गणेश थापाका कारण एन्फा नै फिफाबाट प्रतिबन्धित हुने खतरा


२६ चैत्र २०७४, सोमबार
anfa.jpg.pagespeed.

काठमाडौं, २६ चैत । हिन्दू धर्मलाई सत्तामा जाने र भ्रष्टाचार गर्ने माध्यम बनाएपछि २०७० मा २५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी ४ बर्षपछि २०७४ मा भएको निर्वाचनमा समाप्त प्रायः भयो । त्यसैगरी नेपालको फुटबललाई समाप्त पार्ने काम उनका भाइ गणेश थापाले गरेका छन् । भाइ थापाले एन्फाको २०७४ चैत १४ मा तोकिएको निर्वाचन समेत न्यायालयलाई समेत गुमराहमा पारी रोक्न सफल भएका छन् ।

anfa.jpg.pagespeed.
अखिल नेपाल फुटवल संघ (एन्फा) को करिब २० बर्षभन्दा बढी समय नेतृत्व गरेका गणेश थापाले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित हुँदा पनि नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउनुपर्नेमा उजुरी नै मुल्तबीमा राख्यो । तर अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले गणेश थापालाई १० बैशाख २०७३ देखि भ्रष्टाचारकै आरोपमा १० बर्षका लागि फुटबलसम्बन्धी कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको थियो । र, २० हजार स्वीस फ्रैंक (२१ लाख रुपैयाँ) जरिवाना गरेको थियो ।
थापाले सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगत र पारिवारिक लाभ हुनेगरी घुस लिएको ठहर गर्दै आचरण कमिटीले १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्रैंक जरिवानाको निर्णय २ बर्षअघि गरेको थियो । फिफाले गरेको निर्णयपछि गणेश थापा अन्तर्राष्ट्रिय जगतमै भ्रष्टाचारी सावित भइसकेका छन् । गणेश थापाले एन्फाको नेतृत्व गरेपछि म्याच फिक्सिङ प्रकरणमा उनको संलग्नता पुष्टी भइसकेको छ । तर पनि उनी एन्फाको नेतृत्व आफ्नै नातेदारको हातबाट गुम्न नदिन अनेक षडयन्त्रका तानाबाना बुनिरहेका छन् ।
एन्फामा तेस्रो पक्षको हस्तक्षेप
गणेश थापाको डिजाइनमा भक्तपुर र मकवानपुर जिल्लाको निर्वाचन हुन नसकेको बहानामा अदालतमा मुद्दा हालेर अन्तरिम आदेशबाट एन्फाको निर्वाचन रोकिएको छ । गणेश थापा सालो मणि कुँवरलाई एन्फाको अध्यक्ष बनाउने योजनामा छन् । तर अहिले चुनाव भएको खण्डमा उनका साला पराजीत हुने देखेपछि उनले अदालतमा रिट हाल्न लगाएर चुनाव रोकेका छन्, साँघुमा समाचार छ । अदालतमा समेत उनले सेटिङ गरेर चुनाव रोकेका छन् । उनी एमाले र माओवादी नेताकोमा दौडधूप गरी एन्फालाई अगाडि बढ्न नदिन लागेका छन् ।
मकवानपुर र भक्तपुरले आफैं जिल्ला अधिवेशन गर्न नसकेका हुन् । बाँकी सबै जिल्लाले अधिवेशन गरिसकेको अवस्थामा मकवानपुर र भक्तपुरले आफैं गर्न नसकेको अवस्थामा अदालतले काइते पाराले चुनाव रोक्ने आदेश दिएको आरोप एन्फाकै एक पदाधिकारी लगाउँछन् । अधिवेशन गर्नका लागि १० वटा क्लव चाहिन्छ तर भक्तपुरसँग ५ वटामात्र क्लव छन् भने मकवानपुरसँग ९ वटा छन् । भक्तपुर र मकवानपुरले आफैंले अधिवेशन गर्न नसकेका हुन् । तर अदालतले एन्फाका कारण अधिवेशन गर्न नसकेको जस्तो गरी अन्तरिम आदेश दिएर १४ गतेको चुनाव नै रोक्ने काम गरेको गुनासो छ । एन्फाका पदाधिकारी भन्छन्–एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको छ । अदालतको हस्तक्षेपले एन्फा फिफाबाट प्रतिबन्धित हुने खतरा देखिएको छ । ‘हम तो डुबे सनम तुमको भी लेके डुबेंगे’ भन्ने हिन्दी उखानझैं गणेश थापा आफू प्रतिबन्धित भएपछि एन्फालाई समेत प्रतिबन्धित गर्ने षडयन्त्रमा लागेका छन् । सकेसम्म आफ्नै साला मणि कुँवरलाई एन्फा अध्यक्ष बनाउने नसके पुनः अदालतमा अनेक बहानामा मुद्दा हाल्दै चुनाव हुन नदिएर एन्फालाई प्रतिबन्धित गराउने दाउमा थापा सक्रिय रुपमा लागेका छन् । उनको यस्तै हर्कतका कारण फुटबलको भविष्य अन्धकार बन्ने चिन्ता फुटबलप्रेमीहरुको छ ।
एन्फाको डाडूपन्यू आफ्नै हातमा राखेका थापा अब पनि त्यो साम्राज्य गुम्न दिने पक्षमा छैनन् । त्यसका लागि उनी जे जस्ता हर्कत पनि गर्न तल्लीन छन् । अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्नू भने पनि गणेश थापाको कब्जामा रहेको एन्फाले जवाफ नै नपठाई झुलाउने काम गरेको थियो । पुनरावलोकनमा पनि गएको छैन । मुद्दा भक्तपुर र मकवानपुरले हाले पनि एन्फामा रहेका मणि कुँवरहरुकै डिजाइनमा हाल्न लगाएको कुरा यसैले पुष्टी गरेको छ ।
मकवानपुरमा २०७४ चैत २३ तोकिएको एन्फाको अधिवेशन भएको छ । भक्तपुरमा चैत २७ मा अधिवेशन गर्ने मिति तोकिएको छ । मकवानपुर र भक्तपुरले सर्वोच्च अदालतमा हालेको मुद्दा अझै फिर्ता लिएका छैनन् । भक्तपुरका अध्यक्ष गौतम सजखु र मकवानपुरका अध्यक्ष मनिष श्रेष्ठले मुद्दा फिर्ता लिएका छैनन् । निर्वाचन प्रक्रियामा सहभागी भइसके पनि मुद्दा फिर्ता लिएका छैनन् । अदालतमा परेको मुद्दा टुंगो लगाउन एन्फा नै सक्रिय नदेखिएको खेलाडीहरुको आरोप छ ।
पाँचौं पटक तोकिएको चुनाव पनि रोकियो
२०७४ चैत १४ गते तोकिएको एन्फाको चुनाव मकवानपुर र भक्तपुर जिल्लाले अदालतमा मुद्दा हालेर रोकिएको छ । एन्फा स्रोतका अनुसार गणेश थापाकै डिजाइनमा जानीजानी दुवै जिल्लाले क्लवको संख्या नपुगेको देखाएर अधिवेशन गर्न सकेनन् । र, अधिवेशन नभएकाले एन्फाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्दा दिए । सर्वोच्च अदालतले हचुवाका भरमा चुनाव रोक्ने आदेश दियो । अदालतले मुद्दा परेपछि दुवै पक्षलाई बोलाएर छलफल नै नगरी एकाएक चुनाव रोकेको खेलाडीहरुको आरोप छ । दुवै पक्षको कुरा सुनेर आदेश दिनुपर्नेमा एकपक्षको मात्र कुरा सुनी चुनाव रोक्ने आदेश दिंदा एन्फा नै फिफाबाट प्रतिबन्धित हुने चिन्तामा फुटबलप्रेमीहरु छन् ।
गणेश थापाले गरेका अनियमितताको फेहरिस्त
१२ असोज २०७१ मा संसद्को सार्वजनिक लेखा समितिले गणेश थापा संलग्न अखिल नेपाल फुटबल संघ (एन्फा) का विभिन्न परियोजनामा ५८ करोड अनियमितता भएको आशंकामा छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । तर अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले लेखासमितिले प्रमाणसहित कारबाही गर्न दिएको निर्देशनलाई चुनौती दिंदै थापालाई उन्मुक्ति दिने काम गरेका थिए ।
गणेश थापाले राष्ट्रबैंकको स्वीकृतिबेगर मलेसियाको राजधानी क्वालालम्पुरस्थित जलान एमपाङको स्ट्यान्डर्ड चार्टर्ड बैंकको शाखामा उनको नाममा खाता खोलेका थिए । उक्त खातामा फिफाले आजीवन निलम्बन गरेका एसियाली फुटबल महासंघ (एफसी)का पूर्वअध्यक्ष मोहम्मद बिन हमामकी छोरी आइसा मोहम्मद अल अब्दुल्लाहले ४ अगस्त २०१० मा दोहा बैंकबाट थापाको क्वालालम्पुरस्थित चार्टर्ड बैंकको एकाउन्टमा एकमुष्ट एक लाख अमेरिकी डलर ट्रान्सफर गरेको भौचर फेलापरेको थियो । गणेश थापाका जेठा छोरा गौरवले पनि सन् २००९ मा एएफसीका निलम्बित अध्यक्ष हमामबाट एक लाख अमेरिकी डलर लिएका थिए । अख्तियारले गणेश थापामाथि भ्रष्टाचारमा कारबाही नगरेपछि यी दुई प्रकरणमा सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागमा पनि उजुरी परेको थियो । तर अख्तियार जस्तै सम्पत्ति शुद्धिकरण विभागले पनि अहिलेसम्म गणेश थापामाथि कुनै कारबाही अगाडि बढाएको छैन ।
० गोल प्रोजेक्टका लागि प्राप्त १७ करोड ४८ लाख ७० हजार रकम
० नगरपालिकाहरुबाट प्राप्त २० प्रतिशत रकम बापतको ६४ करोड ६७ लाख अडिट नगराएको विषय
० एएफसीबाट प्रशिक्षकहरुका लागि आएको रकम अडिट नगराएको
० खेलाडी कल्याण कोषको ४० लाख र त्यसको आम्दानी र खर्च
साथी भन्ने संस्थालाई बिना निर्णय विगत ६ वर्षदेखि २ हजार ५ सय डलर दिएको
० गेट टिकटको रकम लेखापरीक्षणमा नदेखिएको र टिकट बिक्री वापतको रकम आयमा समावेश नभएको
० भवन निर्माण लगयतका सार्वजनिक खरीदसँग सम्बन्धित खरीद ऐन कानून पालना नपाएको
० सरकारबाट उत्कृष्ट खेलाडी पुरस्कार वापत प्राप्त रकमको हिसाब किताब नराखेको
० एन्फाको नाममा विभिन्न आर्थिक वर्षहरुमा प्राप्त बैंंक ब्याज वापतका रकमहरु
० विदेशी प्रशिक्षकहरुको पारिश्रमिक भुक्तानीमा अग्रिम कर कट्टी नगरेको र नेपालीहरुको पनि टिडीएस गरी राजस्व दाखिला नगरेको, बिना भ्याट, पान बिल सामान खरिद गरेको
० पेश्की फछ्र्योट नगरी थप पेश्की दिएको
० विभिन्न निकायमा पेश गरिएको एउटै विषयका फरक प्रतिवेदनहरु
० अपार्टमेन्ट खरिद गरी रकम भुक्तानी नगरेका विषयहरु
० एन्फाको संगठन सञ्चालन, आर्थिक कारोवार, निर्माण लगायतका खरिद कार्य, जनशक्ति ब्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरुको पारिश्रमिक आदि सम्बन्धमा नियम र प्रक्रियाहरुको पालना नभएको

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७