हाकिमलाई घुस तोकियो, ट्रक साटसुट छोडियो


३० चैत्र २०७४, शुक्रबार
rasuwala

काठमाडौँ, ३० चैत । रसुवा भन्सार कार्यालयले जफत गर्नुपर्ने सोलारका सामान र गाडी समेत घुस लिएर छाडेको छ । २०७४ माघ अन्तिममा भन्सार छली गरी भित्रिएको सोलारका सामान लोड भएको कन्टेनर धुन्चेमा सशस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको थियो । सशस्त्रको टोलीले बरामद गरेको गाडी र सोलारका सामान रसुवा भन्सार कार्यालयमा बुझाएको थियो ।rasuwala

भन्सार नतिरी टिमुरेबाट ४० किलोमिटर टाढा पुगिसकेको चोरी पैठारी भएको सोलार र कन्टेनर जफत गर्नुपर्नेमा भन्सार कार्यालय रसुवाका प्रमुख गोपाल कोइराला, भन्सार अधिकृत विष्णुकुमार श्रेष्ठ र जाँचकी डम्बरकुमार श्रेष्ठले २०७४ चैत २१ मा छाडिदिएका छन् । पहिला गाडी र सामान जफत गर्ने र चालकलाई कानुन अनुसार कारबाही गर्ने निर्णय गरिसकेको भन्सार कार्यालय रसुवाले पछि घुसमा कुरा मिलेपछि त्यो टिप्पणी च्यातेर सामानसहित चालकलाई मुक्त गरिदिएको छ ।

चालकले मदिरा पिएर भन्सार नतिरी सामान लगेको भन्ने बहाना बनाई जफत गर्ने निर्णय गरिसकेको सामान २ महिनापछि छाडिएको प्रहरी स्रोतले बताएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका प्रमुख डीएसपी प्रकाश वाग्लेले २ महिनाअघि नै धुन्चेबाट सोलारका सामान बरामद गरी भन्सार कार्यालय रसुवामा बुझाइएको स्वीकार गरेका छन् । डीएसपी वाग्लेले भने–‘हामीले बुझाएका हौँ, जफत भयो कि के भयो, थाहा भएन ।’

भन्सार कार्यालय रसुवाको टिमुरे र धुन्चेको दुरी ४० किलोमिटर छ । सशस्त्रले पत्रसहित सामानको विवरणसहित भन्सार कार्यालयमा चालकसमेत बुझाएका थिए । गाडीचालक थुनामा राखिएका छन् । भन्सारका हाकिमहरूले १२ लाख रुपैयाँ घुस लिएर जफत गर्नुपर्ने सामान, गाडी र चालकसमेत छाडेको आरोप छ ।

भन्सार कार्यालय रहेको टिमुरे र सोलार बोकेको कन्टेनर बरामद भएको धुन्चेको बिचमा सशस्त्रको १ र नेपाल प्रहरीका ३ वटा चेक पाइन्ट छन् । ती चेक पाइन्ट पार गरी चोरी पैठारी गरेको सामान बोकेको उक्त ट्रक धुन्चे पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७