जसले आत्महत्या गरेर इज्जत जोगाइन्


२ चैत्र २०७४, शुक्रबार
beautiful girl portrait
  • राजेन्द्र स्थापित

जलालुद्दिन मोहम्मद अकबर मुगल साम्राज्यका तेस्रो शासक । भारतमा मुगल साम्राज्यका संस्थापक तथा तैमूर वंशका शासक बाबरको नाति । राजा नसिरुद्दिन हुमायुँ तथा रानी हमिदा बानोका पुत्र । हमिदा मंगोल सम्राट चंगेज खाँकी सन्तती । सन् १५५६ मा हुमायुँको निधनपश्चात् १ वर्षका अकबर सम्राट बने । यिनले ४९ वर्ष २ सय ७५ दिन शासन गरे । रुकैया, सलिमा र जोधाबाईसित बिहे गरे । ३ छोरा र ६ छोरीको पिता बने । रुकैया नातामा अकबरको बहिनी पर्थिन् भने सलिमा फूपाजु बैरम खानकी बेगम थिइन् ।

तत्कालीन भारतीय समाजमा वेश्यावृत्तिलाई सम्राटको संरक्षणप्राप्त थियो । उनको एउटा हरम (जनाना घर) थियो, जहाँ पाँच हजारभन्दा बढी स्त्री कैद थिए । प्रायः स्त्री अपहरण गरी ल्याइएका हुन्थे । त्यसबेला सतीप्रथा पनि हावी थियो । कतिपय समयमा अकबरले सेनालाई नदी किनारको घाटमा डुल्न पठाउँथे र सतीमा जल्न लागेका जवान स्त्रीलाई बचाएर ल्याउन लगाउँथे । तिनीहरुलाई पनि त्यही हरममा राखिन्थ्यो ।

कतिपय इतिहासकारले अकबरको यो कार्यलाई सतीप्रथाको विरोध र स्त्रीको संरक्षणको रुपमा व्याख्या गर्ने गरेका छन् । यद्यपि जसरी, जहाँबाट उडाएर ल्याउने गरे पनि तिनीहरु सबै अकबरको यौनदासी बन्थे । रानी होउन् वा कुलिन घरानाका स्त्री वा दरबारियाहरुका पत्नी, बादशाह अकबरसामु पेश हुने इच्छा भएमा पहिला इच्छाको सूचना दिन्थे र प्रत्युत्तरको प्रतीक्षा गर्थे । जो योग्य ठानिन्थे, उनीहरुले मात्र हरममा प्रवेश पाउँथे । अकबर आफ्ना प्रजामाथि घरका स्त्रीको नग्न र सामुहिक प्रदर्शन गर्न बाध्य पार्थे । उनले यो प्रथालाई खुदारोज (प्रमोद दिवस) नामकरण गर्ने गरेका थिए । यो उत्सवको एउटै मात्र उद्देश्य हरमका लागि सुन्दर स्त्री छान्ने हुन्थ्यो ।

Rajendra Sthapit
लेखक

भारतीय उपमहाद्वीपमा अवस्थित गोंडवानाकी महारानी दुर्गावतीमाथि पनि अकबरको कुदृष्टि थियो । दुर्गावतीलाई पाउन र आफ्नो साम्राज्यअन्तर्गत मलावा राज्यका शासक बाजबहादुरको उक्साहटमा परेर अकबरले १० हजार सैनिक गोंडवाना पठाए । दुर्गावतीले दुई हजार सेनाको नेतृत्व गर्दै मुगल सेनासँग लडिन् । युद्धमा तीन हजार मुगल सेनाको ज्यान गयो । मुगल सेनाको नेतृत्व आसिफ खानले गरेका थिए । यसअघि पनि दुईपटक आसिफले गोंडवानामाथि आक्रमण गरिसकेका थिए र दुवैपटक पराजित भएका थिए । तर, तेस्रोपटकको आक्रमणमा दुर्गावतीतर्फ पनि थुप्रै नोक्सान भयो । यसको बाबजुद दुर्गावतीले हार मानिनन् । आफ्नो राज्यको सुरक्षार्थ ज्यान दिन तयार भइन् र रणभूमिमा अघि बढ्दै गइन् । तर मुगल सेना आफ्नो ज्यान लिने होइन, जिउँदै पक्रेर अकबरको हरममा पु¥याउने चेष्टामा लागेको आभाष पाइन् र कुनै पनि अवस्थामा अकबरको रखौटी नबन्ने प्रणसहित सन् १५६४ को जुन २४ मा मुगल सेनालाई छल्दै दुर्गम क्षेत्रबाट भाग्न सफल भइन् ।

यद्यपि त्यसबेला नराम्रोसँग घाइते बनिसकेकी थिइन् । रणभूमिबाट बाहिर पुगिसकेपछि कम्मरमा भिरिराखेको छुरा निकालिन् र छातीमा रोपेर आत्महत्या गरिन् । अकबरले दुर्गावतीलाई पाउन नसकेपछि उनकी बहिनी र छोरा–बुहारीलाई भए पनि दिल्ली ल्याउन आदेश जारी गरे । आदेशको पालना गर्दै आसिफ खानले दुवैलाई बन्दी बनाए । दिल्ली पुगेपछि दुवैलाई सोही घरमा कैद गरियो ।

अकबर मुसलमान भए पनि हिन्दुहरुप्रति नरम थिए । उनको दरबारमा पनि मुसलमानभन्दा हिन्दु कर्मचारी बढी थिए । त्यति मात्र होइन, मुस्लिम र हिन्दु धर्मावलम्बीबीचको दूरी कम गर्ने मनशायले ‘दिन–ए–इलाही’ नाउँको छुट्टै धर्म बनाउन लगाए । हिन्दुहरुको चाड होलीको आयोजना दरबारभित्रै गर्न लगाउँथे र त्यसमा आफू पनि सरिक हुन्थे । उनको दरबारमा आयोजना गरिने होली उत्सव हिन्दु राजाहरुले गर्ने उत्सवभन्दा भव्य हुन्थ्यो । उत्सवको तयारी महिना दिनदेखि गर्न लगाउँथे । ठाउँ–ठाउँमा सुन–चाँदीका ड्रम राख्न लगाउँथे । होलीको दिन दरबारलाई चन्दन, केशर, अबिर र सिन्दुरले सिंगार्न लगाउँथे । सम्पूर्ण रानी तथा हरमका स्त्रीहरुसँग रमाइलो गरेर अकबर होली खेल्थे । सेतो लुगामा सजिएर फूलले सजाइएको मण्डपमा बस्थे । पारदर्शी वस्त्र लगाएका गोडामा घुँगुरा बाँधेका सुन्दरीहरु छमछम आवाज निकाल्दै मण्डपमा प्रवेश गर्थे ।

beautiful girl portrait
फाइल तस्बिर

अकबर तिनीहरुको अर्धनग्न शरीरमा केशर, चन्दन, कुमकुम र अन्य सुगन्धित जल हालिदिन्थे । सुन्दरीहरु नक्कल गर्दै शरीर कामुक तरिकाले हल्लाउँथे । अकबर उनीहरुको उक्त हाउभाउबाट उत्तेजित भई सुनबाट निर्मित पचकाले रंग छर्किदिन्थे । स्त्रीले पनि केशरको रंग अकबरको सेतो कपडामा लगाइदिन्थे । होली खेल्न आवश्यक केशर र मगमग बास्ना आउने विभिन्न प्रकारका फूल मिसिएको रंगीन पानी दरबारपरिसरमा सुन–चाँदीको ड्रममा राखिएको हुन्थ्यो । अबीर दल्ने, पचका हान्ने यो क्रम साँझसम्म चल्थ्यो ।

साँझको कार्यक्रममा दरबारबाहिरका स्त्रीलाई पनि सामेल गराइन्थ्यो । सुन–चाँदीबाट निर्मित घुँगुरा बाँधेका महिलाको ठूलो जमात हुन्थ्यो । तबला बजाउने, नगरा बजाउने कार्यक्रम हुन्थ्यो । शायरी र गजल गायन हुन्थ्यो । कब्बाली तथा नृत्य हुन्थ्यो । उपस्थित सबैले एकले अर्कोलाई शुभकामना दिन्थे । गुलाफ तथा अन्य सुगन्धित फूल, अलैंची र बदामबाट बनाइएको लस्सी पिउँथे । विभिन्न प्रकारका मिठाइ, खानयोग्य फूलले सजाइएको पानले अतिथिको सत्कार गरिन्थ्यो । होलीको उपलक्ष्यमा अकबरलाई शुभकामना दिन सर्वसाधारणको ठूलो भीड दरबारबाहिर जम्मा हुन्थ्यो । अकबर सर्वप्रथम तिनीहरुमध्येका गरिबसँग भेट्थे, टाउकोमा अबीर लगाइदिन्थे । त्यसपछि धनी नागरिकसँग भेट्थे । टाउको र गालामा अबीर दलेर शुभकामनाको लागि धन्यवाद दिन्थे ।
०००
मिखाइल लेर्मोन्तोभ लेखक, कवि र चित्रकार हुन् । मस्कोमा जन्मेका उनी विशेषतः रोमान्टिक कविताका सर्जक हुन् । उपन्यास र नाटक पनि लेखेका छन् । सन् १८३० र १८३१ ताका जति पनि कविता लेखे, ती सबै एउटी युवतीको नाउँमा समर्पित थिए । युवतीको नाउँको स्थानमा मात्र तीन अक्षर ‘एनएफआइ’ मात्र लेख्थे । उनका कविता पढ्दा थाहा हुन्छ, लेर्मोन्तोभले लामो समय ती युवतीसित एकतर्फी प्रेम गरेका थिए । शुरुमा ती युवतीले पनि लेर्मोन्तोभसित प्रेम गरेको तर अर्को धनी युवकसित भागेको प्रष्ट हुन्छ । प्रेमिकाले छाडेपछि एकपछि अर्को कविता लेख्न थालेका हुन् ।

सन् १८३१ मा ‘द स्ट्रेन्ज मैन’ नाटक लेखे । नाटक कविले एउटी सुन्दरी युवतीसित प्रेम गरेको र उनले कविलाई छाडेर गएको विषयमा केन्द्रित छ । कवि युवतीलाई सम्झेर पागल बन्ने र प्रेमिकाको बिहेको पूर्वसन्ध्यामा मर्ने उल्लेख छ । सबै पाठकले थाहा पाए कि यो नाटक उनको आफ्नै आत्मकथा हो । त्यसैगरी सन् १८३१ मा लेखिएको एउटा कवितामा इच्छा प्रकट गरे कि उनको र प्रेमिकाको नाउँ सधैं एकसाथ लिने गरुन् । उक्त कविता पढिसकेपछि रुसी साहित्यकार इतिहासकार इराकी आन्द्रोनिकोभले संकल्प गरे कि लेर्मोन्तोभद्वारा लिखित अर्को पुस्तक प्रकाशन गर्नुअघि उनकी अज्ञात प्रेमिका ‘एनएफआइ’ को हुन् भन्नेबारे जानकारी अवश्य प्राप्त गर्नेुछु । छानबिनक्रममा उनी मस्कोमा बस्ने साहित्यका समालोचक एक बूढोकोमा पुगे, जोसित महत्वपूर्ण व्यक्तिको परिचय, जन्म–मृत्यु सबै रेकर्ड थियो ।

उनै वृद्धमार्फत आन्द्रोनिकोभले थाहा पाए कि एनएफआईको पूरा नाम नतालिया फ्योदोरोभ्ना इभानोभा हो । जसले एकजना सैनिक अधिकृतसँग बिहे गरेकी थिइन्, त्यसबेला उनकी एउटी नातिनी जीवित थिइन् तर तिनी कहाँ बस्छिन्, त्यो कुरा वृद्धलाई जानकारी दिएन । आन्द्रोनिकोभले हार मानेनन् र नतालियाकी नातिनीलाई खोज्दै हिँडे । अन्त्यमा नातिनी नतालिया मकलाकोभाको घर पत्ता लगाई छाडे । काठले बनेको घरको ढोका ढक्ढक्याए । अग्लि महिलाले ढोका खोलिन् । उनले आफू नतालियाकी नातिनी भएको बताइन् तर लेर्मोन्तोभले नतालियाको नाउँमा लेखेका सम्पूर्ण कविताका पाण्डुलिपि तथा पात्रहरु, जुन नतालियाले सुरक्षित राखेकी थिइन्, लोग्नेले जलाइदिएको बताइन् । उनले यो पनि बताइन् कि ‘द स्ट्रेन्ज मैन’ लेर्मोन्तोभ र नतालियाको प्रेमकथामा आधारित नाटक हो । घरमा नतालिया इभानोभाको एउटा धेरै पुरानो सन्दुक थियो । खोलेर हेर्दा भित्र अत्तरका शिशी, ससाना बट्टा, फोटो एल्बम, हाते पंखा, चराचुरुंगीका प्वाँख, लुगाको टाँक, सियो आदि फेला प¥यो । सबै सामान निकालिसकेपछि सबैभन्दा मुनि फ्रेम लगाएको नतालियाको एउटा फोटो देखाप¥यो ।

वास्तवमा नतालिया नाटककार फ्योदोर इभानोभकी छोरी रहिछन् । उमेरमा लेर्मोन्तोभभन्दा एक वर्ष जेठी । लेर्मोन्तोभले धेरै र नतालियाले थोरै प्रेम गरेका रहेछन् । यद्यपि लेर्मोन्तोभले नतालियासँग प्रेमप्रस्ताव राख्नै नसकेका रहेछन् । नतिजा नतालियाले सैनिक अधिकृत ओभरस्कोभसित बिहे गरिन् । त्यसो त बिहेपूर्व नै गभर्नरको घरमा आयोजित रात्रिभोजमा सुनको बट्टा, हिरापन्नाजडित केही वस्तु हराएको र छानबिनको क्रममा त्यो चोरी ओभरेस्कोभले गरेको प्रमाणित भएको थियो र दण्ड–सजायको रुपमा अधिकृतबाट घटुवा गरी सामान्य सैनिकको रुपमा अर्को रेजिमेन्टमा पठाइएको रहेछ ।

नतालियाले यी सबै कुरा थाहा पाइकन पनि बिहे गरेकी रहिछन् । त्यस्तो बद्नाम व्यक्तिसँग किन बिहे गरिन्, यो कुरो भने अन्तिम समयसम्म पनि आन्द्रोनिकोभले थाहा पाउन भने सकेनन् । साहित्यकार मिखाइल लेर्मोन्तोभको निधन २७ वर्षको उमेरमा सन् १८४१ मा भएको थियो भने नतालियाको मृत्यु ६२ वर्षको उमेरमा सन् १८७५ मा भयो । लेर्मोन्तोभ अन्तिमसम्म पनि अविवाहित नै थिए । त्यसो त नतालिया उनकी प्रथम र अन्तिम प्रेमिका थिइनन् । १६ वर्षकै उमेरमा येकातेरिना सुस्कोभालाई प्रेमिका बनाएका थिए, सुस्कोभा र उनको प्रेम निकै वर्षसम्म चल्यो तर उनले पनि अर्कैसित बिहे गरिन् ।

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७