मन्त्रालय बिनाका ‘विशिष्ट मन्त्री बनाउँदै ओली, कसको भाग्य खुल्ला ?


५ चैत्र २०७४, सोमबार
kp sarma oli

काठमाडौं, ५ चैत : सरकारको काम कार्वाहीमा विशेष भूमिका खेल्ने ‘विशेष मन्त्री’ राख्ने विदेशी प्रचलनको सिको गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशिष्ट मन्त्री बनाउने तयारी गरिरहेको खुलेको छ ।kp sarma oli

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय र निर्देशन कार्यान्वयन गर्न एक जना विशिष्ट मन्त्री तोकिने भएको छ । मन्त्रालयविहीन ती मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहने जनाइएको छ । तर, विभागीय मन्त्रीभन्दा शक्तिशाली हुनेछन् । प्रधानमन्त्रीलाई सघाउने गरी छुट्टै मन्त्री राख्न थालिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडामा पनि प्रधानमन्त्रीलाई सहयोग गर्न छुट्टै मन्त्रीको व्यवस्था गर्ने गरिएको छ । मलेसियाको विकासमा त्यसले ठूलो सहयोग गरेको दावी गरिन्छ । मलेसियाका तत्कालीन प्रधानमन्त्री डा. महाथिर मोहम्मदले प्रधानमन्त्री कार्यालयलाई चलायमान बनाउन आफ्नो कार्यालयमा मन्त्री-उपमन्त्रीसहित १० जनासम्म राखेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई चुस्त राख्न तथा केही महत्वपूर्ण जिम्मेवारी दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना वरिष्ठ मन्त्री राख्ने विषयमा आन्तरिक छलफल गरिरहेका एक नेताले जानकारी दिएका छन् । ती मन्त्री लागि प्रधानमन्त्रीको कार्यकक्ष नजिकै कार्यालयले व्यवस्थापन गरिदैछ । प्रधानमन्त्री कार्यालयको नयाँ सांगठनिक संरचना बनाउँदा पनि मन्त्रिपरिषद् कार्यालय हेर्ने एउटा मन्त्री राख्ने गरी नयाँ संगठन संरचना बनाउन गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ । अहिले विभिन्न मन्त्रालयबाट आउने प्रस्ताव मुख्य सचिवमार्फत सिधै प्रधानमन्त्री कहाँ पुग्ने गरेको छ । क्याबिनेट मन्त्री आएपछि उनीमार्फत नै प्रस्तावहरू प्रधानमन्त्री समक्ष पुग्नेछ । प्रधानमन्त्री कार्यालयको मन्त्रीको रूपमा रहेर जिम्मेवारी बहन गर्ने ती मन्त्रीले क्याबिनेट मन्त्रीको रूपमा समेत काम गर्नेछन् ।

विभाग नभए पनि महत्वपूर्ण जिम्मेवारी हुने भएकाले त्यसको जिम्मेवारी पार्टीभित्र उच्च तहका नेतालाई दिन लागेको ओली निकटका एक नेताले जानकारी दिएका छन् । राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण, जस्ता अनुसन्धानमूलक निकाय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मापदण्ड तथा अनुगमन कार्यको जिम्मेवारी समेत प्रधानमन्त्री मातहतमा आएकाले त्यसको रेखदेख पनि ती मन्त्रीले गर्नेछन् ।

एक जना मन्त्री आउने निश्चित भएपछि प्रधानमन्त्री कार्यालयले उनका लागि छुट्टै कोठा र निजी सचिवालय बनाउन थालेको छ । मोहम्मदको शासनकालमा नै मलेसियाले विकासमा छलाङ मारेको देखेका प्रधानमन्त्री ओलीलाई मलेसियाकै एप्रोच अनुसार अघि बढ्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले समेत सुझाव दिँदै आएका छन् । संघीय मुलुक क्यानडाले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६ जनासम्म मन्त्री राखेको इतिहास छ। यस्तै अस्ट्रेलियाली प्रधानमन्त्री कार्यालयमा ६ जनासम्म मन्त्रीले काम गरेका थिए।

कसले पाउलान जिम्मेवारी ?
आफ्नो चाहना ती मन्त्री बुझेर कार्यान्वयनमा लैजानु पर्ने भएकाले जिम्मेवारीका विषयमा मसिनो गरी प्रधानमन्त्री ओलीले छलफल गरिरहेका छन् । मर्यादा क्रममा पनि उच्च रहनेगरी सबै मन्त्रीलाई पनि समन्वय गर्न सक्ने हैसियत राख्ने व्यक्तिलाई मन्त्री बनाउन खोजिएको छ । स्रोतका अनुसार एमाले उपाध्यक्ष भीम रावल वा उपमहासचिव विष्णु पौडेलमध्ये एक जनालाई बनाउने विषयमा ओलीले छलफल गरिरहेका छन् ।

यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला पनि एमाले उपाध्यक्ष रावलले आन्तरिक रुपमा ओलीको सहयोगीको भूमिका खेलेकाले रावलका विषयमा प्रधानमन्त्री सरात्मक छन् । तर ओली निकटका नेता पौडेलले आफूलाई जिम्मेवारी दिनुपर्ने बताइरहेका छन् । मधेसी दलसहितको सहभागितामा मन्त्रिपरिषदले पूर्णता पाएपछि ती मन्त्रीको जिम्मेवारी तोकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७