कमल थापालाई धवलसमशेर राणाको धम्की


१० बैशाख २०७५, सोमबार
Kamal Thapa

काठमाडौं, १० बैशाख । चुनावबाट राष्ट्रिय पार्टी बन्न नसकेपछि पशुपतिशमशेर राणा र कमल थापा नेतृत्वको दुवै राप्रपाका नेता कार्यकर्तामा चरम निराशा छाएको छ । आइतबार कमल थापा अध्यक्ष रहेको राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकमा पार्टी एकता गरेर जाने कि कसरी जाने भन्नेबारेमा ब्यापक छलफल भएको थियो ।

Kamal Thapa
कमल थापा, धवलसमशेर राणा र पशुपतिसमशेर राणा ।

बैठकमा पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपासँग एकता गरेर जानुपर्ने पक्षमा कुरा उठेको थियो । बैठकमा कमल थापाले पार्टी एकता गर्दा एक बर्ष अध्यक्षका रुपमा काम गर्न दिन आग्रह गरेका थिए । उनका निकट केही सदस्यले पनि उनलाई एक बर्ष अध्यक्ष दिए पार्टी एकता हुनसक्ने सर्त राख्नुपर्ने धारणा राखेका थिए ।
कमल थापालाई एक बर्ष अध्यक्ष दिने सर्तमा पार्टी एकता हुने कुरा बैठकमा उठेपछि महामन्त्री धवलसमशेर राणाले उनको नेतृत्वमा अब पार्टीले गति लिनै नसक्ने भनाइ राखेका थिए । राणाले बैठकमा कमल थापातर्फ इशारा गर्दै भने–‘तपाईको नामबाट पार्टी चल्दैन, तपाई राजीनामा दिनुस्, अरु कसैलाई पार्टी अध्यक्ष बनाएर जाउँ, नभए अब पार्टीका नेता कार्यकर्ता कोही राप्रपामा बस्दैनन् । म समेत बस्न सक्दिनँ ।’
कमल थापाले पार्टीको अध्यक्ष नछाडे आफूले राप्रपा छाड्ने धम्की राणाले दिएको राप्रपा कार्यसम्पादन समितिका एक सदस्यले नयाँपेजलाई बताएका छन् ।
धवलशमशेर राणा पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाह निकट मानिन्छन् । पूर्वराजा शाह नेपालगंज जाँदा राणासँगै खाना खाएको तस्वीर समेत सार्वजनिक भएको थियो । राणा नेपालगंज उपमहानगरपालिकामा राप्रपाबाट निर्वाचित नगरप्रमुख हुन् । कमल थापालाई अध्यक्ष छाड्न चेतावनीयुक्त दबाब दिएका राणा नै राप्रपाको अध्यक्ष बन्ने अड्कलबाजी पनि राप्रपामा गर्न खोजिएको छ ।

कमल थापाको राप्रपाले २०७० को संविधानसभा निर्वाचनमा हिन्दू राज्य र संवैधानिक राजतन्त्रको नारा उरालेर समानुपातिकतर्फ २४ सिट जितेको थियो । तर २०७० पनि बनेका हरेक सरकारमा सबै एजेन्डा छाडेर मन्त्री खान जाने कमल थापाको सत्तालोलुप प्रवृत्तिबाट जनता वाक्क भएर २०७४ को चुनावमा राप्रपा राष्ट्रिय पार्टी पनि बन्न सकेन । झापा ३ मा एक सिट वाम गठबन्धनको समर्थनमा राजेन्द्र लिङ्देनले जितेर नाक जोगाएका थिए ।
त्यस्तै पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय (प्रजातान्त्रिक) पार्टीले आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सोमबार बिहान एलोपगोडा होटलमा राखेको पत्रकारसहितको अन्तरक्रिया झन् प्रत्युत्पादक भएको छ । अन्तरक्रियामा राणाले काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई समेत खबर नगरेपछि धेरै रुष्ट भएका छन् । कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका बरिष्ठ नेता केशरबहादुर बिष्टलाई समेत राणाको भेलामा नबोलाएपछि कार्यकर्ता रुष्ट भएका हुन् । दोलखाका सोभित उप्रेती नामक बीचौलियाले आयोजना गरेको कार्यक्रममा १ सय ५० सहभागी हुने भनेर त्यसैअनुसार सबैलाई भोजको प्रबन्ध गरिए पनि ५० जनामात्र उपस्थित भएको सहभागीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७