बदलियो भुगोल र जीवनशैली, बदलिएन मानसिकता


७ चैत्र २०७४, बुधबार
Bina Gurung 1

-विना गुरुङ 

बेलायतको धर्ती टेकेर झट्ट बाहिरी दुनियाँ हेर्दा यस्तो लाग्छ, ‘अब समाजमा कुनै पनि प्रकारका विभेद, संकुचन र असमानता रहेनन् । महिलाहरु माथिको विभेद पनि हटिसक्यो ।’ अझ पुँजीवादी समाजमा त सबै दायराहरु फराकिलो भइसक्यो र सबै विभेदको समुल नष्ट भइसक्यो भन्ने लाग्नु स्वभाविक हो । अपवाद बाहेक पश्चिमा समाजमा महिलाहरु बन्धन र घेराबाट पहिल्यै बाहिर आइसकेका हुन् । उनीहरु स्वतन्त्रताको खुला आकाश मुनी रमाइरहेका छन् । र, उनीहरु भन्न सक्छन्,‘जे गरुम् मेरो अधिकार हो । मेरो रुची र चाहना हो ।’

अपवाद बाहेक पश्चिमा समाजमा महिलाहरुमाथि खास त्यस्तो सिमा र अबरोध छैन । पश्चिमा समाजको बहस एकातिर छ । तर, पश्चिमा देश अर्थात् त्यही बेलायतमा बसोबास गरीरहेका नेपाली समाजमा महिलाहरु भने यो अबरोध र सिमाबाट बाहिर निस्कन सकेका छैनन् । सात समुन्द्र पारी आइपुग्दा पनि पितृसत्ताले अभिसप्त नेपालीहरुको मनोदशा बदलिएको छैन । मानसिकता उस्तै छ । पूर्खा र देशले दिएको नाशो जसरी बेलायतमा रहेको नेपाली समाजमा यो प्रयोग भइरहेको छ । यो आलेख त्यसमा केन्द्रीत छ ।

Bina Gurung

नबदलिएको मानसिकता
आज नेपालमा संबिधान कार्यान्वयन प्रक्रिया जारी छ । नेपालको संबिधानले महिला अधिकारको बिषयमा काफी सम्बोधन गरेको छ । त्यहीको परिणाममा आज नेपालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा महिलाहरुको प्रतिनिधित्व उत्साह जनक छ । संबिधानले बाध्यकारी बनाएको निकायमा महिलाहरुको प्रतिनिधित्वले पनि महिलाहरुको लागि नयाँ ढोका खुलेको छ । तर, यो सँगै प्रश्न छ,‘के बाध्यकारी प्रतिनिधित्वले मात्रै महिलाहरु माथिको विभेद अन्त्य होला ?’ बाध्यकारी व्यबस्था गरेर मात्रै महिलाहरुको मुत्ती सम्भव छैन । पितृसत्ताले घर गरेका सबै पुरुषहरुको दिल दिमागमा रहेका समान्तवाद नहटेसम्म महिलाहरुको लागि खुला बाटो र उज्यालो खुल्न सम्भव छैन ।

बेलायतमा खुल्ला समाज छ । यही खुला समाजमा नेपालबाट हजारौंका संख्यामा नेपाली आएका छन् । गोर्खा भर्तीको कारण आज बेलायत अर्को मिनि नेपाल जस्तै भएको छ । नेपालबाट बेलायतको नेपाली हाम्रो समाजलाई हेर्दा यस्तो लाग्न सक्छ, त्यहाँका महिलाहरु स्वतन्त्र छन्, खुसी छन् । कुनै पनि प्रकारको विभेद र अबरोध छैन । तर, यर्थाथ त्यस्तो छैन । यहाँ हजारौंका संख्यामा नेपालीहरु छन् । नेपालबाट आएका नेपालीहरुमा धेरै कुरा परिर्वतन भएको छ । जीवनशैलीमा त आकाश पाताल नै परिवर्तन आएको छ । तर, महिलाहरुको बिषयमा उनीहरुको सोच्ने शैली उस्तै परम्परागत र जडतामा अल्झीएको छ । बेलायत आएर नेपालीहरुको जीवनशैलीमा पुरै परिवर्तन भएको छ । तर, पितृसत्तात्मक समाजमा हुर्किएकाहरुको चिन्तन र मनोविज्ञान भने उस्तै छ । सात समुन्द्र पारीको समाजमा आएपनि पूर्खाको नाशो जसरी परम्परागत चिन्तन बचाई राखेका छन् । उनीहरु महिलालाई निश्चित सिमा र चौघेरा नाघेर नहिडोस् भन्ने चहान्छन् । उनीहरु चहान्छन्, ‘आफ्ना श्रीमती, छोरीहरु घरमै बसुन् ।’ पाइलै पिच्छे प्रश्न गर्छन् । आशंका गर्छन् । महिलाहरुलाई पिजडाको चरा जस्तो घरभित्र मात्रै सजाएर राख्न चाहने उनीहरुको मनोविज्ञान हटीसकेको छैन ।

किन बदलिएन ?
नेपालदेखी बेलायतसम्म आइपुग्दा हामीहरुको धेरै परिवर्तन भएको हुन्छ । हामीले खाने खाना, हामी लगाउने कपडा, हामीले हिड्ने बाटो, हामीले देखिरहेका उज्यालो । यी सबै परिवर्तन भएको छ । हाम्रो दिन परिवर्तन भएको छ । रात फरक छ । हाम्रो घर फरक छ । बाटो परिर्वतन भएको छ । तर, मानसिकता उस्तै । यसको मुल जड भनेको हाम्रो नेपाली समाजले बिकास गरेको मानसिकता नै हो । हाम्रो चिन्तन नै हो । सदियौंदेखी नेपाली समाजको पितृसतात्मक समाजले जन्माएको चिन्तन परम्पराले बेलायतसम्म आइपुग्दा पनि छोड्न सकेको छैन ।

यहाँ आएर नेपाली समाजको नेतृत्व गर्छु भन्नेहरुको मानसिकता पनि उस्तै छ । उनीहरु महिला अधिकारको उपदेश दिन्छन् । महिलाको बिषयमा ठुला कुरा गर्छन् । तर, उनीहरुले नै आफ्ना श्रीमती अथवा छोरीहरुलाई भने कहिल्यै पनि त्यस्ता सार्वजनिक फोरमहरुमा सँगै लिएर आउँदैनन् ।  अरुको श्रीमती र छोरीहरु आएर ताली ठोकुन् तर मेरो चहिँ घर बाहिर निस्कुन हुदैन मान्यता राख्नेहरु पनि छन् ।

अबको समाज कस्तो ?
आजको दुनियाँमा महिला वा पुरुष उ स्वतन्त्र छ । कसैले अंकुश लगाउनु हुदैन । हरेक पुरुष अथवा महिलाले समाज भित्रका आर्दशहरुलाई छोड्न हुदैन । तर, जसरी महिलालाई घेरा र चौघेराभित्र राखिन खोजिन्छ, त्यो चहि सबर्था गलत छ । बेलायतमा रहेका नेपाली महिलाहरुले पनि न्युनमतम् हाम्रा मुल्य र आर्दशलाई बचाइराखेका छौं । बचाउँनुपर्छ । तर, हिजो जसरी महिलामाथि सिमा कोर्ने अथवा अशंकाको सिमित घेरामा राखीराख्न खोज्ने मानसिकता परिवर्तनका निम्ती घरैबाट सचेतना अथवा अभियान सुरु गर्नुुपर्छ ।

हरेक पुरुषहरुले पनि महिलाहरुको भुमिकालाई खुम्चाउँने होइन फराकिलो बनाउने सोच्नुपर्छ । मेरो श्रीमती, अथवा छोरीहरु घरमै घुम्टो कसेर बसोस् भन्ने मानसिकता राखेर यहाँ प्रगति सम्भव छैन । बेलायतीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका पुस्ता र परिवार तयार पार्नका लागि हामीले जरुर समान्तवादी पितृसत्तात्मक चिन्तनलाई आजै समुन्द्रमा सधैका लागि बगाइदिनुपर्छ । संसारलाई अग्लो उचाईबाट चिहाउने देशमा घुम्टो भित्रै बसोस् भन्ने चिन्तन राखेर हामी अघि बढ्न सक्दैनौं । त्यसले मुल्य र आर्दश सहितको फराकिलो बाटो निर्माणको निम्ती सबैले पुरानो मानसिकता त्याग्न ढिलो भएन र ?

(लेखिका बेलायतमा बस्छिन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७