गोर्खाहरु सैनिकहरुलाई समान व्यवहार गरिनुपर्छ: जोआना लुम्ली {अन्तर्वार्ता}


२९ फाल्गुन २०७४, मंगलवार
joanna lumley

चर्चित ब्रिटिश अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्ली आन्दोलनरत गोर्खाहरुको माग सम्बोधनका लागि फेरि सक्रिय भएकी छिन् । ‘डटर अफ गुरखाज’को रुपमा गोर्खाहरुले सम्मान गर्दे आएको जोआनाले भूतपूर्व गोर्खा सैनिकहरुमाथि गरिएको विभेद अन्त्यको लागि ब्रिटिस सरकारलाई दबाब दिन सुरु गरेकी हुन् । २००९ मा गोर्खा अभियान्ताको रुपमा उत्रेर आन्दोलनको नेतृत्व गरेकी जोआना फेरि सार्वजनिक रुपमा गोर्खाहरुको पक्षमा खुलेकी छिन् । लुम्लीसँगको अन्तरवार्ता :

joanna lumley

नेपाली दूतावासको पहलमा ब्रिटिश सरकार र भूतपूर्व गोर्खा सैनिक संगठनहरुबीच पेन्सनलगायतका विषयमा वार्ता भैरहेको छ। यो अवसरमा ब्रिटिश सरकारलाई तपाईं के भन्न चाहनुहुन्छ?

साँचो कुरा के हो भने पेन्सनको विषय सँधैभरि निकै जटिल रहँदै आएको छ। पेन्सन कसरी दिइन्छ, कति रकम दिइन्छ र कति अवधिका लागि दिइन्छ भन्नेजस्ता कुरामा रहेका भिन्नताले गर्दा ‌पनि त्यसो भएको हो। मैले सन् दुई हजार नौ देखि, गोर्खा सैनिकहरुको आवासीय अधिकारकालागि अभियान चलाउँदा देखिनै, यो विषयबारे थाहा पाएकी हुँ। मैले सँधै अनुभूत गरेकी छु कि ब्रिटिश सैनिकहरुसंगै लडने नेपाली, गोर्खा सैनिकहरु, हरेक दृष्टिकोणले समान छन् र उनीहरुलाई समान व्यवहार गरिनुपर्छ। पहिले पेन्सनको रकम निश्चित थियो किनभने सन् दुई हजार नौ भन्दा अघि सेवा निवृत्त भएपछि गोर्खा सैनिकहरु नेपाल फर्कन्थे र उनीहरुलाई बाँच्नकागि कम रकम चाहिन्छ भन्ने तर्क गरिन्थ्यो। तर अहिले स्थिति फरक छ, उनीहरु यहीं बस्छन्। । त्यसैले म ब्रिटिश सरकारलाई र रक्षा मन्त्रालयलाई साहसीहरुमध्येमा पनि सबैभन्दा साहसी गोर्खा सैनिकहरुको यतिबढी तनाव र चिन्ताको कारण बनेको यो समस्याकाबारे सहानुभूतिपूर्वक विचार गर्न आग्रह गर्दछु।

भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सनको कुरा गर्दा उनीहरुले आफुहरुप्रति भेदभाव भएको बताउँदै आएका छन्। तर ब्रिटिश अदालतहरु र मानव अधिकार संबन्धी युरोपेली अदालतले पनि कुनै भेदभाव नभएको भन्ने फैसला दिएका छन्। तपाईं यसबारे के भन्नुहुन्छ?

यो विषयमा बोल्न म योग्य छैन। यो विषयमा अधिकार सहित बोल्न मसंग पर्याप्त जानकारी छैन। म यति धेरै यात्रा गरिरहेकी हुन्छु कि यसबारे के भैरहेको छ भनेर मैले आफुलाई अद्यावधिक गर्न सकेकी छैन। मैले पछिल्लो पटक मानवअधिकारवादी समुदायसंग पनि कुरा गरें र उहाँहरुले शायद यो बहसमा हामीले खासै योगदान दिन सक्दैनौं भन्नुभयो।

तपाईंले अभियान चलाउँदा भूतपूर्व गोर्खा सैनिकहरुलाई ब्रिटेनमा आवासीय अधिकार दिइनुपर्ने कुरामा जोड दिनुभएको थियो। तर कतिपय मानिसहरु पेन्सन वृद्धिमा जोड दिएको भए राम्रो हुन्थ्यो भन्छन्। अहिले फर्केर हेर्दा तपाईंलाई कस्तो लाग्छ?

मलाई थाहा छैन। पहिलोपटक म यो कुरा सुन्दैछु। म निकै दुखी छु कि हामीले गरेको कामलाई मानिसहरुले महत्व दिइरहेका छैनन्।

हैन, मैले त्यो भन्न खोजेको हैन। ब्रिटेनमा बसोबास गर्ने अवसर पाएपछि धेरैजसो भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना परिवार नेपालमै छाडेर यहाँ आउनुपर्यो भन्ने गुनासोको बारेमा मात्रै मैले तपाईंलाई भनेको हुँ।

अनि, तपाईंलाई चाहिं के लाग्छ?

हजारौं भूतपूर्व गोर्खा परिवारहरु ब्रिटेन आएपछि उनीहरुले विश्वमै नाम चलेको गुणस्तरीय स्वास्थ्य सेवा पाएका छन्। तर धेरैजसो वृद्ध वृद्धाले अंग्रेजी भाषा नजानेका कारण समस्या पनि व्यहोरिरहेका छन् नि?

मलाई थाहा छ। यो सँधै एउटा समस्या रहनेथियो। हेर्नोस्, म एक अभिनेत्री हुँ। म राजनीतिज्ञ होइन। म रक्षा मन्त्रालयमा काम गर्दिनँ, न त म गृह मन्त्रालयमा काम गर्छु, म सांसद पनि होइन, मैले त अभियान चलाउन मात्रै सक्छु। गोर्खा सैनिकहरु पेन्सनको विषयमा निकै चिन्तित छन् भन्ने मलाई थाहा छ, तर मैले यसै गर्नुपर्छ भनेर दबाब दिन सक्दिनँ। हामीलाई मानव अधिकारवादी वकीलहरुले, उच्च अदालतले, त्यतिबेलाको ब्रिटिश सरकारले यो विषयमा नबोल्नोस् नत्र हामी उनीहरुसंग छलफल नै गर्दैनौं भनेर भनेका थिए। त्यसैले गोर्खालीहरुको भलाइकै लागि हामीले चुप लाग्ने निधो गरेका हौं।

तर तपाईंले बोल्नुभयो भने ब्रिटिश सरकार र जनताले पनि निकै महत्व दिन्छन्, अनि ध्यान दिएर सुन्छन नि?

हेर्नोस्, यदि संसारभरि अरु बढी समानता भएको भए यो संसार अरु बढी राम्रो ठाउँ हुने थियो। यो सबैले बुझ्ने कुरा हो। तर त्यस्तो छैन। म चाहन्छु कि गोर्खा सैनिकहरु आफ्ना सबै परिवार सहित यहाँ आउन्। तर त्यो संभव छैन। त्यहाँ जटिलताहरु छन्। तपाईंले कुनै पनि असल कदम चाल्नुभयो भने संगसंगै खराब असर पर्नसक्ने संभावना पनि हुन्छ। तपाईं एक कदम अगाडि बढ्दा अर्को कदम पछाडि फर्कने खतरा पनि हुन्छ। तर, मेरो विचारमा हामी दुई कदम अगाडि बढयौं र एक कदम पछाडि फर्कनुपर्यो।

(अभिनेत्री जोअना लुम्लीसँग यो अन्तर्वार्ता बिबिसीले लिएको हो)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७