तामाकोशी आयोजना निरीक्षण गर्दै प्रधानमन्त्री ओलीको निर्देशन, ‘समयमै काम सक्नु’


२८ चैत्र २०७४, बुधबार
kp sharma oli in tamakoshi

काठमाडौं, २९ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् ।kp sharma oli in tamakoshi४५६ मेगावाटको आयोजनास्थलको आज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा आयोजना पूरा हुने गरी काममा लाग्न सम्बन्धितलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिँदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्ने बताएका छन् । यस आयोजना २०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएको छ । तर, हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना समयमा पूरा नहुने सम्भावना बढेको छ ।

प्रधानमन्त्री ओलीले दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म बिग्रेको सडकका कारण आयोजना निर्माणमा ढिलो भएको भए त्यो सडक तत्काल मर्मत गर्न समेत पहल गर्ने बताएका छन् । उनले २०७६ को वैशाखसम्ममा आयोजनाका सबै युनिट सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले सम्वद्ध अधिकारीहरुलाई निर्देशन दिंदै भने, ‘यो आयोजना समयमा नबन्दा प्रत्यक्ष मात्रै होइन यसबाट अप्रत्यक्ष रुपमा झन ठूलो नोक्सानी हुन्छ, त्यसैले कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनु, जसरी भए पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नु ।’

प्रधानमन्त्री ओलीले परामर्शदाता र निर्माण कम्पनीलाई भुक्तानी दिन आवश्यक पर्ने विदेशी मुद्राको सटही सहज बनाइदिने पनि बताएका छन् । ‘निर्माण कम्पनी र परामर्शदाता समयमै पैसा भुक्तान गर्नुुपर्छ, त्यसको लागि विदेशी मुद्रा सटहीको लागि म पहल गर्दिन्छु’ उनले भने ।
प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पनि निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताएका छन् । उनले राष्ट्रिय गौरबका अन्य आयोजना भन्दा यो आयोजना पहिलै सञ्चालनमा आउनुपर्ने बताएका छन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने बताएका छन् । उनले भने ‘एक महिना मात्रै पनि यो आयोजना छिटो निर्माण सम्पन्न गर्न सकियो भने अर्बाै रकम बचत हुन्छ ।’

आयोजना प्रमुख विज्ञान श्रेष्ठले भने भारतीय कम्पनी टेक्सम्याकाले काम नगरेका कारण आयोजनाको काम समयमै निर्माण अघि बढ्न नसकेको बताएका छन् । श्रेष्ठले अहिलेसम्म आयोजना निर्माणका लागि ३७ अर्ब २९ करोड खर्च भइसकेको जानकारी गराए । आयोजनाको लागत ३९ अर्ब २९ करोड हुने उनको आँकलन छ । सुरुमा यो आयोजनाको लागत भने ३५ अर्ब ३० करोड आँकलन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७