३३ किलो सुन प्रकरणः लहरो तान्दा पहरो नै आउने

पूर्वडीआइजी निरौला पक्राउ, अरु प्रहरी अधिकृत पनि तानिंदै


९ बैशाख २०७५, आईतवार
gold copy

काठमाडौं, ९ बैशाख । साढे ३३ किलो सुन प्रकरणमा पूर्व डीआइजी गोविन्द निरौला पक्राउ परेका छन् । सुन प्रकरणको छानबिन गर्न गठित गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको संयोजकत्वको छानबिन समितिले पूर्वडीआइजी निरौलालाई पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखेर अनुसन्धान भइरहेको छ । उनी पूर्वआइजी प्रकाश अर्यालसँगै २०७४ चैत २८ मा अवकाश भएका हुन् । अवकाश भएको ११ औं दिनमा उनी पक्राउ परेका छन् । निरौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख थिए ।

gold copy
साढे ३३ किलो सुन प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी प्रहरी प्रधान कार्यालयमा तानिइसकेका छन् । उनीसँगै अपराध अनुसन्धान महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल पनि तानिएका छन् । उनीहरुविरुद्ध पनि छानबिन भइरहेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेका थिए ।
गएको ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया सनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो । त्यो सुन प्रकरण छानबिनका क्रममा पक्राउ परेका नेपाल वायुसेवा निगमका लोडर सुन प्रकरणमा ३ जनाको ज्यान गयो ।
गएको फागुन १८ गते मोरङ उर्लावारीका सनम शाक्यको शव मोरङकै पोखरी भन्ने ठाउामा बा १२ च ५९६३ नंम्बरको स्करपियोको डिक्कीमा भेटियो । प्रहरीले अनुसन्धान गर्दै जाादा सनम सुन तस्करीसाग जोडिएको खुल्यो । सनमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर गएको ३३ किलो सुन बीचैमा गायब पार्न खोजेपछि हत्या भएको भनिएको छ । सुरुमा शनम हत्याको आरोपमा ३ जनालाई पक्रिए पनि सुनका मालिक भनिएका गोरे भनिने चूडामणि उप्रेती फरार छन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सुन गोरेले लगेर बिक्री गरेको प्रारम्भिक अनुमान छ । सुन तस्करीमा संलग्नताको आशंकामा समातिएका विमानस्थलमा नेपाल वायु सेवा निगमको लोडरको काम गर्ने प्रेमलाल चौधरीको प्रहरी हिरासतमै मृत्यु भएको छ । त्यही सुन तस्करीमा शंकास्पद मानिएका थाइ एयरलाइन्सका लोडर सानु वनको पनि विमानस्थलमै ट्रकले किचिएर ज्यान गएको छ । सुन तस्करीको एउटै घटनासँग जोडिएका एकपछि अर्को गरी तीन जनाको ज्यान जाँदासमेत न त तस्करी भएको सुन भेटिएको छ, न त मालिक नै ।
सुन लुटिएको सुचना पाएर महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसी सहित तिनजनाको प्रहरी टोली विराटनगर पुगेको थियो । अपराध महाशाखाको क्षेत्राधिकार काठमाडौं उपत्यका मात्रै भए पनि एसएसपी दिवेश लोहनी र तत्कालीन आईजीपी प्रकाश अर्यालको निर्देशनमा विराटनर पुगेको खुलेको छ ।
सुन तस्करीको अनुसन्धानका क्रममा एयरलाइन्सका कर्मचारीदेखि सुन व्यापारी समेत गरी ३० जना पक्राउ परिसकेका छन् । गृह मन्त्रालयकै नेतृत्वमा अनुसन्धान भैरहेकोले लहरो कँहासम्म पुग्छ, हेर्न बाँकी छ ।
सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति गठन गरेपछि धेरै रहस्यहरु खुल्न थालेका छन् । सुन प्रकरणमा अरु केही प्रहरी अधिकारी पनि तानिने भएका छन् । पूर्वडीआइजी निरौलासँगै कार्यरत एक एसपी पनि सुनकाण्डमा तानिने भएका छन् । उनी अहिले जिल्ला इन्चार्ज छन् ।
मोरङ प्रहरीको हिरासतमा रहेका अभियुक्तहरूमा ‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन छन् ।

त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे छन् ।
उनीहरूलाई जिल्ला अदालत मोरङबाट ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको छ ।
घटनामा संलग्न २१ जना फरार छन् । गायब भएको साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेती (गोरे) सहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतमलाई प्रहरीले खोजी सूचीमा राखेको स्रोत बताउँछ । प्रहरीले उनीहरूसहित ३८ जनाको सम्पत्ति रोक्का गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७