श्रममन्त्रीलाई प्रभावमा पार्न बायोमेट्रिकका बीचौलियाको दौडधूप


५ चैत्र २०७४, सोमबार
brikuti kagaj udog ghokarna bista labor ministry श्रम मन्त्रालय

काठमाडौं, ५ चैत । केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारका अगाडि सुशासन कायम गर्ने सबैभन्दा ठूलो चुनौती छ । अझ त्यसमा पनि देशको अर्थतन्त्र धानिरहेको रेमिट्यान्स भित्र्याउने बैदेशिक रोजगारीका क्षेत्रमा नेपाली युवाहरुकोे चर्को शोषण हुने गरेको छ ।

brikuti kagaj udog ghokarna bista labor ministry श्रम मन्त्रालय
पछिल्लो पटक मलेसिया रोजगारीमा जाने नेपालीहरुले स्वास्थ्य परीक्षणको लागि सुरु गरिएको बायोमेट्रिक प्रणालीबाट कामदारहरु चर्को मारमा परेका छन् । स्वास्थ्य परीक्षण र अरु बिभिन्न शीर्षकमा मलेसिया जाने कामदारले १८ हजार ४ सय ८० तिर्नुपर्छ । जबकि बायोमेट्रिक लागू हुनुअघि दूतबासमा भिसाशुल्क ७ सय र स्वास्थ्य परीक्षणबापत ३ हजार गरी ३ हजार ७ सय तिरेर नेपाली कामदार मलेसिया जान पाउँथे । तर ४ बर्षअघिदेखि बिचौलीयाको चलखेलका कारण अनेक समूह खडा गरी विगतको भन्दा १४ हजार ७ सय ८० रुपैयाँ बढी कामदारले तिर्नुपरेको छ । यसरी बीचौलियाका कारण कामदार चर्को ठगीमा परेका छन् ।

पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियाका बीचौलियाबाट करोडौं रकम घुस खाएर सबै म्यानपावर ब्यवसायी र स्वास्थ्य ब्यवसायी महासंघको विरोधका बाबजुद बायोमेट्रिक लागू गराएका थिए । टेकबहादुर गुरुङपछिका श्रममन्त्री सूर्यमान गुरुङ र दीपक बोहरालाई कैलाश खड्काहरुले करोडौं रुपैयाँ घुस दिएर कामदार ठग्ने बायोमेट्रिक खारेज हुन दिएनन् । बोहराले त कैलाश खड्काहरुलाई थप ठगी गर्न सहज बनाइदिएका थिए ।

बैदेशिक रोजगार ब्यवसायी संघ र स्वास्थ्य ब्यवसायीहरुले यसअघिको ब्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा उजुरी दिएका थिए । तर बायोमेट्रिक लागू गराएर नेपाली कामदार ठग्न पल्किएका बीचौलिया कैलाश खड्काहरुले समितिका सभापति प्रभु साहलाई पनि घुस खुवाएर छानबिन हुनै दिएनन् । कैलाश खड्काहरुले प्रभु साहलाई २८ दिन यूरोप र अष्ट्रेलिया घुमाएर ल्याएका थिए ।

बिष्टलाई प्रभावमा पार्ने खेलमा बायोमेट्रिकका बीचौलियाहरु
बायोमेट्रिक लागू गराउने नेपाली बीचौलिया कैलाश खड्काको समूहले अहिलेका श्रम मन्त्रीलाई पनि प्रभावमा पार्नका लागि विभिन्न माध्यमको खोजी गरिरहेको छ । कैलाश खड्काहरु बिष्टलाई पनि प्रभावमा पार्न सकिने योजनाका साथ लागेको छ । उनीहरु बिष्टका निकट सूत्र भेटिसकेको र उनी बायोमेट्रिकको पक्षमा सकारात्मक रहेको प्रचार थालिसकेका छन् ।

ऊर्जामन्त्री हुँदा चर्चामा आएका मन्त्री बिष्ट नेपाली कामदार ठगी गर्ने बायोमेट्रिकवालाको चंगुलमा पर्छन् कि लाखौं युवाहरुलाई ठगी हुनबाट बचाउँछन् त्यो भने केही दिनभित्र उनको कदमबाट स्पष्ट हुनेछ । उनीहरु स्वास्थ्य ब्यवसायी महासंघको ब्यानरमा बिष्टलाई बधाइ दिनका लागि समय मिलाइरहेका छन् । बायोमेट्रिकका नाममा सिन्डीकेट खडा गर्दैआएको ३९ जना ब्यवसायी आवद्ध खड्का नेतृत्वको महासंघले हरेक मन्त्री र सचिव फेरिनासाथ बधाइ दिने गरेको छ ।

बायोमेट्रिकमा यसरी हुन्छ ठगी
चार वर्षअघि कामदारले सम्पूर्ण प्रक्रियाका लागि रु. ३ हजार ७ सय मात्रै तिर्ने गरेकोमा बिना कुनै आधार यो चार वर्षको अवधिमा १८ हजार ४ सय ८० तिर्नुपरेको छ । सो समूहले त्यहाँको मलेसियाको सरकारलाई प्रभावमा पारी बिभिन्न नामका कार्यक्रम ल्याउने र नेपालजस्ता देशमा त्यसको कार्यान्वयन गरी पैसा लैजाने गरेका छन् । प्रवेशाज्ञा शुल्क ७०० मात्रै हो, तर राहदानी संकलन गरेका, औंठाछाप लिएको जस्ता नाममा प्रतिकामदार रु १४ हजार भन्दा बढी रकम गैरकानुनी रुपमा लिंदैआएका छन् ।

नेपालका सरकारी निकायका अधिकारीलाई सहजै प्रभावमा पारी त्यस्ता कार्यक्रम सहजै कार्यान्वयन ल्याउन सकिने सकिने ठहर गर्दै मलेसियाको र नेपालको गिरोह मिलेर यस्ता कार्यक्रम ल्याउने गरेका छन् । जसमा कैलाश खड्काहरु नेपालका बीचौलिया हुन् । कैलाश खड्का लगायतका केही मुट्ठीभर ब्यक्तिले नेपाली कामदार ठगी गर्दै मलेसियाका बीचौलिया पोस्ने काम गरेका छन् ।मलेसियाको गृहमन्त्रालयका अधिकारीलाई घुस खुवाएर बीचौलिषहरुको समूहले यस्ता अनेक कार्यक्रम ल्याई नेपाली कामदारको शोषण गरिरहेको छ ।

संसदको समितिका सभापति नै बिकेपछि…
बायोमेट्रिकदेखि अरु विभिन्न शीर्षकमा नेपाली कामदार ठगीमा मुख्यरुपमा बंगाली मूलका मलेसियामा बस्ने अमिन नामक ब्यक्ति हुन् । जसको पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङसँग घनिष्ट सम्बन्ध छ । अमिन, टेकबहादुर गुरुङ र कैलाश खड्काको समूहले बायोमेट्रिकका नाममा नेपाली कामदार ठगी गर्दैआएको छ ।

prabhu saha
अघिल्लो संसदको अन्तर्राष्ट्रिय समितिका सभापति प्रभु साहलाई अष्टेलिया घुमाउँदै कैलाश खड्का (बायाँबाट पहिलो) ।

श्रम मन्त्रालयले गैरकानुनी रुपमा नेपाली कामदारसँग पैसा असुली गर्दा पनि बायोमेट्रिक खारेज नगरेपछि ब्यवासायीहरुले संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिमा उजुरी हाले न्याय पाउने आशामा तर Bestinet SDN BHD नामक सस्थाका संचालक अमिन र कैलाश खड्काले समितिका सभापति प्रभु साहलाई अस्ट्रेलियादेखि यूरोपका देशमा २८ दिन घुमाउन लगे । घुमाएर पनि आकर्षक घुस दिएपछि उनले त्यो उजुरीमा छलफल नै नगरी ढिसमिस पारे । जबकि उनले बायोमेट्रिकमा नेपाली कामदार ठगिएकाले खारेज गर्नुपर्ने बताएका थिए ।

नेपाल स्वास्थ्य ब्यवसायी महासंघसँग सहमति गरी मलेसिया जाने कामदारलाई स्वास्थ परीक्षणको नाममा Bestinet SDN BHD ले बायो मेट्रिक मेडिकल लागु गरी नेपालका ३९ वटा मेडिकल सेन्टरले मात्र स्वास्थ्य परीक्षण गर्न मिल्नेगरी सिन्डिकेट लागु गरिएको छ । रु.३ हजारमा भइरहेको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गरी रु.४ हजार ५ सय पु¥याउने काम टेकबहादुर गुरुङ र दीपक बोहराले गरेका थिए । मे एक २०१६ तारिखबाट मेडिकल गर्नु अगाबै  Migrrams  नामक Software  मा मलेसिया जान चाहने कामदारको नाम दर्ता गर्नुपर्ने भनी छुट्टै ३० डलर तिर्नुपर्ने नियम ल्याएर बैदेशिक रोजगारमा जाने कामदारलाई शोषणमाथि शोषण गर्ने काम गरिएकाले न्यायका लागि श्रम समिति गुहारेका थिए । तर श्रम समितिका सभापति साहलाई नै बायामेट्रिकका नटवरलाल अमिन र कैलाश खड्काले प्रमावमा पारी छलफल नै हुन दिएनन् ।

मलेसियाले विश्वका १४ मुलुकबाट कामदार लिने गरे पनि केबल नेपालमा मात्रै यस्ता एजेन्सीले प्रभाव र दबाबमा पारी कामदारबाट अवैध रुपमा रकम उठाइरहेका छन् । भिएलएन नेपाल, बायोमेट्रिक, माईग्राम, ओएससी, आईएससी जस्ता एजेन्सीमार्फत् कामदारमाथि थप आर्थिक भार थोपरिरहे पनि सरोकारवाला श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, मलेसियास्थित नेपाली दूतावास र संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति समस्या समाधान गर्न प्रभावकारी भूमिका नखेल्दा कामदारले लामो समयदेखि समस्या भोग्नु परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७