एमालेमा मन्त्रीका लागि तीब्र लविङ, को–को बन्दैछन् मन्त्री ?


१ चैत्र २०७४, बिहीबार
uml office 1

काठमाडौं, १ चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक मन्त्रीपरिषद् बिस्तारको तयारी थालेका छन् । नेकपा माओवादी केन्द्रले अब बन्ने मन्त्रीको नामावली टुङ्गो लगाएसँगै नेकपा एमालेमा पनि मन्त्रीमा दाबी गर्नेहरुको दौडधुप सुरु भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् विस्तारका अन्तिम तयारी थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एक दुई दिनभित्र सरकार विस्तार गर्ने बताए । बुधवार वाम गठबन्धन प्रदेश १ का प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई बधाई दिने कार्यक्रममा बोल्दै एक–दुई दिनमै सरकार बिस्तार हुने उल्लेख गरे । संघीय समाजवादी फोरम नेपालले सरकारमा आउने निर्णय गरेसँगै ओलीले सरकार विस्तारको तयारी थालेका हुन् ।

uml office 1

३ फागुनमा प्रधानमन्त्री निर्वा्चित भएका ओलीले दुईपटक गरेर सरकारमा ६ मन्त्री नियुक्त गरेका छन् । हाल उनीसहित ७ जनाको मन्त्रिपरिषद छ । सत्तारुढ वाम गठबन्धनले यसअघि केन्द्र सरकारमा १८ मन्त्रालय राख्ने निर्णय गरेको थियो ।

वाम गठबन्धनको सहमति अनुसार पनि सरकारको पूर्णताका लागि अझै ११ जना मन्त्री थप गर्नुपर्ने हुन्छ । राष्ट्रपतिको निर्वाचन, वाम गठबन्धनभित्रको आन्तरिक संघर्ष र मधेसवादी दललाई सरकारमा ल्याउन भइरहेको कसरतका कारण मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई भएको हो ।

हाल सात सदस्यीय रहेको मन्त्रिपरिषद्लाई विस्तार गरेर सरकारको कामलाई पूर्ण क्षमतामा अघि बढाउने उद्देश्य साथ ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेसँगै मन्त्रीका आकांक्षी पनि बढ्न थालेका छन् । प्रधानमन्त्री ओलीले शुरुमा मन्त्रिमण्डल बनाउँदा ‘सरप्राइज’ दिंदै लालबाबु पण्डित र थममाया थापालाई रोजेका थिए । त्यसपछि दोस्रो चरणमा डा. युवराज खतिवडा र ईश्वर पोख्रेल मन्त्री बने । उनीहरुसँगै माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादवले मन्त्री बन्ने अवसर पाए ।

एमालेबाट को–को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेश समेट्ने गरी एक–एक जनालाई एमालेबाट मन्त्री बनाउने तयारी थालेका छन् । ओली निकट स्रोतका अनुसार प्रम ओली सकेसम्म विवादमा नमुछिएका व्यक्तिलाई मन्त्री बनाउने पक्षमा छन् ।

प्रदेश–१ :  यो प्रदेशबाट ओली मन्त्रिपरिषद्का लागि एमाले सचिव तथा ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराई, सांसद तथा पार्टी पोलिटब्युरो सदस्य तथा र त्यसैगरी मोरङ–३ बाट निर्वाचित भानुभक्त ढकाल, पाँचथरका सांसद वसन्त नेम्बाङ, ओखलढुङाबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवार, धनकुटाबाट निर्वाचित राजेन्द्र राई लगायत चर्चामा छन् ।

यो पनि पढ्नुहोस् :-

एमाले स्थायी कमिटी : अहिलेसम्म को कति पटक भए मन्त्री ?

निर्वाचनअघि प्रचारका क्रममा ताप्लेजुङ पुगेका ओलीले ‘योगेशलाई जिताएर पठाउनु मन्त्री बनाउने काम मेरो’ भन्दै भाषण गरेका थिए । उनले भनेका थिए,‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेजतगार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङको जनताले विश्वास गरेको युवा मतिष्क र युवा काँध र युवा हातले ताप्लेजुङ बनाउदैन होला र ? तपाईहरु ढुक्क हुनहोस् माथि म छु, योगेश यहाँ छ ।’ तर, केही समुह उनलाई मन्त्री हुनबाट रोक्न प्रधानमन्त्री ओलीकोमा धर्ना नै बसिरहेको बताइन्छ ।

सचिव भट्टराई एमालेभित्र अहिलेसम्म मन्त्री नबनेका एक जना मात्रै पदाधिकारी हुन् । उनी बाहेक सबै पदाधिकारीहरु पटक पटक मन्त्री बनीसकेका छन् । जनस्तरबाट उनी मन्त्री बनोस् भन्ने चाहाना र दबाब भएपनि उनी आफै भने मन्त्री बन्नलाई मरिहत्ते गरेर लबिङमा लागेका छैनन् । ओलीको जगजगी चलिरहेको बेला ओलीले पार्टीभित्र गरिरहेका एकलौटी निर्णयको खुलेर आलोचना गर्ने नेता हुन् उनी । पछिल्लो समयमा एमालेभित्र प्रधानमन्त्री ओलीको बोली नै निर्णय हुने गरेको छ । एमालेभित्र एकदमै कम पदाधिकारी छन्, जो ओलीको निर्णयलाई आलोचना गर्ने सामाथ्र्य राख्छन्, ती मध्येका एक हुन् सचिव भट्टराई । त्यही कारण उनलाई मन्त्री नबनाउने चर्चा गरिन्छ । पछिल्लो समयमा एमाले स्थायी कमिटि र पदाधिकारीहरु मन्त्री बन्ने चाहनाका कारण ‘चुप’ अवस्थामा छन् । उनीहरुले स्थायी कमिटि बैठकमा अध्यक्ष ओलीले गरेको एकलौटी निर्णयको आलोचना समेत गर्ने आँट गरेका छैनन् । तर, उनले खुलेर आफ्ना धारणा राख्दै आएका छन् ।

पाँचथरबाट विजयी वसन्त नेम्बाङलाई मन्त्री बनाउन एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्बाङले लबिङ गरिरहेका छन् । ओलीका एक सहयोगी सुवास नेम्बाङले वसन्तलाई मन्त्री बनाउनै पर्ने दबाब दिइरहेका छन् । तर, योगेश र भानुभक्तको तुलनामा बसन्तको प्रोफाइल सानो भएको तर्क पनि एमालेवृत्तमा छ ।

प्रदेश–२ : यो प्रदेशबाट एमाले उपाध्यक्ष वामदेव गौतमका नजिककामध्ये एक रघुवीर महासेठ मन्त्री बन्ने सम्भावना छ । वामदेवले रघुवीर र प्रदेश–४ बाट रवीन्द्र अधिकारीलाई मन्त्री बनाउनुपर्ने लबिङमा छन् । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोका ज्वाईं समेत रहेका रघुवीरलाई मन्त्री बनाउन अहिले चर्को लबिङ चलिरहेको छ ।

प्रदेश–३ : प्रदेश ३ बाट मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । तर, पछिल्लो चरणमा सूची घटेर दुई जनामा सीमित भइसकेको जनाइएको छ । मन्त्रीका लागि लबिङमा दोलखाका पार्वत गुरुङ र सिन्धुपाल्चोकका शेरबहादुर तामाङ लबिङमा छन् । अहिलेसम्म एमालेबाट तामाङ समुदायाबाट मन्त्री नबनेका कारण प्रदेश नम्बर तीनबाट तामाङलाई मन्त्री बनाउन दबाब परेको छ । ओली मन्त्रिपरिषद्मा पर्नका लागि अहिले काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र काभ्रेका गोकुल बास्कोटाले लबिङ गरिरहेका छन् । कृष्णगोपाललाई ओलीले पार्टी कार्यालय सचिवको पनि जिम्मेवारी दिएका छन् भने बास्कोटा पनि ओलीका निकट नेतामा पर्छन् ।

प्रदेश–३ बाटै काठमाडौंका रामवीर मानन्धरले पनि मन्त्रीका लागि पहल गरिरहेका छन् । तर, उनलाई कम्तिमा पनि राज्यमन्त्रीमा व्यवस्थापन गर्ने प्रयासमा पार्टी रहेको स्रोतले जानकारी दिएको छ ।

प्रदेश–४ : यो प्रदेशबाट यसअघि संविधानसभाबाट रुपान्तरित संसदमा विकास समितिका सभापति भइसकेका कास्कीका रवीन्द्र अधिकारी ओली मन्त्रिमण्डलमा पर्ने सम्भावना बलियो छ । उनलाई र प्रदेश–२ का रघुवीरलाई मन्त्री बनाउन एमाले उपाध्यक्ष गौतमले नै लबिङ गरिरहेका छन् । तर, ओलीले दुवैलाई बनाउन नसकिने बताएको अवस्थामा वामदेवले रवीन्द्र र रघुवीरमध्ये एकलाई रोज्नुपर्ने अवस्था छ । यहाँबाट स्याङ्जाकी पद्मा अर्याल पनि मन्त्री बन्ने दौडमा छन् । गत निर्वाचनमा बहालवाला उपप्रधामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी अर्याललाई पनि सके मन्त्री नसकेमा कम्तिमा राज्यमन्त्रीसम्म बनाउने तयारी गरिएको छ ।

प्रदेश–५ : प्रदेश नम्बर–५ बाट गुल्मीबाट निर्वाचित पार्टी सचिव तथा सचिवालय सचिव प्रदीप ज्ञवाली गुल्मीबाटै निर्वााचित पार्टी सचिव गोकर्ण विष्ट र रुपन्देहीका छबिलाल विश्वकर्माको मन्त्री बन्ने सूचीमा छन् । प्रधानमन्त्री कार्यालय मातहत बनाउने भनिएको एउटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी ओलीले ज्ञवालीलाई दिने सम्भावना छ । एमालेमा बौद्धिक नेताका रुपमा परिचित ज्ञवाली एमालेका दस्तावेज लेखनका काममा ओलीका विश्वासपात्र पनि हुन् ।शालिन र बौद्धिक छविका सचिव ज्ञवाली पार्टीभित्र लोकप्रिय नेता हुन् । ओलीको सबैजसो अप्ठ्यारोमा साथ दिएका ज्ञवालीले अर्थको जिम्मे पाउने धेरैको अनुमान थियो । संगठन र विचार दुबैमा ओलीलाई ज्ञवालीले दरिलो साथ दिदै आएका छन् । तर, विश्वकर्माले पनि आफूलाई मन्त्री बनाइनुपर्ने विभिन्न आधारसहित पार्टी नेतृत्वसँग तीब्र लबिङमा छन्।

कर्णालीबाट को ?

कर्णाली प्रदेशबाट ओली मन्त्रिपरिषद्का लागि कुनै नेताको ठूलो चर्चा छैन । यहाँबाट विजयी एक जनालाई राज्यमन्त्रीसम्मको जिम्मेवारी दिने चर्चा छ । यो प्रदेशमा दैलेख १ र २ बाट एमालेका रवीन्द्रराज शर्मा र राजबहादुर बुढाक्षेत्री विजयी भएका थिए । त्यसैगरी डोल्पबाट धनबहादुर बुढा र मुगुबाट गोपालबहादुर बम प्रतिनिधि सभामा विजयी भएका थिए ।

प्रदेश–७ : यो प्रदेशबाट तीन नेताको नाम चर्चामा छ । डोटीका प्रेम आले, कैलालीका नारदमुनि राना र अछामका भीम रावलको नाम चर्चामा छ । तर, यो पटक भीम रावल मन्त्री बन्ने सम्भावना कम छ । यस्तोमा डोटीमा बहालवाला मन्त्री वीरबहादुर बलायरलाई हराएका आले र कैलाली ५ मा तत्काली प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवालाई पराजित गरेका रानाको नाम चर्चामा छ । डोटीमा बहालवाला मन्त्रीलाई हराएका आले जिल्लामा विकासप्रेमी नेताका रुपमा स्थापित छन् । उनलाई मन्त्री बनाउनका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि लबिङमा छन् । वरिष्ठ नेता नेपालसँगै आले प्रधानमन्त्री ओलीका पनि विश्वासपात्र मानिन्छन् । उनी दोस्रो संविधान सभा निर्वाचनपछि पनि मन्त्री बन्ने चर्चामा थिए । तर यो पटक भने प्रदेश ७ बाट एमालेले उनलाई मन्त्री बनाउने चर्चा छ ।

त्यसैगरी कैलाली ५ का सांसद रानाले आफूले प्रधानमन्त्री पत्नीलाई हराएको भन्दै मन्त्रीका लागि लबिङ गरिरहेका छन् । उनले राज्यको सारा शक्ति लगाउँदा पनि आफूले प्रधानमन्त्री पत्नीलाई हराएको जिकिर गरिरहेका छन् । तर, उनीमाथि विगतमा रातो पासपोर्टको दुरुपयोग गरेको आरोप लागेको छ । ओलीले विवादमा परेका व्यक्तिलाई नलिने बताइरहेका बेला रातो पासपोर्ट काण्डले रानालाई केही अफ्ठेरो पार्ने देखिन्छ । निर्वाचनका बेला पनि रानाको रातो पासपोर्ट काण्डलाई कांग्रेसले चुनावी एजेण्डा बनाएको थियो ।

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७