यमनसँग अंक खोस्ने रणनीतिमा नेपाल


९ चैत्र २०७४, शुक्रबार
nepali football team

काठमाडौं, ९ चैत : नेपालले बलियो टोली यमनसँग कतारको दोहामा आउँदो मंगलबार एएफसी एसियन कप छनोअन्तर्गतको अन्तिम खेल खेल्दै छ ।nepali football team

एएफसी एसियन कपमा छनोट हुने सम्भावना सकिएको नेपालले दोहाको सुहिम बिन अहमेद स्टेडियममा यमनसँग अन्तिम भिडन्त गर्दैछ । बिराज महर्जनको कप्तानीमा रहेको नेपाली टोली आइतबार कतार प्रस्थान गर्ने जनाइएको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार विदाइ गरेको छ ।

नेपाली टोलीका जापानिज मुख्य प्रशिक्षक ग्योतोकी कोजी यमनसँगको खेल कठिन हुने भए पनि अंक खोस्ने रणनीति लिएको बताउँछन् । प्रशिक्षक कोजीले भने, ‘यो खेल हाम्रा लागि कठिन छ । यमनले प्रतियोगितामा जितिरहेको छ । तर, हामी जित्ने प्रयास गर्नेछौ ।’ यमनविरुद्धको खेलको लागि नेपालले एक साताको मात्र प्रशिक्षण गरेको थियो । मोफसलमा भएको प्रतियोगिताले खेलाडीहरु बिशेष प्रशिक्षणमा बस्न पाएका थिएनन् । मोफसलको प्रतियोगिताले नेपाली टोली पूर्ण रुपमा फिट नभएको प्रशिक्षक कोजीले बताए । तयारी राम्रो हुन सकेन, खेलाडीहरुले पछिल्लो दुई महिना धेरै प्रतियोगिता खेले । रविन, बिक्रम टोलीमा छैनन् त्यसैले टोली फिट छैन तर हामी अंक प्राप्त गर्ने लक्ष्यमा हुनेछौं’, प्रशिक्षक कोजीले भने ।

समूह एफको नेपाल एसियन कप छनोटमा समूहको पुछारमा रहेको छ । त्यसैले यो खेल नेपालको लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ । तर, नेपाली टोली अन्तिम खेलमा यमनसँग अंक खोस्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ । गत वर्षको जेठमा भएको होम खेलमा यमनलाई गोलरहित बराबरीमा रोकेको थियो नेपालले । हल्चोकमा यमनलाई बराबरीमा रोक्दा टोलीमा महत्वपूर्ण सदस्य रहेका मिडफिल्डर बिक्रम लामा, डिफेन्डर रविन श्रेष्ठ र फरवार्ड भरत खवास अहिले नेपाली टोलीमा छैनन् । बिक्रम मोफसलको प्रतियोगिताको दौरान घाइते हुँदै र भरत दोहोरो पहेंलो कार्डको कारण टिममा परेका छैनन् । त्यस्तै प्रशिक्षणमा रहे पनि रविनले टोलीमा स्थान बनाउन सकेनन् ।

टोलीका महत्वपूर्ण केहि सदस्य टोलीमा नरहेपनि यमनविरुद्ध नेपालले महत्वपूर्ण खेलको रुपमा लिएर प्रतिष्पर्धा गर्ने कप्तान बिराज महर्जनले बताए । छोटो समयको तयारी र नयाँ खेलाडीको उपस्थितिले टिम राम्रो बनेको उनले बताए ।
एएफसी एसियन कपमा नेपालले ५ खेलमध्ये २ बराबरी र ३ खेलमा पराजय बेहोर्दै २ अंक जोडेको छ । फिफा वरियतामा नेपालभन्दा २५ स्थान माथि रहेको यमन समूहको दोस्रो स्थानमा छ । यमनले ५ खेलबाट ७ अंक जोडेको छ । यमन नेपाललाई हराउँदै एसियन कपमा छनोट हुने लक्ष्यमा रहने छ । समूहको शीर्ष स्थानमा फिलिपिन्स रहेको छ । फिलिपिन्सले ९ अंक जोडेको छ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउने छन् । छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो ।

यस्तो छ नेपाली टोली

गोलरक्षकः बिकेश कुथु, किरणकुमार लिम्बु, एलेन न्यौपाने
डिफेण्डरः बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी, रजिन धिमाल
मिडफिल्डर : रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, बिशाल राई, सुनिल बल, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ
स्ट्राइकर : बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की
मुख्य प्रशिक्षक ः ग्योतोकु कोजी
प्रशिक्षक राजुकाजी शाक्य
गोलकिपर प्रशिक्षक : उज्वल मानन्धर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७