पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीको घरमा राष्ट्रिय झन्डा फरर


९ चैत्र २०७४, शुक्रबार
gopal parajuli 1

काठमाडौं, ९ चैत । १० दिनअघि प्रधानन्यायाधीशबाट अवकाश भइसकेका गोपाल पराजुलीको महाराजगंज चप्पल कारखानास्थित निजी निवासमा राष्ट्रिय झन्डा फहराइएको छ । प्रधानन्यायाधीश पदमा बहाल हुँदा उनको सुरक्षार्थ प्रदान गरिएको नेपाली सेनाका सुरक्षाकर्मी पनि उनको घरमा तैनाथ छन् ।

gopal parajuli
महाराजगंज चप्पल कारखानास्थित पराजुलीको घर ।

पदमुक्त भइसकेका पराजुलीले प्रधानन्यायाधीशकै हैसियतमा निजी निवासमा राष्ट्रिय झन्डा राखेका छन् । न्यायपरिषदले २०७४ फागुन ३० मै उनलाई पदमुक्त भइसकेको पत्र दिएका छ । तर उनी अहिले पनि प्रधानन्यायाधीशकै हैसियतमा झन्डा र गार्डहरु राखेर राज्यलाई चुनौती दिएका छन् । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाशीको जिम्मेवारी दीपक जाशीले पाइसकेका छन् ।

पराजुलीले निजी निवासमा झन्डा टाँगेर आफू पदमै रहेको छनक दिन खोजेका छन् । पदमुक्त प्रधानन्यायाधीशको उक्त घरमा राज्यको ठूलै पदको मानिस बस्दोरहेछ भन्ने कुरा सेनाको सुरक्षापोष्ट र राष्ट्रिय झन्डाले स्पष्ट पार्दछ । पराजुली र जोशी मध्ये को प्रधानन्यायाधीश भन्ने अन्योल छाएको छ । पदमुक्त भएको भोलिपल्ट चैत १ गते प्रधानन्यायाधीशको निवास बालुवाटारबाट निजी निवास महाराजगजमा सरेपछि पनि पराजुलीको झन्डामोह हट्न सकेको छैन । नयाँपेज संवाददाता पराजुलीको निजी निवास महाराजगंजमा शुक्रबार बिहान पुग्दा राष्ट्रिय झन्डा फरफराइरहेको थियो भने नेपाली सेनाका जवान घर अगाडि पानीले सफाइ गरिरहेका थिए ।
पराजुलीलाई न्यायपरिषदले पदमुक्त भएको पत्र दिएको भोलिपल्ट चैत १ मा उनले राष्ट्रपति समक्ष राजीनामा दिएता पनि स्वीकृत भएको छैन ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी भन्नुहुन्छ–‘अवकाश भइसकेपछि प्रधानन्यायाधीशका हैसियतले प्रयोग गर्दैआएका सबै सुविधाबाट मुक्त हुनुपर्छ ।

अवकाश भइसकेपछि गाडी, सुरक्षाकर्मी सबै फिर्ता गर्नुपर्छ । झन्डा किन राख्नुभयो, पदबाट अवकाश भइसकेपछि त्यसो गर्नुहुँदैन ।’
‘पदमुक्त भइसकेका पराजुलीलेमात्र होइन, ९ जना पूर्व प्रधानन्यायाधीशले पनि गाडी फिर्ता नगरी राष्ट्रिय सम्पत्ति दुरुपयोग गरेको सार्वजनिक भएको छ । जुन भ्रष्टाचार हो । जनताले तिरेको करबाट प्रधानन्यायाधीशका लागि दिएको सुविधा अवकाश भइसकेपछि प्रयोग गर्नु भ्रष्टाचार हो । त्यस्ता गाडी राज्यले प्रहरी लगाएर तान्नुपर्छ । सरकारी सम्पत्ति दुरुपयोग गर्न पाइँदैन । यो विकृति हो ।’ केसीले भन्नुभयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७