सरस्वती प्रतीक्षाको ‘नथिया’ माथि वादी समुदायकै आपति


३० फाल्गुन २०७४, बुधबार
nathiya sarsoti QWGXJvV4e2 1

दाङ्ग, ३० फागुन : दाङ बादी समुदायका बारेमा लेखिएको खोजमूलक उपन्यास ‘नथिया’माथि विमर्श गर्न लेखिका सरस्वती प्रतीक्षा यतिबेला मोफसल यात्रामा छिन् । यही क्रममा उनी सोमबार दाङको घोराही आइपुगिन् । भर्खरै बजारमा आएको नथिया घोराहीनजिकै रहेको ‘पक्रैया’ बस्तीबारे लेखिएको उपन्यास हो । त्यसैले पनि कार्यक्रममा दंगालीको बाक्लो उपस्थिति थियो ।nathiya sarsoti QWGXJvV4e2 1

उदाहरण समूहद्वारा आयोजित कार्यक्रममा बादी समुदायका महिला पनि सहभागी थिए । बहसका लागि लेखिका सरस्वतीसँग बादी समुदायका अगुवा निर्मला गुप्ता र निर्मल गुप्ता मञ्चमा थिए । सरस्वतीले दाङको बादी समुदायका महिलाले भोग्नुपरेको पीडामय संघर्षको विगतलाई आधार बनाएर उपन्यास लेखिएको बताइन् । बहसका क्रममा बादी समुदायले भने नथिया उपन्यासप्रति आपत्ति प्रकट गरे । बादी समुदायकी अगुवा निर्मला गुप्ताले उपन्यासले ‘खाटो’ बसिसकेकोे घाउलाई कोट्याएर झनै पीडा थोपर्ने काम गरेको दाबी गरिन् । ‘इतिहासलाई तोडमरोड गरेर झनै पीडा थप्ने काम भएको छ,’ निर्मलाले भनिन्, ‘उपन्यास पढ्दा शरीरभरि काँडा उम्रिए । शरीर भारी महसुस भएर आयो ।

उपन्यासमा बादी समुदायका सबै महिला देहव्यापार नै गर्थे भन्ने देखाइएको छ । तर, त्यो झुट हो ।’ उनले त्यो वेला पनि बादी समुदायका धेरै महिलाले देहव्यापार नगर्ने गरेको स्पष्ट पारिन् । उपन्यासमा लेखकले नै ‘बदिनी’जस्ता अपशब्द प्रयोग गरेकोमा उनले आपत्ति जनाइन् । ‘उक्त शब्द सम्बोधन होइन, गाली हो,’ उनले भनिन्, ‘बदिनी’ शब्द गालीका रूपमा प्रयोग गरिन्थ्यो । उहाँले त्यति पनि हेक्का राख्नुभएन, सम्बोधनका रूपमा उल्लेख गर्नुभयो ।’

‘बादी त पुरुष पनि हो, महिला पनि हो,’ उनले भनिन्, ‘उपन्यासमा बिहे गरिसकेपछि पनि पात्रले अरूसँग यौन सम्बन्ध राख्नुपरेको कुरा उल्लेख छ । तर, त्यसो हुँदै होइन । विवाह गरिसकेपछि बादी समुदायका महिला पूर्णतः पतिव्रता थिए । उनीहरूले परपुरुषसँग सम्बन्ध राखेको अहिलेसम्म भेटिएको छैन ।’ निर्मलाले उपन्यासमा उल्लेख भएका केही पात्रका कारण हालका बादी समुदायका महिला समेत आरोपित हुने सम्भावना बढेको बताइन् ।nathiya 768x366

‘उपन्यासमा उल्लेख भएका पात्रका जस्तै नाम भएका महिला अहिले पनि छन् । उपन्यासकै उनीहरू कारण आरोपित हुने सम्भावना बढेको छ । लेखेकले यति संवेदनशील विषयमा अलिक गम्भीर भइदिनुपथ्र्यो,’ निर्मलाले भनिन् ।
बादी समुदायका अगुवा निर्मल बादीले दाङलाई केन्द्रबिन्दु बनाएर लेखिएको उपन्यासमा भाषा भने बैतडी, बझाङको प्रयोग गरेकोमा असन्तुष्टि जनाए । बादी समुदायका पुरुषलाई कामै नलाग्ने मानिसका रूपमा परिभाषित गरिएको भन्दै उनले त्यतिवेला बादी समुदायका महिलामाथि हुने यौनशोषणका घटनामा पुरुषले विद्रोह गरेको घटना पनि भएको स्मरण गराए ।

लेखक सरस्वती प्रतीक्षाले नथिया उपन्यासको मध्यान्तर मात्र भएको र अर्को उपन्यास लेखेर हाल छुटेका विषयवस्तु समेटिने बताउँदै जोगिने प्रयास गरिन् । भाषाका सवालमा बादी समुदायका अगुवाहरूसँग सल्लाह गरेर सकेसम्म स्पष्टता ल्याउन खोजिएको उनले बताइन् । ‘उपन्यासको अन्त्यमा मैले मध्यान्तर लेखेको छु । केही कुरा छुटेका वा नमिलेका पनि हुन सक्छन् । लेखकको काम तलाउमा ढुंगा हान्ने हो, त्यसबाट तरंग उत्पन्न हुनु स्वाभाविक छ,’ उनले भनिन्, ‘पीडा भोगेका महिलाले बताएको कथालाई नै उतारेकी छु । छुटेका कुरा अर्को भागमा समेटिने छन् ।’ कार्यक्रमको सहजीकरण कवि घनश्याम ‘अस्तित्व’ ले गरेका थिए भने बहसको सहजीकरण कवि नवीन ‘अभिलाषीले’ गरेको खबर नयाँपत्रिकामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७