प्रकाशमानदेखि अमरेशकुमार सिंहसम्मलाई नियमविपरीत सुरक्षाकर्मी प्रदान


७ चैत्र २०७४, बुधबार
APF Headqwater sailendra khanal prakash man singh ameresh kumar siongh and nain singh mahar

काठमाडौं, ७ चैत । सशस्त्र प्रहरी बलका एआइजी शैलेन्द्र खनालले आइजीपी हुनका लागि संगठनको जनशक्ति दुरुपयोग गरेको खुलासा भएको छ । गृहमन्त्रालयको सिफारिस बेगर नै एआइजी खनालले कार्यविभागको प्रमुख हुँदा आफूखुसी कांग्रेसका नेताहरुलाई बडीगार्डका रुपमा थुप्रै सशस्त्र प्रहरीलाई खटाएको नयाँपेज डटकमले फेलापारेको छ । एआइजी खनालले सशस्त्र प्रहरी बलको मुख्यालयबाट निर्णयसमेत नगरी नेताको चाकडी गर्न बडीगार्ड र गाडी उपलब्ध गराएका छन् ।

APF Headqwater sailendra khanal prakash man singh ameresh kumar siongh and nain singh mahar
एआइजी खनालले आइजीपी हुनका लागि नेपाली कांग्रेसका विवादास्पद सांसद अमरेशकुमार सिंहलाई सशस्त्र प्रहरी बलका सहायक निरीक्षक(असई) हरिशरण खनालसहित ३ जना बडीगार्ड खटाएका छन् । उनलाई राज्यले सुरक्षाकर्मी उपलब्ध गराउनका लागि कुनै सुरक्षा थ्रेट छैन । एआइजी शैलेन्द्र खनाल कार्यविभागको प्रमुख हुँदा अमरेशकुमार सिंहलाई असई खनालसहित ३ सुरक्षाकर्मी उपलब्ध गराएका थिए । अहिले पनि ती सुरक्षाकर्मी अमरेशको सुरक्षामा तैनाथ छन् ।

भीआइपी सुरक्षा कार्यविधि २०६९ अनुसार सांसद अमरेशकुमार सिंहले सुरक्षाकर्मी पाउँदैनन् । र, जिल्ला सुरक्षा समितिको सिफारिसमा कुनै सुरक्षा थ्रेट भए सुरक्षाकर्मी दिन सकिने सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी बाबुराम पाण्डेले बताए । तर अमरेशकुमार सिंहलाई कुनै सुरक्षाथ्रेट नभए पनि उनलाई सुरक्षाकर्मी उपलब्ध गराइएको छ ।
त्यस्तै नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सांसद प्रकाशमान सिंहलाई सशस्त्र प्रहरी बलले चालक कृष्णप्रसाद पौडेलसहित तेल र मर्मत खर्च समेत ब्यहोरेर सुरक्षाका लागि पछुवा गाडी प्रदान गरेको छ । सशस्त्रको बा १ झ १४८६ नम्बरको गाडी प्रकाशमान सिंहको सुरक्षामा २४ घन्टा नै पछिपछि दौडने गरेको छ ।

एआइजी खनालले आइजीपी बढुवाका लागि खुसी पार्न सिंहलाई पछुवा गाडी उपलब्ध गराएको आरोप छ । खनाल काठमाडौं क्षेत्र नम्बर १ का बासिन्दा हुन् । उनले प्रकाशमान सिंहलाई चुनावमा आर्थिकदेखि गाडी लगायतका सुविधा उपलब्ध गराएका थिए । सशस्त्र प्रहरीले गृहमन्त्रालयको सिफारिसमा मात्र पूर्वमन्त्रीहरुलाई गाडीसहितको पछुवा सुरक्षा टोली उपलब्ध गराउनुपर्छ । तर एआइजी खनालले गृहमन्त्रालयको सिफारिस र निर्देशन बेगर नै प्रकाशमान सिंहलाई पछुवा गाडी उपलब्ध गराएका छन् ।

भीआइपी सुरक्षा कार्यविधि अनुसार पूर्वगृहमन्त्रीलाई २ बर्षसम्म सुरक्षाका लागि गाडीसहितको पछुवा खटाउने ब्यवस्था छ । तर प्रकाशमान सिंह पूर्वगृहमन्त्री होइनन् । सशस्त्रका प्रवक्ता पाण्डेले भने, पूर्व उपप्रधानमन्त्रीको हैसियतमा दिइएको हुनसक्छ । पूर्व उपप्रधानमन्त्रीलाई पनि २ बर्षभन्दा बढी सुरक्षाकर्मी दिन कार्यविधि अनुसार मिल्दैन ।

त्यस्तै, शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने आँकलनका साथ एआइजी खनालले कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको गाडी चलाउन सशस्त्र प्रहरीका सवारी चालक विष्णु शिवाकोटीलाई खटाएका छन् । महरले चढ्ने गरेको कालो रङको भक्सवागन गाडी सशस्त्रका जवान शिवाकोटीले डेढ बर्षदेखि चलाउँदैआएका छन् । राजनीतिक पार्टीका जनवर्गीय संगठनका अध्यक्षलाई पनि सशस्त्रको सवारी चालक दिने ब्यवस्था रहेछ नि भन्ने प्रश्नमा प्रवक्ता पाण्डेले कुन प्रयोजनमा दिएको हो, केही दिनका लागि दिएको हो कि भनेर अनभिज्ञता प्रकट गरेका छन् ।
कांग्रेसका विवादास्पद सांसद अमरेशकुमार सिंह खुलेआम भारतको पक्षमा बोल्ने गर्दछन् । अमरेशकुमार सिंहको चाकडी गरी आइजीपी हुने सपना खनालले देखेका छन् । एआइजी खनालमाथि देशका नेताहरुको सूचना ‘रअ’ लाई दिने गरेको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७