लाहुर हिँडेको बाटोबाटै शिक्षक


१० चैत्र २०७४, शनिबार
Dr. Nobel kishor Rai Story
  • प्रा.डा. नोवलकिशोर राई

सम्बत् २०२२ सालको भदौ महिनाको बेला धरान घोपा क्याम्पमा क्लर्कको भर्ती खोलिएको छ भनेर थाहा भयो । यस्तो भर्ती अरु जि.डि. (General Duty) को जस्तो गल्लावाल मार्फत् नभएर आफै सम्पर्क राख्नुपर्दथ्यो । अब म धरान घोपा क्याम्पमा क्लर्कमा भर्ती हुन जान्छु भन्ने कुरा काकालाई सुनाउँदा उहाँ एकछिन अकमक्क पर्नुभयो । मेरो कामकुरो देखेर स्कुलका विद्यार्थी, अभिभावकहरुसँगको सम्पर्क हेरेर अनि आफै रमाइरहेको बुझ्दा काकाले मलाई त्यहाँ दुई चार वर्ष रहला भनेर ठान्नुभएको रहेछ ।

Dr. Nobel kishor Rai Story

 

काका आफै पनि पल्टने हुनुभएकोले पल्टनको आकर्षण सबैलाई एकपटक हुन्छ भन्ने कुरा राम्ररी बुझ्नुभएकै थियो । त्यसमा पनि ब्रिटिस सेनाको ‘बाबुजी’ (क्लर्क) पदमा भिड्ने भनेपछि उहाँले मलाई जान मञ्जुर गर्नुभयो । जाने बेलामा मलाई भन्नुभयो, ‘कान्छा, तपार्इंको त अंग्रेजी राम्रो छ, त्यसै पास गर्न सक्नुहुन्छ । पल्टनमा हेडक्लर्क भनेको ठूलो अफिसर हो । तपाईं हेडक्लर्ककै पनि हुनुहोला । हामीलाई सम्झनु है, नबिर्सनू ।’ आफ्नो आमा सानैमा बितेपछि आमाका बहिनीहरु (छ्यामाहरु) ले माया गर्दा आमाको ‘तिर्सना’ मेटिन्थ्यो । अनि हात्तीपाइलेमा पनि छ्यामा साइँलीले त्यसरी नै माया गरेर राख्नुभएकोले छुट्टिने बेलामा उहाँहरुको आँखामा हेर्न सकिनँ । मैले भुइँ हेरेरै बिदा लिएँ, र घर आएँ । त्यसपछि काका र छ्यामासँग कहिल्यै भेट भएन ।

भोर्लेनीको उकालो र नाम्जेको चुचुरो सम्झेर मेरो नौनारी गलेर आयो । राती निन्द्रा राम्ररी लागेन । भोलि बिहान अन्तिम नामावली प्रकाशन भयो; मेरो नाम त्यहाँ थिएन । अब के गर्ने ?

फेरि अर्कोपल्ट घोपा क्याम्प पसेँ
मेरो मनमा एउटा नौलो आशा र उत्साह पलाइरहेको थियो भने अर्कोतिर आफूले लाएको खेतीपाती, आफूले स्याहार गरेको फूलबारी यसरी चटक्क छाडेर जानुपर्दा मन भारी पनि भइरहेको थियो । हङकङ जाने लाहुरे भएर, त्यसमा पनि बन्दुक बोकेर जंगल जाने होइन, अफिसमा बसेर टाई बाँधेर टाइपराइटरमा पटटट…अंग्रेजी पड्काउने सपनाले म निक्कै उचालिएको थिएँ । घर आएर एकरात मात्र बसेर बाटो लागिहालेँ । सम्बत् २०२२ सालको भदौ महिना थियो, गते बिर्सेँ । घरबाट हिँडेको दिन ६ नम्बर बुधबारे नाघेर मुढे भन्ने गाउँमा बास बस्न पुगेँ । धनकुटा जिल्लाको पूर्वी सिमानामा रहेको यो एउटा ठूलो मगर बस्ती हो, जहाँ बास पाउन सजिलो थियो । कुनै घरमा भात पनि पकाइदिन्थे भने कुनै घरमा आफै पकाएर खानुपर्दथ्यो । आफूले पकाउँदा दाउराको अलिकता पैसा दिनुपर्दथ्यो भने उनीहरुले पकाइदिएमा खानाको पैसा लिन्थे जो शहरको तुलनामा अत्यन्त थोरै हुन्थ्यो ।

भोलिपल्ट म धरान लगभग चारबजेतिर पुगेँ । क्याम्पभित्र घ्याङघर (धर्मशाला) थियो । म त्यही गएर बसेँ । आफन्त कोही थिएनन् अनि होटलमा बस्ने कुरै भएन । भोलिपल्ट आठ बजेतिर आफ्नो सर्टिफिकेट च्यापेर अफिसतिर लागेँ । त्यहाँ म जस्तै थुप्रै जवानहरु भेला भएका रहेछन् । चिनापर्ची गरियो, एकजना मित्र काठमाडौंबाट आएका रहेछन् भने म मात्र एकजना पहाडे । तिनताका ‘पहाड’ भन्नाले लगभग नेपाल र ‘पहाडे’ भन्नाले नेपालका पहाडी भागमा बस्ने मानिसहरु बुझिन्थे । हाम्रो परीक्षँ मौखिक र लिखित दुवै खाले थिए ।

दार्जीलिङबाट आउने उम्मेदवारहरु पि.यु.सि., आइ.ए. पास अनि बि.ए.पढ्दै गरेकाहरु पनि थिए, र उनीहरुको योग्यता र फूर्तिफार्ती देख्दा म खुम्चिन्थेँ । पहाडे भएकाले पेन्ट कमिज भए पनि उनीहरुको जस्तो स्तरीय थिएन, र उनीहरु सबैको खुट्टामा छालाका जुत्ता थिए भने मेरो त रातो क्याम्पिस (क्यान्भास)को जुत्ता थियो । म गफगाफ गर्न पनि जान्दिनथेँ । हामी सबैलाई ब्यारेकमा नै राखिएको थियो । त्यसैले हामी एकअर्कालाई सम्पर्क गर्न सक्थ्यौं । परीक्षा कस्तो भयो अनि मौखिक परीक्षामा के कस्ता प्रश्न सोधिए भनेर कुरा चल्थ्यो । साथीहरुको कुरा सुनेर आफू पास भइएला जस्तो लागेको थिएन मलाई । लगभग दश दिनभित्र मौखिक र लिखित दुवैको परीक्षाफल प्रकाशित भयो । लगभग डेढसय परीक्षार्थीमा पैतीसजना पाए भए । मेरो पनि नाम आयो । म दङ्ग परेँ ।

अब हामी सबैको स्वास्थ्य परीक्षा हुने भयो । दोश्रो दिनमा मेरो पालो थियो । एक्स–रे, थुक–खकार, रगत, दिसापिसाब आदि सबैको परीक्षण भयो । मेरो कतै खोट देखिएन । अन्तमा आँखाको परीक्षा थियो, तर ढुक्क थिएँ, किनभने यसपाल त चश्मै लगाएर चार्ट पढ्न पाइने थियो । मेरा केही साथीहरुले पनि चश्मा लगाएकै थिए । बि.एम.एच (British Military Hospital) को एउटा कोठामा झुन्ड्याइएको चार्ट पढ्न लगाइयो मलाई । मैले केवल दुई हरफ मात्र पढ्न सकेँ । त्यसपछिका सबै अक्षरहरु बोलेनन् मसित । मैले निक्कै कोशिस गरेँ, तर…..। मलाई टेस्ट लिने श्वेतवस्त्रधारी सरले पनि निक्कै सहानुभूतिपूर्वक मलाई घरि–घरि दोहो¥याउन लाउनुभयो । अलिअलि यसो मेलोमेसो पनि देखाउनुभयो । उहाँले दिनुभएको ‘क्लु’ काम लागेन मेरो आँखालाई । म फेल भएँ भन्ने कुरा तुरुन्त थाहा भयो, म त्यो कोठाबाट बाहिर आएँ । मेरो अनुहार र शरीरभरि पसिना आएको थियो । आँखाको टेस्ट भएकाले आफैले आफूलाई अनुत्तीर्ण भएको कुरा थाहा भयो । म मरेजस्तै भएँ; जमिन भाँसिएको हो कि जस्तो भान भयो । हामी बसेको ब्यारेकमा कसरी कति बेला आइपुगेछु; थाहा भएन । एउटा दार्जीलिङ्गे साथीले सोध्यो ‘के भयो सोम ?’ म अलमल्ल परेँ । एकछिन पछि सबै कुरा बताउन कर लाग्यो । अर्को साथीले अलि ढाडस दिएर भन्यो, ‘केही छैन सोम, सुर्ता नगर । तिम्रो त आफ्नै घर होला; आफ्नै जग्गाजमिन पनि होला; खेतीपाती गरेर खाने नि यार ।’ अर्को एक हाउडे साथीले भन्यो– ‘आम्मामा…सोमको चश्मा त भयङ्कर र’छ नि होउ..यार, पल्टन नलागेर के भयो र ! पहाडतिर त टिचर काम पनि पाइहालिन्छ नि !’ मैले म आफै हेडमास्टर थिएँ भन्ने कुरा भने बताइनँ किनभने आइ.ए., बि.ए. पढेका फूर्तिवालाहरुको अगाडि म खुम्चिएर कमै बोल्थेँ ।

त्यसदिन मलाई भात खान पनि मन लागेन । हामीलाई दिइएको मिस्टिनमा चौकामा गएर भात थापिखाने र मगमा चिया खानुपथ्र्यो । धेरैबेरपछि गएर खाना थापेँ, र थोरै खाएँ । खाने मन त थिएन, तर यसो सोचेँ, भोलिदेखि त मग, मिस्टिन र कम्बलहरु बुझाएर उकालो लाग्नुपर्छ । भोर्लेनीको उकालो र नाम्जेको चुचुरो सम्झेर मेरो नौनारी गलेर आयो । राती निन्द्रा राम्ररी लागेन । भोलि बिहान अन्तिम नामावली प्रकाशन भयो; मेरो नाम त्यहाँ थिएन । अब के गर्ने ? एक प्रकारले हिजै थाहा भएकाले म अलि स्थिर भएँ । पास हुने साथीहरु फुरुङ्ग थिए । हुने नै भए ।

म सरासर हेडक्लर्क कहाँ गएँ
‘पक्की बात’मा एउटा उखान छ; ‘मरता क्या नही करता ।’ हुन पनि हो; यसै फेल उसै फेल । यतिका दिनभित्र, यताउति गर्दा, अनि मौखिक परीक्षा दिनमा पनि देखिरहेको एउटा गोरो, अग्लो मान्छे हेडक्लर्क भन्ने थाहा थियो । उहाँको नाम लेफ्टिनेन्ट हरिकान्त राई थियो । एउटा पल्टनमा एक जना मात्रै हेडक्लर्क हुन्छ अनि ऊ ठूलो मान्छे हो भन्ने पनि सुनेकै थिएँ । यताउति नसोचेर, जे त होला भनेर म सरासर उहाँको अफिसमा पुगेर ढोकामा उभिएँ । मलाई देख्नुभयो उहाँले; मैले भित्र पस्ने अनुमति मागेँ । कताकता डर, संकोच र धक लागेर आयो । उहाँको अनुहार हेरेँ; सफा आकाशजस्तो, कुनै आक्रोश वा आश्चर्य थिएन उहाँको आँखामा । म अलि आश्वस्त भएँ अनि भनेँ, ‘सर म क्लर्कमा फेल भएँ; टिचरमा जान चाहन्छु ।’

मेरो नियुक्तिपत्र दिँदै भन्नुभयो– ‘अब उ त्यहाँ डिपोट हाइस्कुल छ; त्यहाँ काम गर्ने अनि एक दुई वर्षपछि भ्याकेन्सी खुलेपछि हङकङ जाने ।’ म अलि हच्किएँ ।

अब उहाँ अलि हच्किनुभयो । ‘भाइ टिचर हुनलाई त ट्रेनिङ पो चाहिन्छ त !’ मैले भने, ‘मैले टिचर ट्रेनिङ गरेको छु सा’ब ।’ उहाँले सोध्नुभयो– ‘सर्टिफिकेट खोई त ?’ मैले भनेँ– ‘पहाडमा छ सा’ब ।’ ‘कहिले ल्याउन सक्छौ त ?’ भनेर उहाँले सोध्नुभयो । मैले ‘चार पाँच दिनमा ल्याउन सक्छु सा’ब’ भनेँ । उहाँले ‘ल त्यसो भए लिएर आऊ’ भन्नुभयो । त्यसैदिन आफ्नो साथमा रहेको मिस्टिन मग र कम्बल आदि बुझाएर म लागेँ उकालो ।

दोहोरो पाँच दिनको बाटो तीन दिनमा घर पुगेर ल्याएँ आफ्नो टिचर ट्रेनिङको सर्टिफिकेट । हेडक्लर्क लेफ्टिनेन्ट राईले मेरो सर्टिफिकेट ओल्टाइपल्टाइ हेर्नुभयो । मेरो अनुहारतिर हेरेर सोध्नुभयो– ‘के–के खेल खेल्न सक्छौ तिमीले ?’ मैले प्रायः सबै खेल खेल्न सक्ने तर फुटबल मन पर्ने बताएँ । आफ्नो स्कुलको टिममा खेलेर प्रायःजसो अन्य स्कुलहरुलाई जितेको सम्झेर अझ मन दह्रो भयो । नर्मल स्कुल (टिचर ट्रेनिङ) मा प्रथम श्रेणी आएको त्यसमा पनि पि.टी., ड्रिल तथा खेलकुदमा ‘विशेषता’ प्राप्त गरेको मार्कसिट देख्दा उहाँलाई निक्कै प्रभाव परेछ कि क्या हो; अनि अलि सान्त्वनापूर्वक भन्नुभयो– ‘ल भोलि मेरो अफिसमा आउनू ।’ ‘धन्यवाद सर’ भनेर हात जोडेर म बाहिर आएँ । मेले संसारै जितेजस्तो लाग्यो ।

अब म टिचर भएँ
भोलि बिहान नौ बजेतिर उहाँको अफिस गएँ । उहाँले मेरो प्रमाणपत्रहरु पर्काइदिनुभयो त्यसपछि मेरो नियुक्तिपत्र दिँदै भन्नुभयो– ‘अब उ त्यहाँ डिपोट हाइस्कुल छ; त्यहाँ काम गर्ने अनि एक दुई वर्षपछि भ्याकेन्सी खुलेपछि हङकङ जाने ।’ म अलि हच्किएँ । मलाई त के सोच थियो भने अहिले नै तत्कालै अरु क्लर्कहरु जस्ते पल्टन गएर टिचर हुन पाउने होला । यसरी घोपा क्याम्पमा बसेर पछि मात्र जान पाउने कुराले म अलि खिन्न भएँ, तर के गर्नु र ! अँध्यारो मुख लगाएर पहाडतिर लाग्नु भन्दा त यो पनि ठिकै हो जस्तो लाग्यो मलाई । मैले कृतज्ञता व्यक्त गरेँ अनि फर्कें ।

(प्रा. राईको प्रकाशोन्मुख आत्मकथाकथाबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७