मित्रहरुको माझमा ‘शत्रु गते’


१३ चैत्र २०७४, मंगलवार
Satri gate deepa shree niraula and Haribangsh acharya

ब्लग
– राजेश राई
माधव दाई(नयाँ पेजका सम्पादक) र म सोमबार साझ शहरतिरको काम सकाएर अफिस फर्किने हतारोमा थियौं । एमाले युवा नेता ठाकुर गैरेले होटल हार्दिकबाट ‘अपहरणको शैली’मा फिल्म हलतिर लैजानुभयो । ठाकुर दाई, जो उहाँको पुस्ताका अधिकांस नेताहरु सरकारी भएर सिंहदरबार पुगिसके । उनीहरुलाई सडक अब उतिधेरै प्रिय लाग्दैन । तर, योगदान, क्षमता र इतिहास भएर पनि सडकमै ठेलिएका ठाकुर दाई हाम्रो लागि प्रिय हुनुहुन्छ । किनभने हामी जस्तै सडकमै हुनुहुन्छ । सत्तामा गएपछि नेताहरुसँग हाम्रो त्यतिधेरै गृह मिल्दैन । किनभने हामी प्रश्न गर्छौं सत्तासिनहरुलाई प्रश्न मन पर्दैन । अब तिनै प्रिय दाजुले नै अपहरण गरेपछि हामी भाईहरुले आत्मसमपर्ण नगर्ने कुरै भएन । सजिलै आत्मसमपर्ण गरियो । के अवसरमा फिल्म ? किन हेर्ने ? यो प्रश्न गर्ने झन्झट नै नगरी हाकेको ताकेको कामलाई पन्छाएर ठाकुर दाईसँग हुतिन्दै हल पुग्यौं । तर, माधव दाईको एउटा शर्त थियो,‘फिल्म राम्रो नलागेको खण्डमा दुबैजना सुटुक्कै निस्कने ।’ माधव दाई, जसको रुचीको बिषय होइन फिल्म ।

Rajesh rai

हलमा पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल सहित फिल्म हेर्ने चाजो मिलाइएको रहेछ । फिल्मको नाम, ‘शत्रु गते ।’ ‘शत्रु गते’ फिल्मको बारेमा उतिधेरै थाहा थिएन । तर, फिल्म बनाउनेहरुको बारेमा थाहा थियो, ‘मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ।’ यी दुई यस्ता नाम हुन्, उहाँहरुको सम्मानको निम्ती पनि दर्शकहरु हलसम्म पुग्छन् । त्यहाँ भेला भएकाहरु पनि धेरै त्यस्तै थिए । थियौं । फिल्म झुरै किन नहोस्, तर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सम्मानमा भएपनि फिल्म हेरौं भन्ने निधो भयो ।

फिल्म सुरु भयो । मैले बिचमा माधव दाईलाई सोधे,‘जाने बिषयमा के छ दाई कुरो ?’ ‘हैट ! कहाँ जानु’ माधव दाईको उत्तर थियो,‘यस्तो गजब फिल्म छ ।’ फिल्म सकिएपछि मैले माधव दाईको प्रतिक्रिया थियो,‘आज त पुरै हड्डी नै हास्यो नी ।’ सुरु भएदेखी नसकिएसम्म फिल्मले एकोहोरो तानिरहन्छ । फिल्मको कथाले भन्दा पात्रहरुले बोल्ने संवादले दर्शकलाई तान्छ ।

फिल्मको चर्चा सुरु गर्न अघि मेरो स्पष्टीकरण छ, ‘माफ गर्नुहोला, यो फिल्म समिक्षा होइन ।’ फिल्म समिक्षाका आफ्नै फरम्याट र काइदा छन् क्यारे ? यो बिषयमा मलाई ज्ञान छैन । तर, खासगरी बलिउड र हलिउडका फिल्म समिक्षा पढ्दा जरुर एउटा निकष्र्षमा पुग्न सकिन्छ, ‘हामी कहाँ गम्भिर फिल्म समिक्षक नै छैनन् ।’ हामी कहाँको रंग पत्रकारिता ‘प्रचारक’को तहभन्दा माथि उठ्न नसक्नु आफैमा बिडम्बपूर्ण हो । हामी कहाँ दुई थरीका समिक्षा पढ्न पाइन्छ । एक खालको समिक्षा पढिरहदा मनमा यस्तो प्रश्न आउछ, ‘यो समिक्षक होइन यही फिल्मका प्रचार संयोजक हुन् की क्या हो ?’ दोस्रो खालको समिक्षा पढिरहदा यस्तो लाग्छ,‘यसलाई के भाग पुगेन की क्या हो ?’

00                                          000                                                                            000
फिल्म गोपाल शर्मा (हरिवंश आचार्य)का छोरा सुरज (पल शाह) र रघुपती( रमेशरञ्जन झा) की छोरी सन्ध्या(आँचल शर्मा) विवाहको वरिपरि घुमेको छ । फिल्मको कथा यी दुई जोडीको वरिपरि घुमाएर समाजका सामयिक कथा भनिएको छ । गोपाल शर्मा त्यस्ता पात्र हुन्, जसको कुनै ठुलो महत्वकाक्षा छैन । समाजको मर्यादा र मान्यताप्रति प्रतिबद्ध गोपाल शर्मा आफ्ना छोरालाई असाध्यै माया गर्छन् । तर, रघुपतीकी छोरी सन्ध्यासँग आफ्नो छोराको विहे हुदै गरेकोप्रति उनी त्यतिधेरै खुसी भने छैनन् । त्यसको कारण हुनेबाला बुहारी सन्ध्या होइनन्, हुनेवाला सम्धी रघुपती हुन् । तराई मधेसबाट प्रतिनिधित्व गर्ने करोडपति छिमेकी नेता रघुपती गोपाल शर्माको बुझाईमा भ्रष्टचारी हुन् । तर, उनको श्रीमती दिपा (दिपा श्री निरौला) भने छोराको विहेप्रति उत्साही छिन् ।

Satri gate deepa shree niraula and Haribangsh acharya

गोपाल शर्माको अरुचीको विचमा विहेको मिति तय हुन्छ, १७ गते । तर, शर्माले शत्रुसँग मित्रता गास्ने दिन भन्दै यो मितिलाई ‘शत्रु गते’का रुपमा लिन्छन् । विहेको तयारी हुन्छ । प्रहरी ईन्पेक्टर शितल (प्रियंका कार्की) की श्रीमान् युट्युवर राहुल(दिपक राज गिरी)को कारण विहेको भाडिन्छ । त्यसपछि आउने उत्तरचढाव वरिपरि नै कथा घुमेको छ ।

राहुलको ‘यूट्युब’सँग निकै ठुलो महत्काङ्क्षा जोडिएको छ । त्यही कारण उनी युट्युमा जे पनि हाल्छन् । त्यसको बिपक्षमा छिन्, उनकी श्रीमती प्रहरी ईन्पेक्टर शितल । जे पायो त्यही हाल्दा समाजमा आउने समस्याप्रति उनी सचेत छिन् । पछिल्लो समयम ‘यूट्युब’ पछि ‘मोनिटाइजेसन’ पैसा आउने गरेको छ । ‘यूट्युब’ मार्फत पैसा कमाउनका लागि समाजमा विकृति र समस्या ल्याउने खालका भिडियोहरु प्रशस्त राखिन्छ । सामाजिक मर्यादा र व्यक्तिगत गोपनियताको समेत हनन हुने गरी भिडियोहरु राखिन्छ । युट्युवर राहुल मार्फत समाजको यही विकृती प्रस्तुत गरिएको छ । पापाराजी शैलीमा भिडियो खिचेर भाइरल गराउने राहुलले त्यही कारण परिवार र समाज नै भाँडि दिन्छन् । फिल्मले सामाजिक सद्भावको पक्षमा पनि बोलेको छ । युट्युवर राहुलले करोडपति नेता रघुपतिलाई पहाडी र मधेसी समुदायको कुरा गरेर भाड्न खोजेका छन् । तर, रघुपतिले ‘जात र समुदाको कुरा नगर्’ भनेर हप्काएका छन् । परिवारको अनिच्छा र समाजका बिभिन्न पात्रहरुको अबरोधको बिचमा पनि सुरजको र सन्ध्याको प्रेम सफल देखाइएको छ । यी दुई जोडीले युवा पुस्ताका दर्शकलाई राम्ररी तान्छ ।

यो फिल्मको कथाले भन्दा पात्रहरुको अभिनय र संवादले दर्शकलाई तान्छ । फिल्ममा अब के हुन्छ ? भन्ने भन्दा पनि अब के संवाद बोल्छन् ? भन्नेतिर दर्शकको ध्यान जान्छ । फिल्ममा सबैभन्दा जीवन अभिनय हरिवंश आचार्यको छ । हरिवंशको अभिनयले गहिरो छाप छोडेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठको भने सम्झिन योग्य त्यस्तो संवाद र भुमिका छैन । हरिवंशपछि पुराना नाट्यकर्मी समेत रहेका रमेशरञ्जन झाको अभिनय जीवन्त छ । युट्युवर दीपकराजले पनि आफ्नो भुमिका गजबले निभाएका छन् । ‘शत्रु गते’ मा उनले निभाएको भुमिका हेरीरहदा उनले ‘छक्का पन्जा’ फिल्मको उनको भुमिका दिमागमा आउछ । मिल्दो जुल्दो लाग्छन् । किरण केसी, राजाराम गौतम, दीपाश्री निरौला, वसुन्धरा भुसाल, शिवहरि पौडेल र प्रियंका कार्कीको अभिनय पनि अब्बल छ । तर, कथाका केन्द्रीय पात्रहरु पल शाहको अभिनय औसत लाग्छ । तर, आँचल शर्माको अभिनय उत्कृष्ट छ । कथाको पात्रको रुपमा अभिनय र संवादको हिसाबले सम्झिरहनुपर्ने केही पनि छैन ।

jhalnatha khanal 5
फिल्म हेर्दै एमाले वरिष्ठ नेता झलनाथ खनाल, ठाकुर गैरे लगायतका नेताहरु

फिल्मको निर्देशन प्रदीप भट्टराई गरेका हुन् । ‘जात्रा’ निर्देशन चर्चा कमाएका भट्टराईको निर्देशनलाई औसत मान्नुपर्छ । हस्तीहरुको अभिनय र संवादले नै यो फिल्म दर्शकको मित्र बनेको छ । तर उनले अभिनय क्षेत्रका हस्तीहरुको जम्बो टिमको सही परिचालन नगरेको अनुभूति हुन्छ । हरिवंश आचार्य, दिपकराज गिरी, किरण केसी, राजाराम गौतम, दीपाश्री निरौला, शिवहरि पौडेलहरुको संवादले मात्रै दर्शकहरुलाई टिकाइराख्छ । कथाको श्रृखला जसरी बग्नुपर्ने त्यो छैन । एउटै कथालाई लम्बेतान बनाइए जस्तो लाग्छ । हेलीकप्टरमा भएको पल र आँचलको विहे बढी नाटकीय छ । फिल्मको सांगीतिक पक्ष भने सवल छ । ‘पिरतीको बर्को’ र ‘रूपै मोहनी’ गीतले सबैलाई नचाउँछ । दृश्यहरु पनि दिक्क लाग्दा छन्, तराई मधेसमा अधिकांस दृश्यहरु छायाङ्गकन गरिएको छ । गीत अथवा कुनै पनि कथाको श्रृखलामा सम्झनायोग्य स्थानहरु देखिएका छैनन् ।

फिल्मको पहिलो उद्देश्य मनोरञ्जन नै हो । त्यस हिसाबले यो फिल्म उत्कृष्ट छ । करिब दुई घन्टा हाँस्दा–हाँस्दै फिल्म सकिन्छ । दुई घन्टामा सम्झना रहने गरी ‘शत्रु गते’ले दर्शकहरुसँग गहिरो मित्रता गास्छ । यो फिल्म चर्चित मात्रै होइन सम्मानित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एघार वर्षपछि बनाएका हुन् । एघार बर्ष अघि ‘जे भो राम्रै भो’ बनाएका यो जोडीले अभिनय गरेका फिल्महरु त्यति धेरै हर्र्ने अवसर नेपाली दर्शकका लागि जुटेका थिएन । यो अवसर शत्रु गते पुरा गरीदिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७