म्यान अफ दि इलेक्सनले पाउलान् त मन्त्री ?


३० फाल्गुन २०७४, बुधबार
Rajendra rai
????????????????????????????????????
  • राजकुमार दिक्पाल

लामो समयपछि भेट भयो, हितैषी नरभूपाल राईसँग, लिस्बनस्थित उहाँकै रेस्टुरेण्टमा । डायस्पोरामा रहेर समाजसेवा र व्यवसायलाई सँगसँगै अगाडि बढाइरहनुभएका उहाँ हालः नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगलका अध्यक्ष हुनुहुन्छ । डायस्पोराको जहाँसुकै रहे पनि स्वदेशको समकालीन राजनीतिबारे चासो नराख्ने नेपाली कमै छन् । नरजी र म पनि केही सुख–दुःख र व्यावहारिक कुराकानीपछि समकालीन राजनीतिक सन्दर्भतिर मोडिइहाल्यौँ । नरजीले केही सम्झेझै गरेर भन्नुभयो, ‘ए साँच्चै, राजेन्द्र राईलाई मन्त्री देलान् त ?’

Rajendra rai

राजेन्द्र राई अर्थात् मेरो जिल्ला धनकुटाबाट विजयी प्रतिनिधिसभा सदस्य । उहाँ मन्त्री हुने वा नहुने कुनै सूचना छैन, मसँग । त्यससम्बन्धी सूचनाको स्रोतसम्म पहुँच राख्न पनि असमर्थ छु अहिले । नरजीको जिज्ञाशालाई शान्त पार्ने कुनै भरपर्दाे सूचना नभएपछि यतिमात्र भनेँ, ‘राजेन्द्र दाइलाई मन्त्री दिने नदिने विषयमा त्यस्तो कुनै भरपर्दाे सूचना नभएकाले अहिले केही भन्न सक्दिनँ तर यत्ति हो, उहाँकै नेतृत्वमा धनकुटामा एमालेले क्लीन स्वीप गरेपछि चाहिँ उहाँको केन्द्रसम्म राम्रो पहुँच छ भन्ने लाग्छ, फेरि यो मेरो निजी बुझाइ मात्र हो ।’

ती हडताले दाइ
नरजीसँगको छोटो भेटमा भएका यी टुक्राटुक्री राजनीतिक प्रसंगमा जब राजेन्द्र दाइको पनि प्रसंग चल्यो, त्यसपछि म उहाँकै सन्दर्भलाई लिएर रुमल्लिन लागेँ । राजेन्द्र दाइकै फ्ल्यासब्याकहरू आँखाभरि नाच्न थाले ।
सानोमा हामी राजेन्द्र दाइलाई ‘हडताले दाइ’का नामले सम्बोधन गथ्र्यौँ । ‘हडताल’ शब्दमा पनि एकलखे लगाएर सम्बोधन गर्दा रिसाउलान् कि जस्तो लाग्थ्यो । तर, यस्तो सम्बोधनबाट उहाँमा त गौरवानुभूति हुँदोरहेछ । अनि हाम्रो गाला चिमोटेर भन्नुहुन्थ्यो, ‘ल तिमीहरू राम्ररी पढ्नू है ।’
‘अनि तिमीहरू हडताल गर्न आउँछौ, कसरी राम्ररी पढ्नु नि ?’ मैले त्यतिखेर कक्षामा पढाउने शिक्षक-शिक्षिकाबाहेक कसैप्रति आदरार्थी शब्द प्रयोग गर्न जानेकै थिइनँ ।
‘हा.. हा.. हा..’उहाँ हाँस्नु मात्र हुन्थ्यो ।
त्यो बेला मेरै टोलमा रहेको गणेश प्राथमिक विद्यालयमा कक्षा–१को विद्यार्थी थिएँ । कलेज वा माध्यमिक तहमा पढ्ने विद्यार्थी दाइहरू र सेनासँग असाध्यै डर लाग्थ्यो । एक दिन कक्षा कोठाको झ्यालबाट पुलुक्क चियाएको मात्र के थियौँ १०–१२ जनाको सेनाको समूह हाम्रै स्कुलको आँगनको डिलमा आड बनाएर हामीतिरै पो राइफल ताकिरहेका ।
अब खत्तम हुने भो ! ‘ए धने अब के हुन्छ हँ ?’ हाम्रो टोलदेखि नजिकै आर्मी क्याम्प रहेको र त्यहाँ उनको बुबा पनि सैनिक भएकाले मैले सहपाठी धनबहादुर गोलेलाई सोधेँ । उनको जवाफले झन् खङ्ग्रङ्ग बनायो । उनले भने, ‘यिनीहरू हामीलाई मार्न आएको, अब लुक्नुपर्छ ।’

Rajkumar Dikpal
उनैले सिकाएअनुसार टाउको लुकाएर बेन्चभित्र छि¥यौँ । अनि सास रोकेर बस्यौँ । बल्ल राइफल ताक्ने सेना गयो भन्ने थाहा पाएपछि निस्कियौँ । लाग्यो, धन्न बाँचियो !
दाइ विद्यार्थीहरूसँगको डर यस अर्थमा कि उनीहरूले पढ्न दिँदैनन् । हाम्रो बालमस्तिष्कमा हडतालमा उत्रने दाइ विद्यार्थीहरूप्रति यस्तो धारणा थियो, उनीहरू स्कुलमा आउँछन्, पढाउन दिँदैनन् । लखेट्छन्, पिट्छन् ।
समय पनि कस्तो परेको, एकातिर स्कुल बन्द गर्दै हिँड्ने हडताले दाइहरू, अर्कातिर हाम्रै स्कुलको आँगनमा आएर राइफल ताक्ने सेना ।
‘तिमी अलि पछि बुझ्छौ भाइ’, हडताले दाइ राजेन्द्र भन्नुहुन्थ्यो ।
०३६ सालको राजनीतिक आँधी हुरीका यी हडताले दाइका कुरा एक वर्षपछि मैले बुझि पनि हालेँ, जब हाम्रो दुई घरमध्ये एउटा घरमा राजनीतिक र सांस्कृतिक जमघट हुन थाल्यो ।
०३७ साल अर्थात् म कक्षा–२मा पढिरहेको बेलै केही कुरा बुझिहालेँ, दाइहरू राम्रो कामका लागि हडतालमा उत्रिएका रहेछन् । हाम्रो स्कुलको डिलमा आड कसेर बन्दुक ताकिरहेका सेना पनि देशको रक्षाका लागि तालिम लिइरहेका रहेछन्, यो पनि बुझिहालेँ ।
त्यही समय मेरा दाजु डम्बर सुब्बाले चिनियाँ क्रान्तिताकाकी चर्चित बालसेना ल्यु हु लानको संघर्षमा आधारित सचित्र कथा पढ्न दिएको मात्रै होइन, त्यसको सप्रसंग व्याख्यासमेत गरिदिएपछि मलाई हडताले दाइहरू प्यारो लाग्न थाल्यो, जस्तो कि राजेन्द्र राई ।
उहाँले एक दिन मलाई एउटा एक फुटजति लामो पाइप दिनुभयो र भन्नुहुन्थ्यो, ‘ल भाइ यो माइक हो, यसमा बोल्दा ठूलो सुनिन्छ, अनि नीलो रङमा भोट दिनुहोस्, बहुदललाई जिताउनुहोस् भन्दै फुक्दै हिँड्नू है ।’
उहाँले जसो भन्नुभयो, त्यसै गरेँ ।
त्यो समयको हाम्रो टोलको पक्का घर । खरिदार बखतवीर तामाङको घर । अहिले त्यो घर ‘हिरेको घर’ भनेर चिनिन्छ । हिरे अर्थात् राजु तामाङ, मेरा अन्तरंग बालसखा । राजेन्द्र दाइ त्यसबेला छिमेकको त्यही घरमा डेरा गरेर गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पढ्नुहुन्थ्यो । अनि त्यही स्कुलमा अखिलको नेता । राजनीतिक आँधीहुरीको त्यो समयदेखि नै म राजेन्द्र राईलाई जान्दछु र बुझ्दछु । अहिले उहाँलाई मन्त्री बनाउँछन् कि बनाउँदैनन्, योचाहिँ प¥यो, मैले उहाँका सम्बन्धमा नजानेको र नबुझेको पाटो ।

जिल्ला पार्टीमा बागी
०४६ सालको जनआन्दोलनताका धनकुटा अखिलको नेतृत्व धर्मराज पौड्यालले सम्हाल्नुभएको थियो र राजेन्द्र दाइचाहिँ कमिटीको सदस्य हुनुहुन्थ्यो । ०४७ को परिवर्तनलगात्तै सम्पन्न अखिलको जिल्ला सम्मेलनले अध्यक्ष चुन्यो । मैले जतिखेर भेटेँ, त्यतिखेर पनि उहाँ विद्यालय तहबाट अखिलको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, त्यसबेला म कक्षा–१मा पढ्थेँ । मेरो कलेज जीवन प्रारम्भ हुँदाताका पनि उहाँ विद्यार्थी राजनीतिमै सक्रिय हुनुहुन्थ्यो ।
उहाँले विद्यार्थी राजनीतिबाट बिदा लिएपछि अखिल धनकुटाको नेतृत्व लक्ष्मी निरौलाले सम्हाल्नुभयो, त्यो कमिटीमा म सहसचिव थिएँ । यो सामान्य सम्झना मेरा लागि किन महŒवपूर्ण त भने यी हडताले दाइलाई जतिखेर मैले देखेँ वा भेटेँ, उनैले नेतृत्व हस्तान्तरण गरेको जिल्ला कमिटीमा म पनि एउटा पदाधिकारी हुन आइपुगेँ ।
सानैदेखि राजेन्द्र दाइको प्रभाव ममा थियो, र केही समयसम्म रहिरह्यो । एमालेको पाँचौँ महाधिवेशनमा प्रतिनिधि छनौटको लागि दुर्गा लिङ्खाको नेतृत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिको सदस्य थिएँ । त्योबेला बहुदलीय जनवाद पक्षधरमध्ये धनकुटाबाट रकम चेम्जोङ र दुर्गा दाहालले मात्रै चुनाव जिते, अन्य सबै नौलो जनवाद अर्थात् सिपी मैनाली पक्षधर त्यो बेला तत्कालीन सांसद गोपाल गुरागाई र जिल्ला विकास समिति सभापति धर्मराज पौड्यालसमेत महाधिवेशन प्रतिनिधि बन्नबाट चुक्नुभयो । उहाँहरूको बागी हुनुहुन्थ्यो, राजेन्द्र राई । उहाँकै नेतृत्वका पक्षधरहरू महाधिवेशन प्रतिनिधि छनोट भए ।
त्यसबेलाको धेरै आन्तरिक कुरा खोतल्नेतिर कहिल्यै गइनँ । मात्र यति हो, त्यो बेला धनकुटा, एमालेमा सत्तापक्षधरजस्तो देखिन्थे, गोपाल गुरागाईँ, रकम चेम्जोङ र धर्मराज पौड्यालहरू, अनि बागीजस्ताचाहिँ राजेन्द्र राई ।
राजेन्द्र दाइ किन बागी ? त्यसबेला मनमा यो कुरा खेलिरह्यो । कसैलाई सोधेको थिइनँ । उहाँको नेतृत्वमा रहेको धनकुटा अखिलको सचिव विनोद लुइँटेल (हालः सहप्राध्यापक डा. विनोद लुइँटेल)को एक रात बास प¥यो मेरो घरमा । उहाँ मलाई धनकुटा अखिलको भावी कमिटीमा बस्न सम्झाई बुझाई गर्न आउनुभएको थियो ।
‘किन राजेन्द्र दाइ पार्टीमा सधैँको बागी ?’ मेरो जिज्ञासा ।
लुइँटेलले भन्नुभयो, ‘मलाई पनि धेरै कुरा त थाहा छैन तर उहाँ आफूलाई साथीहरूले कहिल्यै अगाडि बढ्न नदिएको भन्दै एक दिन त मेरो कोठामा आएर रुनु पनि भो ।’
सबै कुरा लुइँटेलले भन्नुभएन, र मैले कोट्याएर सोधिनँ पनि ।
तर, उहाँ धनकुटा एमालेको आन्तरिक बागीका रूपमा प्रस्तुत भइरहनुभयो । ०४७ को परिवर्तनपछि धनकुटा एमालेको जिल्ला अधिवेशनमा पार्टी नेतृत्वकै लागि चुनाव लड्नुभयो । त्यो बेला गोपाल गुरागाईंको मत ११ र राजेन्द्रको ७ थियो । धनकुटाको कम्युनिस्ट आन्दोलनका सर्वोच्च नेता गोपाल गुरागाईं हुनुहुन्छ । उहाँपछि सबैभन्दा जेलनेल खेप्नेचाहिँ राजेन्द्र दाइ ।

त्यसपछि हाई हाई
कुनै समय थियो, धनकुटा क्याम्पसमा अत्यधिक जनमत अखिलको हुँदाहुँदै अखिल कार्यकर्ताले नै नेविसंघबाट पिटाइ खानुपर्ने । त्यसको एउटा भुक्तभोगी म आफै पनि हुँ । जब ०५३ सालतिर सुजनभाइ जोशीहरूको उदय भयो, तब नेविसंघले कुटाइ खानुपर्ने दिन प्रारम्भ भयो ।

फेरि धनकुटामा एमाले संकटमा फस्यो । वाइसिएलको जगजगी भयो, ०६२-६३को जनआन्दोलनलगत्तै । कांग्रेस वा नेविसंघ झडपमा उत्रन छाडेको दशक भइसकेको थियो । अब जुध्ने पालो आयो, वाइसिएल र युथ फोर्सको । युथ फोर्सले क्लीन स्वीप बनाइहाल्यो । यसमा सुजनभाइ जोशीहरूको ठूलो हात छ र भूमिकाचाहिँ राजेन्द्र राईको । त्यो बेलादेखि नै राजेन्द्र राईको धनकुटामा हाई हाई मच्चिहाल्यो ।
समय क्रममा मैले चिने जानेको राजेन्द्र राई स्थानीय निर्वाचनको परिणामपछि एमाले अध्यक्ष केपी ओलीद्वारा सम्बोधित हुनुभयो, ‘म्यान अफ द म्याच ।’
प्रिय मित्र नरभूपाल राईको जिज्ञासाअनुसार ‘राजेन्द्र राईलाई एमालेले मन्त्री बनाउँछ कि बनाउँदैन ?’ यो मलाई थाहा छैन तर उहाँले एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘म्यान अफ द म्याच’को उपाधि चाहिँ पाइसक्नुभएको छ । यो त सार्वजनिक भइसकेकै कुरा हो ।

-जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७