इसेवाका सिइओ अस्गर अली ‘योङ सिईओ अफ दि इयर’


३ चैत्र २०७४, शनिबार
asgar ali

काठमाडौं : इसेवाका कार्यकारी अधिकृत अस्गर अलीले ‘योङ सिईओ अफ दि इयर’को उपाधी पाएका छन् । नेपालमै पहिलो पटक आयोजना भएकोे सिइओ समिट तथा अवार्डमा इसेवाका सिइओ अलीले ‘योङ सिईओ अफ दि इयर’ विधामा अवार्ड प्राप्त गरेका हुन् । यही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ अवार्डबाट सम्मानित भए ।

asgar ali

बुधबार साझ भएको अवार्ड कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले अलीलाई अवार्ड प्रदान गरे । अवार्ड वितरणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

बिजनेश प्लस टेलिभिजन र सिईओ क्लवको संयुक्त आयोजनामा भएको अवार्ड कार्यक्रममा नेपाल तथा विश्वका बिभिन्न देशबाट अनलाईनमार्फत् आवेदन परेका थिए । भारत, चीन, बंगलादेश, पाकिस्तानलगायत सार्क र एशियाका अन्य देशबाट बढी आवेदन परेका थिए । सबैलाई पछि पार्दै अलीले योङ सिईओ अफ दि इयर विधामा अवार्ड हात पारेका हुन् ।

समिटमा सिईओ अफ् दि इयर, योङ सिईओ अफ दि इयर, सिईओ अफ् दि इयर फिमेल, पपुलर सिईओ अफ् दि इयर, सिईओ अफ् दि इयर एसएमई  र सिईओ अफ् दि इयर पब्लिक सेक्टर गरी ६ विधामा अवार्ड वितरण गरिएको थियो ।
इसेवाका सिइओ अली केही दिन अघिमात्रै स्पेनको वार्सिलोनामा भएको  मोबाईल वर्ल्ड कंग्रेसमा सम्बोधन गरेका थिए । उक्त कंग्रेसमा नेपालबाट सम्बोधन गर्ने अली पहिलो व्यक्ति हुन् ।

अवार्ड प्राप्त गरेपछि अलीले भने ‘हामीले अन्य कर्पोरेट अफिसहरूका तुलनामा फरक ढंकले व्यवस्थापन गर्दै आएका थियौँ, फरक र नयाँ तरिकाको व्यवस्थापनले नै हामीलाई छोटो समयमै यो उचाइमा ल्याएको हो, आगामी दिनमा पनि हामी हाम्रा सेवालाई अझ सरल र सहज बनाउदै लैजानेछौँ ।’

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । मोबाईल तथा इन्टरनेटबाट विभिन्न किसिमका सेवाहरूको भुक्तानी गर्न सकिने माध्यम इसेवामा २ सय २० भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । फरक र उत्कृष्ट ढंगले व्यवस्थापन गर्दा नै कम्पनीलाई छोटो समयमा सफल बनाउन सकेको अलीले बताए । सन् २००९ को अन्त्यमा बेटा भर्जन (BETA VERSION ) रिलिज गरी २५ जनवरी २०१० बाट बिधिवत् रूपमा सेवा सुरु गरेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ३० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् ।

इसेवाको मोबाईल एप्स प्रयोग गर्नेको संख्या ५  लाख नाघेको छ भने इसेवा खाता  खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढी छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत् ६० लाख बढीले इसेवाका सेवा लिइरहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सयभन्दा बढी सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४४ वटा बैंक सदस्य छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७