विदेशी मुद्रा तस्करीमा पूर्वएसएसपी श्रेष्ठलाई सफाइ


२९ फाल्गुन २०७४, मंगलवार
SSP Shrestha

काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकालमा धेरै विवादास्पद फैसला भएकाले उनी आलोचनाको पात्र भएका छन् । पछिल्ला दिनमा त सर्वोच्च अदालतकै न्यायाधीशले उनको बारेमा प्रश्न उठाइरहेका छन् । यसैक्रममा उनले गरेका धेरै विवादास्पद फैसलाले देशको खरबकै हाराहारीमा राजस्व गुमेको समाचार सार्वजनिक भइसकेको छ । उनले भ्रष्टाचार गर्नेहरुलाई सर्वोच्चबाट उन्मुक्ति दिएको आरोप पनि छ । यसैक्रममा उनकै कार्यकालमा विदेशी मुद्रा विदेशमा तस्करी गर्ने योजनाकारका रुपमा चिनिएका नेपाल प्रहरीका पूर्वएसएसपी रविराज श्रेष्ठले पनि अदालतबाट मुद्दा जितेका छन् ।

SSP Shrestha
पूर्व एसएसपी रविराज श्रेष्ठ

पाँच बर्षअघि १ करोड २४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश पठाउने कार्यमा मुख्य योजनाकारको आरोपमा मुद्दा दायर गरिएका श्रेष्ठले दुई महिनाअघि सफाइ पाएको प्रहरी स्रोतले पुष्टी गरेको छ । तर स्रोतले एकीन मिति भने दिन सकेन ।
नेपाल प्रहरीले अवैध विदेशी मुद्रा तस्करी प्रकरणका मुख्य योजनाकारका रूपमा लिँदै एसएसपी रविराज श्रेष्ठलाई सेवाबाटै बर्खास्त गरेको थियो । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागले एसएसपी श्रेष्ठबिरुद्ध मुद्दा दायर गरेको थियो । २०६९ असोज २१ मा एयर दुवईको जहाजको शौचालयबाट दुबई पठाउन लागेको अवस्थामा ब्रिटिश पाउण्ड ४,९००, स्वीस फ्रयांक ८,५००, युरो ४१,७००, कुवेती रियाल १९००, ओमानी रियाल ४००, कतार रियाल ५६, ०००, अरबियन दिनार १, ८४०००, बहराइन दिनार १५,५०० थियो । प्रहरीले उक्त विदेशी मुद्रासहित विनोद सोनीलाई पक्राउ गरेको थियो ।
विमानमा बम रहेको हल्लापछि चेकजाँच गर्ने क्रममा उक्त विदेशी मुद्रा बरामद भएको थियो । उक्त विदेशी मुद्रा एसएसपी श्रेष्ठका सवारी चालक सोवितबहादुर कार्कीले विमानस्थलसम्म पु¥याउने गरेको खुलेको थियो । आफ्नै चालक हवल्दार शोभित कार्कीलाई प्रयोग गरेर एसएसपी श्रेष्ठले मुरारीलाल जमालियाको विदेशी मुद्रा फ्लाई दुबईको उडानबाट विदेश उडाउन खोजेका थिए ।

हवाईजहाजमा बम भएको हल्लासँगै उडान रोकेर छापा मार्दा विभिन्न नौ देशका अवैध मुद्रा विनोद सोनी भन्ने व्यक्तिको साथमा फेला परेको थियो । विदेशी मुद्रा तस्करीमा सक्रिय व्यापारी मुरारी गोयल र पवन अग्रवालसंग पनि कनेक्सन खुलेको थियो । २४ बर्षको जागिर अवधिमा रविराज ४ पटक एयरपोर्टमा सरुवा भएका थिए । उनको तस्करहरुसँगको कनेक्सनकै कारण एयरपोर्टमा पटक पटक सरुवा हुँदैआएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन डीआइजी नारायण बस्ताकोटी भए पनि एसएसपी श्रेष्ठले निर्वाध विदेशी मुद्रा तस्करी गर्दैआएका थिए ।
एसएसपीको ६ बर्षे पदावधिका आधारमा अवकाश पाइसकेका श्रेष्ठले अदालतबाट सफाइ पाए पनि पदमा बहाल हुन पाएनन् । वर्तमान आइजीपी प्रकाश अर्यालसहित १५ एआइजीसँग एकै दिन प्रहरीमा प्रवेश गरेका थिए । ६ बर्षे पदावधिका कारण अवकाश नभएको भए उनी आगामी चैत २८ सम्म जागिरमा रहन्थे । एसएसपी श्रेष्ठलाई सफाइ दिएपछि उनले जागिरपछि पाउने निवृत्तिभरण पाउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७