‘तीनजुरे-मिल्के, गुफा-पाथीभरा क्षेत्र प्रकृतिले पृथ्वीलाई दिएको सुन्दर उपहार हो’


१५ चैत्र २०७४, बिहीबार
tank shrestha tin jure milke

पूर्वको तीनजुरे, मिल्के, गुफा, पाथीभरा क्षेत्र प्राकृतिक हिसाबले सुन्दर क्षेत्र हो । यी क्षेत्रहरु प्राकृतिक हिसाबले सुन्दर भए तुलनात्मक रुपमा पर्यटकहरुको आवागमन भने कम छ । अद्वितीय भूबनोटका कारण नेपाल सरकारले विश्व वन्यजन्तु कोषको ‘जिवित ग्रह अभियान’को समर्थनमा २९ अप्रिल १९९७ मा कञ्चनजंघा क्षेत्रलाई ‘पृथ्वीको लागि उपहार’ घोषणा गरेको छ । प्राकृतिक रुपमा असाध्यै सुन्दर यो क्षेत्र धार्मिक, जैविक, सांस्कृति हिसाबले पनि देशकै उत्कृष्ट स्थल हुन् । तर, यी स्थानहरुमा जति पर्यटक पुग्नुपर्ने हो त्यति पुग्न सकेका छैनन् । त्यसको मुल कारण हो, यसको प्रचार–प्रसार र प्रबद्र्धन । यी क्षेत्रहरुको प्रचार–प्रसार, बिकास र प्रर्बद्धनको निम्ती ‘ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं’ले २६ चैत २०७४ बाट ३ बैसाख २०७५ सम्म ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’को आयोजना गरेको छ । यो महोत्सव किन, कस्तो हुनेछ ? यो बिषयमा ‘ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं’का उपाध्यक्ष एंव यो कार्यक्रमका संयोजक टंक श्रेष्ठसँग नयाँ पेजले गरेको कुराकानी :-

tank shrestha tin jure milke

 

 

‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’ किन ?
प्राकृतिक हिसाबले ताप्लेजुङ आसपासका क्षेत्रहरु असाध्यै सुन्दर छन् । ताप्लेजुङमा सर्वोच्च तेश्रो शिखर कञ्चनजङघा लगायत ८ हजार मिटरभन्दा माथि उचाई भएका ५ वटा हिमालहरु छन् । विश्वमा रहेका ८ हजारभन्दा अग्ला २० वटा हिमाल मध्ये १४ वटा नेपालमा छन्, ती मध्ये ५ वटा ताप्लेजुङमा पर्छ । सिंगलिला हिमश्रृङखला यही क्षेत्रमा पर्छ, जुन संसारकै सुन्दर हिमश्रृङखला हो । पाथिभरा नेपालकै प्रसिद्ध धार्मिक स्थल हो । कञ्चनजङघा क्षेत्र अद्धितिय भुवनोटको भएको कारण सरकारले पृथ्वीको लागि उपहार घोषणा गरेको छ । अद्वितीय भूबनोटका कारण नेपाल सरकारले विश्व वन्यजन्तु कोषको ‘जिवित ग्रह अभियान’को समर्थनमा २९ अप्रिल १९९७ मा कञ्चनजंघा क्षेत्रलाई ‘पृथ्वीको लागि उपहार’ घोषणा गरेको हो ।

तिनजुरे, मिल्के र जलजले क्षेत्र गुराँसको राजधानी हो । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन्, ती मध्ये नेपालमा ३२ प्रजातिका छन् । नेपालमा पाइने ३२ प्रजाति मध्ये यही क्षेत्रमा २८ प्रजातिका यही क्षेत्रमा पाइन्छन् । १७१ प्रजातिका सुनाखरी, दुर्लभ वन्यजन्तु, पशुपंक्षी, चराचुरुंगी र दुर्लभ वनस्पतिको भण्डारको रुपमा पनि पाथीभरा क्षेत्रलाई चिनिन्छ । यी क्षेत्र नेपालकै सुन्दर क्षेत्र हो । हामीसँग यति सुन्दर उपहार छ । तर, प्रचार प्रसार अभावमा तुलनात्मक रुपमा पर्यटकहरु जान अथवा लैजान सकिरहेका छैनौं । यो क्षेत्रको प्रचार प्रसार गरेर पर्यटकीय स्थलको बिकास र प्रबद्र्धन गर्ने उद्देश्यले यो पदयात्रा महोत्सवको आयोजना गरिएको हो । यस्तै पर्यटकीय क्षेत्रमा रहेका धार्मिक स्थलहरु, दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पतिहरुको महत्वको बारेमा स्थानीयबासी तथा सरोकारवाला तथा स्थानीय जनताहरुलाई बुझाएर संरक्षणमा लाग्न प्रेरित गर्नु पनि यसको अर्को उद्देश्य हो । यो जागरण पैदा गर्ने अभियान पनि हो । ताप्लेजुङ र आसपासका क्षेत्रहरुको पर्यटकीय सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा यो कार्यक्रम निकै उपलब्धीमुलक हुनेमा हामी ढुक्क छौं ।

पदयात्रा र महोत्सव दुबै भन्नुभएको छ नी, यो भनेको कस्तो हो ?
अहिले पाथीभरा जादा इलाम पाँचथरको बाटो मात्रै प्रयोग भएको पाइन्छ । तर, हामीसँग साथमा वैकल्पिक रुट अथवा अन्य बाटोहरु पनि छन् । जुन बाटो भएर जादा पाथीभरा पुग्दासम्म अथवा जानेबाटोमा अनेकौं सुन्दर पयटकीय स्थलहरु छन् । तीनजुरे, मिल्के जलजले क्षेत्र यस्तो छ, जो तपाईलाई सुन्दर बगैचा जस्तै लाग्छ । सूर्यदयको दृश्य तीनजुरेदेखी असाध्यै सुन्दर देखिन्छ । यस्ता अनेकौ सुन्दर स्थानहरु छन् । ती स्थानहरुको प्रचार र परिचयको लागि पनि हामीले पदयात्रासँगै महोत्सवको आयोजना गरेका हौं । हामी धरान भएर धनकुटा हुदै तेहथुमको बसन्तपुरबाट यात्रा सुरु गर्छौं । हरेक मुख्य स्थानहरुमा स्थानीय तह र जनताहरुले बिबिध कार्यक्रमको आयोजना गर्नु हुनेछ । स्थानीय जनता, सरोकारवाला निकायहरु सहभागी हुनेछन् । पर्यटनको महत्वको बारेमा हामी त्यहाँ भन्नेछौं, बहस गर्नेछौं । यसले जागरण पैदा हुनेछ । बिचमा पर्ने हरेक स्थानमा कार्यक्रम हुनेछन् । त्यही भएर हामीले पदयात्रा र महोत्सव भनेका छौं ।

कस्ता कस्ता कार्यक्रम हुनेछन् ?
कार्यक्रम चैत २६ देखी सुरु भएर बैसाख ३ गते समापन हुनेछ । काठमाडौंबाट सुरु भई टुटे देउरालीबाट पदयात्रा गर्दै तीनजुरे–चौकी–गुफापोखरी–मिल्के हुँदै पाथीभराको चुलीमा पुगि फर्केर फिदिम–सिलौटे–पौवाभञ्ज्याङ–कन्याम–श्रीअन्तुहुँदै काठमाडौंमा यो यो यात्रा समापन हुनेछ । पदयात्राका क्रममा धरान, टुटेदेउराली, पाँचथर, इलाम, विर्तामोडमा पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरु, चौकीमा लालीगुराँशसम्बन्धी जनचेतनामूलक कार्यक्रम, गुफामा लालीगुराँशको सरक्षण र विकाससम्बन्धी र मैवाखोला गाउँपालिकाको साँघुमा ताप्लेजुङको विकासमा पर्यटनको भूमिका विषयक कार्यक्रम हुनेछ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सांसद मा. योगेश भट्टराईले ताप्लेजुङको विकास : सम्भावना र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । पाथीभराको चुलीमा २०७५ साल वैशाख १ गते ‘ताप्लेजुङको पर्यटन विकासमा पाथीभरा’ विषयक संक्षिप्त गोष्ठीको आयोजना गरिने छ । फर्कदा पाँचथरमा पुर्वी पहाडको पर्यटनमा सिलौटे शिर्षकमा प्रवद्र्धनात्मक कार्यक्रम हुनेछ । यसरी पदयात्रा महोत्सवको सिंगो टोली पर्यटकीय सम्पदा÷क्षेत्रको संरक्षण र विकासका साथै पर्यटन प्रवद्र्धनका लागि सद्भावना दुतको रुपमा यात्रामा सहभागी हुनेछन् ।
म तपाईलाई हाम्रो ठ्याक्कै तालिकाको सूची नै राख्न चहान्छु:-
तालिका
– चैत्र २६ गते अपरान्ह ३ः०० काठमाडौंबाट प्रस्थान
– चैत्र २७ गते बिहान धरानबाट प्रस्थान । भेडेटार दृश्यावलोकन । वसन्तपुर लालीगुराँश पार्क अवलोकन, टुटे देउरालीबाट पैदल यात्रा सुरु, तीनजुरेमा बास ।
– चैत्र २८ गते तीनजुरेबाट हिमश्रृंखलाको दृश्यावलोकन । चौकीमा खाना । चौकी–मंगलबारे–गुफा क्षेत्रको अवलोकन र साँझमा मेन्छ्यायेम डाँडाबाट सुर्यास्तको दृश्यावलोकन । गुफामा वास ।
– चैत्र २९ गते बिहान मेन्छ्यायेम हाइटबाट सूर्योदयका साथै कंचनजंघादेखि गौरीशंकरसम्मको दृश्यावलोकन । मिल्केमा ब्रेकफास्ट । मिल्के क्षेत्रमा पाइने सबैभन्दा बढी गुराशको अवलोकन गर्दै साँघुमा लञ्च र कार्यक्रम गरी ढुंगेसाँघुमा मदन भण्डारीको जन्मघर अवलोकन पछि वास ।
– चैत्र ३० गते बिहान दोभान त्रिवेणीमा नदी अवलोकन पश्चात ब्रकेफास्ट गरी ताप्लेजुङ बजारमा खाना र कार्यक्रम, बजारबाट सुकेटार पं्रस्थान, सुकेटारको दृश्यावलोकन गरी पाथीभरा फेदीमा वास ।
– २०७५ साल वैशाख १ गते पाथीभरा डाँडाबाट सूर्योदय र त्यहाँबाट देखिने हिमश्रृंखलाहरुको दृश्यावलोकन, पाथीभरा देवीको दर्शन र नयाँ वर्ष २०७५ हर्षोल्लासका साथ मनाउने । साँझ सुकेटारमा नयाँ वर्ष सहभोजमा सामेल ।
– वैशाख २ पाँचथरको सिलौटे–पौवाभन्ज्याङ–कन्यामलगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी श्रीअन्तुमा वास ।
– वैशाख ३ गते बिहान श्रीअन्तुबाट सुर्योदयको दृश्यावलोकन गरी उत्सवमय र रोमाञ्चकारी यात्राको सम्झना बोकेर काठमाडौंं प्रस्थान । (विर्तामोडमा ताप्लेजुङ सरोकार समाज, झापाको सम्लग्नतामा पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रममा सामेल)

तपाईहरुले नयाँ रुट बनाउन खोज्नु भएको हो ?
यो क्षेत्रमा यसअघि पनि पर्यटकहरु गइरहेका छन् । तर, जति जानुपर्ने हो त्यति छैन । पर्यटकीय रुटको रुपमा स्थापित हुदैछ । यसलाई पर्यटकीय सर्किटको रुपमा बिकास गर्न खोजेका छौं । त्यसको महत्वको बारेमा सबैलाई बुझाउने हो । ताप्लेजुङको पाथीभरालाई केन्द्र बनाएर तीनजुरे–गुफापोखरी–पाथीभरा–सिलौटे–श्रीअन्तु टुर एण्ड ट्रेक्स सर्किटको नयाँ ट्रेकिङ सर्किटको विकास गर्न खोजेका हौं ।

यो क्षेत्रमा पर्यटकहरु पर्याप्त नजानुको कारण के हो ?
मैले अघि नै भनीसके यसको पर्याप्त प्रचार–प्रसार र सरकारी तवरबाट प्रवद्र्धन र बिकासको अभाव हो । हामीसँग धर्तीकै सुन्दर प्राकृतिक सम्पदाहरु यस क्षेत्रमा छन् । खासगरी पश्चिम नेपालका औसत पर्यटकीय स्थलहरुमा नै हजारौं पर्यटकहरु पुगिरहेका हुन्छन् । तर, यस क्षेत्रमा असाध्यै कम संख्यामा पुग्छन् । यसको मतलब हामीले यसको महत्व बुझाउन सकेका छैनौं । स्थानीयहरुले पनि कम बुझेका छन् । हामीले यसको महत्व बुझेर सबैलाई बुझाउन सके लाखौं पर्यटकरु जाने निश्चित छ ।

यो क्षेत्रको बिकासको निम्ती सरकारसँग तपाईहरुको अपेक्षा के छ ?
सरकारले अब देश समृद्धिको अभियानमा गयो भनिरहेको सन्दर्भमा यस्ता पर्यटकीय स्थलहरु समृद्धिको लागि सहयोगी बन्छ । नेपालको समृद्धिको लागि ठुलो आधार पर्यटन उद्योग नै हो । भएका वा चल्तीमा रहेका पर्यटकीय स्थलहरुमा पर्यटक जाने नै भए । यस्ता कम प्रचार भएका पर्यटकीय स्थलकोहरुको आवश्यक बिकास र प्रबद्र्धनको निम्ती सरकारले ठोस सहयोग गर्नुपर्छ । खासगरी यो रुटको लागि आबश्यक भौतिक संरचना निर्माण, प्रचार प्रसारको लागि सरकारी कदम र जागरण पैदा गराउन ठोस कार्यक्रम दिनुपर्छ । केन्द्र, प्रदेश र स्थानीय तिनै तहको सरकारले ध्यान जानुपर्छ भन्ने लाग्छ । सबैभन्दा ठुलो भुमिका स्थानीय सरकार र स्थानीयकै हुन्छ, हुनुपर्छ । पर्यटकीय संस्कृति र चेतना महत्वपूर्ण छ ।

महोत्सवको तयारी कस्तो चलिरहेको छ ?
कार्यक्रम लागि बिभिन्न समिति तथा उपसमिति तयार भएको छ । सरोकार समितिका सबै जुटिरहेका छौं । बिभिन्न स्थानहरुमा कार्यक्रम लागि समन्वय व्यक्ति तोकेका छौं । मुल आयोजक समिति बनेको छ । सचिवालय बनेको छ । सल्लाहकार तथा परामर्श समिति बनाएका छौैं । हामीले ताप्लेजुङका माननीय योगेश भट्टराईको साथ, सहयोग र संरक्षकत्व पाएका छौं । उहाँ यो कार्यक्रमको परिकल्पनाकार पनि हुनुहुन्छ । ताप्लेजुङ, तेरथुम, संखुवासभा र पाँचथरलगायतका माननीय सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय स्थानीय नगरपालिका-गाउँपालिकाका जनप्रतिनिधिहरुसँग पनि समन्वय हुदैछ । उद्योगवाणिज्य सघ, पर्यटन व्यवसायी, पत्रकार, लेखक–कलाकार, बुद्धिजीवि, सामाजिक-राजनीतिक अभियन्ताहरु, उद्योगी–व्यापारीहरुको पनि सहयोग छ । व्यबस्थित रुपमा तयारी जारी राखेका छौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७