अन्ततः पूर्वराजा ज्ञानेन्द्र सक्रिय राजनीतिमा ओर्लिए, राप्रपा पुनर्गठन गर्दै


५ चैत्र २०७४, सोमबार
x king

काठमाडौं, ५ चैत : देशको राजनीति संक्रमणको अवस्थामा देखिएका बेला राजतन्त्र पुनस्र्थापनाका लागि कोशिस गर्दा पनि असफल देखिएपछि पूर्व राज ज्ञानेन्द्र शाह आफै सक्रिय राजनीतिमा ओर्लिएका छन् ।x king

वाम गठबन्धनको वहुमतमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बने लगतै पूर्वराजा शाह सक्रिय राजनीतिमा ओर्लिएका हुन् । उनले आइतबार साँझ झापामा राप्रपाका विभिन्न तीन वटा गुटका ९ जना नेतालाई बोलाएर सामुहिक छलफल गरेका छन् । उनी राप्रपा पुनर्गठनमा लागेको उनका निकटहरुले बताएका छन् । उनी अझै केही दिन झापामै रहने जनाइएको छ । चैत ११ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

झापा पुगेका पूर्व राजासँग पार्टी पुनगर्ठनबारे छलफल गर्न राप्रपाका विभिन्न गुटका नेताहरु काठमाडौंबाट आइतबार साँझ झापास्थित शाहको चिया बगानमा आइपुगेका छन् । बेलुका ४ बजेदेखि साँझ ७ बजेसम्म चलेको छलफलमा सहभागी नेताहरुलाई पूर्वराजाले चिया र बिस्कुट खुवाएर पठाएको समाचार स्रोतले जानकारी दिएको छ । पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न चिया बगानमा भेला हुने नेताहरुमा कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह थिए । त्यसैगरी पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती पूर्वराजासँगको छलफलमा सहभागी थिए । डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्य पनि पूर्व राजालाई भेट्ने टोलीमा सहभागी थिए । राप्रपाका तीनवटै गुटका तीन–तीन जना गरी ९ जना नेताहरुसँग पूर्वराजाले सामुहिकरुपमा तीन घण्टासम्म छलफल गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

फुटेका नेतालाई जुटाउने ‘गृहकार्य’

पूर्व राजासँगको भेटबारे सहभागी एक नेताले खुलाएका छन् । उनले पूर्व राजा ज्ञानेन्द्रले राप्रपाका सबै समूहहरु एक हुनुपर्ने र पार्टी पुनर्गठन गरिनुपर्ने निर्देशन दिएको उनले बताएका छन् । पूर्वराजाको भनाइ उधृत गर्दै स्रोतले भनेको छ, ‘म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपाईहरु अगाडि बढ्नोस् ।’ पूर्व राजासँगको भेटमा राप्रपाका तीनवटै गुटका नेताहरुले आ–आफ्नो पार्टीको शीर्ष नेतृत्वको आलोचना गरेका थिए । ठूला नेतावीच जुँगाको लडाई चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको नेताहरुले पूर्व राजालाई गुनासो सुनाएका थिए । अब पशुपतिसमशेर, कमल थापा र प्रकाशचन्द्र लोहनीलाई मुख्य नेतृत्वबाट हटाएर युवा पुस्ताले पार्टी नेतृत्व सम्हाल्नुपर्ने र तीनवटै समूहलाई एकीकरण गरी राजतन्त्रको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता रहेको नेताहरुले ज्ञानेन्द्रलाई रिपोर्टिङ गरेका थिए ।

यही रणनीतिअनुसार पूर्वराजाको आशिर्वाद थापेर राप्रपाका नेताहरु आज काठमाडौं फर्किएको स्रोतले जानकारी दिएको छ । अब ज्ञानेन्द्रसँगको छलफलअनुसार तीनवटै पार्टीमा मुख्य नेतृत्वविरुद्ध विद्रोहको तयारी थालिने स्रोतको दाबी छ । यसैवीच पूर्वराजा ज्ञानेन्द्रले झापामा रहँदा प्रदेश १ का राप्रपाका नेताहरुसँग पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम जारी रहेको स्रोतले बतायो ।

यसअघि पूर्वराजा ज्ञानेन्द्रले नेपालगञ्जमा रहँदा त्यहाँ पनि राप्रपाका पुराना नेताहरुसँग छलफल गरेका थिए । त्यहाँ उनले काठमाडौंबाट बोलाएर कमल थापासँग पनि पार्टी पुनर्गठनबारे कुराकानी गरेका थिए ।

ब्याकअप कि फ्रण्टलाइन ?

पूर्वराजा ज्ञानेन्द्र अब आफूले केही गर्नुपर्ने भन्दै पूर्व राजावादीहरुको दल निर्माणमा सक्रिय बन्न थालेका छन् । तर, उनी आफैं पार्टीको नेतृत्व गर्छन् या ‘ब्याकअप’ मात्रै भूमिका खेल्छन् भन्ने चाहिं खुल्न बाँकी नै छ । पूर्व राजाको यो कदममा यसै साता मात्र पूर्वशाही पाश्र्वती भरतकेशरसिंह सहितको हिन्दुवादीहरुको एक टोलीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर तस्वीर खिचाएको घटना अर्थपूर्ण हुन सक्छ । पूर्वराजा आफैंले राप्रपाका विभिन्न समूहका नेताहरुसँग सामुहिक छलफल गर्नुले उनमा र उनका अनुयायीहरुमा रहेको राजनीतिक ‘भोक’ सहजै देख्न सकिन्छ । यसवीचमा पूर्वराजाले भारतको भ्रमण गरेर युपीका मुख्यमन्त्री आदित्यनाथसँग पनि भेट गरिसकेका छन् ।

राजगद्दी छाडेर नागरिक बनिसकेका ज्ञानेन्द्रले राजनीतिमा आउन चाहे भने त्यो उनको संवैधानिक एवं नागरिक अधिकारको विषय हो । संविधानसभाबाट गणतान्त्रिक संविधान बनिसकेर चुनावहरु पनि भई मुुलुकले राजनीतिक स्थायित्व पाइसकेको छ । यस्तो बेलामा पूर्वराजा ज्ञानेन्द्रको संरक्षकत्वमा पुनर्गठन हुने राप्रपाले राजतन्त्र फर्काउने नीति लिन्छ या लोकतान्त्रिक अभ्यासमै रहेर राजनीतिक गतिविधि गर्छ ? यो प्रश्न चासोको विषय बन्ने गरेको छ नेपाली राजनीतिमा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७