एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’
काठमाडौं : काठमाडौंमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा गोरखाहरुको मुद्दाले स्थान पाएको छ । सम्मेलनको अन्तिम दिन मंगलबार गोरखा सैनिकहरुको मुद्दाको बिषयमा पनि छलफल भएको हो ।
मंगलबारको बिषयगत छलफलको ‘सेसन’मा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोरखाहरुको तर्फबाट आफ्नो प्रस्तुत राखेका हुन् । उनले आफ्नो प्रस्तुती राख्दै गोरखा सैनिकहरुको इतिहास, गोरखा आन्दोलन, आन्दोलनका उपलब्धी, हालका गोरखाहरुको अजेन्डा र मागका बारेमा जानकारी दिएका थिए । सभापति राईले हाल बेलायत सरकार, नेपाल सरकार र गोरखाहरुबिच त्रिपक्षीय वार्ता जारी रहेको जानकारी दिदैं वार्तामा गोरखाहरुले राखेका माग पुरा गराउनका लागि एनआरएनएले संसारभरीबाट दबाब दिन अनुरोध समेत गरे । उनले संसारभरीका नेपालीहरुलाई गोरखाहरुको न्यायपूर्ण आन्दोलनमा साथ, सहयोग र समर्थन जनाउन अपिल समेत गरे । भने,‘हाम्रो पीडा तपाईहरुको पनि पीडा हो, तपाईहरुको दुःख हाम्रो पनि दुःख हो भन्ने हाम्रो बुझाई छ । हाम्रो अभियान र आन्दोलनमा तपाईहरुको साथ, सहयोगको अपेक्षा गरेका छौं ।’
गोरखाहरुको मुद्दा सबै नेपालीहरुको मुद्दा भएको उल्लेख गर्दे गेसो सभापति राईले गोरखाहरुको मुद्दा, पीडा र समस्याले सबै नेपालीहरुलाई छुनुपर्ने बताए । उनले गोरखाहरुको पीडा र समस्याप्रति सबै गम्भिर नभएको गुनासो समेत गरे । उनले विश्वभरका नेपालीहरुलाई सोधे,‘हामी गोरखाहरुले सात समुन्द्र पारी भोगिरहेका, खेपिरहेका समस्याले संसारभरीका नेपालीहरुलाई छुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अरुको समस्या र पिडाले छुदा गोर्खाहरुको पीडाले किन छँुदैंन ?’ सभापति राईले आफ्नो प्रस्तुती राख्दा सबैले चासोका साथ सुनेका थिए ।
‘उपलब्धी नजिक छौं, सबैले दबाब दिनुहोस्’
सभापति राईले गोरखा, बेलायत सरकार र नेपाल सरकारबिच त्रिपक्षीय वार्ता जारी रहेको बताउदै सबैले दबाब दिन अनुरोध गरे । उनले भने, ‘गोरखाहरुको माग सम्बोधनको निम्ती बेलायत सरकार केही सकरात्मक देखिएको छ । हामी आशाबादी छौं । छिटो समधानको निम्ती सबैले संसारभरीबाट दबाब दिन हाम्रो अनुरोध छ ।’ उनले हाल सबै गोरखाहरु एक भएर अभियान र आन्दोलन गरिरहेको बताउदै खुसी समेत व्यक्त गरे । भने, ‘हामी सबै एक भएर लागिरहेका छौं, अब तपाईहरुको सहयोग हाम्रो लागि अपेक्षित छ ।’
उनले यो मुद्दा सबैले उठाउनु पर्ने मुद्दा भएको दाबी बताए । ‘नेपाल राष्ट्र र बेलायतबीचको औपनिवेशिक सम्बन्धको समस्या हो र समग्रमा बेलायतको रंगभेदसँग सम्बन्धित मुद्दा पनि हो,’ उनले भने, ‘त्यसैले यो ब्रिटिस जनता तथा बुद्धिजीवीहरुले पनि चासोपूर्वक उठाउनुपर्ने मुद्दा हो । त्यति मात्रै होइन, यो मुद्दा विश्वभरिका न्यायका पक्षधर मानवअधिकारकर्मी र स्वयम् नेपाल सरकारले उठाउनैपर्ने मुद्दा हो ।’
सभापति राईले यी विभेद, शोषण र अपमान ब्रिटिस सेनामा काम गर्ने ‘गोरखाली’हरुको मात्र समस्या नभएर नेपाल राष्ट्रकै राष्ट्रियता र जनजीविकासँग सम्बन्धित समस्या पनि भएको बताए । आफूलाई मानवअधिकार र लोकतन्त्रको जननी मान्ने देशको सरकारले दुई सय वर्षदेखि गोरखा सैनिकहरुलाई लज्जास्पद र घृणित ढंगले अपमान, दुव्र्यवहार र चरम शोषण गर्दै अमानवीकरण बताए । उनले भने, ‘रोजगारीको नाममा मानवव्यापारजस्तो जघन्य अपराध गरेको छ । यी मानवताविरोधी अपराध आम नेपालीका लागि मात्रै होइन स्वयं ब्रिटिस जनता, बौद्धिक जगत, मानवअधिकारवादी समुदाय र बुद्धिजीवी तप्काका लागि पनि लज्जाको विषय हो ।’
जसले बेलायतलाई सर्वशक्तिमान बनायो, उसैलाई अन्याय किन ?
सभापति राईले गोरखाहरुले सन् १८१६ देखि आजसम्म प्रत्येक सैन्य मोर्चामा ब्रिटिस साम्राज्यको पक्षबाट लडेर बेलायतको रक्षा र बिस्तार गरे पनि बेलायतले गोरखाहरुमाथि अन्याय गरेको बताए । ‘गोरखाहरुले सन् १८१६ देखि आजसम्म प्रत्येक सैन्य मोर्चामा ब्रिटिस साम्राज्यको पक्षबाट लड्यौं । हाम्रा हजारौं पुर्खाहरु मारिए, घाइते र बेपत्ता भए, त्यही कारण संसारभरि बेलायतले साम्राज्य विस्तार गर्यो । कहिल्यै सूर्य नअस्ताउने देशको रुपमा स्थापित भयो । विश्वमा एउटा सर्वशक्तिमान राष्ट्र बन्न सफल भयो,’ उनले भने,‘तर हामी यसरी लडिदिनेलाई बेलायतले चरम विभेद गरिररहेको छ ।’
गोरखाहरुले पहिलो र दोस्रो विश्वयुद्ध तथा त्यसपछिका अनेकौं युद्धको अग्रमोर्चामा रहेर ब्रिटिस साम्राज्य विस्तार र रक्षाको लागि लडेको उल्लेख गर्दे उनले भने,‘विश्व रंगमञ्चमा ब्रिटिस सर्वशक्तिमान राष्ट्र बनेपछि तिनै गोरखा सैनिकहरुलाई विभेद मात्रै होइन चरम अन्याय र शोषण गरियो । न्यूनत्तम् मानवीय व्यवहारसमेत गरिएन ।’ एनआरएनएको ८ औं विश्व सम्मेलनको अन्तिम सेसनमा आज गोरखाहरुको बिषयमा छलफल तथा प्रस्तुती राखिएको हो ।
एनआरएनएको ८ औं विश्व सम्मेलन मंगलबार सम्पन्न भएको छ । सम्मेलनबाट निवर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न चुनावमा भट्टले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् ।
सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् । महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् । अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् । निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् । यो कार्यकाल दुई वर्षको हुने छ ।