गोर्खा मुद्दाको अन्तिम दस्तावेज बेलायत सरकार र नेपाल सरकारलाई बुझाइदैँ

आन्दोलनरत गोर्खाहरु उत्साहित


७ चैत्र २०७४, बुधबार
Gurkha UK goverment and Nepal

लन्डन, ७ चैत । बेलायत, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले तयार पारेको अन्तिम दस्ताबेज भोली मार्च २२ तारिखमा बेलायती रक्षा मन्त्रालय (एमओडी) र नेपाल सरकारलाई हस्तान्तरण गरिदैछ । दस्ताबेजमा गोर्खाहरुको मुद्दा र समस्यालाई लिपिबद्ध गरेर समधानको लागि सिफारिस गएको छ ।

Gurkha UK goverment and Nepal
मार्च १४ मा भएकाे बेलायत र नेपाल सरकार एवं भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिको बैठक

१३ बूँदा सहितको ४० पेजको दस्ताबेज नेपाल सरकारको तर्फबाट बेलायत स्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं वार्तामा नेपाल सरकारका प्रतिनिधि शरदराज आरणले बेलायती रक्षामन्त्री मन्त्री मार्क ल्यानकाष्टरलाई बुझाउने छन् । बेलायती समय अनुसार भोली ठिक १२ : ३० बजे बेलायती रक्षामन्त्रालयमा यो दस्ताबेज बुझाइनेछ । यसै गरी बेलायतको तर्फबाट प्राबिधिक समितिका सदस्य डेमिनले नेपाली राजदूत डा.दुर्गाबहादुर सुबेदीलाई बुझाउने भएका छन् ।

मार्च १४ मा बेलायत सरकार, नेपाल सरकार र गोर्खाहरुको प्रतिनिधि रहेको प्राबिधिक समितिले अन्तिम दस्ताबेज तयार पारेको थियो । चार चरणको वार्तामा भएका एजेण्डाहरुलाई मूर्त रुप दिइ त्यसलाई आधिकारिकता दिइएको थियो । गोर्खालीहरुले उठाउँदै आएका सबै माग र बेलायती रक्षा मन्त्रालयका प्रतिनिधिहरुको भनाइमा सहमति जुटाइ दूतावासका तर्फबाट शरदराज आरण र बेलायती रक्षा मन्त्रालयका डामियन प्याटरसनबीच हस्ताक्षर भएको छ । प्रतिवदेन बुझाउदा गोर्खाहरुको पनि उपस्थीति हुनेछ । स्रोतका अनुसार आन्दोलनरत गोर्खाहरुको अगुवाहरुलाई खबर गरीसकिएको छ ।

वार्तामा एमओडीको तर्फबाट माइकल रोबर्ट, नेपाल सरकारका प्रतिनिधि आरण, सैनिक सहचारी कुमारबाबु थापा, भूपू गोर्खा प्रतिनिधिहरु कृष्णबहादुर राई, नराहाङ राई, ज्ञानराज राई, डा. चन्द्र लक्सम्बा लगायत सहभागी थिए ।

के छ दस्ताबजेमा ?
समितिको अन्तिम प्रतिवेदनमा तीन दशकदेखि भूपू गोर्खाले उठाउँदै आएका सबै माग समेटिएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले बताए । गोर्खाहरुले सन् १९९७ अघि सेवा निवृत्त भएका भूपू सैनिकहरुलाई ब्रिटिश सैनिक सरह समान पेन्सन, क्षतिपूर्ति, अठार बर्ष नाघेका छोराछोरीलाई पनि बेलायत ल्याउन पाउनुपर्ने, नेपालमै रहेका भूपू गोर्खा र तिनका परिवारलाई औषधिउपचारको प्रबन्ध लगायतका मागहरु राख्दै आएका छन् ।

दस्ताबेजमा गोर्खाहरुको सबै समस्या समेटिएको गेसो सभापति राईको भनाई छ । भोली अर्थात् मार्च २२ गोर्खाहरुको लागि खुसी दिन हुने उनको कथन छ । उनले भने, ‘हाम्रा माग र समस्याहरु समेटिएको अन्तिम दस्ताबेज दुबै देशका सरकारलाई बुझाइदैछ, यो खुसीको बिषय हो ।’ समितिले सिफारिस गरेका माग र मुद्दाहरु समधान हुनेमा उनले विश्वास व्यक्त गरे । उनले भने, ‘हामी यसपाली पुरै आशावादी छौं ।’

नेपाल सरकारसँग अपेक्षा
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भएसँगै आफूहरुको मागको बिषयमा नेपाल सरकारले गम्भिरताको साथ उठाउनेमा गोर्खाहरु उत्साही छन् । यसअघि ओलीले गोर्खाहरुको बिषयमा गम्भिरताको साथ कुरा उठाउने बताउदै आएका छन् । गत १ फागुन २०७४ मा मन्त्री मार्क ल्यानकाष्टरले ओलीसँग शिष्टाचार भेट गरेका थिए ।

भेटमा अध्यक्ष ओलीले भूतपूर्व गोर्खा सैनिकहरुको माग र समस्याको बिषयमा चासो राखेका थिए । बेलायती रक्षामन्त्रीलाई ओलीले सोधेका थिए, ‘गोर्खाहरुमाथिको विभेद कहिले अन्त्य हुन्छ ?’ ओलीको चासोपछि मन्त्री ल्यानकाष्टरले नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन आग्रह गरे । भोली उनै मन्त्रीलाई दस्ताबेज बुझाइन्दैछ ।

यता प्रधानमन्त्री ओली पनि गोर्खाहरुको मुद्दाको बिषयमा जानकार नेता हुन् । परराष्ट्रमन्त्री भएको बेला पनि उनले यो मुद्दालाई चासोका साथ उठाएका थिए । गेसो टोलीसँगको भेटमा पनि उनले गोर्खाहरुको इतिहास, समस्या र कदम बारेमा लामो व्याख्या गरेका थिए । ओली प्रधानमन्त्री भएको बेला समस्या समधान हुनेमा आफूहरु आशावादी रहेको गेसोका सभापति राई बताउँछन् । भन्छन्,‘दुई सय बर्षअघिको हाम्रो समस्या उहाँ प्रधानमन्त्री भएको बेला समधान हुनेमा हामी आशावादी छौं । यो हाम्रो लागि र राष्ट्रको कार्यकारी प्रमुख भएको कारण उहाँको लागि पनि ऐतिहासिक अवसर हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७