोगेका छन् भने पिउने पानी समेत प्रदुषित भएको छ । उद्योगबाट उत्सर्जन भएको कार्वनका कारण हटिया, हर्नामाडी, गंगटे, चुच्चेखोला, राजदेवीसम्मका स्थानीयबासी प्राणघातक क्यान्सरको जोखिममा परेका छन् । शिवम्ले अति नै गरेपछि स्थानीय आन्दोलनमा उत्रिन पुगेका हुन् ।