नेपाली क्रिकेटको आइसीसी मूल्याङ्कन : सम्भावना बोकेको टिम


४ चैत्र २०७४, आईतवार
cricket nepal nepvsned 2

काठमाडौं, ४ चैत : विश्वकप छनोटमा पुगेको नेपाललाई नेपाली आँखाले समयसापेक्ष रुपमा प्रगतिउन्मुख देख्नु स्वभाविक हो । तर, अर्काको आँखामा नेपाली क्रिकेट टोली कस्तो होला ? तर, आइसीसीले पनि नेपाली क्रिकेट टोलीलाई सम्भावनायुक्त टिमको संज्ञा दिएको छ । आईसीसी विश्वकप छनोटको समूह चरणमा लगातार तीन पराजय बेहोरेको नेपालले आईसीसीबाट एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउँछ भन्ने कमैले सोचेका थिए । तर, सोचेभन्दा फरक भयो । छनोटबाट नेपालले अस्थायी एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्राप्त गर्‍यो ।cricket nepal nepvsned 2

विश्वकप छनोटको समूह चरणमा एक जीत र प्लेअफमा एक जीतसहित नेपालले छनोटमा दुई खेल जित्यो । अन्ततः त्यही २ जीतले नेपालले एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गर्दै ऐतिहासिक उपलब्धी हासिल गर्‍यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात् आईसीसीले समेत यो छनोटबाट नेपालले सबैभन्दा बढी फाइदा लिन सफल भएको बताएको छ । प्रतियोगितामा नेपालको प्रदर्शनको मूल्यांकन गर्दै आईसीसीले भनेको छ, धेरै खेलमा पराजयका बाबजुद कुनै टोलीले सम्भावना देखाएको र फाइदा उठाएको छ भने त्यो टोली हो नेपाल ।

विश्वकप छनोटमा नेपालको प्रवेश नाटकीय रह्यो र नेपालले छनोटमा धेरै कुरा प्राप्त गरेको छ । उसले सन् २०२२ सम्मको लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्‍यो । आईसीसीको टेष्ट र एक दिवसीय मान्यताप्राप्त राष्ट्र सम्मिलित छनोटको समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले एक जीतसहित समूह चरणको खेल टुंग्याएको थियो । एक जीतले सुपर सिक्समा पुग्न नसके पनि नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै एक दिवसीय मान्यता पाउने सम्भावना बलियो बनाएको थियो । अर्को प्लेअफमा नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले एक दिवसीय राष्ट्रको मान्यता पाउन सफल भएको थियो ।

आईसीसीले यो छनोटमा नेपालको सकारात्मक र नकारात्मक पाटोलाई समेत उल्लेख गरेको छ । आईसीसीले सकारात्मक पक्षमा १७ वर्षीय युवा लेग स्पिनर सन्दिप लामिछानेको प्रदर्शन उल्लेख गरेको छ । सन्दिपले नेपालको जितमा अहम् भूमिका खेलेको र उनी उदीयमान खेलाडी भएको आईसीसीले जनाएको छ । सन्दीपले ६ खेलमा १३ विकेट लिएका थिए ।

यस्तै, आईसीसीले नेपालको ब्याटिङ प्रदर्शनबारे समेत लेखेको छ । आईसीसीले नेपालको ब्याटिङमा कप्तान पारस खड्काको एक्लो नेतृत्व रहेको जनाएको छ । आईसीसीले कप्तान पारसले बाहेक अन्य ब्याट्सम्यानले रन जोड्न असफल भएको तर दिपेन्द्र सिंह ऐरीले केही प्रयास गरेको उल्लेख गरेको छ । त्यस्तै जिम्बावेमा जारी विश्वकप छनोटको सुपर सिक्सको खेलहरु जारी रहँदा आईसीसीले सुपर सिक्समा पुग्न असफल राष्ट्रहरुको मूल्यांकन गरेको छ । शनिबारबाट प्लेअफका सबै खेल सकिएसँगै आईसीसीले समग्र मूल्यांकन नतिजा निकालेको हो । विश्वकप छनोटमा आठौं स्थानमा रहेको नेपाललाई आईसीसीले ग्रेड सी मा मूल्यांकन गरेको छ । यस्तै, सातौं भएको नेदरल्याण्डलाई पनि आईसीसीले सी ग्रेड दिएको छ । डिभिजन – २ मा घटुवा भएको पपुवा न्युगिनी र हङकङले डी ग्रेड पाएका छन् ।

नेपालको समग्र नतिजा
समूह चरण
जिम्बावेविरुद्ध ११६ रनले पराजित
स्कटल्याण्डविरुद्ध ४ विकेटले पराजित

अफगानिस्तानविरुद्ध ६ विकेटले पराजित
हङकङविरुद्ध ५ विकेटको जीत
प्लेअफ

पपुवा न्युगिनीविरुद्ध ६ विकेटको जीत

सातौं र आठौं स्थानको प्लेअफ

नेदरल्याण्डविरुद्ध ४५ रनले पराजित

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७