न्यायाधीश मात्रै भ्रष्ट छैनन् वकिलहरु झन् महाभ्रष्ट छन्ः बरिष्ठ अधिवक्ता उपाध्याय

अहिले अदालत न्याय खरिद–बिक्री गर्ने केन्द्र जस्तो बनेको छ । लामो समयदेखि वकालत पेसामा आवद्ध हुनुभएका विश्वनाथ उपाध्याय वरिष्ठ अधिवक्ता हुनुहन्छ । स्पष्ट र खरो रुपमा आफ्नो विचार व्यक्त गर्नुहुने उपाध्याय लामो समय मोफसलमा रहेर कानुन व्यवसाय गर्दै आउनुभयो । कानुन व्यवसायी प्रमाणपत्र नम्बर नै ४० रहेका पुरानामध्येका एक जना कानुन व्यवसायी उपाध्यायसँग अहिले सर्वोच्च अदालतमा देखिएको चरम विवाद र न्याय सम्पादनमा देखिएको विचलन, न्यायाधीशहरुको योग्यता, क्षमता र इमान्दारिता विषयमा उठेका प्रश्नका साथै त्यसको समाधानको उपयाका बारेमा नारायणप्रसाद शर्माले गरेको विशेष वार्ताः

० तपाई कानुन व्यवसायमा प्रवेश गर्ने प्रेरणा सुरुवातमा कसरी प्राप्त गर्नुभयो ?

म २०२७ सालमा मेरो दाजु नेपालका प्रथम चार्टर्ड एकान्उन्टेन्ट तथा पूर्वमन्त्री कुबेर शर्माको प्रेरणाबाट निर्मल साप्ताहिकमा सम्पादक भएर काम गरेको थिएँ । त्यो समयमा उहाँले पञ्चायतको विरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाउनका लागि केही काम गर्नुपर्दछ भन्ने प्रेरणा दिनुभयो । त्यसअघि उक्त पत्रिकामा माधवराज सुमार्गीले काम गरेका रहेछन् । सम्पादक बनेर पञ्चायती व्यवस्थाको विरुद्धमा लेख्दा म धेरै पटक अञ्चालाधीश कार्यालयमा वयान दिन जानुपर्यो । पछि मलाई राजकाज मुद्दा लगाइयो । जहाँ भेट्टाए पनि मारिदिने डेथ वारेन्ट आदेश जारी गरियो । म भागेर ज्यान जोगाए । यसरी त्यो समयका मुद्दाहरुबाट छुटकारा पाएपछि काठमाडौं छाडेर जनकपुरमा पुगेर वकालत पेसामा लागे । मैले बरिष्ठ अधिवक्ताको लाइसेन्स भने २०६१ सालमा प्राप्त गरे । यसरी म पत्रकारिता पेशा छाडेपछि जनकपुरमा बसेर लामो समय देखि कानुन व्यवसायमै सक्रिय भएँ ।

० आहिले न्यायालयमा देखिएको चरम विवाद र न्यायाधीशहरुमा देखिएको अनुशासनहीनता आम जनतामा छताछुल्ल भएको छ । यस्ले न्यायालयप्रति जनतामा आस्था झनै घटाउने काम गरेको छ । समाधान के देख्नुहुन्छ ?

केही वर्षअघिदेखि न्यायापालिकाको स्तर धेरै तल खस्किएको अवस्था छ । हामीले न्यायपालिकालाई न्यायको मन्दिर भनेर परिभाषित गर्ने गरेका थियौं । तर, अहिले न्याय खरिदबिक्री गर्ने केन्द्र जस्तो बनेको छ । कसैले निष्पक्ष तरिकाले न्याय पाएको देख्नु त भगवानले नै बरदान दिएको सम्झनुपर्दछ । पहिले ऐन र कानुन लेखिएका आधारमा फैसलाहरु हुने गर्दथे । तर अहिले भनसुन र आर्थिक चलखेलका आधारमा अत्याधिक फैसला हुने गरेका छन् । त्यसैले एकदमै अप्ठ्यारो अवस्थामा हामी गुज्रिएका छौं । जुन देशमा न्यायपालिकाको अस्तित्व समाप्त हुन्छ, त्यो देशमा लोकतन्त्र रहन सक्तैन । त्यसकारण पनि प्रजातन्त्र र आर्थिक समृद्धिका लागि न्यायपालिका स्वतन्त्र र स्वच्छ हुनैपर्दछ ।

० अहिले न्यायालयमा यस्तो अराजकता देखिनुको मुख्य कारण के हो ?

न्यायपालिका स्वच्छ बनाउन नसक्नुमा २०४७ सालको संविधानमा गरिएको न्यायपरिषद्को गठन प्रक्रिया हो । न्यायपरिषद्को गठनमा प्रधानन्यायाधीश समेत बरिष्ठतम् न्यायाधीश समेत गरी दुईजना व्यक्ति हुन्छन् । साथै बारको सिफारिसमा एकजना, प्रधानमन्त्रीको सिफारिसमा एक जना र कानुनमन्त्री गरी जम्मा पाँच जना हुने व्यवस्था छ । त्यसबाट प्रत्यक्ष राजनीति मुछियो । न्यायाधीश भागवण्डामा नियुक्ति गर्ने प्रचलन बन्यो । यसरी न्यायपरिषद्को गठन प्रक्रियाका कारण राजनीतिक भूमरीमा पर्न गएको छ । त्यसलाई स्वच्छ बनाउनका लागि गठन प्रक्रियामा नै आमूल परिवर्तन हुनुपर्दछ । जबसम्म आमुल परिवर्तन हुँदैन तबसम्म राजनीतिक हस्तक्षेप भइरहन्छ । अहिले न्यायपरिषद् राजनीतिक रुपमा रहेको भर्तिकेन्द्र बन्यो । कांग्रेसले आफ्नो मान्छे भर्ति गर्ने, कम्युनिष्टले आफ्नो मान्छे राख्ने र प्रधानन्यायाधीशले आफ्नो मान्छे राख्ने कारणले योग्यता, क्षमता र इमान्दारिताको अन्त भएको छ । अयोग्य व्यक्तिको नियुक्तिले भ्रष्टाचार बढेको छ । त्यसैले यो संरचना नै परिवर्तन गर्नुपर्दछ । त्यसमा राजनीतिक घुसपैठको अन्त हुनुपर्दछ ।

० तत्कालै यस्को विकल्प के हुन सक्तछ ?

जब व्यक्तिले नैतिकता महसुस गर्दछ तब धेरै कुराको समाधान हुन्छ । जब मानिसले नैतिकतालाई नै पन्छाउँछ तब सबै खत्तम हुन्छ ।

० अहिले योग्य नभएर हो कि इमान्दार नभएर समस्या आएको हो ?

कतिपय योग्य व्यक्तिहरुलाई नेतृत्वमा आउनै दिइएन । त्यसैकारण कतिपय अवस्थामा क्षमताहीन व्यक्तिहरु पनि न्यायाधीश बने । त्यहाँ पुग्ने वित्तिकै कसरी धेरै रकम कमाउने भन्ने धारणा भएकाहरु प्रशस्त छन् । तिनीहरुलाई राजनीतिक संरक्षण हुन्छ । त्यसैकारण उसले धेरै अनियमितता गर्दछ ।

० तपाई कानुन व्यवसायमा प्रवेश गर्दा र अहिले के फरक पाउनुहुन्छ ?

म २०३१ सालदेखि कानुन व्यवसायमा प्रवेश गरेको हुँ । २०४७ सालसम्म न्यायपालिकाप्रति जनताको अगाध आस्था थियो । पञ्चायती व्यवस्था र राजासँग सम्बन्धित बाहेक अन्य मुद्दाहरुमा प्रायः ९५ प्रतिशत सत्यतथ्य न्याय मानिसहरुले प्राप्त गर्दर्थे । २०४७ सालपछि पार्टीगत कार्यकर्ता न्यायाधीश बनेर हावी हुन थाले । गर्दागर्दै २०६२-०६३ साल पछि त झनै विकराल रुप लियो । अहिले प्रायः मुद्दाहरु कानुनमा यो बाटो छ र यसमा यस्तै निर्णय हुन्छ भन्न सकिने अवस्था नै छैन । त्यही कानुन पढेर म ४३ वर्षदेखि वकालत गर्दै आएको छुं । हामीले अहिले कानुन बमोजिम यही नै हुन्छ भन्न सक्ने अवस्था छैन । यहाँ त भनसुन र आर्थिक चलखेलले काम गरिरहेको छ । निष्पक्ष रुपमा कानुन बमोजिम न्याय पाउने भाग्यमानी व्यक्ति त ३० प्रतिशत पनि छैनन् ।

 ० न्यायालयलाई यो अवस्थामा पु¥याउने न्यायाधीश, कानुन व्यवसायी वा राजनीतिक दल को मूख्य दोषी हुन् ?

पहिलो नम्बरमा राजनीतिक दलहरु नै मुख्य दोषी हन् । त्यसबाट निर्देशित कानुन व्यवसायी मूख्य दोषी हुन् । इमान्दार कानुन व्यवसायीहरुको संख्या एकदमै न्यून बनेको छ । छोटो समयमै करोडपति र अरबपति बन्ने होडमा छन् । जस्का दुईवटा मुद्दा छैनन्, उसैले प्राडो गाडी चढेको छ । न्यायाधीश मात्रै भ्रष्ट छैनन्, बिचौलियाका भूमिकामा रहेका वकिलहरु पनि महाभ्रष्ट छन् । सबैको मूल जड राजनीति नै हो । किनकि राजनीतिक दलले नै त्यो खालको वकिललाई च्यापेर काम गर्ने गर्दछ ।

० न्यायपालिकालाई न्यायको मन्दिर बनाएर जनताको आस्था जगाउने विकल्प के छन् ?

जब व्यक्तिले नैतिकता महसुस गर्दछ त्यसपछि धेरै समस्याको समाधान हुन्छ । हाम्रो न्याय क्षेत्र अझै पनि पूरै खत्तमै भएको अवस्था होइन । सर्वोच्च अदालतमा पुग्नुभएका हाम्रा न्यायमूर्तिहरु धेरै खारिएर ठूलो योगदानले मात्रै यो अवस्थामा पुग्नुभएको छ । सर्वोच्च अदालत न्याय प्रदान गर्ने अन्तिम थलो हो । अबका एक दुई वर्षमा एक दुईवटा राम्रा काम गरेर देखाउनुभयो भने त्यसको असर तलसम्म पर्दछ । प्रmान्समा मैले एउटा उखान सुनेको थिएँ । “माछाको टाउको पहिला सड्छ” हाम्रो पनि जो टाउके छ उही नै पहिला बिग्रेको अवस्था छ । टाउको पहिला सुध्रियो भने मात्रै पुच्छर सुध्रिन सक्छ । त्यसैले न्यायालयको नेतृत्वमा बस्नेहरु पहिला सुध्रिन जरुरी छ । अन्यथा यो देशको भविश्य के हुन्छ भन्न सकिदैन ।

० तपाई कानुन व्यवसायको अतिरिक्त सामाजिक संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ, कसरी प्रेरणा पाउनुभयो सामाजिक क्षेत्रमा लाग्नका निमित्त ?

हो मैले नेपाल रेडक्रस सोसाइटी, नेपाल जेसिस, परिवार नियोजन संघ, क्षयरोग निवारण संस्था जस्ता संघ र संस्थामा अध्यक्ष र कार्यसमितिमा रहेर काम गरें । विद्यालय व्यवस्थापन समितिको पनि अध्यक्ष बनें । २०५६ सालमा वृहत्तर जनकपुर क्षेत्र विकास समितिको पनि कार्यकारी निर्देशक बनेर काम गरेको थिएँ । मेरो पिताजी धनुषाको हरिहरपुरमा आएर बसोबास गर्दा त्यो समयमा कुनै विद्यालय नै थिएन । उहाँले आफ्नै पहलमा बिद्यालय स्थापना गर्नुभयो । उहाँको क्रियाकलाप देखेर समाजसेवामा लाग्न प्रेरणा जाग्यो । म मेरो श्रीमती सुशीला सहित सूर्यग्रहणको समय पारेर देवघाट घुम्न गएका थियौं । त्यो समयमा मानिसहरु बस्नका लागि निकै कष्ट पाएको अनुभव भयो । त्यहाँ भएका आश्रममा पनि धर्मशाला जस्तो बस्न मिल्ने अवस्था थिएन ।

त्यसैले पहिला हामीले २० कोठाको धर्मशाला बनायौं । अहिले ११ कोठा थप गराउँदै ३१ कोठाको बन्दैछ । जसमा सेमिनारका लागि हल समेत उपलव्ध छ । यसरी दुई रोपनी जग्गामा अहिलेको मूल्यमा झण्डै पाँच करोड बराबरको धर्मशालालाई ट्रष्टको रुपमा परिणत गरेर सञ्चालन गर्ने सोचमा छौं । म जन्मेको ठाउँ सिरहा जिल्लाको विष्णुपुर गाउँपालिकामा पनि आमाको नाममा धर्मशाला बनाउँदैछु । यसरी मैले झण्डै पचास लाख रुपैयाँको दुई कठ्ठा जग्गामा धर्मशाला बन्दैछ । तयार गर्दासम्म एक करोड लागत लाग्नेछ । त्यसै गरी धनुषा जिल्लाको मिथिला नगरपालिकामा प्रहरी चौकी बनाउन करिब ३० लाख पर्ने दुई कठ्ठा जग्गा दान दिएको छु । साथै साना किसान बैंकलाई पनि झण्डै ३० लाख पर्ने दुई कठ्ठा जमिन निशुल्क प्रदान गरेको छु । मेरो पिताजीको नाममा एक÷डेढ करोडको सम्पत्ति स्कूलका नाममा दान दिने व्यवस्था मिलाउँदैछु । यसरी हामी कसैले पनि मरेर केही पनि लानु छैन । त्यसैले बाँचुन्जेल केही योगदान गर्न सकियो भने अन्यलाई पनि प्रेरणा मिल्न सक्दथ्यो । यसरी समाजसेवामा खर्च गर्नुमा मेरी श्रीमती सुशीला उपाध्यायको विशेष योगदान रहेको छ ।

० तपाई पत्रकारिता र वकालत पेशा गर्दा घटेका सम्झनायोग्य कुनै घटना छन् कि ?

मनिसलाई जुनसुकै पेशामा संलग्न गराउँदा पनि आफूलाई आत्मबलको कुरा पहिलो हुँदोरहेछ । त्यो बेलामा हामीसँग कानुन पढेर राम्ररी व्याख्या गरेपछि न्याय पाइन्छ भन्ने धारणा थियो । वि।स। २०३४-०३५ सालमा मैले जनकपुरमा भरखरै वकिल भएर काम गरेको थिएँ । त्यो समयमा त्यहाँका नेता हेमबहादुर मल्ल म कहाँ आएर मुद्दा जिम्मा लगाउँछु भन्नुभयो । “यो मुद्दामा राम्रोसँग काम गर्नुभयो भने मात्रै तपाईलाई एक जना इमान्दार र योग्य वकिलको रुपमा प्रस्तुत गर्नेछु । अन्यथा अन्य वकिल जस्तै मानौला” । उहाँका बारेमा अनेक कुराहरु सुनिएका कारण त्यो मुद्दा लिन नपरोस् भन्नाका खातिर मैले उहाँले सोध्दा लाग्ने शुल्क भन्दा चार दोब्बर धेरै भनिदिएँ । किनकि म छुट्कारा पाउने जुक्तिमा थिएँ । तथापि उहाँले अझै दुई हजार रुपैयाँ थपेर मान्छे समेत जिम्मा लगाउनुभयो ।

मलाई जिन्दगीमा असाध्यै भारी भयो । र, त्यो फाइल तीन दिन लगाएर पढें । किनकि त्यस्तै मुद्दामा अन्य दुई जना मानिस थुनामा परेका थिए । म अग्निपरीक्षामा परें । उक्त मुद्दामा बेस्सरी पढेर मुद्दाको किनारा लगाउन भन्दै त्यो मानिसलाई लिएर सिरहामा पुगें । मैले पुगेको तेस्रो दिनमा ११ बजेदेखि मुद्दा बहस गरें । ठीक चार बजेसम्म बहस सकियो । त्यो समयमा म लगलग कामिरहेको थिएँ । तर, न्यायाधीशले साधारण तारेखमा छाडिदिए । मलाई जिन्दगीमा सबैभन्दा खुशी लाग्यो । र, मेहनत गरेको खण्डमा सबै काम गर्न सकिंदोरहेछ भन्ने लाग्यो । त्यसपछि मलाई सिरहा र धनुषामा हुने धेरै फौजदारी मुद्दाहरु लिएर मकहाँ मानिसहरुको ओइरो लाग्न थाल्यो । मैलै भ्याउँदिन मात्रै भन्नु बाध्य हुनुप¥यो । यो मुद्दामा सफलता भएपछि वकालतमा मलाई ‘ल्याण्डमार्क’ प्राप्त भयो ।

०अन्तमा…..

देशमा अहिलेको संक्रमणकालीन अवस्थामा कुनै पनि क्षेत्र शुद्ध छैन । पहिला न्यायपालिका शुद्ध थियो । पहिला पैसा कमाउनका लागि भन्सार, मालपोत, यातायात, प्रहरी र प्रशासन कार्यालयमा पठाउ भन्थे । तर, अहिले भने न्यायालयमा पठाऊ भन्न थालियो । यो दुर्भाग्यबाट बचाउन सकिएन भने भावी पिढीले सराप्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्