विनोद भण्डारीको नजरमा कुन नेपाली क्रिकेटर, कस्ता ?


८ चैत्र २०७४, बिहीबार
Nepali crickater

काठमाडौँ, ८ चैत । जिम्बाबेमा सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता छनोट खेल चलिरहँदा नेपाली राष्ट्रिय टोलीका पिन्च हिटर र आक्रामक ब्याट्सम्यान विनोद भण्डारी आफ्नो गृहभूमि सुदूरपश्चिमै थिए । सम्भवतः उनी सुदूरपश्चिमबाटै टोलीको प्रदर्शन आइसिसी वा क्लिकइन्फोजस्ता क्रिकेटका आधिकारिक वेब पोर्टलमै अपडेट हेर्न बाध्य भए । राष्ट्रिय टोलीका सदस्य तथा आफ्ना सहकर्मीहरूको बानी र स्वभावबारे उनले बताएका छन् ।  Nepali crickater

 

गत पुसमा काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिगमा विनोदबाट आशा गरेअनुरूप प्रदर्शन नभएपछि उनलाई राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसिसीका प्रतिनिधि सम्मिलित छनोट कमिटीले आइसिसी विश्व डिभिजन २ को घोषित टिमबाट बाहिर राख्यो ।

सन् २०१३ पछि विनोद सम्भवतः पहिलोपटक राष्ट्रिय टोलीबाट बाहिर बस्न बाध्य भए । डिभिजन २ को यात्रामा नपरेपछि उनी एकदिवसीय विश्वकप छनोटबाट समेत बाहिरिए । नेपालको विश्वकप खेल्ने सपनाको पहिलो मुख्य बाटोमा मध्यक्रमका भरपर्दा र आक्रामक ब्याट्सम्यान विनोद सहभागी हुन पाएनन् ।

विश्वकप छनोट चलिरहँदा नेपाली सिनियर टोलीमा घोषित १५ खेलाडीका व्यक्तिगत स्वभाव र बानीलगायतका विषयमा ले जान्ने प्रयास गरेको छ । सुदूरपश्चिमबाट म्याराथन ड्राइभिङ गरी काठमाडौं पुगेलगत्तै आइतबार साँझ विनोदसँगै कुराकानी गर्ने समय जुर्यो ।

सुरुमा ‘१५ जना घोषित खेलाडीका राम्रा र नराम्रा पक्षबारे कुरा गर्नुपर्छ’ भन्दा विनोद अलि हच्किए । सायद आफूले कुनै खेलाडीका बारेमा बोलिरहँदा रिसाउने हो वा नराम्रो लिने हो कि भन्ने डर उनमा थियो । तर, बिस्तारै उनी खुल्न थाले । खेलाडीका बारेमा बताउँदै जाँदा स्वयं विनोद पनि रोमाञ्चित बन्दै गए । इमानदारीका साथ लामो समय सँगै खेलेका खेलाडीका बारेमा जानकारी भएसम्म उनले खुलस्त पारे । छोटो वा सँगै नखेलेका खेलाडीका बारे जति थाहा थियो, त्यति मात्रै बताए ।

विनोदले सुरुमै कप्तान पारस खड्काको स्वभावबारे बताए । पारसलाई नेपालको मात्र नभएर एसोसिएट राष्ट्रहरूमध्येकै उत्कृष्ट कप्तानका रूपमा उनले लिएका रहेछन् । भर्खर आउने युवादेखि सिनियर खेलाडीसम्म पारसको व्यवहार एकै हुने विनोदको विश्लेषण छ । ‘एसोसिएट राष्ट्रमा मैले पारस दाइजस्तो कप्तान अहिलेसम्म देखेको छैन, सम्भवतः उनी वर्तमान समयकै एसोसिएट राष्ट्रकै उत्कृष्ट कप्तान हुनुहुन्छ,’ आफ्ना कप्तानको प्रशंसा गर्दै विनोदको बोली फर्रर फुट्यो, ‘युवा र सिनियर खेलाडीलाई मिलाएर अगाडि लैजाने शक्ति नै उनको रामो पक्ष हो ।’

राष्ट्रिय टोलीमा बिताएको पछिल्ला पाँच वर्षको समयमा कप्तान पारसका नराम्रा बानी केही नभेटेको विनोदले बताए । ‘मेरो अनुभवमा पारस दाइको नराम्रो पक्ष केही छैन,’ उनले भने । यसपटकको छनोट खेलमा फ्लप ब्याटिङ प्रदर्शन गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल टिममेटमा विश्वास राख्ने व्यक्तित्व भएको उनले बताए । वर्तमान क्रिकेट टोलीमा ज्ञानेन्द्र एक्सपर्ट क्रिकेटर रहेको विनोदको दाबी छ । ‘ज्ञानेन्द्र दाइले फिल्ड र अफ फिल्डमा ज्ञानगुनका कुरा सेयर गर्नुहुन्छ, प्रशिक्षकले केही कुरा भनिरहँदा त्यस सम्बन्धमा अलि एड्भान्सका रूपमा हामीलाई जानकारी दिनुहुन्छ,’ उपकप्तान ज्ञानेन्द्रको राम्रा पक्ष बताउँदै विनोदले भने, ‘मैदानमा सानो वा ठूलो गल्ती गरेमा तत्कालै उहाँले हामीलाई भन्नुहुन्छ ।’ कप्तान पारसको नराम्रो गुण नभेट्टाएका विनोदले ज्ञानेन्द्रका भने केही नराम्रा पक्ष पनि खुलाएका छन् ।

‘उहाँको सबै बानी राम्रो लाग्छ, तर छिटै रिसाउनुहुन्छ । रिस कन्ट्रोल गर्न कहिलेकाहीँ गाह्रो पर्छ,’ ज्ञानेन्द्रको नराम्रो पक्षबारे उनी भन्छन् । मैदानमा खेलाडीले आफ्नो वास्तविक क्षमताभन्दा तल्लो लेभलमा प्रदर्शन गरेको दिन ज्ञानेन्द्र खुबै रिसाउने उनले बताए । ‘मैदानमा हामीले आ–आफ्नो क्षमताअनुरूप वेस्ट दिन नसकेको वेला ज्ञानु दाइ रिसाउँदा त्यसलाई पोजेटिभकै रूपमा लिने गर्छौँ,’ ज्ञानेन्द्र कस्तो अवस्थामा रिसाउँछन् भन्ने प्रसंगमा विनोदले भने ।

कप्तान र उपकप्तानपछि अर्का सिनियर क्रिकेटर शरद भेसवाकर कस्ता छन् रु भन्ने प्रश्नमा विनोद भन्छन्, ‘शरद दाइ गम्भीर स्वभावका हुनुहुन्छ ।’ पहिला छिटै रिसाउने बानी शरदको रहेछ, तर अहिले भने त्यो बानी हटेको विनोदको अनुभव छ । ‘उहाँ एकैपटक रिसाउनुहुन्छ, तर एकछिनमै रिस समाप्त हुन्छ, अहिले त्यति रिसाएको म देख्दिनँ । सम्भवतः सिनियर खेलाडी भएका कारणले पनि हुनुपर्छ,’ विनोदले भने ।

विनोदको अनुभवमा नेपाली टोलीकै भेट्रान खेलाडी शक्ति गौचन सबैभन्दा अनुशासित र पङ्च्युयलमा छन् । विश्वकप छनोटमा शक्तिले एक खेल पनि खेल्न नपाउँदासमेत उनी घोषित टोलीकै महत्वपूर्ण खेलाडी हुन् । टोलीमा आबद्ध खेलाडीमध्ये स्पष्ट कुरा राख्न सक्ने क्षमता भएका खेलाडीमा शक्ति पर्ने विनोदले बताए । शक्तिलाई चिसो भनेपछि नै डर लाग्छ । सन् २००१ को यू–१९ टोलीदेखि सन् २०१९ को एकदिवसीय विश्वकप छनोटसम्म निरन्तर राष्ट्रिय टोलीमा स्थान बनाएका शक्तिलाई टाइमटेबलमा चल्ने क्रिकेटरका रूपमा विनोदले लिएका छन् ।

‘राष्ट्रिय टोलीमा एक नम्बरको अनुशासित खेलाडी उहाँ नै हुनुपर्छ, नेपालबाहिर वा नेपालमै सधँै रातको नौ बजे सुत्नुपर्ने बानी उहाँको छ,’ शक्तिको दिनचर्याबारे विनोद भन्छन्, ‘घडीमा नौ बजेपछि उहाँ लाइट अफ गर्नुहुन्छ । टाइमटेबलमा शक्ति दाइ एकदम पक्का हुनुहुन्छ, बिहान पनि सबेरै उठ्नुहुन्छ ।’

इन्डियन प्रिमियर लिगदेखि क्यारिबियन लिगसम्म स्थान बनाएका नेपालका एक मात्र अन्तर्राष्ट्रिय एक्सपोजर सन्दीप लामिछानेलाई ‘अनमेच्योर’ खेलाडीका रूपमा लिन्छन् विनोद । अहिलेको युवा जोसका कारण सन्दीपमा यस्तो देखिएको उनको भनाइ छ । ‘सन्दीप युवा नै छन्, त्यही युवापन देखाउँछन्, बिस्तारै अनुभवी हुन्छन् र मेच्योरनेस पनि आउनेछ,’ विनोद भन्छन् । राष्ट्रिय टोलीमा सबैभन्दा फेसनेबल पनि सन्दीपलाई नै मान्छन् विनोद ।

राष्ट्रिय टोलीका ओपनर बलर सोमपाल कामी टाइमिङमा त्यति ध्यान नदिने गरेको विनोदले बताए । तर, सहकर्मीमाझ धेरै गफ दिने र धार्मिक खेलाडी पनि सोमपाल नै भएको उनको भनाइ छ । यू–१९ मै रहँदा सिनियर टिममा स्थान बनाएका आरिफ सेख अहिले परिपक्व खेलाडी बनिसकेको विनोदले बताए । यता ललित भण्डारी टिमकै सबैभन्दा गफाडी खेलाडी भएको विनोदको बुझाइ छ । क्याम्पमा रहँदा ललितको गफ सुनेर हाँसोले पेट दुख्ने गरेको विनोदले बताए । दीपेन्द्रसिंह ऐरी आत्मविश्वासी ब्याट्सम्यान भएको उनको भनाइ छ ।
विनोदले देखेका क्रिकेटरका राम्रा–नराम्रा पक्ष
पारस खड्का, कप्तान
राम्रो पक्ष
पारस दाइ नेपाल र एसोसिएटेड राष्ट्रकै नम्बर एक कप्तान हुनुहुन्छ । नेपालले उहाँजस्तो कप्तान पाउन अब गाह्रै पर्छ । उहाँमा सबैलाई एकसाथ मिलाएर अगाडि लैजाने स्वभाव छ । चाहे राष्ट्रिय टोलीमा भर्खर आएका न्युकमर नै किन नहोस्, उनीहरूसँग उहाँको व्यवहार फरक हुँदैन । जसरी हामी सिनियर खेलाडीसँग कुराकानी गर्नुहुन्छ, युवा खेलाडीसँगै पनि त्यस्तै व्यवहार गर्नुहुन्छ । खेलाडीसँगै छिटै घुलमिल हुने बानी उहाँको एकदम राम्रो लाग्छ । मलाई सम्झना छ, पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दा नर्भस होला भनेर मलाई उहाँले आत्मविश्वास दिलाउनुभएको थियो । उहाँको नजरमा हामी नयाँ वा पुरानो खेलाडी भन्ने छैन । युवा खेलाडीलाई एक्सपोज गराउन र कन्फिडेन्स बढाउनमा उहाँ माहिर हुनुहुन्छ ।

नराम्रो पक्ष
उहाँको नराम्रो पक्ष छुट्याउन गाह्रो छ । हुन त सबैका राम्रा र नराम्रो दुवै पक्ष हुन्छन् । तर, उहाँमा मैले अहिलेसम्म केही पनि अवगुण देखेको छैन । राष्ट्रिय टोलीको कमान्ड सम्हालिरहनुभएका उहाँले एकपटक पनि खेलाडीलाई गाली गरेको देखेकै छैन । म उहाँका राम्रो मात्र गुण देख्छु ।

ज्ञानेन्द्र मल्ल, उपकप्तान
राम्रो पक्ष
नेपाली सिनियर टोलीका उपकप्तान ज्ञानेन्द्र दाइ पनि पारसजस्तै हुनुहुन्छ । सबैलाई आफूसँगै अगाडि लैजाने उहाँको बानी हो । उहाँ एकदम हेल्पफुल हुनुहुन्छ । टिममेटमा विश्वास राख्नुहुन्छ । नेपाली क्रिकेटमा लामो समय बिताइसक्नुभएकाले फिल्ड र अफ फिल्डमा हामीलाई ज्ञानगुनका कुरा सिकाउनुहुन्छ । प्रशिक्षकले केही कुरा भनिरहँदा त्यस सम्बन्धमा एक कदम अगाडि बढी उहाँले हामीलाई जानकारी दिनुहुन्छ । मेरो नजरमा वर्तमान टोलीमा क्रिकेटसम्बन्धी सबैभन्दा ज्ञान भएको क्रिकेटर नै उहाँ नै हो । मैदानमा सानो वा ठूलो गल्ती गरेमा तत्कालै उहाँले हामीलाई भन्नुहुन्छ । यसरी ब्याटिङ गर्नुपर्ने, बलिङ गर्नुपर्ने आदि विषयमा उहाँले सिकाइरहनुहुन्छ ।

नराम्रो पक्ष
उहाँको सबै बानी मलाई राम्रो नै लाग्छ । छिटै रिसाउनुहुन्छ । रिस कन्ट्रोल गर्न कहिलेकाहीँ गाह्रो पर्छ । रमाइलो पक्ष के भने उहाँको त्यो रिस हाम्रै हितका लागि हुन्छ । मैदानमा सबै पक्षमा आफ्नो स्तरअनुसार प्रदर्शन गर्नुपर्ने मान्यता उहाँ राख्नुहुन्छ । यदि कसैले आफ्नो वास्तविक क्षमताभन्दा कम स्तरमा प्रदर्शन गरिरहेको देख्नुभयो भने उहाँ रिसाइहाल्नुहुन्छ । मलाई लाग्छ यस किसिमको रिस हामीजस्ता खेलाडीलाई राम्रो नै हो । किनभने हामीले कहाँ गल्ती गरिरहेका छौँ भन्ने मैदानमा थाहा हुँदैन । त्यस किसिमको गल्ती कसैले भनिदिँदा मात्र थाहा हुने हो । हाम्रो स्तर एक–आपसमा सबैलाई थाहा नै छ । मैदानमा हामीले आ–आफनो क्षमताअनुरूप वेस्ट दिन नसकेको वेलामा उहाँ रिसाउँदा त्यसलाई पोजेटिभ रूपमै लिने गर्छौँ ।

शरद भेसवाकर
राम्रो पक्ष
मेरो अनुभवमा शरद भेसवाकर नेपाली क्रिकेटकै टेक्लिकल्ली उत्कृष्ट ब्याट्सम्यान हो । गेमअनुरूप उहाँ आफूलाई परिवर्तन गर्र्दै जानु हुन्छ । त्यो नेपाली क्रिकेटका लागि राम्रो पक्ष हो । उहाँको नजरमा सिनियर र जुनियर भन्ने कोही हुँदैन । सबैलाई एकै नजरले हेर्नुहुन्छ, समान व्यवहार गर्नुहुन्छ । खेलाडीसँगै तत्कालै घुलमेल हुने बानी मलाई असाध्यै मन पर्छ । उहाँ त्यति धेरै बोल्नुहुन्न । अलि गम्भीर पनि हुनुहुन्छ ।

मेरो अनुभवमा शरद भेसवाकर नेपाली क्रिकेटकै टेक्लिकल्ली उत्कृष्ट ब्याट्सम्यान हो । गेमअनुरूप उहाँ आफूलाई परिवर्तन गर्र्दै जानु हुन्छ । त्यो नेपाली क्रिकेटका लागि राम्रो पक्ष हो । उहाँको नजरमा सिनियर र जुनियर भन्ने कोही हुँदैन । सबैलाई एकै नजरले हेर्नुहुन्छ, समान व्यवहार गर्नुहुन्छ । खेलाडीसँगै तत्कालै घुलमेल हुने बानी मलाई असाध्यै मन पर्छ । उहाँ त्यति धेरै बोल्नुहुन्न । अलि गम्भीर पनि हुनुहुन्छ ।

नराम्रो पक्ष
उहाँसँग मैले धेरै वर्ष बिताएको छु । उहाँको नराम्रो बानी भनेको छिटै रिसाउने नै हो । स–साना कुरामा पनि उहाँ छिटै रिसाउनुहुन्छ । मलाई याद छ, सन् २०११ मा उहाँसँगै मैले ब्याटिङ गरिरहेको थिएँ । मैले एउटा सानो गल्ती गरेँ । त्यसवेला उहाँ एकैपटक रिसाउनुभयो । तर, उहाँको रिस केही समय मात्र हो । एकैछिनमा रिसाउने र त्यत्तिकै चाँडो त्यसलाई बिर्सने बानी छ । तर, अहिले त्यति रिसाएको म देख्दिनँ । सम्भवतः सिनियर खेलाडी भएका कारणले पनि हुनुपर्छ ।

बसन्त रेग्मी
राम्रो पक्ष
वसन्त रेग्मी वर्तमान राष्ट्रिय टोलीकै सिनियर खेलाडीमध्ये एक हुनुहुन्छ । उहाँले डेढ दशक लामो अमूल्य समय नेपाली टोलीलाई दिनुभएको छ । त्यही लामो यात्राकै कारण उहाँलाई सबै खेलाडीसँग घुलमिल हुन समय लाग्दैन । सिनियर र जुनियर खेलाडीबीच भेदभाव गर्नुहुन्न । मलाई उहाँको सबैभन्दा राम्रो लाग्ने बानी भनेको हँसिमजाक गर्ने नै हो । अर्थात् कुनै पनि समयमा उहाँ हामीसँग जिस्किरहनु हुन्छ । हामीलाई समयसमयमा मोटिभेसन गरिराख्नु हुन्छ । नेट अभ्यासमा उहाँ अगाडि उभिनुभयो भने गल्ती सच्याइदिनुहुन्छ । यसरी ब्याटिङ गर्नुपर्छ, बलिङ गर्नुपर्छ भन्ने सिकाइरहनुहुन्छ । युवा खेलाडीलाई यस्तै किसिमको टिप्स उहाँको रहने गर्छ ।

नराम्रो पक्ष
मैले अहिलेसम्म उहाँसँग जति समय बिताएको छु, त्यो अनुभवमा म उहाँको नराम्रो बानी खासै देख्दिनँ । रिसाउने बानी त कसको हुँदैन र रु ९हाँसो०

सन्दिप लामिछाने
राम्रो पक्ष
छोटो समयमै सन्दीपले राष्ट्रिय टोलीमा आफ्नो पकड बनाएका छन् । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले जर्नी टु वल्र्डकप खेलमा सन्दीपलाई हामीसँगै खेलाउँदा अलि फुच्चे केटाजस्तो लागेको थियो । तर, उनले सोचेभन्दा नै छिटो पिकअप गरेको भन्नुपर्छ । उनको क्यारिकेचर गर्ने बानी मन पर्छ । सबैसँग हाँस्दै खेल्दै गर्ने बानी सन्दीपको राम्रो छ ।

नराम्रो पक्ष
सन्दीप युवा नै छन् । टोलीकै सबभन्दा कान्छो खेलाडी भएकाले होला सन्दीप अलि ‘अन प्रोफेसनल’ छन् । व्यवहार पनि ‘अनम्याच्योर’ नै देखिन्छ । त्यो सबै उमेरकै कारण हो । जतिजति उमेर बढ्दै जानेछ, सन्दीपले आफ्नो व्यवहार पनि सुधार गर्नेछन् भन्ने विश्वास छ । टोलीमा उनी अलिअलि गफाडी पनि छन् ।

शक्ति गौचन
राम्रो पक्ष
शक्ति दाइ राष्ट्रिय टोलीको सदाबहार खेलाडी हुनुहुन्छ । मैले देखेको वेलादेखि अहिलेसम्म उहाँ सधैँ हाँसी मात्र रहनुहुन्छ । राम्रो र नराम्रो नतिजा आएको वेला पनि उहाँको अनुहार कहिल्यै अँध्यारो हँुदैन । सबैलाई हाँस्दै सिकाउनुहुन्छ । उहाँको राम्रो पक्ष भनेको स्पष्ट बोल्ने र टिममा स्पष्ट कुरा राख्ने हो । धेरै खेलाडीलाई उहाँले केयर पनि गर्नुहुन्छ । हामीलाई चिसोबाट सधैँ बच्नुपर्ने उपदेश दिनुहुन्छ । धेरै चिसो खानुहुँदैन, चिसो खाँदा वा चिसोमा बस्दा यस्तो हुन्छ भनेर उदाहरणहरू दिइराख्नु हुन्छ । राष्ट्रिय टोलीमा एक नम्बरको अनुशासित खेलाडीमा उहाँ नै पर्नुहुन्छ । उहाँको टाइमटेबल सधैँ एकै छ । त्यो कहिले पनि फरक छैन । नेपालबाहिर वा नेपालमै सधैँ रातको नौ बजे सुत्नुपर्ने बानी उहाँको छ । घडीमा नौ बजेपछि उहाँ लाइट अफ गर्नुहुन्छ । बिहान पनि सबेरै उठ्नुहुन्छ । बिहान उहाँको नियमित कार्य भनेको सर्वप्रथम पूजाआजामा समय बिताउनु हो । उहाँको मन पर्ने बानी भनेको शान्त स्वभाव हो ।

नराम्रो पक्ष
उहाँको नराम्रो पक्ष केलाउन नै सक्दिनँ । अहिलेसम्म मैले टिममा उहाँ रिसाएकोसमेत देखेको छैन ।

सोमपाल कामी
राम्रो पक्ष
सोमपालको सुरुवाती जीवन भारतमै बितेको सबैलाई थाहा छ । यसकारण सुरुका दिनमा उनलाई बुझ्न गाह्रो भएको थियो । नियमित अभ्यास र खेल्दा मात्र सोमपालबारे जान्न सकियो । उनी आत्मविश्वासी खेलाडीमा पर्छन् । आफू र अन्यबारे केही गोप्य कुरा छ भने कसैलाई पनि बताउँदैनन् । ती कुरा आफूभित्रै सीमित राख्ने बानी उनमा देख्छु । जुनियर र सिनियर खेलाडीबीच ठट्टा गर्ने र छिटै खुसी हुने बानी उनको छ ।

नराम्रो पक्ष
सोमपालको खासै नराम्रो बानी छैन । कहिलेकाहीँ अलि ‘अन डिसिप्लिङ’ व्यवहार देखाउँछन् । समयलाई अलि ख्याल राख्दैनन् । टाइमटेबलअनुसार चल्ने बानी छैन । बिस्तारै यो बानीमा सुधार आउँछ भन्ने विश्वास छ ।

दीपेन्द्रसिंह ऐरी
राम्रो पक्ष
मेरो नजरमा दीपेन्द्र पनि ठ्याक्कै सन्दीपकै जस्तो छ । म सन्दीप र दीपेन्द्रबीच फरक छुट्याउन सक्दिनँ । दीपेन्द्रलाई युवा खेलाडीमध्ये धेरै आत्मविश्वास भएको खेलाडीका रूपमा लिने गर्छु । उसको ब्याटिङकला गज्जबको लाग्छ । मैले धेरैपटक दीपेन्द्रसँगै ब्याटिङ गरेँ । त्यसवेला उनलाई कन्फिडेन्स खेलाडीकै रूपमा पाएँ । उनी आफ्नो खेलको समीक्षा गरिहन्छन् । अवस्थाअनुसार बिस्तारै खेल्नुपर्छ है भनिरहन्थे ।

नराम्रो पक्ष
खै दीपेन्द्रको त्यति खासै नराम्रो पक्ष छ जस्तो लाग्दैन ।

आरिफ शेख
आरिफ पनि युवा खेलाडी नै हुन् । यू–१९ टोलीबाट छिट्टै उनी सिनियर टोलीमा स्थान बनाउन सफल भए । सबै खेलाडीसँग घुलमिल हुने बानी रामो लाग्छ । सबैसँग बोलिरहन्छन् । एक–अर्कालाई सपोर्ट गर्नुपर्छ भन्ने उपदेश दिइरहन्छन् ।

नराम्रो पक्ष
सुरुका दिनमा आरिफ अलि अनम्याच्योर जस्तो देखिन्थे । अहिले सिनियर टोलीमा स्थान बनाइसकेका कारण हुनुपर्छ, आफ्नो बानी, व्यवहार परिवर्तन गरिसकेका छन् । विस्तारै आरिफ परिपक्क खेलाडी बनिरहेका छन् । सम्भवत धेरै अन्तर्राष्ट्रिय खेल खेलेका कारण पनि हुनुपर्छ, उनी अव अनुभवी खेलाडी बनिसकेका छन् ।

रोहितकुमार पौडेल
रोहितसँग मैले सँगै खेलेको छैन । यसकारण मलाई उनका बारेमा खासै जानकारी पनि छैन । तर, मैले वर्तमान टोलीकै केही खेलाडीबाट सुन्ने गरेको छु, रोहितको व्यवहार दीपेन्द्रकै जस्तै छ रे ।

नराम्रो पक्ष
थाहा पाएन है ।
करण केसी

राम्रो पक्ष
ठ्याक्कै भन्नु पर्दा करण सोपाल जस्तै हो । दुवैको व्यवहार एकैजस्तो लाग्छ । करण सबैसँग घुलमेल भइहाल्छन् । साथी बनाउन समय खर्चदैनन् । एकैछिनमा साथी बनाइहाल्छन् । फेरि पनि म भन्छु, करण र सोमपाल कपिक्याट हुन् ।

नराम्रो पक्ष
झनक्क रिसाउने बानी छ करणको । त्योबाहेक अरू नराम्रो पक्ष छैन ।
दीलिप नाथ

राम्रो पक्ष
दिलीप र म एकै क्षेत्रका हौँ । हामी दुवै सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गछौँ । दिलीप धेरै बोल्ने र साथीहरूसँग घुलमेल हुने स्वभावका छन् । सिनियर खेलाडीसँग टिप्स लिने गर्छन् ।
नराम्रो पक्ष
दिलपिको नरामो बानी भनेकै झट्ट रिसाउने हो ।
ललित भण्डारी

राम्रो पक्षा
ललित सोमपालजस्तै हाँसी मात्र रहन्छन् । जति वेला पनि उसलाई हाँसेको मात्र देख्छु ।

नराम्रो पक्ष
त्यति धेरै घुलमेल नभएकाले नराम्रो पक्ष थाहा भएन ।
अनिल शाह

राम्रो पक्ष
खै मलाई त्यति धेरै थाहा छैन ।

नराम्रो पक्ष
सँगै नखेलेका कारण नराम्रो पक्षमा पनि थाहा भएन ।
ललित राजवंशी

राम्रो पक्ष
राष्ट्रिय टोलीबाटै सँगै खेल्ने मौका पाएको छैन । ललितको घरेलु खेल मात्र नजिकबाट हेरेको छु । उसको बारेमा त्यति धेरै जानकारी छैन ।
नराम्रो पक्ष
थाहा भएन ।

-गब्जबकाे साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७