अनुपमा बाणिज्य बैंकिङमा देशकै पहिलो महिला सिइओ बन्न सफल


३० चैत्र २०७४, शुक्रबार
ceo

काठमाडौं, ३० चैत : नेपालको बाणिज्य बैंकिङ क्षेत्रले पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृत पाएको छ । मेगा बैंकले अनुपमा खुँजेलीलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । पहिलो महिला प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि खुँजेलीले अहिलेको जिम्मेवारीलाई अवशर र चुनौती दुबै रुपमा लिएको बताइन् ।ceo

‘पहिलो महिला सिइओ भएको छु’ उनले भनिन्, ‘म जसरी पनि सफल हुनैपर्छ । मेरो सफलताले महिलाहरुलाई बैंकिङको उच्च तहमा काम गर्ने प्रेरणा दिनेछ ।’ तरलता अभाव, ब्याज दर बृद्धिलगायत बैंकिङमा थुप्रै चुनौती रहेको बताउँदै उनले २७ बर्षको अनुभव यस्तै बेला काम लाग्ने बताइन् ।

‘बैंकिङमा काम गर्दा थुप्रै चुनौतीहरु आइपर्छन् । मैले काम शुरु गर्दा बचतको हिस्सा १० प्रतिशत हाराहारी थियो । अहिले ३५–४० प्रतिशतसम्म पुगेको छ’ उनले भनिन्, ‘यस्ता परिवर्तनहरुलाई आत्मसात गर्दै अगाडि बढ्ने र बैंकिङमा नयाँ नयाँ कुराहरु ल्याउनु मेरो प्रयास हुनेछ ।’ उनले अहिले स्थिर सरकार बनेकाले आगामी दिनमा चुनौतीभन्दा अवशर बढि देखेको बताइन् ।

बैंकको गोकर्ण फरेस्ट रिसोर्टमा बसेको सञ्चालक समितिले २७ बर्षे बैंकिङ अनुभव भएकी खुँजीलीलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो । ४–४ बर्षको दुई कार्यकाल सकेर अनिल शाह अवकास भएपछि उनी त्यहाँ कामु प्रमुख कार्यकारी अधिकृत भएकी थिइन् ।

तत्कालीन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैकबाट बैंकिङ्ग करिअर शुरु गरेकी खुँजेली नबिल बैक हुँदै मेगा बैंक पुगेकी थिइन् । ग्रिण्डलेजमा सहायकस्तरबाट जागिर शुरु गरेकी उनले १३ बर्ष त्यहाँ बिताइन् । ‘म्यानेजर’ तहबाट ग्रिण्डलेज छाडेकी उनले सिनियर म्यानेजरका रुफमा नबिल बैंकमा काम गरिन् । त्यहाँ छ बर्ष काम गरेपछि मेगा बैंकको संस्थापक नायव महाप्रबन्धकका रुपमा गइन् ।

नेपालको सेन्टमेरिज स्कुलमा १० कक्षासम्म पढेपछि उनी प्लस टुका लागि भारत गइन् । स्नातक शंकरदेव क्याम्पसबाट सकेपछि एस कलेजबाट एमबिए गरेकी थिइन् । चार्टर्डमा उनीसँगै काम गरेकाहरुका अनुसार, खुँजेली कुरा बुझ्ने बैंकरभित्र पर्छिन् । चार्टर्डबाट अनिल शाह नबिल बैंक आएपछि उनीसँगै खुँजेली पनि आएकी थिइन् । सँगै आएकामध्ये खुँजेलीमा ब्यवस्थापकीय ज्ञान बढि रहेको एक बैंकरले जानकारी दिए । अनिल शाह नबिलबाट मेगा बैंक गएपछि खुँजेली पनि त्यतै लागिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७