चितवनमा अज्ञात रोगबाट तीन हजार पाँच सय कुखुरा मरे


२३ चैत्र २०७४, शुक्रबार
chiken

चितवन २३ चैत  । शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन्।

chiken

फाइल तस्बिर ।

करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन्। यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिए। कुन रोग लागेको भन्ने पहिचान भने भएको छैन।

‘एक्कासि कुखुरा झोक्राउने र मर्ने भयो’, लामिछानेले भने, ‘ल्याबमा चैत १६ गते र २० गते नमूना पठाए पनि अहिलेसम्म केही जानकारी आएको छैन।’ उनका अनुसार फार्ममा बाँकी रहेका एक हजार ६०० कुखुरासमेत मर्ने अवस्थामा पुगेका छन्।

सो जानकारी आएपछि बिहीबार जिल्ला पशुसेवा कार्यालय, चितवनले फार्मको स्थलगत निरीक्षण गरेको छ। पशुसेवा कार्यालयका पशु चिकित्सक डा विकास श्रेष्ठले कुखुराको मृत्युदर धेरै रहेको जानकारी दिँदै परीक्षणको रिपोर्ट नआएसम्म यसै भन्न नसकिने बताए।

चैत २० गते भरतपुरस्थित पक्षीरोग अन्वेषण प्रयोगशालाबाट नमूना थप परीक्षणका लागि काठमाडौँ पठाइएको श्रेष्ठ बताउछन्। उनले बर्डफ्लूसँग मिल्ने लक्ष्य भने नदेखिएको दाबी गर्दै कुन रोग भनेर यसै भन्न नसकिने बताए।

अण्डा दिन थालेको तीन महिना नहुँदै अचानक रोग लागेर कुखुरा मरेपछि अहिलेसम्म रु ४० लाखभन्दा बढी क्षति भइसकेको जनाइएको छ। शुरुमै पशुसेवा कार्यालयलाई जानकारी दिँदा चासो नदिएको आरोप कुखुरापालक किसानको छ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७