एउटी निर्भिक नारीको कथा


१८ चैत्र २०७४, आईतवार
Devimaya pun Gurkhas Leader 1

नेपाली समाजमा लाहुरे–लाहुरेनी भन्ने शब्द निकै लोकप्रिय छ । तर, लाहुरे–लाहुरेनी बिम्ब भने उतिधेरै प्रियकर छैन । लाहुरे–लाहुरेनीलाई नेपाली समाजले जसरी हेर्छ, त्यो उतिधेरै प्रियकर लाग्दैन । लाहुरे–लाहुरेनी एउटा गलत ‘फ्रेम’बाट हेरिन्छ । त्यो हो, सुख, सुबिधा र मोज मस्तीको पर्याय । तर, उनीहरुले खेपेको विगत र भोगीरहेको वर्तमानलाई केलाउने हो भने लाहुरे–लाहुरेनी दुःख र पीडाको अन्तत: श्रृखला हो ।

लाहुरे अर्थात् बेलायती सेनामा भर्ती भएर काम गर्ने गोर्खा सैनिक । लाहुरे बन्ने श्रृखलाले दुई सय वर्ष पार गरेको छ । गोर्खा सैनिकहरुले सन् १८१६ देखी आजसम्मका प्रत्येक सैनिक मोर्चाहरुमा ब्रिटिस साम्राज्यको पक्षबाट लडेका छन् । पहिलो र दोस्रो विश्वयुद्ध तथा त्यसपछिका अनेकौं युद्धहरुको अग्रमोर्चामा रहेर ब्रिटिस साम्राज्य विस्तार रक्षाको लडे । पहिलो र दोस्रो विश्वयुद्ध तथा त्यसपछिका अनेकौं युद्धहरुको अग्रमोर्चामा रहेर ब्रिटिस साम्राज्य विस्तार रक्षाको लागि लड्यौं । यसबिचमा गोरखा सैनिकहरुले १३ वटा भिक्टोरिया क्रस, दुईवटा जर्ज क्रस सहित ६५०० ठुला तक्माहरु पाए । हजारौंको संख्यामा तक्मा तथा बहादुरीका विभुषण पाए । हजारौं पूर्खाहरु मारिए । लाखौं घाइते र बेपत्ता भए । परिणामतः संसारभरी बेलायतले आफ्नो साम्राज्य विस्तार गरे । कहिल्यै सूर्य नअस्ताउने देशको स्थापित भयो ।

गोर्खाहरुकै कारण विश्व रंगमञ्चमा ब्रिटिस एउटा सर्वशक्तिमान राष्ट्र बन्यो । तर, युद्धपछि तिनै गोरखा सैनिकहरुलाई विभेद मात्रै होइन चरम अन्याय र शोषण गरियो । न्युनतम् मानविय व्यवहार समेत गोरखाहरुमाथि भएन । त्यही शोषण र विभेद विरुद्धमा २०४६ साल गोर्खाहरुले अवनरत रुपमा न्यायिक संघर्ष गरिरहेका छन् । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को नेतृत्वमा भएको अभियान र आन्दोलनले गोर्खाहरुले केही हदसम्म न्याय पाए । यो आन्दोलनमा अविचलित रुपमा लाग्ने मध्येका एक हुन्, देवीमाया पुन । जो अहिले गोर्खा भूतपूर्व सैनिक संघ(गेसो)को कोषाध्यक्षको भूमिकामा क्रियाशिल छिन् ।

 

Devimaya pun Gurkhas Leader 1

अविचलित आन्दोलनमा
गेसो आन्दोलनको कारण आवासीय भिसा लगायतका प्राप्तीहरु भए । गोर्खा आन्दोलनको कारण थप प्राप्तीहरु हुने क्रममा छन् । तर, यो आन्दोलनको कथा-व्याथा भने निकै गहिरो छ । अनेकौं अबरोध, समस्या र अप्ठ्यारा पार गरेर यहाँसम्म आइपुगेको छ । ती सबै आरोह-अवरोह, अप्ठ्याराहरुको साक्षी हुन् देवीमाया पुन । २२ बर्ष अर्थात् २०५३ साल यता अविचलित रुपमा आन्दोलन र अभियानमा जुटेकी देवीमायाले यसविचको सबै आरोह-अवरोह भोगेकी छिन् । खपेकी छिन् । खेपेकी छिन् । मुलतः २०५३ देखी नै आक्रमक रुपमा अघि बढेको गोर्खा आन्दोलनले अनेकौं अबरोध भोग्नु परेको छ । कहिले देब्रे कुनाबाट त, कहिले दाहिने कुनाबाट प्रहार भएको छ, यसको नेतृत्वमाथि । ती सबै भोगेकी छिन् उनले । भन्छिन्, ‘आन्दोलनको क्रममा घटेका घटना र परिघटनाहरु सबैको साक्षी हुँ ।’ गेसो ललितपुर महिला कमिटिबाट यात्रा सुरु गरेर केन्द्रीय सदस्य हुदै हाल कोषाध्यक्षको भुमिकामा छिन् उनी ।

गेसो आन्दोलनले भोगेको मुलत तीनवटा समस्या थियो । पहिलो ब्रिटिस सरकार पक्षबाट भएको अबरोध, यो वा त्यो बहनामा गोर्खाहरुले नै गरेको अबरोध, अर्को संगठनभित्रैकै अन्तरकलह । यी समस्याहरुले धेरै अभियान्ताहरु आन्दोलन छोडेर हिडे । अथवा हिड्न बाध्य पारियो पनि । तर, ती सबै अबरोधको बिच देवीमाया भने निरन्तर आन्दोलनमा लागिरहेकी छिन् । उनी भन्छिन्,‘मान्छेहरु सोच्छन्, यो आन्दोलन सजिलै गरी आइपुग्यो । तर, हामीले भोगेको अनेकौ पीडा, समस्या र अबरोध कहाली लाग्दो छ ।’

कुनै चलचित्रको कहानी भन्दा कम छैन गेसो आन्दोलनको अवरोह । तर, उनी यस्ती निर्भिक नारी हुन् जसले अनेकौं अबरोध, आलोचना र पीडा सजिलै पचाएर यो आन्दोलनमा निरन्तर छिन् । यो आन्दोलनमा उनले के मात्रै गरिनन्, झन्डा बोक्नेदेखी लिएर अभियानमा हिड्ने । अफिस व्याबस्थापनदेखी खर्चबर्चको जोहो सबै । जो अहिले पनि गरीरहेकी छिन् । आन्दोलन माथिको प्रहार एकातिर थियो । यही आन्दोलनमा लागेका नेतृत्वमाथिको प्रहार झनै निर्मम थियो । कतिपय अवस्थामा देवीमायातिर ताकेर अनेकौ प्रहार नगरिएको होइन । तर, उनले दृढताको साथ प्रतिरोध गरिन् । कहिले देब्रे कुनाबाट कहिले दाहिने कुनाबाट हुने प्रहार र आलोचना सहेर पनि उनी निरन्तर आन्दोलनमा लागिन् । भन्छिन्, ‘गोर्खाहरुको न्याय प्राप्तीको आन्दोलनमा हामीले पटक पटक बिष पिएर पनि बाँचेका छौं ।’

भूपूहरुको प्रिय देवीमाया
गेसोको पहिलो चरणको आन्दोलनको उत्कर्ष थियो २००९ । २००९ मा गोर्डन ब्राउन नेतृत्वको तत्कालीन ब्रिटिस सरकारले ब्रिटिस सेनामा कम्तीमा चार वर्ष सेवा गरेका तथा सन् १९९७ अघि सेवा निवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुलाई ब्रिटेनमा आएर बसोबास गर्न अनुमति दिएको थियो । कार्यरत गोर्खा सैनिकहरुको हकमा समानता दिइएको थियो ।

गेसोको यो अभियानमा ब्रिटिस अभिनेत्री जोआना लुम्ले र ब्रिटिस सांसदहरुको दबाबपछि तत्कालीन ब्रिटिस सरकारले ब्रिटिस सेनामा कम्तीमा चार वर्ष सेवा गरेका गोर्खा सैनिकहरुलाई आवासीय अधिकार दिने घोषणा गरेको थियो । यो घोषणापछि हजारौंका संख्यामा भूपू गोर्खाहरु बेलायतका जानका लागि अघि सरे । तर, भूपूहरुलाई यसको कानुनी र अद्यागमन प्रक्रिया थाहा थिएन । गेसोले यसको लागि हेल्प डेस्क जस्तै स्थापना गरेको थियो । त्यसको कमाण्ड सम्हालिन् देवीमायाले । हरेक भूपूहरुलाई बेलायतसम्म जानका लागि उनले सल्लाहदेखी भिसा लगाउनसम्म सहयोग गरिन् । भिसा सेन्टरमा लैजानेदेखी वकिलहरुसँग समवन्य गराउने लगायतका काम गरिन् । जति अहिले बेलायत पुगेका छन् । ती मध्ये अधिकांसलाई उनले सहयोग गरेकी छिन् । भन्छिन्,‘मैले जे गरे आज पनि सन्तोष लाग्छ, खुसी लाग्छ । मैले सहयोग गरेका आमाबुवाहरु बेलायतमा खुसीको साथ बसीरहनुभएको छ ।’

अहिले पनि उनी बेलायतमा बसेर ती बृद्धबृद्धा भूपूहरुलाई सहयोग गरीरहेकी छिन् । उनीहरुको सुखदुःखमा साथ दिएकी छिन् । त्यसो त बेलायतमा आफ्ना आफन्ता र सहयोगी नभएका भूपूहरुले केही अप्ठ्यारो पर्ने बित्तिकै देवीमायालाई सम्झिन्छन् । उनी दौडेर सहयोग गर्न पुग्छिन् । भन्छिन्,‘भूपूहरुलाई सहयोग गर्नु त मेरो रुटीन र आदत जस्तै भइसक्यो । दिनहुँ जसो केही न केही सहयोग गरीरहेकै हुन्छु ।’ आफूले सहयोग गरेर पठाएका भूपूहरु बेलायतमा देख्दा उनी रोमाञ्चित हुन्छिन् ।

लाहुरेनीको दुःख
नेपाली समाजमा लाहुरेनीको बिम्ब प्रियकर छैन । सुख सुबिधाको बिम्बको रुपमा लिइन्छ । तर, देवीमाया यसलाई मान्न तयार छैनन् । सुख सुबिधा होइन अनन्त संघर्षको श्रृखला लाहुरेनीसँग रहेको उनको अनुभव छ । बागलुङदेखी हङकङ हुदै नेपाल, नेपालदेखी बेलायतसम्मको उनको यो यात्रामा उनी जस्तै लाहुरेनीहरुको अनेक दुःख उनले देखेकी छिन् । लाहुरे अर्थात् परिवारसँग लामो छुट्टिएर बस्नु पर्छ ।

त्यतिमात्रै होइन परिवारका सबै जिम्मेदारी महिलाकै काँधमा हुन्छ । त्यो जिम्मेदारी सबै महिलाले उठाउनुपर्छ । नेपाली समाजमा सबैभन्दा बढी संघर्ष गर्ने समुदायको रुपमा लाहुरेनीलाई लिनुपर्ने उनको तर्क छ । भन्छिन्,‘हामी हिमाल जस्तो हौं, टाढाबाट हेर्दा सुन्दर देखिन्छौं तर, हिमालको चिसोमा कति पीडा सहनुपर्छ त्यो हामीलाई मात्रै थाहा हुन्छ ।’ अनेक प्रश्नको समाना गरेर, चुनौतीलाई उठाएर लाहुरेनीहरुले परिवार धानेको उनको बुझाई छ ।

देवीमायाको सपना
तीन साता अघि बेलायतबाट नेपाल आएको बेला देबीमाया निकै भावुक देखिइन् । करिब २२ बर्षे आन्दोलनको अनेक सुखदुःख छन् । उनीहरुकै कारण गोर्खाहरु बेलायत पुगेका छन् । बेलायतमा बिभिन्न समुदायका व्यबस्थित भवन बनेको छ । तर, जसले बेलायत पुरायो त्यही संस्था अभावमा छ । उसको एउटा पनि भवन छैन । उनले भनिन्,‘अब हाम्रो व्यबस्थित भवन बनाउने हाम्रो सपना छ ।’

भूपूहरुकै सहयोगको कारण नेपाल र बेलायतमा अनेकौं संगठन र संस्थाहरुको भवन बनेका छन् । अधिकांस जातिय संस्थाहरुको भवन भूपूहरुको आर्थिक सहयोगमा नै बनेको छ । उनले सुनाइन्, ‘बिडम्बना अहिलेसम्म हाम्रो एउटा आफ्नो कार्यालय समेत छैन । कहिले यता कहिले उता सार्दै सानो कोठामा कार्यालय चलाइराख्नु परेको छ । दैनिक जसो सैयौं भूपू र तिनका सन्तानहरु समस्या लिएर कार्यालयमा आउँनुहुन्छ । उहाँलाई बस्ने ठाउँ समेत छैन । एक हिसाबले यस्तो बिजोगको अवस्था देख्दा सबै मन अमिलो हुन्छ ।’

अर्कातिर भवन नहुँदा गेसो अभियान र आन्दोलनका महत्वपूर्ण दस्ताबेजलाई समेत राम्रोसँग राख्न सकिएको छैन । गौरवमय आन्दोलनका अनेकौं दस्ताबेज, तस्बिर र भौतिक सामग्रीहरु छन् । त्यस्ता महत्वपूर्ण दस्ताबेजहरु साँघुरो गोदाममा थन्किएको छ । भन्छिन्, ‘यदि अहिल्यै हामीले व्यबस्थित नगर्ने हो भने हाम्रा ती महत्वपूर्ण दस्ताबेजहरुमा बिस्तारै माउ लाग्नेछ । सडेर जाने निश्चित छ । आन्दोलन र अभियानको इतिहास नै बिस्तारै नामेट भएर जानेछ ।’ सकेसम्म सबै शाखाहरुको नभए पनि बेलायत र नेपालमा दुई भवन चहिँ बनाउनुपर्नेमा उनको जोड छ ।

गोर्खा आन्दोलनको गौरवमय इतिहास र आन्दोलनको एउटा भौतिक संग्रह गरेर हाम्रा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने देबीमायाको भनाई छ । उनले भनिन्, ‘केही पनि मान्छेको जीन्दगी अजम्बरी छैन । हाम्रो जीन्दगी नाशवान् छ । हामीले भोलीका पुस्तालाई दिने भनेको यही इतिहास नै हो । हामी सबै मिलेर यस्तो उपहार दिऊ की भोलीका हाम्रा पुस्ताले हाम्रो कार्यालय भित्र छिरेर हेर्दा गर्व गर्न सकुन् । श्रद्धाले शिर निहुराउन सकुन् । खुसीको आँशु बगाउन सकुुन् । हो, हामीले त्यही उद्देश्यको साथ गेसो भवनको अवधारणा अघि सारेका छौं ।’

२००९ पछि अधिकांस भूपूहरु बेलायतमा पुगे । उतै बसोबास छ । उनीहरुका छोराछोरीका लागि देश बिरानो जस्तो भइसक्यो । कतिपय आफ्ना इतिहासदेखी नी बेखबर छन् । अब ती बसैलाई मध्यनजर गरेर गोर्खा आन्दोलनले अभियान चलाउनुपर्ने उनको तर्क छ । त्यसो त देवीमाया गोर्खासँगै बेलायतको जनजाति आन्दोलनमा पनि सक्रिय छिन् । हाल उपाध्यक्षको भुमिकामा छिन् । बेलायतमा आदिवासी जनजाति अभियान र आन्दोलनलाई पनि थप व्यबस्थित बनाउनुपर्नेमा उनको जोड छ ।

देवीमायाको आँशु
उपलब्धीको हिसाबले नगरिकस्तरबाट गरिएको आन्दोलन मध्ये गोर्खा नेपाल मात्रै नभएर विश्वकै उत्कृष्ट आन्दोलन हो । तर, यो आन्दोलनको समस्या र पीडा बारेमा कमलाई मात्रै थाहा छ । ती मध्येका हुन् एक देवीमाया । आन्दोलनबाट धेरै हराए । पलाएन भए । अथवा भागे । ती सम्झिदा देवीमाया भावुक हुन्छिन् । त्यस्ता अबरोध हुदा उनीहरु कैयौ पटक रोएका छन् । उनी पनि रोएकी छिन् ।

कतिपय मान्छेहरु लोभमा फसेको, कति मान्छे किनिएको त कति मान्छेहरुको नियत नै गलत भएको उनको बुझाई छ । कति चहिँ यो आन्दोलनमा धेरै ठुलो योगदान गरेर पनि गतल मान्छेहरुको सल्लाहले गलत बाटो रोजेको उनको तर्क छ । भन्छिन्,‘गलत सल्लाहको कारण गलत बाटो रोजेकाहरुले कुनै दिन हामीलाई सम्झिेर रुने छन् । र, हामी कहाँ फर्केर आउँनेछन् ।’ ती योगदान गर्नेहरुप्रति आफूहरुको सम्मान रहे पनि गलत मान्छेको सल्लाहले टाढिएको उनको बुझाई छ । भन्छिन्,‘दुःख लाग्छ, तर कुनै दिन पश्चताप गर्नुहुनेछ ।’ अब बन्ने भवनमा ती योगदान गर्नेहरुको सबैको तस्बिर र इतिहास राखिनुपर्ने उनको तर्क छ । उनले सुनाईन्,‘उहाँहरुले जे बुझे पनि हामी इतिहास भुल्ने छैनौं । बरु, त्यो महसुश पो कहिले गर्ने हुन् ।’ देवीमायाले आशा गरे जस्तै बाटो भुलेकाहरुले मुलबाटो सम्झेर कहिले फर्किने हुन् कुुन्नी ?

  • राजेश राई

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७