‘मलाई पश्चाताप, आत्मग्लानी केहि छैन, बरु उत्साही छु’


९ चैत्र २०७४, शुक्रबार
Ajambar Kangmang Rai cover

०६९ मा नेकपा (एमाले) बाट बाहिरिएका अजम्बर राई काङमाङ शुक्रबार फेरि कम्युनिष्ट पार्टीमा फर्किएका छन् । संघीय समाजवादी पार्टी फोरमका सचिव रहेका नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेका हुन् । तत्कालीन एमाले केन्द्रीय सदस्य काङमाङले तत्कालीन उपाध्यक्ष अशोक राईसहित पार्टी परित्याग गरेका थिए । पार्टी परित्याग गरेर बनाएको संघीय समाजवादी नेपालमा उनी उपमहासचिव थिए । समाजवादी पार्टी मधेसी जनअधिकार फोरममा मिसिएपछि उनी केही समय केन्द्रीय सदस्य मात्रै बने । पछि सचिव बनाइयो । दोस्रो संबिधानसभा निर्वाचन र भर्खरै सम्पन्न निर्वाचनमा उनी भोजपुर क्षेत्र नम्बर–१ बाट चुनाव लडेका थिए । तर, दुबै निर्वाचनमा एमालेका उम्मेद्वारहरुले पराजित गरेका थिए । संबिधानसभा निर्वाचनमा एमाले नेता कृपाशुर शेर्पा र भर्खर सम्पन्न प्रदेशसभाको निर्वाचनमा एमाले केन्द्रीय सदस्य राजेन्द्र राईले उनलाई पराजित गरेका थिए ।

४० सालताकादेखि तत्कालीन माले सम्बद्ध अनेरास्ववियुबाट राजनीति शुरु गरेका एमाले निकट तत्कालीन प्रजातान्त्रिक युवा संघको अध्यक्ष पनि बनेका थिए । ०६५ को आठौं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका अजम्बर, ०६९ मा एमालेबाट बाहिरिएका थिए । माओवादीमा प्रवेशपछि नयाँ पेजका लागि राजेश राईले गरेको कुुराकानी :-

Ajambar Kangmang Rai cover

 

फेरि पार्टी परिवर्तन गर्नु भएको छ, यसबेला तपाईको दिमागमा के घुमिरहेको छ ? उत्साह, बेचैन अथवा पश्चताप ?
-मानिसहरुको निबृत्तिया जीवन पनि मानिसहरु बाँदरबाट विकसित भएर आएको हो । हामी विगतप्रति पश्चताप पनि गर्दैनौं । त्यसबाट ठूलो शिक्षा लिन्छौं । नेपालको परिवर्तनका लागि मुलधारमा जाने कुराले म बढी उत्साही नै छु ।

संघीय समाजवादीको भारी किन बीचमै बिसाउनु भयो ? भारी बढी गहुङ्गो भएर बोक्न सक्नु भएन या गन्तव्य भेट्नु भएन ?
-संघीय समाजवादी फोरम नेपालले पनि अहिलेको सन्दर्भमा गन्तब्य भेटेको छ । मुलत : संविधान संशोधनको कुरामा पहिचान र संघीयताका बिषयमा रहेका रहेको विमतिहरुलाई संविधान संशोधनमार्फत् टुङग्याइने सहमति बनिसकेको छ । फोरम नेपालले समेत वर्तमान सरकारलाई विश्वासको मत दिएर सरकारमा जान औपचारिकता कुरेर बसेको छ । त्यो हुँदा आजसम्म म आबद्ध रहेको राजनीतिक दल फोरमले यो राजनीतिक रुपमै टुङ्ग्याइएको विषय भएको हुनाले बिसाइएको अवस्था भन्दा पनि टुङ्गो लागेको अवस्था हो । त्यसकारण मुलधारकै राजनीतिक दलमै रहेर अझ बढी संस्थागत र घनीभूत गराउने मेरो उद्देश्य हो ।

सामान्य मतदातालाई नेताको रुपमा विकसित गर्ने स्थिति बन्यो । त्यस स्थितिमा बनाइएका मतदातास्तरमा रहेका नेताहरु पनि शहर र काठमाडौं केन्द्रित भएर गाउँ शून्य हुने अवस्था बन्यो । त्यो सबैभन्दा ठूलो कमजोरी हो

तर, तपाईहरुले उठाउदै आउनु भएको माग र एजेण्डा अझै पनि वेवारिसे जस्तै छ, एजेण्डा वेवारिसे भए पनि आफ्नो चाहिं भबिष्य सुरक्षित गरौं भनेर त होइन ?
-त्यस्तो पटकै होइन् । वर्ग निर्माण र विकासको प्रक्रियामा नेपालको सन्दर्भ अन्य मुलुकको जस्तो नभई विशिष्ट खालको रहेको छ । वर्ग संर्घषले माध्यम मात्रले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषतालाई उचित किसिमले सम्बोधन गर्न नसकिन्ने एकदमै प्रष्ट छ । वर्ग निरपेक्ष पक्षपोषणले मात्र नेपाली वृत्तलाई समेट्न नसकिने एकल केन्द्रियतालाई मात्र बोकेर हिंड्दा निरपेक्ष संकीर्णतामा फसिन्ने हुँदा आज विविधतायुक्त पहिचान, एउटा वर्ग चाहीं एउटा सिक्काको दुई वटा पाटाको रुपमा लिनु पर्नेछ । त्यसो हुँदाखेरी मेरो व्यक्तिगत उत्थान भन्दा पनि हामीले बीचको पाँच वर्षमा गरेका अनुभव र संघर्षबाट प्राप्त गरेका ज्ञान वास्तवमा शिक्षा र यर्थाथ हुन् । त्यसो हुँदा वर्ग निर्माण र पहिचानलाई सापेक्ष रुपमा लैजानका निम्ति नै मैले यस्तो निर्णय गरेको हुँ ।

संघीय समाजवादी बनाउनु भयो, त्यसलाई फोरममा मिसाउनुु भयो । संघीय समाजवादी बनाएदेखि फोरममा मिसाउँदासम्म के कमजोरी भए ? फर्केर हेर्नु त ?
– मुलतः हामीले जस्तो उद्देश्यका साथ संगठन निर्माण गरेका थियौं । त्यस अनुसार कार्यकर्ताहरु निर्माण गर्न सकेनौं । सामान्य मतदातालाई नेताको रुपमा विकसित गर्ने स्थिति बन्यो । त्यस स्थितिमा बनाइएका मतदातास्तरमा रहेका नेताहरु पनि शहर र काठमाडौं केन्द्रित भएर गाउँ शून्य हुने अवस्था बन्यो । त्यो सबैभन्दा ठूलो कमजोरी हो । एजेण्डा र मद्दाको हिसाबमा ठीक हुँदाहुँदै पनि त्यसलाई ठिक ढङ्गले जाने नीति बनेन् । विद्रोह गरिरहेका नेतृत्व, विद्रोह गरिरहेको पार्टीले भित्रको आवाज भन्दा पनि बढी भौतिक र राजनीतिक सुखमा लाग्ने कारणले पनि जनता कार्यकर्ताहरुलाई त्यो रुपमा परिचालित गर्न सकेनौं । यो कमजोरी हो ।

दोस्रो कुरा भनेको संघीय समाजवादी पार्टी निर्माण गरेर मधेसका मधेसी जनअधिकार फोरमसँग एकता गरेर संघीय समाजवादी फोरम नेपाल बनाएपछि मधेसमा आन्दोलन उठ्यो । मधेसमा बलिदानीको संख्या पनि दर्जनौंले गरे । तर, पहाडमा हामीले हाम्रो आन्दोलन उठाउन सकेनौं । फलतः यी आन्दोलनहरु कहिलेकाहीं क्षेत्रीय संकीर्णतामा पनि, कतिपय सामुदायिक संकीर्णतामा फस्ने स्थिति बन्यो । मधेसले त्यसको रापतापमा एउटा शक्ति आर्जन गर्‍यो । तर २०७० को तुलनामा पहाड क्षेत्रमा हाम्रो मत दोब्बर घट्यो । त्यसो हुँदा त्यसले चाहीं संघीय समाजवादी पार्टी राष्ट्रिय पार्टी हुने तर मधेस र मधेसीको बल हुने हुँदा पहाडको समुदाय र खर्स आर्यहरुलाई सम्बोधन नगर्ने स्थिति बन्यो । यसकारण राष्ट्रिय एजेण्डाहरुलाई पनि सम्बोधन गर्न नसक्ने सामुदायिक र क्षेत्रीय संकीर्णतामा फसेर जाने हुनाले यो गल्तीबाट शिक्षा लिनु पर्छ भनेर यस्तो गरिएको हो ।

म एमालेमा नर्फेर माओवादीमा जानु धेरै फाँफाँ र फुँफुँ गर्दे परदेशिएको छोरा धेरै आर्जन नगरी घर फर्किदा सिधैँ घर नआएर छिमेकीकोमा आएर खाँ खाँ….खुँ खुँ गरे जस्तो मात्र हो ।

अहिले संघीय समाजवादी फोरममा मधेस केन्द्रित दलहरुको प्रभाव बढ्दो छ, उनीहरु नै विजयी भएर आएका छन्, यस कारणले पहाडका नेताहरुले त्यहाँ असुरक्षा महसुस गर्न थालेका हुन् ?
-स्वभाविक हो । कमाउने–नकमाउने दाजु–भाइमा जति अन्तर हुन्छ । त्यस्तो मनोविज्ञान त त्योभित्र रहिहाल्छ । कमाउने दाजुको तलबले भाइले जतिसुकै राम्रो घडी, जतिसुकै राम्रो सिक्री बाँधे पनि  गाउँलेहरुले त्यसको कमाई होइन दाजुको कमाइमा रमाउँदैछ भन्ने खालको मनोविज्ञान बनाउँछ नै । दोस्रो भनेको जतिसुकै संघर्ष गरे, जुन जनमतले लिएर आए ।

समानुपातिक सिद्धान्तका आधारले मत कम पाएको क्षेत्र समुदायलाई कलष्टरलाई समेत समेटनु पर्ने हुनाले त्यहींभित्र पनि असन्तुष्टि रहने । एकातर्फ पाउनेले पनि मेरो बल मेरो कमाइले मेरो आर्जनले पाएको भनेर उच्च मनोबलका साथ प्रस्तुत हुन नसक्ने अरु लडिरहेकाहरुले पनि हाम्रो भाग खोस्यो अथवा खोस्नका लागि पो आएका रहेछन् भन्ने दुविधाले त्यहाँभित्र संगठन, जनमत र दल विस्तार हुने स्थिति देखिंदैन । यो त्यहाँभित्रको जटिल समस्या हो ।

अब संघीय समाजवादी फोरमबाट बाँकी आन्दोलन र कार्यभार पूरा नहुने निष्कर्ष होइन तपाईको ?
-दुई वटा कुरा राजनीतिक स्थायित्व, दीगो शान्ति र सुशासनको जगमा आर्थिक विकासको माध्यमबाट पूँजीवादी क्रान्ति गर्नुछ । सधैं राजनीतिक भाँडभैलो मच्चियो भने पूरा हुँदैन । कतिपय हाम्रा एजेण्डाहरु चाहीं संवैधानिक र कानूनी प्रक्रियाबाट पनि लिएर जान सकिन्छ । र, यो आर्थिक क्रान्तिको माध्यमबाट समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समृद्ध समाज निर्माण र नागरिक निर्माण गर्नु अबको कार्यभार हो । त्यस दिशाका लागि मैले भने जस्तै फोरम नेपाल असमर्थ नै रहन्छ ।

यद्यपी एउटा अवसर छ । प्रदेश नं. २ मा उसको नेतृत्वमा सरकार बनेको छ । २ नम्बर प्रदेशलाई नमुना प्रदेशको रुपमा विकसित गर्न सकेको खण्डमा अरु प्रदेशहरुलाई प्रभावित गर्न सक्छ । तर, त्यहाँभित्रको जुन खालको मनोविज्ञान र संरचना छ । त्यसले त्यो अवसर पनि गुमाउँछ जस्तो लाग्छ ।

म सम्झिन्छु, जतिबेला तपाईहरुले एमाले परित्याग गरेर नयाँ पार्टी बनाउँदै हुनुहुन्थ्यो, त्यतिबेला तपाईहरुले भन्नु भएको थियो, ‘अब एमाले बिघटन हुन्छ ।’ तपाईको यो निचोडले नराम्ररी फेल खायो है ?
– गतिशिल मतदाताको अभाव हो । अन्य मुलुकहरुमा मतदाताहरु अत्यन्तै गतिशिल र क्रिटिकल छन् । र, दलहरुले गरेका कमी कमजोरीहरुलाई निर्वाचनको माध्यमबाट दण्डित पनि गर्छन् । तर, नेपालको सन्दर्भमा दलका चुनाव चिन्ह्हरुलाई धार्मिक चिन्ह्हरुको रुपमा पुज्ने स्थिति बन्यो । फलतः गतिशिल मतदाताहरुको अभावमा हाम्रो निष्कर्ष ठिकै भए पनि त्यसलाई हामीले व्यवहारमा पुष्टि गर्न सकेनौं । त्यसैले मतदातको बीचमा चेतनाका कारणले पनि गतिशिल बनाउन हामीले सकेनौं । नसक्नुमा हामी आफै पनि जिम्मेवार छौं । र, कतिपय हाम्रा कार्यशैली र क्रियाशिलता पनि जिम्मेवार छन् ।

हुन त एमाले र माआवोदी एक हुँदैछ, तै पनि बाँकी त छ, तपाईको उर्बर जीवन एमालमै बित्यो, एमालेमा तपाईलाई माया गर्नेहरु धेरै छन्, किन माओवादीलाई फर्किने बाटो बनाउनु भयो त ?
-म एमालेमा नर्फेर माओवादीमा जानु धेरै फाँफाँ र फुँफुँ गर्दे परदेशिएको छोरा धेरै आर्जन नगरी घर फर्किदा सिधैँ घर नआएर छिमेकीकोमा आएर खाँ खाँ….खुँ खुँ गरे जस्तो मात्र हो । कतिपय सन्दर्भमा अप्ठ्यारो होला, तर, एमालेमा मलाई माया गर्ने धेरै मान्छेहरु हुनहुन्छ । नेता भन्दा कार्यकर्ता तहमा मलाई माया गर्नेहरु अझै हुनुहुन्छ । उहाँहरु प्रति अझ पनि मेरो असिम लगाव छ । माया छ । कुनै राजनीतिक स्वार्थ अथवा नीजि भबिष्य जोडिएको छैन । मैले प्रवेश विन्दु माओवादी बनाएको मात्रै हुँ ।

यसमा मेरो कुनै पश्चाताप, आत्मग्लानी, हिनताबोध छैन । आफना शिष्यहरु आफू भन्दा अगाडि गएको, बढेको, राम्रो भएको, सफल भएकोप्रति गर्व गर्नुपर्छ । म तीप्रति गर्व गर्छु । यसमा एकरती पनि हिनताबोध, पश्चाताप, आत्मग्लानी केहि छैन ।

तपाईलाई गर्ने एमालेमा रहेकाहरुलाई केही भन्नु छ ?
– एउटै हिमश्रृंखलाबाट आएका नदीहरु पनि दोभानमा नआइञ्जेल भेट हुँदैन । दोभानमा आइसकेपछि (एउटै पार्टी) ठाउँमा आइसकेपछि एउटै प्रवाह र वेगमा बग्न सक्छौं । केही समयको दूरी मात्र हो । यसमा अविचलित रुपमा सहकार्यको माध्यमबाट हामी साथमै बग्न सक्छौं ।

एमाले र माओवादी त एक हुँदैछ नि, एकीकृत पार्टीमा असजिलो भन्ने लाग्दैन ?
– आफ्नो भूमिकाले नै व्यक्तिको अस्तित्व र स्थान तय गर्ने हो । मलाई लाग्छ, मेरो भूमिका निष्कपट, निःस्वार्थी रहन्छ । मेरो भूमिकाले साथीहरुको बीचमा स्थान निर्माण गर्न सक्छु भन्ने नै विश्वास छ ।

एमालेमा तपाई भन्दा जुनियर नेताहरु मुख्यमन्त्री, मन्त्री सबै भईसके, पार्टी छोडेर पछि परें भनेर कहिलेकाहीं पश्चाताप वा हिनताबोध छ या छैन ?
– किरात संस्कृतमा पुनः नामाकरण हुन्छ । कम्प्युटरमा रिनेमिङ भने जस्तो । छोरो भएर जन्मिन्छ एउटा मान्छे । उसका सन्तान भएपछि उ त्यही सन्तानका ‘बा’ हुन्छ । राम्रा–राम्रा सन्तानहरु जन्मेर रिनेमिङ गर्न म गर्व ठान्छु । यसमा मेरो कुनै पश्चाताप, आत्मग्लानी, हिनताबोध छैन । आफना शिष्यहरु आफू भन्दा अगाडि गएको, बढेको, राम्रो भएको, सफल भएकोप्रति गर्व गर्नुपर्छ । म तीप्रति गर्व गर्छु । यसमा एकरती पनि हिनताबोध, पश्चाताप, आत्मग्लानी केहि छैन ।

अन्तमा अब एकीकृत पार्टीमा कस्तो जिम्मेवारीको अपेक्षा गर्नु भएको छ, यो भन्दा पछिको भबिष्य कसरी सोचिरहनु भएको छ ?
– यसमा कुनै परिभाषित जिम्मेवारी, मागदावी मेरो रहेको छैन । एक ढङ्गले भन्ने हो भने म निःशर्त नै प्रवेश गरिरहेको छु । र, यस सन्दर्भमा मेरो भूमिका समन्वयकारी रहन्छ । यहि क्रियाकलापले नै मेरो जिम्मेवारी तय गर्छ भन्ने लाग्छ।

 

 

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७