परिवारले माया मारिसकेका जो दोस्रो बिश्वयुद्धमा जितेर फर्किए


३ चैत्र २०७४, शनिबार
world war Fight Pattharman

खोटाङ, ३ चैत्र । दोश्रो बिश्वयुद्ध चलिरहेको थियो। भारतीय पल्टनमा भर्ती हुन गएका खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका पत्थरमान राई लामो समयसम्म सम्पर्कमा नआउँदा परिवारले मायाँ मारिसकेका थिए। तालिम सके लगत्तै युद्ध मैदानमा पठाइएका उनी बि.सं. २००० सालमा जापानी सेनासँग भएको युद्धमा गम्भीर घाईते भएपछि अस्पतालमा लगिए। उसबेला अहिलेजस्तो न फोनको चलन थियो, न इन्टरनेटकै। परदेशीको हाल खबर थाहा पाउन वर्षौँसम्म कुर्नुपर्ने अवस्था थियो। गाउँमा कसै–कसैका घरमा पाइने रेडियो सूचनाको एक मात्र श्रोत हुन्थ्यो। पल्टनबाट घर आउने उनका नम्बरीले अस्पतालमा भर्ना भएको खबर ल्याएपछि मात्र परिवारले पत्थरमानको अवस्थाका विषयमा पत्तो पाएका थिए। अाजकाे नागरिक दैनिकमा छ ।

world war Fight Pattharman
पत्थरमान राई ।

बाबु गजवसिं राई र आमा सरिमायाँको कोखबाट बि.सं. १९८० साल माघ २ गते जन्मिएका पत्थरमान १९ वर्षको उमेरमा बि.सं. १९९९ सालमा भारतीय सेनामा भर्ती भएका थिए। दोश्रो बिश्वयुद्ध चलिरहेकै बेला उनी राती साथीहरुसँग भागेर गल्लावाल पछ्याउँदै भर्ती हुन गाउँ छाडेका थिए। ‘बाआमाले पल्टनमा जान दिँदैन थे। साथीहरुसँग राती भागेर हिँडेको। गाडी थिएन। हिँडेरै जयनगर पुग्यौंँ अनि मात्र गाडी चलेको हामीले,’ पत्थरमानले पुराना दिन सम्झिए, ‘गल्लावालले फकाउँथे, उसकै साथमा हिँडेको। खुट्टा खादी थियो, पल्टनमा पुगेपछि मात्र जुत्ता लगाएको।’

पत्थरमानको पल्टन नम्बर टेनजिआर १०९९९६। भर्ती भएर तालिम सकेलगत्तै उनको पल्टनलाई युद्ध मैदान पठाइयो। शैन्या तालिम दुस्मनलाई ‘मार्न र मर्न’कै लागि केन्द्रित थियो। उनीहरुलाई मानसिक र शारीरिकरुपमा युद्धकै लागि तयार पारिएको थियो। मणीपुर ओखरबोट रोड क्षेत्रबाट उनी सम्मिलित दुई कम्पनी र दुई प्लाटुन खटाइएका थिए। जंगलैजंगलकाबीचमा लुकिछिपी दुस्मनसँग लड्नु पथ्र्यो। युद्ध मैदानमा ढुंगा वा ढिस्कोको आड लिएर बिरालोको चालमा पाइला चाल्नु पथ्र्यो। अलिकति टाउको उठाउँदा पनि गोली लाग्ने खतरा थियो। उनीहरुको टोलीमाथि डाँडामा थियो।

जापानी सेना तल खोलामा थियो। एक दिन राति खोलामा बसिरहेका जापानी सेनासँग गोली हानाहान भयो। बहादुरीका साथ रातभर जापानी सेनातर्फ ग्रिनेट हानियो। जापानी सेनाले पनि उस्तै प्रतिकार गरे। बिहान भएपछि ग्रिनेट सफा गर्न जानेक्रममा घाइते अवस्थाका जापानी सेनाले ग्रिनेटले हान्दा पत्थरमान गम्भीर घाइते भए। घाइते जापानी सेनाले हानेको ग्रिनेट बिष्फोट हुँदा रुख नै उखेलिएर उछिट्टियो। पत्थरमानको शरीर छिया–छिया बन्यो। औषधिसहितका डाक्टरहरु साथैमा हुन्थे। तर, उनको चोट युद्ध मैदानमा गरिने उपचारले निको हुने अवस्था थिएन। ग्रिनेटले उनको चिउँडो उँडाएको थियो। शरीरभरी विष्फोटको छर्रा लागेको थियो। देब्रे हातको चोर औंला चुँडिएको थियो, दायाँ हातको पाखुरामा छर्रा लाग्दा नशामा असर पुगेकाले सबै औंला बांगिए। राम्ररी नचल्ने भयो। ‘सँगैका कति साथी मरे, कति घाइते भए, साध्य थिएन,’ राईले भने, ‘म भाग्यले बाँचेको हुँ। अस्पतालमै चार वर्ष छ महिना बसेपछि मात्र यत्तीको ठीक भएँ र घर आएको हुँ।’

अस्पतालमा लगिएका उनको ग्रिनेटले चुँडाएको चिउँडोमा टाउकाको छाला काटेर दारी बनाइए। १८ ठाउँमा शल्याक्रीया गरियो। शरीरकै छाला काटेर ओठकारुपमा टाँसिए। नक्कली दाँत हालिए। छियाछिया शरीर टालटुल गरिए। युद्ध मैदानमा छिरेदेखि घाइते बनेर ढल्दासम्मका बिश्व युद्धका दर्दनाक दृश्याहरु उनका मानसपटलमा कैंद भए। सँगैका साथी गोलीले ढलेको, घाइते भएर चिच्याएको, गोलीको चोटले छट्पटिएको, बिलौना गरेको, जंगलमा भोकै र तिर्खै बसेको पीडादायी अनुभव संगाले।

१ सेप्टेम्बर १९३९ मा सुरु भएको दोश्रो बिश्व युद्ध २ सेप्टेम्बर १९४५ अर्थान २००२ साल भदौसम्म जारी रह्यो। सो अवधिमा करिब १ करोड ४६ लाख सेना र करिब एक करोड सर्वसाधारण मारिएका थिए। जापानले आत्मसमर्पण गरेपछि दोश्रो बिश्व युद्ध टुंगिएको केही वर्षसम्म पत्थरमान अस्पतालको बेडमै थिए। युद्ध टुंगिएको लामो समयसम्म घर नआउँदा ‘जिउँदो छैन’ भन्ने अनुमान गर्न थालिएको थियो। परिवारले मायाँ मार्न लागेको बेला पत्थरमान २००५ साल असोजमा सुरक्षा गार्ड सहित घर आइपुगे। उनलाई भारतीय सेनामै कार्यरत पाथेकाका सन्तबहादुर राईले सुरक्षा गार्डका साथमा घरसम्म ल्याएर छाडेका थिए। घर आएको दुई महिना नबित्दै उनले मंसिरमा बिवाह गरेका हुन्। उनका ६ बहिनी छोरी र १ भाई छोरा छन्।

भागेर पल्टनमा सँगै भर्ती भएका उनका दाजु पर्ने लालबहादुर, बीरबहादुर लगायतको मृत्यु भइसकेको छ। तर, पत्थरमान ९४ वर्ष पुग्दा अहिलेसम्म गाउँघरमा अभिभावकीय भूमीका घटेको छैन। अझै पनि डुलघुम गर्छन्, खेतबारी चाहार्छन्। भारतीय सरकारले दिने पेन्सन अहिले बुढेसकालको साहरा बनेको छ। पितृपूजा, सामाजिक काम गर्नेक्रममा गाउँघरमा उनलाई नै पुर्खाकारुपमा अघि सार्ने गरिन्छ। ७० वर्ष पुगेपछि भत्ता दिने भनेको भारत सरकारले हालसम्म भत्ता नदिएको नाती मनोज राईले बताए।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७