एकताबाट फर्किने ठाउँ छैन : ओली–दाहाल


९ बैशाख २०७५, आईतवार
Kp Oli Puspa kamal Dahal Uml Mao

काठमाडौं, ९ बैसाख । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीचको एकता कुनै हालतमा नरोकिने दृढता व्यक्त गरेका छन् ।Kp Oli Puspa kamal Dahal Uml Mao

लेनिन जयन्ती एवम् नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीच एकता घोषणाबाट फर्कने ठाउँ नरहेको प्रष्ट पारेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एकता कतै हिँड्दा हिँड्दै फेला पारेर टिपेर नल्याएको, यो त आफूहरुले अथक प्रयास गरेर निर्माण गरेको भन्दै अब अरुलाई दोष लगाएर पन्छने ठाउँ नभएको प्रष्ट पारे । एकता बिथोल्छु भन्ने कसैलाई लागेको छ भने त्यो दिवास्वप्नमात्र हुने उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘अब खुट्टा मिलेन भनेर जुत्ता नयाँ खोज्ने होइन, तासतुस, ठोकठाक पारेर भए पनि लगाउने हो ।’

उनले भने, ‘विगतमा कसले के गर्‍यो भनेर खोजेर बस्ने होइन, अगाडि बढेर देश र जनताको समृद्धिमा लाग्ने हो ।’ एमाले र माओवादी नभएको भए देशमा संविधान नै नआउने र चुनाव पनि नहुने उनको दावी थियो । सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबीचको एकता कुनै हालतमा नरोकिने दृढता व्यक्त गरे । हल्ला गरेर नभई सबैलाई आश्चर्यमा पार्ने गरी एकता घोषणा गरिने भन्दै उनले हल्ला गर्दा एकता भाँड्ने तत्व सक्रिय हुनेमा सजकता अपनाइने बताए ।

उनले एकता गर्नु सजिलो नभएको भन्दै दम्भ र अहंकारबाट सतर्क रहनुपर्नेमा दुबै पार्टीका नेता कार्यकर्तालाई सचेत गराए । उनले ठूलो र सानो पार्टी बन्दा के कस्ता अहंकार र दम्भ पलाउने रहेछ र जनताले कसरी दण्डित गर्दा रहेछन् भन्ने दुबै दलको नेतृत्वलाई भलिभाँति ज्ञान भएको बताए । आफू र केपी शर्मा ओलीलाई पार्टी एकताबाट दायाँबायाँ गर्ने छुट नभएको भन्दै अध्यक्ष दाहालले एकता सम्मान, समानता र न्यायोचित आधारमा गर्न दुई अध्यक्षबीच सहमति बनेको पनि जानकारी दिए । यसअघि दिउँसो १२ बजे गर्ने भनेर समय तय गरिएको कार्यक्रम ब्यानर विवादका कारण शुरु हुँदा ४ बजेको थियो । लेनिन जयन्तीको अवसर पारेर आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर नभएको भन्दै माओवादी कार्यकर्ताले होहल्ला गरेपछि अर्को ब्यानर राखेर कार्यक्रम शुरु गर्न समय लागेको थियो ।

ब्यानरमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारी एवम् दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालका तस्वीरमात्र राखेको भन्दै माओवादी कार्यकर्ताले होहल्ला गरेका थिए ।
ब्यानरमा लेनिन र माओको तस्वीर छुट्नुमा कमजोरी रहेको दुबै पार्टी अध्यक्षले स्वीकारेपछि फेरि पुरानै ब्यानर र माओवादीका तर्फबाट अर्को ब्यानर पनि राखेर कार्यक्रम शुरु गरिएको थियो । आजै पार्टी एकता गर्ने तयारी गरेका दुई दलबीच केही विषयमा कुरा नमिल्दा घोषणा कार्यक्रम भने पछि सरेको छ । दुई दलले गत असोज १७ गते एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन बनाएर निर्वाचनमा गएका थिए ।

म सेन्टिमेन्टल हुन्न : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन् । बेला–बेला भावनामा बग्ने र निर्णय परिवर्तन गरिरहने दाहालतर्फ कटाक्ष गर्दै ओलीले राष्ट्रिय सभागृहमा आयोजित एमाले–माओवादीको संयुक्त समारोहमा भने– ‘दातमा ढुंगो लागेको हो आज पनि । म सेन्टिमेन्ट हुन्न । एकता बजारमा घुम्न गएको बेला टपक्क टिपेर ल्याएको होइन । हामीले नगरी हुँदैन । हाम्रै पहलबाट यो अवस्थामा आएका हौं। अब जुता मिलेन भनेर छुट लिने ठाउँ छैन, खुट्टा ताछेर पनि मिलाउनु पर्छ । एकताको विकल्प छैन् ।’

उनले पार्टी एकतापछि दुबैतर्फका नेता कार्यकर्तासहित सबै सदस्यलाई उचित स्थान र सम्मान दिइने भन्दै माओवादीलाई नआत्तिन सांकेतिक रुपमा आग्रह समेत गरे । ‘यो एकता मेलामा लगाएको मित होइन । हामीबीच नीतिगत र सैद्धान्तिक मैतक्यता छ । विहे गर्न अघि अलग अलग घर हुन्छ । अनि विहे भइसकेपछि त्यो घरको विरालो, बाच्छोको पनि माया लाग्छ । अनि एकतापछि नौ गते दाँतमा कर्णिक्क दाँतमा ढुंगो लागेको जस्तो किन गरेको होला भन्ने लाग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७