हिरो बन्दै आएका दयाहाङ्ग बने ‘गब्बरसिंह’


२२ चैत्र २०७४, बिहीबार
dayahang2

काठमाडौं, २२ चैत : अहिलेको चर्चित अभिनेता दयाहाङ्ग राई यस वर्षको अन्तिम फिल्म ‘नेप्टे’ लिएर आउँदैछन् । यो फिल्म चैत ३० गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यसमा उनले पहिलो पटक नेगेटिभ क्यारेक्टर निभाएका छन् । फिल्मको ट्रेलरबाट पनि धेरथोर प्रष्ट हुन्छ । dayahang2

उनले फरक भूमिका निर्वाहा गर्ने सोचका कारण ‘नेप्टे’ मा खलपात्रको भूमिका निर्वाहा गरेको बताएका छन् । उनी भन्छन्, ‘केही फरक गरुँ भन्ने लागेको थियो । यसबीच ‘नेप्टे’ मा फरक भूमिका भेटें । म आफैंले उक्त क्यारेक्टर रोजेको हुँ । यसमा मेरो भूमिका न नेगेटिभ न त पोजेटिभ नै हो । के हो भन्ने कुरा त दर्शकले मूल्यांकन गर्नुहुन्छ ।’

उनले नेगेटिभ क्यारेक्टर गर्नमा झन् मज्जा आउने बताउँछन् । उनले थपे, ‘नेप्टे’ मा मेरो डार्क साइड मात्र देखाइएको हुँदा भिलेन जस्तो लागेको हो । एउटा गलत कामले गर्दा उसलाई समाजले नराम्रो सम्झन्छ । फिल्ममा उसले गर्ने राम्रा कामहरु पनि देखाइएको छ । भिलेन भन्दै गर्दा डरलाग्दो क्यारेक्टर भने छैन ।’ फिल्मका निर्माता तथा कलाकार रोहित रुम्बा, दयाहाङलाई ‘नेप्टे’ को गब्बर सिंह भन्दछन् । उनी भन्छन्, ‘फिल्मको ऊ हिरो र भिलेन दुबै हो । फिल्ममा उसको क्यारेक्टर स्टाइलिस छ । दयाको इन्ट्री हुँदा डर होइन दर्शकले मनोरञ्जनको प्याकेज भेट्छन् ।’

उनी दयाहाङका कारण फिल्ममा आफू ओझेलमा परेपनि खुसी हुने तर्क राख्छन् । उनी भन्छन्, ‘दयाहाङले जुन क्यारेक्टर रोज्यो त्यसका लागि म उसलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । मैले हिजो मात्र पूरा फिल्म हेरेँ । फिल्मभरी दयाहाङ छाएको छ । उसको कारण म ओझेलमा भन्दा पनि उसको कारणले मलाई चाहीँ फाइदा हुन्छ ।’
देवकुमार श्रेष्ठ निर्देशित यस फिल्मको ‘सुपारी काँचो’ गीत र कमेडी ट्रेलरले यतिबेला फिल्मको चर्चा थप चुलिएको छ । दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाललगायतका कलाकारहरुको अभिनय रहेको ‘नेप्टे’ का निर्माता रुम्बा आफैं हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७