ब्यापारी–कर्मचारी कनेक्सनमा दैनिक करोडौं भन्सार छली

नेपालमा आयात हुने सबै सामान बच्चाका मात्रै ?


२९ फाल्गुन २०७४, मंगलवार
mimansa adhikari

काठमाडौं, २९ फागुनः अर्थमन्त्री डा. युवराज खतिवडाले पदबहाली गरेको चौथो दिन फागुन १७ मा अर्थमन्त्रालय अन्तर्गतका कर्मचारीलाई निर्देशन दिएलगत्तै एकै दिन ३५ करोड रुपैयाँ बढी राजस्व असुली भएको तथ्यांक सार्वजनिक भयो । भन्सार कार्यालयका कर्मचारी र ब्यापारीको मिलेमतोमा न्यून बिजकीकरण गरी दैनिक ३५ करोड राजस्व भ्रष्टाचार हुने गरेको कुरा यो तथ्यले नै खुलिसकेको छ । सबैभन्दा बढी भन्सारछली बिराटनगर भन्सार कार्यालयबाट हुने गरेको छ ।

mimansa adhikari
भन्सार प्रमुख मिमांस अधिकारी र राजस्वका निर्देशक दिब्यराज पोखरेल ।

बिराटनगर भन्सारबाट भित्रिने सामानमा २५ प्रतिशतमात्र शुल्क तिरी ७५ प्रतिशत भन्सार छली हुने गरेको छ । स्रोतका अनुसार बिराटनगर भन्सारबाट एउटा कन्टेनरमा ब्यापारीले ६५ हजारदेखि ८५ हजार डलर बराबरको सामान ल्याएका हुन्छन् । तर ८ हजारदेखि बढीमा १५ हजार रुपैयाँको मात्र भन्सार तिरी भित्र्याउने गरेका छन् । बढीमा १५ हजारको भन्सार तिरेर ६५ हजार डलरको सामान विनाभन्सार आयात गरी देशलाई करोडौं रुपैयाँ राजस्व मार्ने काम ब्यापारी र कर्मचारीको मिलेमतोमा बिराटनगर भन्सारमा भइरहेको भइरहेको छ । जाँचपास गर्दा सन्दर्भ मूल्यको २५ प्रतिशत मात्र मूल्यांकन कायम गरी प्रतिकन्टेनर ३ लाख रुपैयाँसम्म घुस लिने गरेको आरोप बिराटनगर भन्सारका प्रमुख मिमांस अधिकारी र भन्सार अधिकृत सुशील थापामाथि छ ।
बिराटनगर भन्सारमा ब्यापारीले ठूला मानिसले लगाउने पाइन्ट ल्याएको छ भने प्रज्ञापनत्रमा इलाष्टिक पाइन्ट र कट्टु लेखी भन्सार छली गर्दैआएका छन् । प्रायः सबै सामान बेबी भनेर भित्रने गरेका छन् । टिसर्टहरु पनि ठूला मानिसले लगाउनेलाई बेबी भनेर ल्याउने गरेका छन् । ठूला मानिसले लगाउने पाइन्टको प्रतिपीस ३ डलर भन्सार तिर्नुपर्छ । तर इलाष्टिक पाइन्टको ४५ सेन्ट भन्सार तिरे हुन्छ । कट्टुको त १७ सेन्टमात्र तिरे हुन्छ । यसरी एउटा पाइन्ट बराबर २.८३ डलर भन्सार छली बिराटनगरबाट हुँदैआएको छ । ठूला मानिसको मोजा ल्याए पनि बेबी मोजा उल्लेख गरी भन्सारछली हुन्छ । बेबी मोजाको ४ सेन्टमात्र भन्सार लाग्छ भने ठूला मोजाको ३० सेन्ट भन्सार शुल्क लाग्छ ।

ठूला मानिसले लगाउने स्पोर्ट जुत्ताको प्रतिजोर ४ डलर तिर्नुपर्छ तर बेबी भनेर १.५० डलरमात्र तिर्छन् । बिराटनगर भन्सारबाट यसरी दैनिक भन्सारछली हुने गरेका यी केही दृष्टान्त मात्र हुन् । यसरी दैनिक करिब करोडौं रुपैयाँ हाराहारीमा बिराटनगरबाट भन्सारछली हुँदै सामान आयात भइरहेको छ ।
सर्ट पाइन्टदेखि रेडिमेड कपडा सबैमा यसरी भन्सार छली हुने गरेको छ । अर्थमन्त्रालय, भन्सार विभाग, अख्तियारजस्ता निकायले बिराटनगर भन्सारबाट भित्रने एउटामात्र ट्रकको खानतलासी लिने हो भने प्रज्ञापनपत्रमा एउटा र सामान अर्कै भएको फेलापर्ने स्रोतले बताएको छ ।

biratnagar vansar
यसरी दिनमा सयौं ट्रक रेडिमेड कपडा चीनबाट बिराटनगर हुँदै भित्रने क्रममा करोडौं रुपैयाँ भन्सारछली हुँदैआएको छ । न्यून बिजकीकरण गरी भन्सारछली गरेबापतको रकमको ६० प्रतिशत ब्यापारी र ४० प्रतिशत भन्सारका प्रमुख मिमांस अधिकारीले लिने गरेका छन् । भन्सार प्रमुख अधिकारीले नै राजस्व अनुसन्धान विभाग र भन्सारका महानिर्देशकदेखि इटहरी र पथलैया राजस्व मिलाउने गरेका छन् ।

इटहरी राजस्वका प्रमुख जयबहादुर भण्डारी र पथलैया राजस्वका दिब्यराज पोखरेलसमेतलाई सेटिङ गरिएका कारण राजस्वले कुनै ब्यापारीका सामान पनि चेकजाँच नगरी निर्वाध भित्रन दिने गरेको छ । भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी र राजस्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बराललाई समेत मिलाएर बिराटनगर भन्सारबाट तस्करी हुने गरेको छ । जुन कुरा अर्थमन्त्रालयले छानबिन गरे स्पष्ट हुने स्रोत बताउँछ । भन्सार प्रमुख अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख दीप बस्न्यातका पीए लक्ष्मण बाँस्तोलालाई समेत मिलाएर निर्वाध तस्करी गर्दैआएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७