३३ किलो सुन काण्डमा तानिए चर्चित ‘बाजेको सेकुवा’ का सञ्चालक भण्डारी


४ बैशाख २०७५, मंगलवार
gold case

सुनसरी, ४ बैसाख : ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाले एकपछि अर्को मोड लिंदै गएको छ । तस्करीमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’ का सञ्चालक चेतन भण्डारीको पनि संलग्नता देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।gold case

सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिएको छ । प्रहरीले तस्करीमा संलग्न रहेको भन्दै भण्डारीसहित मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई (भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायतको बैंक खाता तथा सम्पती रोक्का राखेको छ ।

भण्डारी तस्करी गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’ का आफन्त हुन् । भण्डारी नातामा उप्रेतीका भाञ्जा पर्छन् । भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभई उप्रेतीलाई तस्करीका लागि लगानी गरेको अनुसन्धाबाट खुलेको छ । विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सो सुन हराएपछि सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

यो गिरोहले विगत ५ वर्षयता विमानस्थलमा सेटिङ मिलाई ठूलो मात्रामा सुन तस्करी गर्दै आएको थियो । गृह मन्त्रालयले सहसचिव ईश्वचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाको अनुसन्धान गरिरहेको छ । सनम हत्या तथा तस्करीमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । थाई एयरलाइन्सका ८ तथा नेपाल एयरलाइन्सका ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । तस्करीमा संलग्न नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले पक्राउ परेलगत्तै प्रहरी हिरासतमै आत्महत्या गरिसकेका छन् ।

तस्करीको ३३ किलो सुन काठमाडौंबाट विराटनगर लैजाने भरिया शाक्यको हत्या भएको थियो । शाक्यको शव चारकोशे झाँडीमा लुकाउन लैजाँदै गर्दा फागुन १९ मा महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीले गाडिभित्रै शव बरामद गरी मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरीलाई पक्राउ गरेको थियो ।
घटनामा संलग्न राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पनि पक्राउ परिसकेका छन् ।

उनै गुरुङले तस्करीका लागि विमानस्थलमा सेटिङ मिलाएका थिए । त्यस्तै, भारतीय व्यापारी महावीर गोल्यानसहित प्रहरीले बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, राजन थापा, लालबहादुर मगर र राजु महर्जनलाई पक्राउ गरिसकेको छ । आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका पवन अग्रवाल पनि पक्राउ परिसकेका छन् । त्यस्तै, हत्यामा सहयोगी भूमिका खेल्ने लाक्पा शेर्पा र मदन घिमिरे समेत मोरङ प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७